site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खुम्चिएको तराई राजनीति

राष्ट्रिय राजनीतिबाट खुम्चिएर तराईभूमि क्षेत्रीयता बुझिने खालको सोचमा पुगेको भान हुँदैछ । यसलाई पहाडी सोच पनि खुम्चिएकै अर्थमा बुझ्नुपर्ने हुन्छ । पहिले खासगरी तराई भनेर चिनिने नेपालको दक्षिणी समथल क्षेत्रमाथि त्यहाँ भएको आन्दोलनसँगै ‘मधेस’ नामको पहिचान थपिएको छ । र, अब तराईमधेस भनेर यस क्षेत्रलाई सम्बोधन गर्ने परम्परा बनिसकेको छ । मधेस कहाँदेखि कहाँसम्म र किन यो अलग्गै चर्चाको विषय हो तर यी पंक्तिमा भूमि होइन भाव खुम्चिएको विषय उठान गरिएको छ । 

नाममा विस्तार भएको छ तर राष्ट्रिय भावधाराबाट पहाड,तराई खुम्चिएको आभाष हुदैछ । यसो हुनुको विविध कारण छन् ।  पहाडी भावना र मधेसी भावनालाई एकीकृत राष्ट्रिय भावमा कायम राख्न नसक्ने वा नचाहने नेतृत्व र कारकहरु विभेद र विभाजित जस्तो लाग्ने मानसिकताका कारण हुन् । 

हाम्रो सन्दर्भमा तराई, पहाड र हिमाली क्षेत्र नेपालभित्रको भूखण्डको अवस्थितिमात्र हो । देश नेपाल नै हो । यो भावधार अहिलेभन्दा पहिले धेरै बलवान् थियो । एकीकृत रहेको पाइन्थ्यो । अहिलेभित्र कतै गुम्सिएको तर देखिने गरी पृथक, पृथक लाग्ने अवस्था बनाइएको छ । यसबीचको संकीर्ण राजनीतिले आपसी शंका उत्पन्न गरेको प्रस्टै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तराईमधेसबाट राष्ट्रिय राजनीतिलाई भरोसा दिनसक्ने नेतृत्वको अभाव स्पष्टै देखिएको छ भने यतिबेला पहाडी नेतृत्व पनि तराईमधेसका लागि भरपर्दो गरी स्थापित भएको छैन । इतिहास यसभन्दा भिन्न थियो । तराईबाट राजनीतिक नेतृत्व गरेका नेपाली कांग्रेसका नेता महेन्द्रनायण निधिले राष्ट्रिय विश्वास आर्जन गर्नुभएको थियो । दुर्गानन्द झा, रामनायण मिश्र, अरविन्द ठाकुरलगायत थुप्रैले तराईबाट नेपाली राजनीति गरे । अर्थात्, उनीहरुले पूरै नेपाललाई प्रभावित पारे । कुनै दिन नेपाली कांग्रेसको राजनीति गरेका गजेन्द्रनारायण सिंह पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली थिए, पछि खुम्चिए पनि । अहिले त ती राष्ट्रिय नेता पनि तराईमधेसका पात्रमात्र थिएजस्तो भान पार्ने कार्य भइरहेको छ । पहाड, तराई दुवैतिरका नेताको अहिलेको शैली त्यस्तै संकीर्ण छ । 

तराईमधेस  वा पहाड भूमि हो । तर पहिचान नलमा हेर्ने गरिएको छ, छाला र रंगमा छुट्याउने काम भएको छ । मानाैं मान्छे ऊ–उसैको शरीरमा तराई, पहाड टाँसिएको छ । प्रकृतिमाथि विकृति थप्ने राजनीतिक अन्याय गरिएको छ ।  पहाडमा घरजम गरेर वर्षौं बसेको तराईमूलको नेपाली ऊ मधेसी नै कहलिएको छ । यस्तै पुस्तौं बिताएर पनि पहाडी परिवारले मधेसको पहिचान पाउन मुस्किल परेको छ । यो ‘मूल’भन्दा पनि विभक्त सोच भएको वा बनाइएको छ । 

Global Ime bank

विराटनगरका कोइराला हुन् कि वीरगञ्जका अमात्यहरु कैयौं उदाहरण छन् । तर, उनीहरुको थरले तराई ग्रहण गर्न पाएको छैन । दोलखामा बस्ने रामजीवन सिंह सधैँ मधेसी नै ठानिए । पहाडको शिक्षा विकासमा मधेसका शिक्षकले दिएको योगदान भुल्न हुने होइन । कतिपय पेसा व्यवसाय गर्दै पहाडमा नै घरजम गर्न पुगेका मधेसीले पहाडी बन्ने धोको आफ्नो भावी पुस्ताका लागि सुम्पिनुपरेको छ । पहाडीहरुले तराईमधेसको विकासमा दिएको योगदान त्यहाँको पुस्तालाई थाहै नदिई बिलाउने भएको छ । 

यस्तो संकीर्ण संकुचन ल्याउनुको बढी दोषी तराईमधेसको वर्तमान नेतृत्व हो । तराई केन्द्रित गरी बनाइएका र चलाइएका दलका नेतालाई पहाडी उबडखाबडको राजनीति कठिन लाग्यो । प्रतिस्पर्धा चर्को भयो । तराईमधेसको भावनालाई एकांगी बनाएर सत्ताको यात्रा यिनीहरुका लागि सजिलो भयो । यसबीच पहाडी  खासगरी कम्युनिस्ट नेताहरुले तराईलाई स्वार्थमा प्रयोग गरे, उचाले । तर, उनीहरुले तराईको भावनालाई नेपाली भावना मानेर बुझ्न र आवश्यक सम्मान दिन सकेनन् पर्गल्ने शैली अपनाए । 

नेपाली भूबनोटप्रति समान उदार वा हिमाल, पहाड, तराई सबै नेपाल र नेपाली भन्ने मान्यताको नेपाली काग्रेसले समेत तराईका नेताहरुले सजिलो राजनीतिका लागि चलाएको खण्डीकृत सोचलाई चिर्न र हिजोजस्तै नेतृत्व दिन सकेन । फलतः भावनात्मक तहमा तराई खुम्चियो, पहाडलाई एक्ल्याइयो । तराई केन्द्रित गरी चर्काइएको क्षेत्रीय सोच र रंगभेद अनि पहाडी कम्युनिस्टले तराईलाई एक्ल्याएर दिएको राष्ट्रवादको नारा दुवै क्षेत्रीयतावादी वा खण्डवादी (भूखण्ड) षड्यन्त्र थिए ।  दुई खण्डवादीको कर्कश ध्वनिवीच कांग्रेसको समानभाव प्रभावोत्पाद भएन । परिणाम कांग्रेस हार्यो  । 

उदाहरणकै लागि, भर्खरकै प्रसंग भन्दा हुन्छ – प्रथम राष्ट्रपति डा. रामवरण यादवले भूअवस्थितिको पक्षविपक्ष होइन सिंगो नेपाल र राष्ट्रियताको धारणा राख्दा संकुचित मधेसीले पहाडीको पक्षपोषण गरेको ठाने । यस्तै संकुचित पहाडीले मधेसीको भाषा बोलेको माने । तर, उनको भनाइमा सग्लो राष्ट्रको पक्ष रहेको बुझेनन् वा संकीर्ण राजनीतिका लागि नबुझेको जस्तो गरे । 

प्रजातान्त्रिक राजनीतिको सुरुवातमा नै महामना बीपी कोइरालाले तराईको संवेदनशीलता र भावनालाई बुझ्न एवं समेट्न भन्नुभएको हो । तराईमधेसबाट अहिलेसम्म धेरै पहाडी भनिनेहरुले राजनीति गरेका छन् र पटकपटक निर्वाचन पनि जितेका छन् । तर, मधेसी नेताले पहाडबाट यस्तो अवसर लिनसकेका छैनन् । यही अवस्थालाई तराईका कतिपय नेताले पहाडीलाई मधेसीले निर्वाचन जिताएका छन् तर पहाडबाट कुनै मधेसीलाई कहाँ जिताएका छन् ? भन्ने प्रश्न गर्छन् । तर, पहाडी नेताले मधेससँग जोडिएर राजनीति गरे, त्यहाँका जनतालाई रिझाए, उम्मेदवारी दिने हिम्मत गरे र चुनाव जिते । मधेसी नेताले चाहिँ कुनै पहाडी भूभागलाई आफ्नो राजनीतिक कर्मथलो बनाएको पाइँदैन । अहिले खुम्चिने क्रममा वा पहाडी मधेसी भन्ने खण्डित सोच बढाइँदा दुवैतिर दुवैको राजनीतिक कर्म थप टुक्रिँदै छ ।   

राजनीतिमा मधेसीले पहाडलाई सशरीर कर्मथलो बनाएनन् । तर शिक्षा, व्यापार अरु व्यवसाय वा प्राविधिक विषयमा चाहिँ पहाडमा पनि झन्डै समान हैसियतको बराबरी मधेसी कर्मयोगीले बनाएका छन् । पहाडका ठूलासाना सहरबजारमा बाक्लै उपस्थिति मधेसका नेपालीको छ । त्यतिमात्रै होइन, गाउँघरमा समेत उनीहरुको उपस्थिति सम्मानजनक  छ । तर, मधेसमा यस्तो सहकार्यको अवस्था बिथोलिएको छ ।    

केही वर्षअघिसम्म मधेसका भित्री भागमा पनि पहाडीको बसोबास सम्मानजनक थियो । तर, आन्दोलनका नाममा प्रतिशोधपूर्ण तरिकाले त्यहाँबाट उनीहरुलाई धपाइयो, विस्थापित गरियो । त्यो घाउ वा खाली ठाउँ पुरिएको छैन र पुरिन सायद सजिलो पनि रहेन । सांकृतिक एकता र नेपाली भाइचारा त्यसरी खण्डित गरियो । तराई खुम्चियो । क्षुद्र राजनीतिक स्वार्थका लागि खुम्च्याइयो । यस मामलामा पहाडको सचेत जमात जोगिएको छ । मधेसका नेपाली बन्धु यहाँ दाजुभाइ सरह छन् । महेन्द्र राजमार्गको उत्तरी तराईमा भने पहाडी मूलका बासिन्दा अझै छन् । तिनले तराईका भनिने राजनीतिकर्मीलाई चुनावमा मत दिएर जिताउने गरेकै छन् ।

तराईमधेसको जनमत लोकतान्त्रिक हो । कुनै पनि प्रकारको अधिनायकवादी वा तानाशाही मान्यता तराईमधेसमा छैन । तराईका नागरिकलाई कम्युनिस्ट अधिनायक पनि स्वीकार्य छैन । त्यहाँको प्रजातान्त्रिक वा  लोकतान्त्रिक जनमतलाई तराई केन्द्रित दलहरुले राजनीतिक सहजता र सरकारी सत्ताको पहुँचका लागि भजाउन खोजे । यो मौका कम्युनिस्टले पनि छोपे । तराईको भावनालाई पृथकतावादी आरोपित गरेर पहाडी मत कम्युनिस्टले सोहोरे । नाम थपिएर लामो भए पनि तराई खुम्चियो, तराईमात्रै के खुम्चियो र ? नेपाली भावनामा गहिरो चिरा पर्यो, पारियो ।

यस्तो कटु स्थितिको आन्तरिक कारक अर्थात् तराई केन्द्रित दल र कम्युनिस्टहरुले पहाड र तराईमधेसबीच उत्पन्न गरेको वैमनस्यको उत्कर्ष थामिदै गएको छ । सुधार हुँदैछ, हुनैपर्छ । सबै क्षेत्रका नेपालीले तथ्यहरु बुझ्दै गर्दा हार्दिकता बढ्दै जाने निश्चित् छ । घुलमिलले नै आत्मीयता बढ्ने हो । 

दुई वर्षअघि जस्तो लाग्छ सूचना विभागले तराईमा कार्यरत पत्रकारलाई पहाडी र पहाडीलाई तराई भ्रमणमा लाने कार्यक्रम ल्यायो । विश्लेषक चन्द्र किशोरजीको टोलीले म्याग्दी जिल्लातिर भ्रमण पनि गर्यो । तर, यसले निरन्तरता पाएन । चन्द्र किशोरले अनुभव लेखेर पहाडी जीवनको कष्ट, संस्कृति र सम्भावना केलाउनु भएको थियो र यस्ता भ्रमणले देश बुझिने सकारात्मक टिप्पणी गर्नुभएको थियो  । पहाड, तराई, हिमाल जो जहाँ घुमे पनि हुन्छ । तर, पत्रकारको घुमाइले लेखाइमा व्यक्त हुने अनुभूति धेरैमा एकसाथ पुग्नसक्छ । ठ्याक्कै यस्तै नभए पनि, तराई पहाडबीचको भ्रमण कार्यक्रम बनाइँदा आन्तरिक पर्यटन त हुने नै छ । साथै आफ्नो देशको विविधतासँग सात्क्षात्कार भइनेछ । यसरी सिर्जना गरिने सकारात्मक बुझाइ अनुभूतिजन्य र हार्दिक हुने नै भयो ।   

मुलुक संघीय प्रणालीमा गएको छ । खण्डीकृत भावनालाई एकीकृत गर्न नसक्दा वा एकीकृत भावना खण्डीकृत हुँदा पृथकतावाद बढ्छ नै । संघ र प्रदेशबीच संक्रमणको वर्तमान चरणमा मुलुकका सबै नेता वा दलले संवेदनशीलता बुझेर दायित्व निर्वाह गर्नुपर्नेछ । मान्यताले नै नेपालको भूगोल र त्यसले सिर्जना गरेको विविधतालाई समान सम्मान गर्ने दल नेपाली कांग्रेस विशेष चनाखो हुनु आवश्यक छ । आफ्नो समभावको प्रभाव कांग्रेसले सबैतिर विस्तार गर्नुपर्छ सग्लो नेपालको अवधारणा । यही महिना हुने महासमिति बैठकमा कांग्रेस यस विषयमा विशेष प्रकारले प्रस्तुत होओस् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC