खाना पकाउनु र चोखीनितीले कसरी बदल्यो हिंस्रक मानिसलाई ?

खाना पकाउनु र चोखीनितीले कसरी बदल्यो हिंस्रक मानिसलाई ?

बीबीसी । घरेलु हिंसा कम गर्न पूर्वी अफ्रिकी मुलुक रुवान्डामा ‘ग्रासरुट इन्टरभेन्सन प्रोग्राम’ अर्थात एक सामुदायिक हस्तक्षेप कार्यक्रमले केटा मान्छेलाई खाना पकाउन, सरसफाइ गर्न लगायतका घरका कामहरु सिकाएको थियो । यसैबारे हालै गरिएको सर्वेक्षणमा सो तरिकाबाट सकारात्मक नतिजा प्राप्त भएको देखिएको हो । कार्यक्रममा सहभागी मुहोजा जीन पिर नामक स्थानीयको उदाहरणबाट पनि यो अभियान धेरै सफल रहेको साबित भएको बताइएको छ । 

वास्तवमा मुहोजा पहिले एक हिंस्रक व्यक्तित्व थिए जो सधैँ आफ्नी पत्नीलाई यातना दिने गर्ने गर्दथे । अन्य स्थानीय पुरुषहरु जसरी नै उनले पनि पत्नीलाई केबल बालबालिका जन्माउन र घरको ख्याल राख्न मात्र विवाह गरेको भन्ने विश्वास गर्दथे । उनी भन्छन्, “म मेरा पिताको बाटोमा हिँडिरहेको थिएँ । मेरो बुबाले घरमा केही पनि काम गर्नु हुँदैनथ्यो । यसकारण म घर आउँदा कुनै पनि काम अधुरो भए मैले पनि मेरी पत्नीमाथि हिंसा गर्ने गर्थेँ । म उसलाई आफ्नो बाबुआमाको घर फर्कन भन्दै विभिन्न थरीका गाली गर्थेँ ।”

तर यसैबीच उनको परिवारमा ठूलो परिवर्तन आयो जब उनले खाना पकाउन र सरसफाइ लगायत घरका काम गर्न सिके । वास्तवमा ग्रासरुट इन्टरभेन्सनले तिनको गाउँमा सुरु गरेको अभियानमा उनले पनि सहभागिता जनाइरहेका थिए । कार्यक्रम अन्तर्गत रुवान्डाको पूर्वी प्रदेश म्युलिरका पुरुषहरुलाई कार्यकर्ताहरुले घरका कामका साथै बालबालिकाको हेरचाहका गर्न प्रोत्साहन गर्ने गर्दथे जसले नै मुहोजाको जीवन पूर्ण रुपमा बदलिदिएको हो । 

यसरी उनले कार्यक्रमले सञ्चालन गरेका कक्षामा खाना पकाउन, सरसफाइ जस्ता कामहरु सिक्न थाले र साथै परम्परागत लैङ्गिक भूमिकालाई कसरी चुनौती दिने भन्ने बारेमा हुने छलफलमा समेत सहभागी हुन थाले । यसमा कार्यकर्ताहरुले पुरुषले घरमा झाडु लगाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न गर्थे जसको जवाफमा सबैले सक्छन् भन्थे तर ककसले यो काम गर्ने गरेका छन् भनेर सोध्दा चाहिँ कसैले हात नउठाउने गरेको मोहुजाले बताए । यसपछि सहभागी सबै पुरुषहरुले घर गएर सिकाइएका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दथे ।

यसरी यो कार्यक्रमले मोहुजा मात्र नभएर गाउँका अधिकांश पुरुषहरुको ‘घरको काम केबल पत्नीले मात्र गर्नुपर्छ’ भन्ने पारम्परिक दृष्टिकोणमा विस्तारै परिवर्तन ल्याउँदै गएको हो ।

उनी भन्छन्, “अहिले मलाई पकाउन आउँछ । म बच्चाहरुको कपडा पनि धोइदिन्छु ।”

तर यस क्रममा ओहुजाले सामाजिक चुनौतीहरुको पनि सामना गर्नुपर्यो । किनकी उनका साथीभाइ यसको विरुद्धमा थिए । तिनीहरुले उनलाई ‘असली पुरुषले कहिल्यै खाना पकाउँदैन’ भन्दै घरका काम गर्न निरुत्साहित गर्ने गर्थे भने आफन्तहरुले समेत पत्नीले ड्रग्स खुवाएर उनी त्यस्तो भएको भनि मजाक उडाउने गरेको उनी बताउँछन् । तर मुहोजाले भने आफ्नो व्यवहारले परिवारमा आइरहेको सकारात्मक बदलाव महसुस गरिरहेका थिए । 

त्यसैले उनले कार्यक्रममा सहभागिता जनाइरहे । उनका अनुसार कार्यक्रमपछि उनी आफ्ना बच्चाहरुसँग धेरै नजिक भए र पत्नीले पनि फलफुलको व्यापार गर्ने समय पाएको हुँदा उनीहरुको घरको अवस्थामा धेरै सुधार आएको हो । उनले भनेका छन्, “अहिले मेरी पत्नीले मसँग छुट्टै व्यवहार गर्छिन् । पहिले मैले उनीमाथि हिंसा गर्ने भएकाले तिनले पनि मलाई नराम्रो रुपमा हेर्थिन् । तर अहिले हामी सबै पक्षमा छलफल गर्छौैँ र दुवैको सहमतिमा काम गर्छौँ ।”

मुहोजाकी पत्नी मुसाबिमाना डेल्फिनका अनुसार पहिले उनीले धेरै कम स्वतन्त्रता पाउँथिन् र हर समय उनी पतिसँग डराएर बस्नु पथ्र्यो । उनले भनिन्, “कहिलेकाहीँ मलाई आफू एउटा साधारण तल्लो स्तरको कामदार जस्तो महसुस हुन्थ्यो तर अपहेलित कामदारले पनि हरेक महिना केही न केही पारिश्रमिक पाउँछ । यस्तोमा मैले आफूसँग पैसा हुन्छ भन्ने कहिले पनि सोचेकी थिइनँ । तर अहिले मसँग पर्याप्त स्वतन्त्रता छ । म पनि अरुले जस्तै पैसा कमाउन बाहिर काम गर्छु ।”

यसरी ‘वास्तविक समानताको कुरा त्यसबेला मात्र सफल हुन्छ जब पुरुष पनि सरसफाइ, बालबालिकाको हेरचाह लगायत घरका ५० प्रतिशत काममा सहभागी हुन्छन्’ भन्ने मान्यताका साथ ल्याटिन अमेरिका स्थित ‘ग्लोबल फादरहुड क्याम्पेन मेनकेयर’ ले सुरु गरेको यो प्रोजेक्टमा भाग लिएका परिवारलाई दुईवर्षपछि हेर्दा त्यहाँ घरेलु हिंसा धेरै कम भएको पाइएको हो । यसबारे रुवान्डाको ‘मेल रिसोर्स सेन्टर’ का प्रमुख फिडल रुटाइसरले भनेका छन्, “हाम्रो समाजमा अझैपनि पुरुषत्वबारे नकारात्मक धारणा र सांस्कृतिक बाधाहरु जिवित छन् । यस्तोमा श्रोतसाधन र महत्वपूर्ण निर्णयमा पुरुषकै नेतृत्व रहने गर्दा महिलाहरु हिंसाको उच्च जोखिममा रहने गरेका छन् । त्यसैले पुरुषहरुले बालबालिकाको हेरचाह गर्दैगर्दा उनीहरुमा लैङ्गिक समानताको भाव पलाउँछ ।’ 

यसरी सो कार्यक्रमले मुहोजा र उनको परिवारलाई मात्र नभएर पूरै समुदायमा नै धेरै ठूलो प्रभाव पारेको बताइएको छ । उनीहरुका अनुसार अहिले सो क्षेत्रमा कुनै समस्या वा द्विविधा हुँदा छिमेकका सबैले उनीहरुको धारणालाई प्राथमिकता दिने गर्दछन् र सबैले उनीहरुको निर्णयलाई पनि सम्मान गर्ने गरेका छन् । 
बीबीसीबाट 
 

प्रतिकृया दिनुहोस