हाम्रो घरको ताल्चा हामीसँग छ, साँचो अरुसंँगै

डा. राजेन्द्र विमल–वरिष्ठ साहित्यकार

हाम्रो घरको ताल्चा हामीसँग छ, साँचो अरुसंँगै

लामो समयदेखि नेपाली तथा मैथिली भाषा–साहित्यमा सक्रिय नाम हो, डा. राजेन्द्र विमल । उनको नाम नेपाली कथासाहित्यमा पनि स्थापित छ । जनकपुरमा रहेर साहित्य, भाषा–संस्कृतिको प्रवद्र्धनमात्र होइन राजनीतिक संक्रमणका समयमा सेतुको कामसमेत उनले गर्दै आएका छन् । भाषा–साहित्यका साथै मुलुकको समसामयिक विषयमा बाह्रखरीका राजेश खनालले डा. विमलसँग गरेको कुराकानीको सार :

अहिलेको नेपाली साहित्य कता लागिरहेको देख्नुहुन्छ ?

विडम्बना नै भन्नुपर्छ, हामीले एसियालीस्तरमा पनि आफ्नो भाषा–साहित्यलाई पु¥याउन सकेका छैनौं । यो काममा हामी उहिलेदेखि नै लाग्नुपर्ने थियो । हामीले अब यो काममा ध्यान दिनुपर्छ । साहित्यिक कृतिहरु विभिन्न भाषामा अनुवाद गरिनुपर्छ । त्यसरी अनुदित हुने कृतिहरुमा सम्पूर्ण नेपालको साहित्य र संस्कृति प्रतिबिम्बित हुनुपर्छ । नेपालका कुनै पनि भाषाको उत्कृष्ट रचनालाई हामीले विश्वमा र नेपालमै पनि चिनाउने कर्ममा लाग्नु जरुरी छ । दुर्भाग्य, हामीले महाकवि देवकोटालाई नै पनि चिनाउन सकेका छैनौं ! शाकुन्तलको अंग्रेजी भाषामा अनुवाद गरेर मात्रै पुग्दैन । समग्रमा हाम्रो साहित्यको महिमा र गरिमा कति छ, कुन रुपमा छ, त्यो पनि हेरिनुपर्छ ।

नेपाली साहित्यका माध्यमबाट नेपालका सबै भाषाभाषी जोडिन ढिला भएन ? 

निश्चय पनि हरेक नेपालीबीचको ‘कनेक्टिभिटी’को आधार नेपाली भाषा, साहित्य र संस्कृति नै हो । यो महत्वपूर्ण विषय हो । यस विषयमा हामीले फराकिलो ढंगमा सोच्नुपर्छ । भाषा, साहित्य र संस्कृतिका माध्यमबाट सबैसँग जोडिनु त छँदैछ, यसले आपसमा आत्मीयता वृद्धि पनि गर्छ ।

यस विषयमा केही पनि काम सुरु भएको छैन ?

मुलुकका हरेक जातजातिका संस्कृति तथा साहित्यमार्फत नेपालको सिंगो ‘पोट्रेट’ बन्न सक्नुपर्छ । त्यसैमा दसैं, तिहार र छठमात्रै होइन, ल्होसार, माघी, इद पनि अट्नुपर्छ । हिमाल, पहाड र तराई त्यस्मा प्रष्ट देखिनुपर्छ । राउटे र चेपाङको जीवन पनि त्यो साहित्य–संस्कृतिको पोट्रेटमा अट्नुपर्छ । त्यहाँ सिंगो मुलुकबासीको जीवन देखिनुपर्छ । 

यस्तो अभियानको थालनी भइसकेको छ । यसलाई अगाडि बढाउन, तीव्रता दिन म सक्रिय छु । भाषा, संस्कृति र साहित्य हाम्रो मुटु हो । हाम्रो देश हो । हाम्रो माटो हो भन्ने महसुस गर्नेगरी सबै प्रस्तुत हुनुपर्छ । 

काम थालेको भन्नुभयो, के त्यो सम्भव छ त ?
सम्भव देख्छु । सबै अट्ने, सबैको अनुहार देखिने गरी यो काम हुन सक्दा सबैलाई राम्रो हुन्छ । यो एउटा संयुक्त फोटोग्राफजस्तै हो । यसमा कोहीकसैको अनुहार छुट्न गयो भने उसको मन दुख्छ । भाषा, साहित्य, संस्कृतिमा सबैको अनुहार र भेषभुषा देखिनुपर्छ । आफ्नो प्रतिबिम्ब सबैले हेर्न पाउनुपर्छ । यस्तो काम असम्भव त कसरी होला र !

साहित्य–संस्कृतिका क्षेत्रमा क्रियाशील नेपाल प्रज्ञा–प्रतिष्ठानबाट त्यो अनुहार प्रष्टरुपमा प्रस्तुत भएको छ ? 
छैन । प्रज्ञा–प्रतिष्ठानले सबैको अनुहार प्रस्तुत गर्नै सकेको छैन । किनभने यसमा राजनीतिक अंशवण्डाको नीति हावी हुँदै आएको छ । यसैले पनि प्रज्ञाले केही गर्न नसकेको हो भन्ने मलाई लाग्छ । दुर्भाग्यपूर्ण र चित्त दुख्ने कुरा हो यो । यथार्थमा प्रज्ञा–प्रतिष्ठानलाई सबैको साझास्थल बनाइनुपर्थ्यो । सबैले त्यसमा अपनत्वको महसुस गर्नुपर्ने थियो । तर त्यसो हुन सकेको छैन । त्यहाँ हुने क्रियाकलाप नेवार, राई, तामाङ, जनजाति, मधेसी सबैको हो भन्ने भावना जागृत गराउनै सकिरहेको छैन प्रज्ञाले ।

प्रज्ञा–प्रतिष्ठानमा चारणहरुको जमघट छ । चारण भनेका भाटहरु हुन् । जसले स्तुतिगान गर्न सक्छ ती नै प्रज्ञामा पुगिरहेका छन् । सत्तामा जुन पार्टी छ, त्यसैको स्तुतिगान गर्नेहरुले मात्रै त्यो स्थानमा जान पाउने अवस्था आज पनि विद्यमान छ । यो नै हाम्रो दुर्भाग्य हो ।

यहाँ तीन वटा शब्दको प्रयोग मैले गर्दैआएको छु । निर्माण, उत्पाद र सिर्जन । निर्माण भनेको जेनतेन गरेर निर्माण गर्ने हो, यताबाट माटो लियो, उताबाट ढुंगा उठायो र जे बनाउनु छ त्यसको निर्माण गर्‍यो । नेपाली साहित्यमा पनि निर्माण पक्ष हावी हुँदै आएको छ । स्पष्ट के छ भने, निर्माण भनेको सिर्जन होइन । तर निर्माणलाई नै आज भजाउन थालिएको छ । मैले १० वटा उपन्यास लेखेको छु भनेर करायो । दस वटा लेखे पनि त्यसको स्तर के छ ? त्यो कसैलाई थाहा छैन । बस् राजनीतिक पार्टीले प्रश्रय दिएका छन् । त्यत्ति हो । अरुतिर किन सोच्नुपर्यो ? लेखनमा स्तरीयता किन चाहियो ? स्तरीय नभए पनि टीका लगाएर स्याबासी पाएकै छन्, ठूलो मानिस बनेकै छन् । यथार्थमा ठूलो पद पाउनैका लागि साहित्य सिर्जन होइन, निर्माण गर्र्दैछन्, साहित्यकारहरु ।

अर्को हो उत्पाद । उत्पादन । उत्पादनको सम्बन्ध बजारसित जोडिन्छ । बजारमा अश्लील र फोहोर कुरा अलि धेरै बिक्री हुन्छ । त्यसैले कतिपयले त्यही बजारका लागि लेख्दै आएका छन् । त्यो पनि सिर्जन होइन । 

सिर्जन त त्यो हो, जुन प्रशवपीडाजन्य अनुभूतिबाट जन्मिन्छ । सिर्जन निस्वार्थ हुन्छ । वेदनामा नरन्थनिएर सिर्जन गर्न सकिन्नँ । सिर्जनले समाजमा केही सन्देश प्रदान गर्न सक्नुपर्छ । सिर्जनात्मक सन्देश प्रस्तुतिको माध्यम साहित्य हुनुपर्छ । तर आज नेपाली साहित्यमा सिर्जनको आवश्यकता नै नरहेको महसुस हुन्छ । अचेल त कसरी आफ्नो मालिकलाई रिझाउन सकिन्छ, कसरी चाकरी गर्न सकिन्छ, कसरी पदमा पुग्न सकिन्छ भन्ने ध्याउन्नमा मात्रै छन्, सर्जक नामधारी उत्पादकहरु ।  

यो अवस्थामा प्रज्ञालाई प्रज्ञा मान्न सकिन्छ त ?
प्रज्ञा शब्दको अवमूल्यन भएको महसुस हुन्छ मलाई त । पहिले गुरुजी भनेपछि कस्तो आदरयुक्त शब्द लाग्थ्यो । शिक्षकका लागि यो शब्दको प्रयोग हुन्थ्यो । अचेल गाडी चालकका लागि त्यो शब्द प्रयोग हुन्छ । यही अवस्था प्रज्ञामा छ । हास्यास्पद अवस्था छ । प्राज्ञ भनेको त प्रज्ञावान् हो । चिन्तनको शिखरमा भएको मानिसलाई प्रज्ञावान् वा प्राज्ञ मानिन्छ । यो देश यस मानेमा बाँझो छैन । एकसेएक शिखर पुरुष छन् । एकसेएक  योग्य व्यक्तिहरु छन्, तर तिनले अवसर पाएका छैनन् । ८० लाख बुद्धिजीवी कुनै पनि पार्टीमा आवद्ध छैनन् । उनीहरुको कदर कहिल्यै गरिएन । त्यसैले मैले भन्दै आएको छुः 

सिर्फ हंगामा खडा करना मेरा मकसद नहीं
मेरी तो ए जिद है कि सुरत बदलनी चाहिए ।

तपाईंको चाहिँ कत्तिको चर्चा भएको छ नि ?
मैले चाहेको भए म पनि लबिइङ गर्न सक्थें । धाउन सक्थें, तर मलाई चाहिएन । जुन दिन मलाई मेरो क्षमतालेभन्दा पनि मप्रति कृपा गरेर केही दिन्छन् भने म आत्महत्या गरेर मर्छु । यो म तपाईंको बाह्रखरी डटकमबाट सार्वजनिक गर्न चाहन्छु । मलाई कृपा चाहिएको छैन । मलाई त बस् यस्तो व्यवस्था चाहिएको छ, जसमा योग्य व्यक्तिले योग्य स्थान पाओस् । प्रज्ञामा जाने र पुर्‍याउनेहरुको चिन्ता आउने चुनावसम्मको होला । मेरो चिन्ता आउने सन्ततिहरुका लागि हो । त्यसैले दूरगामी हित गर्ने परम्परा बस्न सक्नुपर्छ । यद्यपि, त्यो देखिँदैन । यिनै कुराहरुले मलाई राति निद्रा लाग्दैन । यो उमेर (७२वर्ष) मा रोगग्रस्त छ जीवन । म रहन्छु रहन्नँ, थाहा छैन तर मूल्यमान्यता देशमा रहोस्, कुनै अनिष्ट नहोस् भन्ने चाहन्छु । मलाई लाग्छ, भगवान्ले चलाइरहेका छन् यो देश । देश त बुद्धिले चलाइनुपर्थ्यो नि ! 

लोकतन्त्र आइसक्दा पनि यस्तो अवस्था हुनुको कारण के होला ? 
लोकतन्त्र भनेको जनताको शासन हो । तर कहिल्यै पनि जनताले त्यो अनुभूत गर्न पाएका छैनन् । एउटालाई उठाउने अर्कोलाई पछार्ने काममात्रै भइरहेको छ यो मुलुकमा । यसलाई लोकतन्त्र वा गणतन्त्र कसरी मान्न सकिन्छ ! यहाँ त बेइमानी मात्रै चल्दै आएको छ । समावेशिताको कुरा गर्छन्, तर पत्नी, साली, साला र नातागोताका, जात र क्षेत्रकालाई पदमा लैजाने परम्परा फस्टाउँदो छ । यसैलाई गणतन्त्र वा लोकतन्त्र मान्ने ? किमार्थ मान्न सकिन्नँ । 

गणतन्त्र, लोकतन्त्र र संघीयताको मूल्यमान्यतालाई बुझ्न सक्नुपर्छ सबैले । देशलाई शक्तिशाली बनाउनका लागि ल्याइएको हो संघीयता । देश टुक्राटुक्रा पार्न होइन । सुदूरपश्चिममा आन्दोलन चल्यो, त्यसमा यिनले (मधेसवादी समर्थकहरुले) यसरी कुटाकुट र पिटापिट गरे मानौं विखण्डन हुँदैछ, हिन्दुस्तान र पाकिस्तानको । यो के हुन लागेको हो ? सबैले यो कुरा बुझ्नुपर्छ कि मुलुककै एउटा अंग हो संघ । पूरा मुलुकलाई शक्तिशाली बनाउनैका लागि प्रदेशलाई पनि शक्तिशाली बनाउन खोजिएको हो । तर स्वायत्तताको नाममा अनेक कुरा गरेर हिँडिरहेका छन्, नेताहरु । एक नम्बरको मानिसलाई दुई नम्बरमा आउन भिसा चाहिने मानसिकताले सोचेर हुँदैन् । हामी एउटै हौंं । एउटै देश हो हाम्रो भन्ने हामीले सोच्न सक्नुपर्छ । जहाँको लहर भए पनि एउटै समुद्रको लहर हो भन्ने ठान्नुपर्छ सबैले । 

कृपया मलाई प्रोकांग्रेस, प्रोकम्युनिस्ट वा अन्य कुनै ‘प्रो’ नभन्दिनुस् । प्रोभारतीय पेपर वा अमेरिकन पेपर नहोस् कुनै पनि मिडिया । प्रोनेपाली मानसिकताको विकासमा योगदान दिने प्रयत्न गर्नुहोला तपाईं पत्रकारहरुले । म मरेपछि तपार्इंले श्रद्धाञ्जलि दिनुहोला–नदिनु होला, तर म जिउँदै हुँदा यति गरिदिनुभयो भने मलाई ठूलो शान्ति मिल्नेछ । मेरो आत्माले तपाईंहरुलाई अनेकअनेक शुभकामना दिनेछ ।

तपाईंमा विद्यमान यो पीडालाई साहित्यमा कसरी आइरहेको छ ?
मेरो साहित्य समकालीनतामा आधारित छ । त्यसमा जीवनका घटना वा हुनसक्ने घटनाहरु नै मेरा साहित्यमा समेटिएका हुन्छन् । त्यही नै मेरो लेखनी हो । मानिस ठूलो हुने भनेको उसको भावना, विचार र व्यवहारले हो । तर आजको समाजमा गलत चरित्रका व्यक्तिहरु हावी भएका छन् । तिनलाई सम्मान होइन, वहिष्कार गर्नुपर्छ । किसान, मजदुर, श्रमिक र कर्मयोगीहरु जो काम गरिरहेका छन्, जसको चरित्रमा उच्चता छ, तिनको सम्मान गर्नुपर्छ । तिनका बारेमा लेखिनुपर्छ । म त्यही लेख्ने प्रयासमा छु । 

तपाईंलाई राजनीतिज्ञहरुले कतिको सहयोग गर्छन् ?
मलाई राजनीतिले दुई कौडीको पनि मानेको छैन । मलाई पत्याएका नै छैनन् । तर मलाई मेरा पाठक, सिंगो देशका साहित्यप्रेमी तथा अरुहरुले उच्चसम्मान दिएका छन् । यो नै मेरा लागि सबथोक हो । त्यसैले त म हमेशा नेपाली टोपीमै हुन्छु । मेरो टोपी नै मेरो पहिचान हो । 

तपाईंहरुजस्ता साहित्यकारप्रति राज्यको वक्रदृष्टि किन ?
राजनीतिक संस्कृतिको विकास हुन नसक्नाले यस्तो अवस्था आएको हो । अहिलेसम्मको राजनीति सत्ताको राजनीति भएको छ । मूल्यमान्यताकोे राजनीति हुन सकेको छैन । त्यो भाषणमा मात्रै सीमित छ । बोलीमा मात्रै छ । मलाई त कहिलेकाहीं के लाग्छ भने, हामी आफ्नो घर भन्छौं, तर यसको साँचो अन्त कतै छ । ताल्चा हामीसँग, साँचो अरुसंँगै ! यो अवस्था छ । यद्यपि, अहिलेका पुस्ताले धेरै बुझ्दै गएका छन् । केही न केही त भोलिका दिनमा अवश्य हुनेछ । जडचिन्तन परम्परामा परिवर्तन अवश्य पनि होला ।

अहिले चर्चा छ, भारतबाट राजनीतिज्ञहरु जन्ती लिएर जनकपुर आउँदैछन्, के हो यो ?

संस्कृतिको कुनै बोर्डर(सीमाना) हुँदैन । मैले भन्ने गरेको छु, ‘कल्चरल्ली इन्डिया इज ए बिगर नेपाल, एन्ड नेपाल इज ए स्मलर इन्डिया ।’ यी दुवै देशमा एउटै धर्म, संस्कृति, थर, जातका मानिस छन्  । सांस्कृतिकरुपमा सारा कुरा मिल्छन् । अफ्रिकामा पनि एउटै कल्चर भएका देशहरु धेरै छन् । एउटै भाषा, एउटै जीवनशैली भएका देशहरु छन् । तर जब राष्ट्रियताको कुरो उठ्छ उनीहरु अलग हुन्छन् कि हुँदैनन् ? स्वाभिमानको कुरो उठ्छ, उनीहरु जागरुक भएर उठ्छन कि उठदैनन् ? एउटा कुरो के हो भने, भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ । एकदमै निकट सम्बन्ध छ । तर संस्कृतिलाई राजनीतिकरण कहिल्यै गर्नु हुँदैन । चीन र भारतसँग शत्रुता बढाएर नेपालकोृ अस्तित्व रहन सक्दैन । त्यो राष्ट्रवादी सोच पनि होइन । 

जहाँसम्म जन्तीको कुरो छ, अयोध्याबाट मठमन्दिरका साधु, सन्त, महन्तहरु आउनुलाई अस्वाभाविक मान्न हुँदैन । तर यहाँबाट यस्ता धार्मिक क्रियाकलापमा ओलीजी जानुहुन्छ भने कत्ति सुहाउँदिलो होला ? अलिकति पनि हुँदैन । यसरी जन्तीमा भारतीय नेताहरु नै आउनु जरुरी छ र ? उनीहरु त अरु बेला आइरहेकै छन् । यो सांस्कृतिक डिप्लोमेसी भए त ठीकै हुन्थ्यो, तर यो त सांस्कृतिक हतियारजस्तो देखियो । त्यसैले यस्तो हुनुहुँदैन ।

अर्को कुरा, यहाँ (मधेस)का कतिपय मानिस मसँग रिसाएकै छन्, फेरि पनि रिसाउलान् । त्यहाँ (भारतमा) जुन आन्दोलन, जुन नाराका साथ चल्छ त्यही आन्दोलन त्यही नाराका साथ हामीले यहाँ पनि चलाउनुपर्छ भन्ने छैन । हामीले फरक तरिकाले काम गर्नुपर्छ । हाम्रो एउटा पृथक पहिचान छ । त्यो पहिचान कायम होस् भन्ने दृष्टिकोणबाट हामी अपिघ बढ्नुपर्छ । त्यसैले पनि संस्कृतिलाई राजनीतिक हतियारका रुपमा प्रयोग गर्न हुँदैन । त्यो  मिल्दैन पनि ।


 

प्रतिकृया दिनुहोस