काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आर्मीले प्रदेश नम्बर दुईमाथि ४–० को जित निकालेसँगै उपाधिका लागि दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
आर्मीलाई फाइनलमा पुर्याउन कृष्णा खत्री, इन्दिरा राई, शर्मिला थापामगर र सपना लामाले समान १–१ गोल गरे । भद्रकालीस्थित आफ्नै मैदानमा पहिलो हाफमा १ गोल गरेको आर्मीले दोस्रो हाफमा ३ गोल थपेको थियो ।
३७ औ मिनेटमा कृष्णा थापाको गोलबाट अग्रता लिएको आर्मीले ४८ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । आर्मीको अग्रता दोब्बर बनाउन इन्दिराले उत्कृष्ट गोल गरेकी थिइन् । लगत्तै १० मिनेटपछि शर्मिला थापामगरले आर्मीको अग्रता ३–० मा पुर्याएकी थिइन् । अग्रतापछि हौसिएको आर्मीले ६७ औं मिनेटमा चौथो गोल गरेको थियो । आर्मीको सहज जीतमा अन्तिम गोल सपना राईले गरेकी थिइन् ।
जीतपछि फाइनलमा स्थान बनाएको आर्मीले बुधबार उपाधिका लागि एपिएफसँग खेल्नेछ । विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलबाट बाहिरिएका नेपाल पुलिस र प्रदेश नम्बर दुईले ५०–५० हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा ३ विभागीय क्लब, दुई भारतका टोली र ७ प्रदेशका टिम सहभागी भएका थिए ।