site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्याको वैभव, प्रचण्डको प्रेम र ओलीको अकर्मण्यता 

आजभन्दा छ सय वर्षअघिनै अत्यन्त उर्वर भूमिमा नजन्मे पनि जमेका थिए – विद्यापति ठाकुर । विद्यापति ‘मिथक’ थिएनन् । ती हिँड्थे, डुल्थे । माटो छाम्दै पूरै मिथिलाञ्चलमा कविता सुनाउँदै हिड्थे । माटोलाई असाध्यै माया गर्थे । जनश्रुतिअनुसार उनको देहान्तको सहजताका लागि गङ्गाको एउटा भंगालो उनी बसेकै स्थानमा आइपुगेको थियो । ती विद्यापति मुलुकका थिए । यो कथा स्युस्यु राजाका पालाको हो । शिव सिंह राजाको अपभ्रंश हो कि स्युस्यु राजा ! स्युस्यु राजाका वंशतन्तु सिम्रौनगढ़का हरिसिंह देव राजासँग गासिन्छ । विद्यापतिका केही प्रमाणिक इतिहाससमेत भेटिएका छन् जुन अहिलेको नेपाली सीमा वारपार छरिएका छन् । तिनमा इतिहासकारले प्रकाश पार्न सक्छन् । आगे इतिहासकारको मर्जी !

लेखमा उठाउन खोजेको कुरो अलि बेग्लै छ । एक मैथिल ब्राह्मण विद्यापति ठाकुरले विद्याको बैभव पूरै भारत वर्षमा फैलाएका थिए । बंगाली, नेवारी, संस्कृत, मैथिली, उडिया आदि भाषामा उनका रचना, भजन, नाटक, कविता आदि भएर खेत खलियान  बाँचिरहेछन जनजिब्रोमा । कोकिल कवि उपाधि पाएका ती कविले फैलाएको वैभव हामीले भने आफ्नो बनाउन, भनाउन नै जानेनौ । हामीले कदम कदममा त्यो भाषा र भेषलाई पराया मानिरह्यौँ । मल्लका दरवारमा ग्राह्य विद्यापति ठाकुर अनि उनको विद्यालाई पछिल्ला  नेपाली रजतपटहरुमा ‘मुन्ना ठाकुर’ जतिमात्र बनाएर कोचिदिएपछि हामी कुन मुखले भनिरहेछौँ विद्याको चीरहरण नगर भनेर ? तिनै विद्यापतिको वैभव सांस्कृतिक धरोहरको रुपमा बिरासतमा पाएका एक पठित (विद्वान् नै नभनिहालौँ कि?) मैथिल राष्ट्रपति पाएको थियो मुलुकले । उनको धोती कुर्ता उतार्दा, उनको गम्छा थुतिदिँदा अनि टोपी फाल् भनेर कुर्लिरहँदा सायद कसैलाई ‘न्याउरी मारिरहे’ झैँ लागेन । विद्याको नाममा फलानाकी धर्मपत्नीबाहेक अन्य गुण अगोचर एक सामान्यतः आदरणीय नारीउपर स्वार्थान्धताको लाञ्छना लाग्यो, अनायास ‘न्याउरी भकाभक’ मारिन लागे । ‘न्याउरी मारी पछुतो नहोस्’वाला चेतावनी र ‘राष्ट्रपतिलाई साइकलमा लैजाने हो?’ वाला प्रश्नमा जुन अशिष्टता र ‘टुप्पिएको’ नियत देखिन्छ समग्र सरकारकै त्यही भावना र कामना हो भने मान्नु पर्छ विद्याको वैभवमा बास्कोटाहरु निरन्तर प्रहार गरिरहेछन् । रामवरणलाई आँखा चिम्लेर सराप्नेहरूको एउटा जमात चीरहरणका बेलाको माधवतार बन्ने जमर्काे कस्दैछ र भन्दैछ – राष्ट्रपतिको इज्जतको ख्याल गरौँ । त्यो त्यही जमात हो जसले आफ्नै मुलुकका अघिल्ला उपराष्ट्रपतिलाई विदेशी दलालसमेत भन्न बाँकी राखेन । उपदेश दिनु अलग कुरा, उतिखेरै मैले भनेको छु – जुन रहर र लहडले यो संविधान लादियो, त्यतिनैखेर कराडौं नेपालीको अपमान भइसक्यो । विलासितामा पल्केका केही सत्तान्धको सुविधामोह उपर समाजले विषबमन गर्दा कुन कुलीनको अपमान भयो ? सेतो सारीमा रातो मसी छेपिसकेकाहरुको सरकारले अब कुन मुखले ‘न्याउरी मारी पछुतो’ फलाकिरहने हो ? अब त पछुताइरहनेमात्र हो ।

यो किन भै रहेछ भने सम्भवतः हाम्रो हरेक क्रान्ति राजनीतिक  रह्यो २००७ सालको बाहेकको । र सबै क्रान्तिमा विद्याको उपहास भइरह्यो, विवेक पटकपटक बन्दी बन्यो र बदलामात्र ध्येय रह्यो । माओवादी नरसंहार त बदलाभावभन्दा बढी केही रहेनछ । हुन्थ्यो भने सामाजिक रुपान्तरणको असीमित अवसरको बदलामा पार्टी रुपान्तरण नै ‘प्रचण्डपथ’ बन्ने थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

कुरो पुष्पकमल दाहाल ‘प्रचण्ड’को आइहाल्यो र यति सुनाइदिनै पर्ने भयो । प्रचण्डको प्रेमको समेत अकस्मात चर्चा रह्यो पछिल्लो समयमा । सामाजिक सञ्जालमा सिङ्गापुरदेखि म्याग्दीसम्म उनको प्रेम छचल्कियो । एक आदर्श पिता र पति हुनुको बेतोड अभ्यास गरिरहेछन् उनी । एक साधारण नागरिकका हैसियतले उनले त्यो गर्न पाउनुपर्छ । तर, समस्या त्यसभन्दा पृथक छ । किनभने उनी साधारण नागरिक होइनन् । उनी त असाधारण नागरिक हुन् । असाधारण नागरिकका निजी जीवन सार्वजनिक गरिनु हुन्न तर प्रचण्ड कसैले नमाने पनि एक सार्वजनिक सम्पत्ति बनिसकेका छन् । सार्वजनिक सम्पत्ति भैसकेपछि तिनको सीता प्रेम र अर्धनग्न तस्बिरको सम्प्रेषणलाई निजी माम्लोमा हस्तक्षेप भनेर सुख पाइन्न । उनका छोरा त अल्पायुमा कालगतिले मरे अरु सयौं छोराहरु त आयु बाँकी रहँदै कसैको लहडमा सेरिएका हुन् नि ! हैनन् भन्न त उनी पनि नसक्लान् । त्यसो हो भने कुन स्रोत र साधन उपभोग गरेर ती हजारौं प्रचण्डहरु हजारौं सीताको मन बहलाउन वा असाध्य रोग निदान गर्न देश देशावर भौंतारिन सकुन् ? नियत असल हुँदो हो त नियतिले समेत नखेद्दो हो । यहाँ त नियत्नै खराब देखियो । सेरौँ, रेटौँ र प्रचण्ड प्रतापी भूपति बनौ । गणेश चिलुवाल र मुक्ति अधिकारीका सन्ततिलाई ‘युद्धमा छिटपुट घटना हुन्छन्’ भनेर सम्झाउँदा सम्झेनन् भनेर बिलौना गर्नु अघि सायद प्रचण्ड अहिले  बुझ्दैछन् – प्रेमको अर्थ के हो ? रक्सी धोकुन्जेल र त्यसको मात रहुन्जेल मान्छेलाई जे पनि गर्न सक्छुजस्तो लाग्छ ।  राजाको बंगारा झार्न सक्छुजस्तो पनि लाग्छ, भारतलाई सुरुङ्गबाटै तह लगाउन सक्छुजस्तो पनि लाग्छ । नशा उत्रेपछि त्यही मात अघोर टाउको दुखाई (ह्याङओभर वा धङधङी) बनेर बल्झिरहन्छ । सम्भवतः प्रचण्ड त्यही टाउको दुखाइबाट गुज्रिरहेछन् र त्यसबाट मुक्ति पाउन तीर्थाटनमा निस्केकाछन् धुप, दीप, नैवेद्य गर्दै । सायद चेतेका छन् बदलाको भावले न राज्यको  रुपान्तरण हुँदो रहेछ न समाजको । प्रेमले जित्न नसकुन्जेल ‘उसले पाए उसैले ठोक्ने, मैले पाए मैले ठोक्ने’को क्रम चलिरहन्छ । हिजो एउटी केटीले शेरबहादुरलाई स्यालबहादुर भन्दा काखी बजाउनेहरु आज ठोकिने ठाउँमा पुगेका छन्,  लाठी बजाउनेहरु ठोक्ने ठाउँमा ।  यो ठोक्ने, ठोकिने नियमितताभित्र एक कृशकाय समाज छ जो अझै सुनौलो दिन पर्खेर सप्रेम बसेको छ । विद्याको वैभव पुनरागमन सम्भव छ भनेर ढुकेर बसेको छ । विद्याको वैभव निश्चय नै बडामहारानीको तामझामसँग नारिएर आउँदैन । न त साइकलको केरियरमा बेरिएर आउँछ । विद्याको वैभव ओलीको अकर्मण्यता मासिएको दिन सद्भावसँग नारिएर आउँछ ।

भर्खरै दसैं तिहार सकियो । एकपल्ट फेरि आदरणीय नारायण गोपाल अनि भूपी शेरचनले चिमोटेर गए – दिनभरि काग कराइरह्यो बारीको टौवामा भनेर गए । काग एक विशिष्ट पंक्षी हो हाम्रो  समाजको, हाम्रो संस्कृतिको । मयुर जति नै सुन्दर किन नहोस् हामी पुज्न काग पुज्छौँ । कारण बग्रेल्ती होलान् । उखान पनि कागैका बेसी रहेछन् । तीमध्ये यी ४ वटा सन्दर्भमा गाँसिन आइपुगे ।

Global Ime bank

१. कुइरोको काग  

ओली महोदयको अकर्मण्यता र हतासाले उनी कुइरोको काग बनेको बताउँदै छ । सिस्नोपानी नेपालले भनेझैं पाँच महिनामा लंका डढाएको फिरिस्ती सुनाएको सरकार सातै महिनामा जादु हो ? भनेर हप्काउँछ । यो कुइरोको काग नभए के हो त? सुन काण्ड, सिन्डिकेट काण्ड, ठेकेदार काण्डमा ‘नुन, चुक, ढुक’ भएको सरकारको ‘समृद्धिको फिरिस्ती’ सुनाउन विदेश मन्त्री, मेयर्साप ‘इन्टु मिन्टु लन्डनमा’ गरिरहेछन् । बिचरो सरकार भने निर्मला काण्डमै पूरै ‘तिर्पेन्ताम्’ को अवस्थामा पुगेको छ भन्दा अतिशयोक्ति नहोला । हरेक पटक जता पुग्यो उतै ठोकिने, ढुन्मुनिने काग बनेको सरकार बेलाबेलामा सरकारी उर्दीको कर्कश आवाज निकाल्न सिंहदरवारको टौवामा आइपुग्छ ।

२. काग बाठो भए ‘ऊ’खान्छ  

निर्मला पन्तको मुद्दामा सरकार काग भएकै हो । त्यसमा पनि प्रमुख काग ओली महोदय नै बन्न पुगे । अकर्मण्य उनी के बोल्नु हुन्छ? के अरुबाट बोलाउने? भन्दा निकै टाढा छन् । बोलिदिन्छन् र बोलिरहन्छन् । हुँदाहुँदा १२ वर्ष पनि लाग्न सक्छ हत्यारा पत्ता लगाउन भनेर समेत बोल्न भ्याए । बलात्कार र हत्या विपक्षीको चाल भन्ने उग्रमहिला क्रान्तिकारी सांसदको लोलीमा बोली मिलाएर प्रधानमन्त्री कुर्लिए । नेपाली समसामयिक राजनीति ‘सर्प देखे दुलोबाहिर हात, माछो देखे दुलोभित्र हात’बाट ग्रसित त छ नै । एकथरी भजनभाटहरु प्रधानमन्त्री र राष्ट्रपति सबैको साझा सम्पत्ति हो भनेर आदर्श घोक्छन् र विपक्षीको चाल हो भन्ने प्रधानमन्त्रीलाई  ‘तिमी गलत छौ’ पनि भन्दैनन् । बारीको डिलमा उभिएर हेर्दा देखिन्छ – बाठो काग ‘ऊ’ खाँदै छ ।

३. कागभन्दा कोइली चंख 

केही नितान्त निजी अनुभव छन् । पदमा रहँदा आफैँ सर्वज्ञ हुँ, तोक लाउनेदेखि गेट लाउनेसम्म मैं हुँ, म बाहेक अन्य मिथ्या हुन् भन्ने लाग्छ ।  गर्ने हात दुई र गर्ने समय दिनको २४ घन्टामा वृद्धि त हुँदैन । त्यसैले एकोहोरो हुनै पर्छ, तल्लीन रहनै पर्छ । केही गरी देखाउँछु भन्नेका लागि त समय नै पुग्दैन । र विडम्बना के हो भने त्यतिखेर काम गर्न नजान्दा सर्वथा एक्लो परिन्छ । काग काग गर्दै एकपछि अर्काे सपनाको गुगली फ्याँकिसकेपछी अविकासको तगारो ढल्यो, ढलेन गनेर बस्ने त कोइली हुने नै भए ।  समाजमा हिजो झैं कटुवाल कराउँदा टेर्नेको जमात निख्रिँदै गयो, कोइली पुस्ता थपिँदै गयो । यसरी हेर्दा चंख कोइलीले सामाजिक सञ्जाल मार्फत काग सरकारका प्वाँख थुतिरहेछन् । अभिव्यक्ति स्वतन्त्रताबाहेक बाँकी गणतन्त्रका उपलब्धि अन्तै घोप्टिएपछि ‘मुख हैन, हात चलाऊ’मा  अभ्यस्त नयाँ पुस्ता सरकारबाट पनि त्यही अपेक्षा गर्छ । अकर्मण्य हुन्जेल सहला, अनुत्पादक भएका दिन सडकमा आएर हुत्याइदेला । त्यो पुस्ता निश्चय नै चंख छ ।

४. काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ  
सत्ताधारीहरुको एउटा साझा चरित्र हुन्छ । त्यो शाहयुग, राणा, कोइरालायुग र अब ओलीयुगमा समेत लागु हुन्छ । त्यो चरित्रको विशुद्ध उदाहरण नै उल्ल्लेखित उखान हो ।  विद्याको वैभव देख्न रुचाउने केही फकिरहरु निरन्तर विचारको फेरी लगाइरहन्छन् । ती लेख्छन्, बोल्छन्, रुन्छन्, कराउँछन्, झम्टन्छन्, सबै गर्छन् तर आफ्ना स्वार्थका लागि नभई सामूहिक स्वार्थका लागि गर्छन् । भूतप्रेतबाट बस्ती जोगाउन रातविरात नलीहाड बजाएर गाउँ, गल्ली हिँडे जस्तै ती हिँडिरहन्छन् निःस्वार्थ । तिनलाई टाँडमा बसेका ठालुहरु देखिसहन्नन् । 
अकर्मण्य ज्ञानुराजाका अजबका सञ्चारमन्त्री थिए – श्रीश शमशेर, अकर्मण्य ओलीराजाका गजबका सञ्चारमन्त्री छन् – गोकुलप्रसाद । यी दुवै अजबगजबका मन्त्रीहरुमा एउटा समानता देखिन्छ – ती आफूबाहेक अरु सबैलाई बेबकुफ ठान्छन् । पिना सुकेको भ्रममा बाँच्छन्  र आआफ्ना राजाहरुलाई सोही मुताबिक कर्ण फुसफुस गरिरहन्छन् । अकर्मण्य महाराजहरु ‘बुझेँ, बुझेँ’ भङ्गिमामा मुन्टो हल्लाएर जग हसाउँछन् ।

शाहीकालमा न विद्याको वैभव थियो न प्रचण्ड प्रेम । केही थियो भने अकर्मण्यता । आज विद्याजीको वैभव र प्रचण्डजीको प्रेम प्राप्त भयो तर ओलीजीको अकर्मण्यता पनि सँगै उभिएको छ । विडम्बना, समाजले विद्याजीको वैभव, प्रचण्डजीको प्रेम र ओलीजीको अकर्मण्यता खोजेको थिएन । समाजले रुपान्तरण खोजेको थियो – सामाजिक क्रान्ति । त्यसले समाजमा विद्याको वैभव पुनःस्थापित गर्न सक्थ्यो, प्रचण्ड प्रेमको संवाहक बन्न सक्थ्यो ।  सामाजिक रुपान्तरण त  विद्वत् क्रान्ति हो । ‘आजदेखि मुक्त’ भनेका भरमा न हलिया मुक्त भए न कमैया । समृद्धि पनि त्यस्तै हो ।  समृद्ध अर्काले भइस् भनेर नपुग्ने र आफैँले अनुभूत गर्ने कुरा हो । मानव समाजले जुन दिन आफू समृद्ध भएको ठान्छ त्यही दिन प्रगति रोकिन्छ । समृद्धि निरवछिन्न प्रक्रिया हो सृष्टि जत्तिकै । यो एकपछि अर्काे चाह बनेर आउँछ । आउनु पनि पर्छ । तर निश्चय हो, यो नारा बनेर आउँदैन । कसैले नारा बनाएको छ भने त्यो वाहियात हो । सत्तामा पुगेकाहरुलाई लाग्छ यी कागहरु कराउँदै गर्छन् समृद्धि त एउटा गाडीबाट पाँच गाडी हुँदै आइरहेकै छ नि ! एउटा डेराबाट अनेकौं घडेरी हुँदै आइरहेकै छ नि  !  हो, केही सीमितलाई आइरहेको समृद्धिसँगै अरबबाट कफिन पनि त आइरहेकै छ । त्यतिमात्र किन? केही महोदयहरुको समृद्धि खातिर लाखौं पास्पोर्टले भिसा पनि त पाइराखेकै छ । 

संसारको कुनै एकजना मन्त्री धुँवाधुलोबाट ग्रस्त भएर साइकलको वकालत गर्छ । सँसारको अर्काे कुनै मन्त्री ‘सामसुङ’को ‘आइफोन’ बोक्छ, ‘बीएमडब्ल्युु’को ‘जीप’मा चढ्छ । विद्वताको ध्वाँस लगाउँछ र सोध्छ – राष्ट्रपतिलाई साइकलमा सवारी गराउने हो ? उसको त्यो विद्वतामाथि शंका नगरी भन्नुपर्छ – हो, महाशय, राष्ट्रपतिलाई सहज हुन्जेल गर्ने नै त्यही हो । असहज भए उनैले पद्धति नमिची भन्न सक्छिन् – पद्धति बनाइपाऊँ । निर्धन मुलुकका धनी राजा भनी मलाईसमेत सडकमा उतारेका तपाईंहरुलाई मेरो यो प्रश्न बिझाउने हुन सक्ला – निर्धन मुलुकका सुविधाभोगी राष्ट्रपति भनेर कुनै दिन जनता सडकमा उर्ले भने के भनेर कहाँ कुर्लिनु हुन्छ?  सम्भवतः अकर्मण्य ओलीजीलाई समेत यो प्रश्नको जवाफमा कुनै टुक्का फुरोइन । 

(यो लेखको शीर्षकसँग मिल्दोजुल्दो शीर्षक राखेर एउटा लेख कोरल्छु भन्दा एक मित्रले भनेका थिए – आफ्ना हुतीहारा समेतलाई नछोड् है? यो लेख आफ्नै लागेकाहरुप्रति सादर लेखिएको हो । मेरी आमा अझै पनि ओखती भनेर करेलामाथि भरोसा गर्छिन् ।) 
नेपालमा समृद्धि विद्याको वैभव र प्रचण्ड प्रेमको संवाहनपछि मात्र सम्भव छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC