आजभन्दा छ सय वर्षअघिनै अत्यन्त उर्वर भूमिमा नजन्मे पनि जमेका थिए – विद्यापति ठाकुर । विद्यापति ‘मिथक’ थिएनन् । ती हिँड्थे, डुल्थे । माटो छाम्दै पूरै मिथिलाञ्चलमा कविता सुनाउँदै हिड्थे । माटोलाई असाध्यै माया गर्थे । जनश्रुतिअनुसार उनको देहान्तको सहजताका लागि गङ्गाको एउटा भंगालो उनी बसेकै स्थानमा आइपुगेको थियो । ती विद्यापति मुलुकका थिए । यो कथा स्युस्यु राजाका पालाको हो । शिव सिंह राजाको अपभ्रंश हो कि स्युस्यु राजा ! स्युस्यु राजाका वंशतन्तु सिम्रौनगढ़का हरिसिंह देव राजासँग गासिन्छ । विद्यापतिका केही प्रमाणिक इतिहाससमेत भेटिएका छन् जुन अहिलेको नेपाली सीमा वारपार छरिएका छन् । तिनमा इतिहासकारले प्रकाश पार्न सक्छन् । आगे इतिहासकारको मर्जी !
लेखमा उठाउन खोजेको कुरो अलि बेग्लै छ । एक मैथिल ब्राह्मण विद्यापति ठाकुरले विद्याको बैभव पूरै भारत वर्षमा फैलाएका थिए । बंगाली, नेवारी, संस्कृत, मैथिली, उडिया आदि भाषामा उनका रचना, भजन, नाटक, कविता आदि भएर खेत खलियान बाँचिरहेछन जनजिब्रोमा । कोकिल कवि उपाधि पाएका ती कविले फैलाएको वैभव हामीले भने आफ्नो बनाउन, भनाउन नै जानेनौ । हामीले कदम कदममा त्यो भाषा र भेषलाई पराया मानिरह्यौँ । मल्लका दरवारमा ग्राह्य विद्यापति ठाकुर अनि उनको विद्यालाई पछिल्ला नेपाली रजतपटहरुमा ‘मुन्ना ठाकुर’ जतिमात्र बनाएर कोचिदिएपछि हामी कुन मुखले भनिरहेछौँ विद्याको चीरहरण नगर भनेर ? तिनै विद्यापतिको वैभव सांस्कृतिक धरोहरको रुपमा बिरासतमा पाएका एक पठित (विद्वान् नै नभनिहालौँ कि?) मैथिल राष्ट्रपति पाएको थियो मुलुकले । उनको धोती कुर्ता उतार्दा, उनको गम्छा थुतिदिँदा अनि टोपी फाल् भनेर कुर्लिरहँदा सायद कसैलाई ‘न्याउरी मारिरहे’ झैँ लागेन । विद्याको नाममा फलानाकी धर्मपत्नीबाहेक अन्य गुण अगोचर एक सामान्यतः आदरणीय नारीउपर स्वार्थान्धताको लाञ्छना लाग्यो, अनायास ‘न्याउरी भकाभक’ मारिन लागे । ‘न्याउरी मारी पछुतो नहोस्’वाला चेतावनी र ‘राष्ट्रपतिलाई साइकलमा लैजाने हो?’ वाला प्रश्नमा जुन अशिष्टता र ‘टुप्पिएको’ नियत देखिन्छ समग्र सरकारकै त्यही भावना र कामना हो भने मान्नु पर्छ विद्याको वैभवमा बास्कोटाहरु निरन्तर प्रहार गरिरहेछन् । रामवरणलाई आँखा चिम्लेर सराप्नेहरूको एउटा जमात चीरहरणका बेलाको माधवतार बन्ने जमर्काे कस्दैछ र भन्दैछ – राष्ट्रपतिको इज्जतको ख्याल गरौँ । त्यो त्यही जमात हो जसले आफ्नै मुलुकका अघिल्ला उपराष्ट्रपतिलाई विदेशी दलालसमेत भन्न बाँकी राखेन । उपदेश दिनु अलग कुरा, उतिखेरै मैले भनेको छु – जुन रहर र लहडले यो संविधान लादियो, त्यतिनैखेर कराडौं नेपालीको अपमान भइसक्यो । विलासितामा पल्केका केही सत्तान्धको सुविधामोह उपर समाजले विषबमन गर्दा कुन कुलीनको अपमान भयो ? सेतो सारीमा रातो मसी छेपिसकेकाहरुको सरकारले अब कुन मुखले ‘न्याउरी मारी पछुतो’ फलाकिरहने हो ? अब त पछुताइरहनेमात्र हो ।
यो किन भै रहेछ भने सम्भवतः हाम्रो हरेक क्रान्ति राजनीतिक रह्यो २००७ सालको बाहेकको । र सबै क्रान्तिमा विद्याको उपहास भइरह्यो, विवेक पटकपटक बन्दी बन्यो र बदलामात्र ध्येय रह्यो । माओवादी नरसंहार त बदलाभावभन्दा बढी केही रहेनछ । हुन्थ्यो भने सामाजिक रुपान्तरणको असीमित अवसरको बदलामा पार्टी रुपान्तरण नै ‘प्रचण्डपथ’ बन्ने थिएन ।
कुरो पुष्पकमल दाहाल ‘प्रचण्ड’को आइहाल्यो र यति सुनाइदिनै पर्ने भयो । प्रचण्डको प्रेमको समेत अकस्मात चर्चा रह्यो पछिल्लो समयमा । सामाजिक सञ्जालमा सिङ्गापुरदेखि म्याग्दीसम्म उनको प्रेम छचल्कियो । एक आदर्श पिता र पति हुनुको बेतोड अभ्यास गरिरहेछन् उनी । एक साधारण नागरिकका हैसियतले उनले त्यो गर्न पाउनुपर्छ । तर, समस्या त्यसभन्दा पृथक छ । किनभने उनी साधारण नागरिक होइनन् । उनी त असाधारण नागरिक हुन् । असाधारण नागरिकका निजी जीवन सार्वजनिक गरिनु हुन्न तर प्रचण्ड कसैले नमाने पनि एक सार्वजनिक सम्पत्ति बनिसकेका छन् । सार्वजनिक सम्पत्ति भैसकेपछि तिनको सीता प्रेम र अर्धनग्न तस्बिरको सम्प्रेषणलाई निजी माम्लोमा हस्तक्षेप भनेर सुख पाइन्न । उनका छोरा त अल्पायुमा कालगतिले मरे अरु सयौं छोराहरु त आयु बाँकी रहँदै कसैको लहडमा सेरिएका हुन् नि ! हैनन् भन्न त उनी पनि नसक्लान् । त्यसो हो भने कुन स्रोत र साधन उपभोग गरेर ती हजारौं प्रचण्डहरु हजारौं सीताको मन बहलाउन वा असाध्य रोग निदान गर्न देश देशावर भौंतारिन सकुन् ? नियत असल हुँदो हो त नियतिले समेत नखेद्दो हो । यहाँ त नियत्नै खराब देखियो । सेरौँ, रेटौँ र प्रचण्ड प्रतापी भूपति बनौ । गणेश चिलुवाल र मुक्ति अधिकारीका सन्ततिलाई ‘युद्धमा छिटपुट घटना हुन्छन्’ भनेर सम्झाउँदा सम्झेनन् भनेर बिलौना गर्नु अघि सायद प्रचण्ड अहिले बुझ्दैछन् – प्रेमको अर्थ के हो ? रक्सी धोकुन्जेल र त्यसको मात रहुन्जेल मान्छेलाई जे पनि गर्न सक्छुजस्तो लाग्छ । राजाको बंगारा झार्न सक्छुजस्तो पनि लाग्छ, भारतलाई सुरुङ्गबाटै तह लगाउन सक्छुजस्तो पनि लाग्छ । नशा उत्रेपछि त्यही मात अघोर टाउको दुखाई (ह्याङओभर वा धङधङी) बनेर बल्झिरहन्छ । सम्भवतः प्रचण्ड त्यही टाउको दुखाइबाट गुज्रिरहेछन् र त्यसबाट मुक्ति पाउन तीर्थाटनमा निस्केकाछन् धुप, दीप, नैवेद्य गर्दै । सायद चेतेका छन् बदलाको भावले न राज्यको रुपान्तरण हुँदो रहेछ न समाजको । प्रेमले जित्न नसकुन्जेल ‘उसले पाए उसैले ठोक्ने, मैले पाए मैले ठोक्ने’को क्रम चलिरहन्छ । हिजो एउटी केटीले शेरबहादुरलाई स्यालबहादुर भन्दा काखी बजाउनेहरु आज ठोकिने ठाउँमा पुगेका छन्, लाठी बजाउनेहरु ठोक्ने ठाउँमा । यो ठोक्ने, ठोकिने नियमितताभित्र एक कृशकाय समाज छ जो अझै सुनौलो दिन पर्खेर सप्रेम बसेको छ । विद्याको वैभव पुनरागमन सम्भव छ भनेर ढुकेर बसेको छ । विद्याको वैभव निश्चय नै बडामहारानीको तामझामसँग नारिएर आउँदैन । न त साइकलको केरियरमा बेरिएर आउँछ । विद्याको वैभव ओलीको अकर्मण्यता मासिएको दिन सद्भावसँग नारिएर आउँछ ।
भर्खरै दसैं तिहार सकियो । एकपल्ट फेरि आदरणीय नारायण गोपाल अनि भूपी शेरचनले चिमोटेर गए – दिनभरि काग कराइरह्यो बारीको टौवामा भनेर गए । काग एक विशिष्ट पंक्षी हो हाम्रो समाजको, हाम्रो संस्कृतिको । मयुर जति नै सुन्दर किन नहोस् हामी पुज्न काग पुज्छौँ । कारण बग्रेल्ती होलान् । उखान पनि कागैका बेसी रहेछन् । तीमध्ये यी ४ वटा सन्दर्भमा गाँसिन आइपुगे ।
१. कुइरोको काग
ओली महोदयको अकर्मण्यता र हतासाले उनी कुइरोको काग बनेको बताउँदै छ । सिस्नोपानी नेपालले भनेझैं पाँच महिनामा लंका डढाएको फिरिस्ती सुनाएको सरकार सातै महिनामा जादु हो ? भनेर हप्काउँछ । यो कुइरोको काग नभए के हो त? सुन काण्ड, सिन्डिकेट काण्ड, ठेकेदार काण्डमा ‘नुन, चुक, ढुक’ भएको सरकारको ‘समृद्धिको फिरिस्ती’ सुनाउन विदेश मन्त्री, मेयर्साप ‘इन्टु मिन्टु लन्डनमा’ गरिरहेछन् । बिचरो सरकार भने निर्मला काण्डमै पूरै ‘तिर्पेन्ताम्’ को अवस्थामा पुगेको छ भन्दा अतिशयोक्ति नहोला । हरेक पटक जता पुग्यो उतै ठोकिने, ढुन्मुनिने काग बनेको सरकार बेलाबेलामा सरकारी उर्दीको कर्कश आवाज निकाल्न सिंहदरवारको टौवामा आइपुग्छ ।
२. काग बाठो भए ‘ऊ’खान्छ
निर्मला पन्तको मुद्दामा सरकार काग भएकै हो । त्यसमा पनि प्रमुख काग ओली महोदय नै बन्न पुगे । अकर्मण्य उनी के बोल्नु हुन्छ? के अरुबाट बोलाउने? भन्दा निकै टाढा छन् । बोलिदिन्छन् र बोलिरहन्छन् । हुँदाहुँदा १२ वर्ष पनि लाग्न सक्छ हत्यारा पत्ता लगाउन भनेर समेत बोल्न भ्याए । बलात्कार र हत्या विपक्षीको चाल भन्ने उग्रमहिला क्रान्तिकारी सांसदको लोलीमा बोली मिलाएर प्रधानमन्त्री कुर्लिए । नेपाली समसामयिक राजनीति ‘सर्प देखे दुलोबाहिर हात, माछो देखे दुलोभित्र हात’बाट ग्रसित त छ नै । एकथरी भजनभाटहरु प्रधानमन्त्री र राष्ट्रपति सबैको साझा सम्पत्ति हो भनेर आदर्श घोक्छन् र विपक्षीको चाल हो भन्ने प्रधानमन्त्रीलाई ‘तिमी गलत छौ’ पनि भन्दैनन् । बारीको डिलमा उभिएर हेर्दा देखिन्छ – बाठो काग ‘ऊ’ खाँदै छ ।
३. कागभन्दा कोइली चंख
केही नितान्त निजी अनुभव छन् । पदमा रहँदा आफैँ सर्वज्ञ हुँ, तोक लाउनेदेखि गेट लाउनेसम्म मैं हुँ, म बाहेक अन्य मिथ्या हुन् भन्ने लाग्छ । गर्ने हात दुई र गर्ने समय दिनको २४ घन्टामा वृद्धि त हुँदैन । त्यसैले एकोहोरो हुनै पर्छ, तल्लीन रहनै पर्छ । केही गरी देखाउँछु भन्नेका लागि त समय नै पुग्दैन । र विडम्बना के हो भने त्यतिखेर काम गर्न नजान्दा सर्वथा एक्लो परिन्छ । काग काग गर्दै एकपछि अर्काे सपनाको गुगली फ्याँकिसकेपछी अविकासको तगारो ढल्यो, ढलेन गनेर बस्ने त कोइली हुने नै भए । समाजमा हिजो झैं कटुवाल कराउँदा टेर्नेको जमात निख्रिँदै गयो, कोइली पुस्ता थपिँदै गयो । यसरी हेर्दा चंख कोइलीले सामाजिक सञ्जाल मार्फत काग सरकारका प्वाँख थुतिरहेछन् । अभिव्यक्ति स्वतन्त्रताबाहेक बाँकी गणतन्त्रका उपलब्धि अन्तै घोप्टिएपछि ‘मुख हैन, हात चलाऊ’मा अभ्यस्त नयाँ पुस्ता सरकारबाट पनि त्यही अपेक्षा गर्छ । अकर्मण्य हुन्जेल सहला, अनुत्पादक भएका दिन सडकमा आएर हुत्याइदेला । त्यो पुस्ता निश्चय नै चंख छ ।
४. काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ
सत्ताधारीहरुको एउटा साझा चरित्र हुन्छ । त्यो शाहयुग, राणा, कोइरालायुग र अब ओलीयुगमा समेत लागु हुन्छ । त्यो चरित्रको विशुद्ध उदाहरण नै उल्ल्लेखित उखान हो । विद्याको वैभव देख्न रुचाउने केही फकिरहरु निरन्तर विचारको फेरी लगाइरहन्छन् । ती लेख्छन्, बोल्छन्, रुन्छन्, कराउँछन्, झम्टन्छन्, सबै गर्छन् तर आफ्ना स्वार्थका लागि नभई सामूहिक स्वार्थका लागि गर्छन् । भूतप्रेतबाट बस्ती जोगाउन रातविरात नलीहाड बजाएर गाउँ, गल्ली हिँडे जस्तै ती हिँडिरहन्छन् निःस्वार्थ । तिनलाई टाँडमा बसेका ठालुहरु देखिसहन्नन् ।
अकर्मण्य ज्ञानुराजाका अजबका सञ्चारमन्त्री थिए – श्रीश शमशेर, अकर्मण्य ओलीराजाका गजबका सञ्चारमन्त्री छन् – गोकुलप्रसाद । यी दुवै अजबगजबका मन्त्रीहरुमा एउटा समानता देखिन्छ – ती आफूबाहेक अरु सबैलाई बेबकुफ ठान्छन् । पिना सुकेको भ्रममा बाँच्छन् र आआफ्ना राजाहरुलाई सोही मुताबिक कर्ण फुसफुस गरिरहन्छन् । अकर्मण्य महाराजहरु ‘बुझेँ, बुझेँ’ भङ्गिमामा मुन्टो हल्लाएर जग हसाउँछन् ।
शाहीकालमा न विद्याको वैभव थियो न प्रचण्ड प्रेम । केही थियो भने अकर्मण्यता । आज विद्याजीको वैभव र प्रचण्डजीको प्रेम प्राप्त भयो तर ओलीजीको अकर्मण्यता पनि सँगै उभिएको छ । विडम्बना, समाजले विद्याजीको वैभव, प्रचण्डजीको प्रेम र ओलीजीको अकर्मण्यता खोजेको थिएन । समाजले रुपान्तरण खोजेको थियो – सामाजिक क्रान्ति । त्यसले समाजमा विद्याको वैभव पुनःस्थापित गर्न सक्थ्यो, प्रचण्ड प्रेमको संवाहक बन्न सक्थ्यो । सामाजिक रुपान्तरण त विद्वत् क्रान्ति हो । ‘आजदेखि मुक्त’ भनेका भरमा न हलिया मुक्त भए न कमैया । समृद्धि पनि त्यस्तै हो । समृद्ध अर्काले भइस् भनेर नपुग्ने र आफैँले अनुभूत गर्ने कुरा हो । मानव समाजले जुन दिन आफू समृद्ध भएको ठान्छ त्यही दिन प्रगति रोकिन्छ । समृद्धि निरवछिन्न प्रक्रिया हो सृष्टि जत्तिकै । यो एकपछि अर्काे चाह बनेर आउँछ । आउनु पनि पर्छ । तर निश्चय हो, यो नारा बनेर आउँदैन । कसैले नारा बनाएको छ भने त्यो वाहियात हो । सत्तामा पुगेकाहरुलाई लाग्छ यी कागहरु कराउँदै गर्छन् समृद्धि त एउटा गाडीबाट पाँच गाडी हुँदै आइरहेकै छ नि ! एउटा डेराबाट अनेकौं घडेरी हुँदै आइरहेकै छ नि ! हो, केही सीमितलाई आइरहेको समृद्धिसँगै अरबबाट कफिन पनि त आइरहेकै छ । त्यतिमात्र किन? केही महोदयहरुको समृद्धि खातिर लाखौं पास्पोर्टले भिसा पनि त पाइराखेकै छ ।
संसारको कुनै एकजना मन्त्री धुँवाधुलोबाट ग्रस्त भएर साइकलको वकालत गर्छ । सँसारको अर्काे कुनै मन्त्री ‘सामसुङ’को ‘आइफोन’ बोक्छ, ‘बीएमडब्ल्युु’को ‘जीप’मा चढ्छ । विद्वताको ध्वाँस लगाउँछ र सोध्छ – राष्ट्रपतिलाई साइकलमा सवारी गराउने हो ? उसको त्यो विद्वतामाथि शंका नगरी भन्नुपर्छ – हो, महाशय, राष्ट्रपतिलाई सहज हुन्जेल गर्ने नै त्यही हो । असहज भए उनैले पद्धति नमिची भन्न सक्छिन् – पद्धति बनाइपाऊँ । निर्धन मुलुकका धनी राजा भनी मलाईसमेत सडकमा उतारेका तपाईंहरुलाई मेरो यो प्रश्न बिझाउने हुन सक्ला – निर्धन मुलुकका सुविधाभोगी राष्ट्रपति भनेर कुनै दिन जनता सडकमा उर्ले भने के भनेर कहाँ कुर्लिनु हुन्छ? सम्भवतः अकर्मण्य ओलीजीलाई समेत यो प्रश्नको जवाफमा कुनै टुक्का फुरोइन ।
(यो लेखको शीर्षकसँग मिल्दोजुल्दो शीर्षक राखेर एउटा लेख कोरल्छु भन्दा एक मित्रले भनेका थिए – आफ्ना हुतीहारा समेतलाई नछोड् है? यो लेख आफ्नै लागेकाहरुप्रति सादर लेखिएको हो । मेरी आमा अझै पनि ओखती भनेर करेलामाथि भरोसा गर्छिन् ।)
नेपालमा समृद्धि विद्याको वैभव र प्रचण्ड प्रेमको संवाहनपछि मात्र सम्भव छ ।