‘साली, तेरो बाउको गाडी हो र ?’

शिक्षा रिसाल

‘साली, तेरो बाउको गाडी हो र ?’

काठमाडौंमा ट्याक्सी चालकको मनोमानी नयाँ कुरा होइन । आफूले भनेजस्तो नभए जुन तहमा पनि उत्रने ट्याक्सी चालकको संख्या पनि कम छैन यो सहरमा । कोही यात्रु आफूलाई चित्त नबुझेको कुरामा ट्याक्सी चालकसँग झगडा पनि गर्छन् भने कोही सहिदिन्छन् ।
सार्वजनिक सवारी साधन नै प्रयोग गर्ने जोसुकैलाई पनि कहिलेकाहीँ अपर्झट पर्दा ट्याक्सी चढ्नै पर्ने बाध्यता हुन्छ । म पनि यसै वर्गमा पर्छु । मैले पनि ट्याक्सी चालकहरूसँग झगडा गर्नुपरेको छ ।

गत साता ललितपुरको हरिहरभवनबाट काठमाडौंको सुन्धारा पुग्नु थियो । हतार भएकाले एउटा ट्याक्सी रोकेर नजिकै गएर ‘सुन्धारा चाइनाटाउन गेट पुर्‍याइदिनुस् न’ भने ।

ट्याक्सीचालकले ‘हुन्छ’ भनेपछि ढोका खोलेर बसिहालेँ । ढोका लगाउन नपाउँदै ट्याक्सी हुइँकी हाल्यो । त्रिपुरेश्वर पुगेपछि मिटरमा मेरो आँखा पुग्यो । मिटर त चलाएकै रहेनछ । मैले झटपट सोधेँ, ‘तपाईंले मिटर अन गर्नु भएको थिएन र ?’
उनले हाँस्दै भने, ‘अब तपाईंले सोध्नुपनि भएन, के मिटर अन गर्नु ।’

‘मान्छे हालेपछि त रिंगरोड भित्र गुडाउने, त्यो पनि यति दिउँसै, मिटर त अन हुनुपर्छ नि ।’

उनले ठट्यौली पाराले भने, ‘हेर्नुस दिदी, मेरो ट्याक्सीमा त कहिल्यै मिटर नै चल्दैन ।’

मेरो दिमागले यसै पनि काम गरिरहेको थिएन । ट्याक्सी चालकको त्यो रवैया मलाई चित्त बुझेन । यति भन्दा भन्दै चाइना टाउन गेट आइपुग्यो । गेट अगाडि एउटा ट्राफिक सिठ्ठी फुक्दै बसेका थिए । ट्याक्सी चालकको झर्को र फर्को अनि मिटर नचलाएको कम्प्लेन गरिदिन पाउँछु भनेर अलि ढुक्क भए । 

अझ मान्ला कि भनेर ‘ट्राफिकलाई भनिदिऊँ?’ मैले चालकलाई डर देखाउन खोजें । 

चालकले पनि ट्राफिक अगाडि गएर ट्याक्सीको गति कम गरेर भने ‘ल गुनासो गर्नुस्’ । 

मैले ट्याक्सीभित्रैबाट ट्राफिकतर्फ हेर्दै भने, ‘हेर्नुस् सर, मिटर चलाउँदैनन् रे । अझ झगडा गर्दै छन् ।’

ट्राफिकले खासै वास्ता गरेनन् । म छक्क परेँ ट्राफिकको व्यवहार देखेर । उनले मजाकमै भने, ‘ल ल भाइ, मिटर चलाऊ, नत्र कारवाही होला... हाहाहाहा ।’

ट्याक्सी ड्राइभर ‘ल भयो त अब दिनुस् दुई चार सय रुपैयाँ । मान्छे हेर्दा त सधैँ ट्याक्सी नै चढ्नुहुन्छ जस्तो छ ।’

मलाई ट्राफिक र ट्याक्सी चालक दुवैको व्यवहारले निराश र खिन्न बनायोे । मैले एक सय रुपैयाँ दिएर ओर्लन खोजेँ र भने, ‘मिटर चलाउनु भएन उल्टै झगडा गर्नुभयो । म यसभन्दा धेरै दिन्न ।’ म ओर्लनै लागेको के थिएँ ‘साली, तेरो बाउको गाडी हो र ? मेरो गाडीमा मिटर चलाऊँ कि नचलाऊँ तँलाई के मतलब ?’ म नबोली ट्याक्सीबाट ओर्लिए र ढोका ढ्याम्म लगाइदिएँ । भित्रबाट फेरि अश्लील शब्द प्रयोग गर्दै ऊ करायो, ‘ओइ भन थुइक्क तेरो बाउको ट्याक्सी हो, ढोका यसरी लगाउने ? मान्छे देख्दा त राम्रै देखिन्छेस्, साली, औकात हेर् त ।’ उसले मुखमा आएजति मलाई गाली गर्‍यो । मैले सहन सकिन अनि फर्केर ट्याक्सी भएको ठाउँमा गएँ  । ‘के भनिस् ? फेरि भन् ।’ उसले फेरी त्यहि कुरा दोहोर्‍याउँदै मुखमा आए जति सबै अश्लील शब्द बोल्यो । मैले ट्याक्सीको नम्बरको फोटो खिच्न मोबाइल झिकेँ । ट्याक्सी नम्बर थियो – बा २ ज १२९५ । 

मैले मोबाइलबाट फोटो खिच्न खोजेँ । झोलाबाट मोवाइल झिक्दा नझिक्दै ट्याक्सी ब्याक गर्‍यो । म तर्सिएँ, तस्बिर हल्लियो । ट्याक्सी फेरि अगाडि बढ्यो । यो घटना कार्तिक २६ गते दिउँसो तीन बजेको हो ।

मैले १०३ मा फोन गरेर घटनाको सबै बेलिबिस्तार लगाएँ । 

‘यसमा मेरो केही गल्ती छ त सर ?’ मैले सोधेँ ।

‘छैन छैन । गल्ती सबै ट्याक्सीको हो । अझ अभद्र व्यवहार पनि गरेछ । हामी पत्ता लगाउने कोसिस गछौँ,’ उताबाट जवाफ आयो ।

मैले ट्विटरमा पनि @valleytraffic  लाई उल्लेख गरेर ट्याक्सी नम्बरको फोटोसहित घटनाको विस्तृत जानकारी गराएँ । भ्याली ट्राफिकको रिप्लाई पनि आयो, ‘हामी यो ट्याक्सीलाई खोजेर कारवाही गर्नेछौँ ।’

याे ट्याक्सीले अाज साेमबार हरिहर भवनबाट सुन्धारा अाउँदा मिटर पनि चलाएन। मिटर किन नचलाएकाे साेध्दा 'तेराे बाउकाे ट्याक्सी हाे?...! लगायत मुखमा अाएका शब्द बाेल्याे। यात्रुसँग यस्तो दुर्व्यवहार गर्ने, मनलाग्दी बाेल्ने चालकलाई के कार्वाही हुन्छ? @valleytraffic pic.twitter.com/OKcaJffpc4

— Shiksha Risal (@RisalShiksha) November 12, 2018

मैले गरेको ट्विटमा धेरैको रिप्लाई आयो । धेरैले आफ्नो अनुभव पनि साटेँ ।

 

ती धेरै रिप्लाइमध्ये एउटा थियो ‘मलाई पनि एकपटक यस्तै नै परेको थियो तर (ममाथि उल्टै प्रश्न तेर्सियो) दुर्व्यवहार गर्‍यो भन्ने प्रमाण के छ र ?’

मैले केही जवाफ दिन सकिन । 

आफूलाई खास सन्चो नभएका कारण मैले धेरै सोच्न पनि सकिरहेको थिइन । आफूसँग मोबाइल थियो । ट्याक्सी चालकले निहुँ खोज्न थालेदेखि नै मैले रेकर्ड गर्न पनि सक्थेँ । त्यो प्रमाण पनि बन्न सक्थ्यो र थप कारवाहीका लागि बल पनि पुग्न सक्थ्यो ।

त्यसबाहेक, आफूलाई खिन्न लागेको अर्को एउटा कुरा छ । प्रहरीले आफू जनताको साथी भनेर भनेको भन्यै छ । समय समयमा ट्राफिक प्रहरीले ट्याक्सी मिटरमा जान नमाने १०३ मा फोन गर्नुस् पनि भनेको छ । यही कुरा ड्युटीमा रहेका एक जना ट्राफिक प्रहरीलाई उजुरी गर्दा मिटर नचलाएको ट्याक्सीलाई हाँसेर ‘जाऊ जाऊ’ भनिदिए । 

केही महिनाअघि त्यहि स्थानमा खुट्टा कुल्चेर भागेको ट्याक्सीलाई सीसीटीभी फुटेजको आधारमा पक्राउ गरेको प्रहरीप्रति रहेको मेरो आशा यो घटनाले निराश बनाइदियो । सामाजिक सञ्जालमा भ्याली ट्राफिकको रिप्लाई त आयो तर अहिलेसम्म त्यो ट्याक्सी पत्ता लागेको छैन । बारम्बार १०३ मा फोन गर्दा ‘हनुमान ढोका आएर निवेदन दिनुस् अनि खोज्न थाल्छौं’ भन्ने जवाफ आयो । 

ट्याक्सी सँगको यो पहिलो घटना भने होइन । केही महिनाअघि पनि सानेपा जान सुन्धाराबाट ट्याक्सी ड्राइभरलाई सोध्दा ४ सय रुपैयाँ माग्यो । मैले मिटर चल्दैन र भनेर सोध्दा उनको जवाफ पनि त्यही थियो ‘अहँ, मेरो ट्याक्सीमा कहिल्यै मिटर नै चल्दैन’ यति भन्दै ट्याक्सी हुइक्यायो र मेरो दाहिने खुट्टामा चक्का चढाएर गयो । त्यतिबेला त मैले दुखाईका कारण फोटो लिन पनि सकिन । सहयोगी कोही पनि थिएन । आफैँ अस्पताल पुगे अर्को ट्याक्सी चढेर । डाक्टरले एक्सरे गरेपछि लिगामेन्ट अलिकति च्यातिएको बताए । दुई साताआराम गर्न भन्दै एन्टिबायोटिक पनि लेखिदिए ।

त्यो पनि ट्विटरमा ट्विट गरें तर ट्याक्सी नम्बर पत्ता लगाउन सकिएन । मलाई त्यतिबेला पनि ट्याक्सीलाई कारवाही होला भन्ने पटक्कै विश्वास थिएन । तर, एक ट्विटर प्रयोगकर्ताले फोन गरे र उजुरीका लागि प्रहरीको सिसिटिभी कन्ट्रोलको नम्बर दिए । एक त डाक्टरले दुई साता आराम गर्नु भनेको छ, इन्सपेक्टर भन्छन् तुरुन्त रत्नपार्क आएर सीसीटीभी फुटेज हेनुर््स अनि पत्ता लाग्छ । फेरि ट्याक्सीमै गएँ । सीसीटीभी फुटेज धेरै समयपछि बल्ल तल्ल पत्ता लाग्यो । सीसीटीभी फुटेज पत्ता लागेपछि फेरि हनुमान ढोका गएर ट्याक्सी नम्बर बा १ ज ४१४४ उल्लेख गरेर निवेदन दिनुस् भने । 

निवेदन दिने ९ नम्बरको कोठाका कर्मचारीले वास्तै गरेनन् । ट्याक्सीले कसरी हान्यो के ग¥यो सबै बेलिविस्तार लगाएँ पनि । धेरै पछि हाइ गर्दै ‘ल निवेदन लेखेर छोड्नुस्, अब पत्ता लागेपछि तपार्इंलाई खबर गरौँला’ भने । 
‘कहिले पत्ता लाग्छ होला?’ मैले सोधेँ । 

‘अब हेर्नुस्, यो सहरमा हजारौँ ट्याक्सी गुड्छन् । कसरी पत्ता लगाउनु । पत्ता लागेपछि खबर गरौंला भनेकै छौँ नि । चुप लागेर जानुस अहिले’, जवाफ आयो ।

म बाहिरिएँ ।

फेरि उही ट्विटर प्रयोगकर्तालाई फोन गरेर गुनासो पोखेँ । उनले ‘म हेरिदिन्छु । कुरा गर्छु’ भन्दै आश्वासन दिए । 

भोलिपल्ट ट्याक्सी पत्ता लाग्यो, तर, प्रहरीको नजिकका मान्छेको सोर्सले । ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेर मलाई उपचारको क्षतिपूर्ति दिलाए ।

दोस्रो घटनामा भने अगाडि नै ट्राफिक प्रहरीलाई जानकारी गराउँदा र ट्याक्सी नम्बर सार्वजनिक गर्दा पनि कुनै कारबाही भएन । केही भयो कि भनेर पुनः तेस्रो दिन १०३ मा फोन गरेर बुझ्न खोजे ।

‘खोज्दैछौँ, पत्ता लागेको छैन । फेरि तपार्इंको केस त्यति सिरियस पनि हैन नि’, उताबाट जवाफ आयो । 

काठमाडौं सहर धेरै ठूलो पनि छैन । इच्छाशक्ति हुने हो भने ट्याक्सी नम्बर नै दिएपछि पत्ता लगाउन धेरै समय लाग्नै हुँदैन । नियम र कानुनको पालना गराउनका लागि खटिएका प्रहरीले गम्भीरतापूर्वक काम गर्ने हो भने सम्भवतः कोही पनि ट्याक्सीको मनोमानीको सिकार बन्नु पर्दैनथ्यो कि ?

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

राष्ट्रपतिको गाडी खरिदका विषयमा सांसदहरुबीच भनाभन

काठमाडौं । राष्ट्रपतिको गाडी खरिद प्रकरणको विषयलाई लिएर संसदीय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली

राष्ट्रपतिको गाडी खरिद प्रकरण– सांसदहरुबीच भनाभन

सार्वजनिक लेखासमितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सभापति भरतकुमार शाह आफ्नो धारणा राख्दै । तस्बिर : रत्न श्रेष्ठ, रासस । काठमाडौं । राष्ट्रपतिको

पुस १ देखि टुँडिखेल आसपासमा गाडी रोक्न पनि नपाइने !

काठमाडौं ।  पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी रोक्न नपाइने भएको छ ।  यस्ता सवारी साधनले यात्रु

पुस १ देखि टुँडिखेल आसपासमा गाडी रोक्न नपाइने 

काठमाडौं ।  पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी रोक्न नपाइने भएको छ ।  यस्ता सवारी साधनले यात्रु