site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पालो पर्खिरहेका राजेन्द्र शलभ
Ghorahi CementGhorahi Cement

— राजेश खनाल


फेरि २५ वर्षअघिको सन्दर्भ उप्काएँ । कुन महिना हो, यकिन भएन । म जनकपुरबाट काठमाडौं फिर्न नाइट बस चढेको थिएँ । एक्लो यात्री, नाइट बसको गुम्साइलो वातावरण । मनै बोझिल बनाएको थियो । गाडी गुड्ने समय भइसकेको थिएन । यात्रु ओर्लने र उक्लने गर्दै थिए ।

एक त नाइट बस, त्यसमाथि एक्लो यात्रा । दिक्क लाग्नु स्वाभाविक थियो । जसरी पनि काठमाडौंको यात्रा तय गर्नु थियो । त्यसैबेला बसमा उक्लिए, नाट्यकर्मी राजेन्द्र शलभ । उनका पछिपछि अरू पनि केही कलाकार र प्राविधिक बसमा चढे ।

Agni Group

बसमा शलभको प्रवेशसँगै मेरो अनुहारमा चमक आएको अनुभव गरें । अभिवादनपछि नै मन प्रफुल्ल भयो । एक्लो यात्री थिएँ, सहयात्री थपिए । अब कम्तीमा काठमाडौंसम्मको यात्रा बोर नहुने भयो ।

रंगकर्मी नेपाल टेलिभिजनका लागि कथाहरूको शृंखला प्रस्तुत गर्थे । त्यसैको कुनै शृंखलाको छायांकनका लागि जनकपुर पुगेका थिए उनी । फर्किंदा साथै फर्कियौं । राजेन्द्र भएपछि रमाइलो स्वाभाविक थियो ।

Global Ime bank

एउटा अर्को प्रसंग जोडछु । एकपटक हामी हेटौंडा जाँदै थियौं । कवि गोष्ठी थियो । काठमाडौं बबरमहलमा हामी माइक्रो चढेर दक्षिणकालीको बाटो उक्लियौं । गाडीमा राजेन्द्रसँगै व्यंग्य कविहरू लक्ष्मण गाम्नागे, टंक आचार्य थिए । साथमा थिए छवि सिलवाल, रामगोपाल आशुतोषलगायत पनि थिए । त्यसपछि माइक्रो कतिबेला हेटौंडा पुग्यो, थाहा भएन् ।

अर्थात्, अति रमाइला छन् रंगकर्मी राजेन्द्र । सबैसँग मिल्छन् । सबैसँग भिज्छन् । कारण, उनी शिक्षक हुन् । लेखक हुन् । पत्रकार हुन् । अनि रंगकर्मी पनि हुन् । तर, आजको रंगकर्मबाट धेरै टाढा देखिन्छन् । लाग्छ— राजेन्द्रको रंगकर्म र रंगकला सेलाएको छ ।

यद्यपि उनी आफू रंगमञ्चबाट कदापी टाढा नरहेको बताउँछन् । उनी कुनै न कुनै रूपमा रंगकर्मसँग आज पनि जोडिएका छन् । मित्रहरूले आग्रह गरे रंगमञ्चमा पनि सक्रियता रहने उनी बताउँछन् ।

केही दिनअघि महाराजगन्जमा भेटिएका राजेन्द्रसँग कुरा गर्दै नाट्यकर्मका पुराना दिनतिर फर्किने काम गरियो । उनी भन्दै थिए, “रंगकर्म शायद छोड्न सकिन्न ।”

राजेन्द्रको रंगकर्म प्रारम्भ झापादेखि नै भएको हो । उनी स्कुलमा पढ्दादेखि नै नाटकमा भाग लिइरहन्थे । झापाको बालमन्दिरमा हुने नाटकहरूमा उनको सक्रिय सहभागिता रहन्थ्यो ।

पछि उनी काठमाडौं आए । यहाँ आएपछि उनको भेट नाट्यकर्मी, रंगकर्मीहरूसित बाक्लिँदै गयो । उता कलेजमा गर्ने नाटकमा त उनको सहभागिता हुने नै भयो । यसरी नाट्यकर्ममा उनी निरन्तर लाग्दै गए ।

काठमाडौंमा रहेका विभिन्न नाट्यकर्मीसित संगत बढ्दै गयो । यसले उनलाई रंगकर्मतर्फ झनै क्रियाशील बनाउँदै लग्यो । श्याम वर्णका अग्ला राजेन्द्रको आवाजले पनि नाटकलाई वजनदार बनाएको थियो ।

उनी केही समय पोखरा बसे । पोखरामा रहँदा उनी रंगकर्ममाभन्दा कविता लेखनमा बढी लागे । मुक्तक र कविता लेख्न थाले । नाटकतिर उनको ध्यान खासै गएन ।

तर, जब पोखरा छाडेर फेरि काठमाडौं फर्किए, त्यसपछि उनले नाटकमा निरन्तर समय दिए । त्यसैबेला अर्थात् २०४० सालपछिका दिनमा नै उनले ‘सेतो गुलाफ’, ‘मृगतृष्णा’ नाटक गरे । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवहरूमा पनि उनले नाटक गर्दै गए ।

कुराकानीका क्रममा उनी भन्दै थिए, “मैले क्याम्पसमा पढाउन शुरु गरिसकेको थिएँ । केही स–साना नाटक पनि गर्दै आएको थिएँ । एकपटक क्याम्पसका केटाकेटीलाई लिएर नाटक गर्ने तयारी भयो । जीएए नाटक प्रतियोगितामा भाग लिँदै थियौं । विद्यार्थीहरू सबै नाटक खेल्नेमात्रै थिए । त्यसैबेला क्याम्पस चिफले मलाई ‘तपाईंले नाटक खेल्ने होइन, निर्देशन गर्नुस्’ भनेर अह्राए । त्यहीँबाट म नाटक कलाकारबाट निर्देशक भएँ ।”

त्योबेला उनले धेरै कलाकारलाई रंगमञ्चमा ल्याए । सोमनाथ शर्मा, सपना प्रधान, दीपक हुमागाईंहरूलाई अभिनय गराए । त्यसपछि उनको निर्देशनमा धेरै नाटक भए । सरुभक्तको ‘अग्नि पर्खाल’, अविनाश श्रेष्ठको ‘अश्वत्थामा हतोहत्’, नाटककार गोविन्द गोठालेको एउटा अर्को नाटक पनि उनले निर्देशन गरे ।

जीएएमा त्यसबेला नाटक प्रतियोगिता हुन्थ्यो । त्यो प्रतियोगितामा राजेन्द्रको समूहले लगातार तीन वर्षसम्म पुरस्कार पाएको थियो । यहीँबाट उनले अभिनय छोडे । निर्देशन थाले । यदाकदा मौका मिले अनुहार देखाउन भने छाडेका थिएनन् ।

४० को दशकको प्रारम्भमा नेपाल टेलिभिजन स्थापना भएपछि अधिकांश रंगकर्मीहरू जमल, भृकुटीमण्डप र कमलादीतिर दौडिन छाडेर सिंहदरबारतिर सोझिन थाले । टेलिभिजनको यो म्याराथन नाटकको दौडभन्दा धेरै फलदायी थियो । त्यसैले पनि धेरैको अड्डा सिंहदरबार बन्यो ।

त्यहीताका राजेन्द्रले नेपाल टेलिभिजनमा ‘कथा संसार’ नामक शृंखला शुरुआत गरे । यद्यपि उनको संगत रंगकर्मीहरूसित छुटेको थिएन ।

राजेन्द्र भन्छन्, “म लामो समय आरोहण शनिबारसँग जोडिएँ । नाटकमा सक्रिय सहभागिता रह्यो । त्यसबेला आरोहणले नेपाली नाटकमा नौला काम पनि गरेको नै थियो । तर, पछि सबै तितरबितर भए । सबै आ–आफ्नो बाटो लागे । म पनि आफ्नो बाटो लागें ।”

उनले नाटकलाई छोडेका होइनन्, बस् छुट्यो । जानीजानी छोडेका थिएनन् । त्यसबेला नाटकजस्तै अरू काम गर्न थालिएकोले पनि रंगकर्मतर्फको सक्रियतामा कमी आएको उनी बताउँछन् ।

राजेन्द्र भन्छन्, “शायद एउटै प्रकृतिको काम भएकोले पनि होला, हामीले टेलिभिजनतिर समय दिन थाल्यौं । त्यसैले पनि नाटकमा पर्याप्त समय दिन सकेनौं ।”

त्यसबेला रंगकर्मीहरूका सारा समूह टेलिभिजनमैै थिए । कृष्ण मल्ल, रमेश बुढाथोकी, मोहन निरौला, लय संग्रौला, राजेन्द्र शलभजस्ता रंगकर्मी सबै टेलिफिल्मतिर लागेका थिए । यसले तिनको दृष्टि नाटकतिर पुग्न सकिरहेको थिएन ।

उनी भन्छन्, “टेलिभिजनको लोकप्रियताले पनि यो अवस्था आएको हो । नाटकतर्फको आकर्षणमा कमी आएको कारण यो पनि हुन सक्छ । टेलिभिजनमा दर्शकको संख्या बढी थियो । स्वाभाविक थियो, त्यता रुचि बढ्यो ।”

तर, उनी यो पनि स्वीकार्न हिच्किचाउँदैनन् कि नाटकबाट पाइने सन्तुष्टि अरू केहीबाट पनि मिल्दैन । त्यो बेला नाटकतिर दौडिने समय नभएकाले पनि नाटकले खासै तानेन । तर, आज त्यो अवस्था छैन । आज पनि उनमा नाटकप्रतिको लालसा उस्तै छ । आज पनि उनी नाटक खेल्न चाहन्छन् । बस्– बाटो पर्खिएर बसेका छन्, कसैले नाटक खेल्न बोलाउँछन् कि भनेर ।

“आजका रंगकर्मीहरूले सम्झिएको भए पनि शायद रंगमञ्चतिर केही वर्षअघिदेखि लागिन्थ्यो होला तर त्यो भएन,” उनी भन्छन्, “उनीहरूले हामीलाई सम्झिएनन् । हामी पनि भन्न गएनौं । उनीहरूले बोलाएको भए केही पक्कै हुन्थ्यो । नयाँ भाइहरूलाई हामीप्रति विश्वास नभएको पनि हुन सक्छ । आजको नाटकमा हामी एडजस्ट हुन सक्छौं भन्ने शायद अहिलेका नाट्यकर्मीलाई लागेन कि ?”

उनले सम्झिए– केही अगाडि हरिहर शर्माले शिल्पी थिएटरमा गरेको अभिनय । पछि टीका पहाडीले पनि नाटकमा अभिनय गरे । सरोज खनाल पनि केहीअघि ‘१२ दुर्वासा’ नाटकमा देखिए । यसरी सम्झिने हो भने पुरानाले समय दिने राजेन्द्र बताउँछन् ।

कुराकानीकै क्रममा उनले ‘आरोहण शनिबार’ सम्झिए । त्यसमा सबैजसो सक्रिय थिए । निरन्तरता थियो । नाटकसँगै कविता, कथा, पेन्टिङका काम पनि एकसाथ हुन्थे । तर, आज केही छैन । जबकि त्यसबेला रंगकलाको जादुयी सम्मिश्रण थियो— ‘आरोहण शनिबार’ ।

नाटकसँग जोडिएको एउटा रोचक प्रसंग उनले सुनाए । ‘सेतो गुलाफ’ नाटक गर्दा राजेन्द्रले खुट्टा खोच्याउनुपर्ने थियो । तर, पहिलो दिन उनले कुनै बेला दायाँ खुट्टा त कुनै बेला बायाँ खुट्टा खोच्याए । उनी आफैं अलमलमा परे । उनको त्यो अलमलमा दर्शकको ध्यान कति गयो, उनलाई थाहा भएन । तर, दोस्रो दिनदेखि उनले एउटा जुत्तामा कोकको बिर्को उल्टो राख्न थाले, जसले एउटै खुट्टा खोच्याउन सकिन्थ्यो । अलमलमा परिन्थेन । नाटक जति दिन चल्यो, उनले त्यति नै दिन कोकको बिर्को प्रयोग गरे ।

यो सुनाउँदा उनी मज्जाले हाँसे । उनले त्यसबेलाका रंगकर्मी सम्झिए, जो आज सबै नाट्यकर्म छाडेर आ–आफ्नो पेशा, व्यवसायमा छन् । सबैको बाटो फेरिएको छ ।

राजेन्द्र भन्छन्, “आज कसैले सोच्दैनन्, कुनै बेला सपना प्रधान मल्लले पनि नाटकमा अभिनय गरेकी थिइन् भन्ने । डा. विष्णुविभु घिमिरे, रमण घिमिरे, दिनेश अधिकारी, रामकृष्ण निराला, किशोर पहाडी, सूर्यमाला शर्मा, चन्द्रमाला शर्माहरू पनि कुनै बेला नाट्य क्षेत्रसँग जोडिएका थिए । प्रकाश साय्मि आजका चर्चित रेडियो प्रस्तोता हुन् तर उनी पनि कुनैबेला रंगकर्ममा सक्रिय थिए । श्रीओम श्रेष्ठ रोदन साहित्यकारका रूपमा चिनिएका छन् तर उनी पनि रंगकर्मी हुन् । रवीन्द्र खड्का र सम्राट सापकोटाको अभिनयको प्रसंशा हुन्थ्यो, ती पनि अचेल हराएका छन् ।”

यी साराका सारा नाट्यकर्मीलाई एकै ठाउँमा ल्याउन सक्ने ल्याकत रंगकर्मी अशेष मल्लमा रहेको राजेन्द्र बताउँछन् । मल्लले चाहे भने सबै पुराना र हराइसकेका रंगकर्मीलाई एउटै थलोमा ल्याउन सक्छन् । तर, त्यसका लागि मियो अशेष बन्ने कि नबन्ने ? यो प्रश्न यहाँ उठ्न सक्छ । र, यसको जवाफ पनि शायद अशेषले नै दिन सक्छन् ।

आज पनि राजेन्द्र नाटक खेल्ने मनस्थितिमा छन् । यदि कसैले आग्रह गरे, अनुरोध गरे उनी नाटकमा अभिनय गर्न तयार छन् । मात्रै यत्ति— नयाँ रंगकर्मीले पुराना रंगकर्मीको क्षमतालाई बुझ्न सक्नुपर्‍यो ।

राजेन्द्र भन्छन्, “म पनि चाहन्छु नाटक गरौं । म फेरि एकपटक रंगमञ्चमा आउन तयार छु । ममात्रै होइन, सबै पुराना साथीहरू रंगमञ्चमा आउँछन् । अहिले कोही व्यस्त छन् भन्ने मलाई लाग्दैन ।”

एकपटक रंगकर्मी किशोर डंगोल पुराना रंगकर्मीलाई एकै ठाउँमा समेट्न उत्साहित थिए । उनले केही काम पनि गरिसकेका थिए । तर, यतिबेला किशोर आफैं हराएका छन् । उनी फेरि जाग्लान् कि ?

“यदि सबै पुराना कलाकार एकै ठाउँमा भेट हुने हो र रंगकर्मका लागि जुट्ने हो भने रंगकर्ममा केही फरक काम पक्कै हुनेछ,” कुराकानीको बिट मार्दै उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०७५  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC