site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीतिमा शिक्षित हुनु जरूरत छ ?  

राजनीतिको महत्त्व भुक्तभोगी नेपाली जनताले राम्रै बुझेका छन् । संसारभर नै सबै मानवीय क्रियाकलापमा राजनीतिले असर गरिरहेको हुन्छ । नेपालमा झन् अपेक्षाकृत बढी नै छ । भनिन्छ जहाँ रवि पुग्दैनन् त्यहाँ पनि कवि पुग्छन् । नेपालका सन्दर्भमा रवि नपुगेका ठाउँमा कवि पुग्छन् भने त्यहाँ राजनीतिको धमिलो छवि पनि पुगेको छ ।

राजनीति आफैँमा नकरात्मक विषय त होइन तर ‘पोलिटिक्स’ भन्ने बित्तिकै त्यसले एकप्रकारको खराब भएको छाप भाव पारिहाल्छ । राजनीतिको छवि नकारात्मक बनाउने नालायक राजनीतिक नेता नै हुन् । त्यस्ता नालायकमध्ये अधिकांश अशिक्षित छन् ।

सबै शास्त्रको मियो भएकोले राजनीतिको प्रभाव सर्वव्यापी हुन्छ । फलस्वरूप राजनीतिका खेलाडीको निर्णयको असर सबैभन्दा बढी हुन्छ । तर, राज्यको सबैभन्दा जिम्मेवार अंगको संचालक बन्न औपचारिक शैक्षिक योग्यता भने आवश्यक मानिँदैन । लगभग सबै पेसामा शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक हुन्छ । राष्ट्रपति वा प्रधानमन्त्री, मन्त्री बन्न भने औपचारिक शिक्षा हासिल गरेको हुनुपर्दैन । शैक्षिक योग्यता देखाउन आवश्यक नपर्ने यो उच्चस्तरीय पदमा नेपालजस्तो अविकसित देशमा बारम्बार अशिक्षितहरू विराजमान भएका हुन्छन् । अनि न कवि भूपि शेरचन कविता लेख्छन् – ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ । उनी नरहे पनि उनको यो कविता कहिल्यै असान्दर्भिक भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीति शास्त्र भनेको अज्ञानी र अशिक्षितको दर्शन चाहिँ होइन । राजनीतिक शास्त्रको अध्ययन गर्नेहरूले राजनीतिक प्रक्रियाको ऐतिहासिक विकासमात्र होइन आर्थिक, सांस्कृतिक र आधुनिक धारहरूको पृष्ठभूमि एवं प्रवृत्ति तथा शक्तिको रूझानका बारेमा ज्ञान हासिल गरेका हुन्छन् । त्यसैले राजनीति शास्त्रीहरू मानव विकासका विविध पक्षहरूको विश्लेषण गर्ने सामथ्र्य राख्छन् । तर, यस्ता शिक्षाप्राप्त राजनीति शास्त्री भने राजनीतिक नेता बनेका खासै पाइँदैनन् । राजनीतिज्ञका सल्लाहकार, सहयोगी वा भाषण लेख्ने कारिन्दामै सीमित हुन्छन् ।

अझ दयालाग्दो प्रवृत्ति के देखिन्छ भने यी बबुरा राजनीति शास्त्रीहरूको पदपूर्तिका निम्ति जागीर पनि खुल्दैन । फेरि यी पढैया राजनीति शास्त्रीहरू मेयर वा मन्त्री बन्न पनि सक्दैनन् । उनीहरूको काम शिखण्डी बन्नुमात्र हुन्छ ।

Global Ime bank

नपढेकाले राजनीतिक पद ओगट्न सफल भइदिंदा पढेकाले ठाउँ नपाउने हुन् । यसको एउटा महत्त्वपूर्ण कारण के हो भने राजनीतिको पानी छर्लङ्ग र सफा हुँदैन । अनि धमिलो पानीमा माछा मार्ने खेल विश्वविद्यालयमा पढाइँदैन । ‘मनी एन्ड मसल’ तथा भ्रष्टाचार र भ्रष्टतन्त्रको ज्ञान नपाउने हुँदा व्यावहारिक राजनीतिमा असफल हुन्छन् यी राजनीति शास्त्रीहरू । यसको मतलब शिक्षितहरूले राजनीति गर्नै सक्तैनन् भन्ने होइन । कोही राजनीतिको फोहोरी पानीमा तैरिन सक्ने अवतार बन्छ भने उसको शिक्षा पनि अलंकार बन्छ ।

पढेको मान्छे पदमा पुग्दैमा काम तमाम हुन्छ भन्ने चाहिँ छैन । बेलायतको एउटा संस्थाले विश्वका उत्कृष्ट अर्थमन्त्री भनेर पगरी गुताएको रामशरण महत कतिपटक अर्थमन्त्री बने सायद उनी स्वयंलाई हेक्का होला, नहोला । तर, उनको नीतिले नेपालको अर्थतन्त्र उँभो लागेन । एउटा फरक चाहिँ के देखियो भने यिनीले दातृ राष्ट्रहरूसँग दानदक्षिणा भाषा मिलाएर माग्न जानेका थिए । भन्छन्, केपी ओलीको पहिलो प्रधानमन्त्रित्व कालमा अर्थमन्त्री बनेका विष्णु पौडेलले दाताहरूको कुरा नबुझेर पीएले अर्थ्याइदिनुपर्ने हुन्थ्यो । पढेका भनेर निकै ख्याति कमाएका आर्किटेक्चरल इन्जीनीयर एवं पीएचडी बाबुराम भट्टराईको पालामा पनि नेपाली तरल राजनीतिको पानी सफा बन्न सकेको थिएन । अनि त्यतिखेरै केपी ओलीले भनेका थिए – ‘गलत विषयका डाक्टरले देश चलाएर हुन्छ ?’

ओलीले अशिक्षित नेताहरूको राम्रैसँग प्रतिरक्षा गरे । दस कक्षासम्म पढेका ओलीले भारतीय नाकाबन्दीका बेला दरोसँग खुट्टा टेकेर राष्ट्रवादी अडान लिन सके । राजनीतिक अडानको कुरा गर्दा नेपाली नेताहरूमा भुल्न नसकिने नाम हो – गिरिजाप्रसाद कोइराला । गणतन्त्र आउनुमा उनको अडानको ठूलो अडेसो थियो । उनी पनि आईएस्सी भर्ना हुनेबित्तिकै राजनीतिमा लागेका हुन् । गिरिजा र ओलीले प्रमाणित गरेको सत्य के हो भने राजनीतिमा पढेर ात्र होइन नपढेर पनि बिक्न सकिन्छ । यद्यपि, यीनीहरूको अडानले नेपालको आर्थिक विकासमा खासै लाभ हुने कहिल्यै देखिएन । 

वास्तवमा सफल राजनीतिज्ञ त्यही बन्न सक्छ जस्ले जे पनि जानेको छ र जे पनि गर्न सक्छ । अर्थात् बोक्सी र झाँक्री विद्या सबै जानेको हुन्छ । यसको एउटा राम्रो उदाहरण रसियाका अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिन हुन् । उनले जुडोमा ब्ल्याक बेल्ट लिएका छन् । धेरैलाई थाहा नहुन सक्छ, पुटिन पीएचडी पनि हुन् । उनको थेसिस ‘द स्ट्राटेजिक प्लानिङ अझ रिजनल रिसोर्सेज अन्डर द फर्केसन अफ मार्केट रिलेसन’ मा थियो । सन् १९८९ मा ४५ वर्षकै उमेरमा उनले पीचडी गरेका थिए । पश्चिमा देशहरूमा विषय क्षेत्रबाहिर पीएचडीलाई खासै भजाइँदैन ।

नेपालमा देश बनाउने सही नेता नजन्मेकोमा रोइलो हुने गर्छ । क्रान्ति गर्ने नेता आए तर विकास गर्ने नेता देखिएन । लाहुरे नेता धेरै देखिए तर राजनेता कोही भेटिएन । भनिन्छ, अशिक्षितहरू दृढविश्वासी त हुन्छन् तर तिनलाई बृहत् दृष्टिकोणको ज्ञान हुँदैन । अडान भएका तर राष्ट्र बनाउने ‘भिजन’ नभएका गिरिजा र ओलीजस्ता नेता शिक्षित पनि भएको भए सायद राजनीतिमा ज्यान भरिन्थ्यो की ?

हाल, ब्रसेल्स
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC