Skip Advt.

कवि वसन्त श्रेष्ठलाई सम्मान

कवि वसन्त श्रेष्ठलाई सम्मान

काठमाडौं । साढे दुई दशकभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गर्दै आएका कवि तथा साहित्यकार वसन्त श्रेष्ठलाई शनिबार काठमाडौंमा सम्मान गरिएको छ । एपेक नेपालको आयोजनामा सम्पन्न सो सम्मान कार्यक्रममा साहित्यकार श्रेष्ठले अमेरिकामा रहेर नेपाली साहित्यमा पु्याएको योगदानका लागि ‘एपेक सम्मान २०७५’ बाट सम्मानित गरिएको जनाइयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले वसन्त श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्दै कवि श्रेष्ठले अमेरिकामा बसेर पनि नेपाली साहित्यको सेवा गर्दै नेपाली कविहरुलाई बेलाबेलामा पुरस्कृत गर्दै प्रोत्साहन गरेको बताए ।  

कवि वसन्त श्रेष्ठले एपेक नेपालले गरेको सम्मानप्रति आफू कृतार्थ भएको बताउँदै आफू अध्यक्ष रहेको संस्था नेपाल साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले थाती रहेको कविता महोत्सव पुनः सुचारु गर्दै कविहरुलाई प्रोत्साहित गर्ने उल्लेख गरे । प्रतिष्ठानले हरेक वर्ष कवितामा उत्कृष्ट हुने कविहरुलाई १ हजार डलर, ३ सय र २ सय डलर नगद पुरस्कार दिँदै आएको छ ।

वसन्त श्रेष्ठका कविता, भावनाका लहरहरु र उज्यालो खोज्ने आवाजहरु कविता संग्रहको प्रकाशन गरिसकेका वसन्त श्रेष्ठका विषयमा कवि राजेन्द्र शलभले पनि बोलेका थिए । 

एपेक नेपालका अध्यक्ष वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले लामो समय पछि कवि वसन्त श्रेष्ठ नेपाल आएको र एपेक नेपालले नेपाली भाषा साहित्यको सेवामा सक्रिय रहेकाहरुलाई सम्मान गर्दै आएकोले यस पटक कवि वसन्तको सम्मान गरिएको बाह्रखरीलाई बताए ।

प्रतिकृया दिनुहोस
ad