site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कश्मिर कथा
Sarbottam CementSarbottam Cement

– जुल्करनैन ब्यान्डे


सेप्टेम्बरको शुरुतिर ‘कश्मिर न्यारेटिभ’ पत्रिकाका सहायक सम्पादक आसिफ सुल्तानको गिरफ्तारीबारे समाचार पढेपछि मलाई लाग्यो— अब प्रहरीले पत्रकारलाई खुल्लमखुल्ला त्रस्त बनाउँदै छ । यसअघि प्रहरीले पत्रकारलाई गोप्य रूपमा सोधपुछका लागि बोलाउँथ्यो । मेरो हकमा पनि दुई पटक यस्तै भएको छ ।

२०१७ अक्टुबर २२ मसँग यस्तो पहिलोपटक भएको थियो । जम्मु–कश्मिर प्रहरीअन्तर्गत अपराध जाँच विभाग— सीआईके (काउन्टर इन्टेलिनेन्स अफ कश्मिर)का एक अधिकारीले मेरा बुवा र भाइलाई बारम्बार फोन गरेर म कहाँ छु भनेर सोधे । म त्यतिबेला राजनीतिक रूपले उथलपुथल भएको उत्तरी कश्मिरमा अवस्थित हन्दवाडा शहरमा थिएँ । मेरी १९ वर्षीया भतिजीको निधन भएकाले हामी शोकमा थियौं । मेरो दिल्लीको मोबाइलले कश्मिरमा काम गर्दैनथ्यो, त्यसैले सीआईकेले मेरो परिवारलाई सोधेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले तपाईंसँग केही सल्लाह गर्नु छ, तपाईं श्रीनगर आउनुप¥यो,” उताबाट फोनमा कडा निर्देशन आयो ।

अर्को बिहान बुवाले मेरो कपाल सुम्सुम्याउँदै निद्राबाट उठाउनुभयो । मलाई घरबाट ७२ किलोमिटर टाढा श्रीनगरसम्मको यात्रा गर्नु थियो । बिदा गर्दै बुवाले भन्नुभयो, “उनीहरूले तँलाई कुन जेलमा राख्छन्, जसरी पनि हामीलाई खबर गरेस् ।” मैले ठाउको हल्लाएँ ।

Global Ime bank

म २३ अक्टोबर बिहान साढे १० बजे हमहुमास्थित सीआईकेको कार्यालय पुगें । यो कार्यालय श्रीनगर विमानस्थलको नजिकै छ ।

मैले आफ्नो परिचयपत्र देखाएर प्रहरीलाई सोधें, “पत्रकारहरूलाई किन सोधपुछका लागि बोलाइराखिएको छ ?”

उसले मुस्कुराउँदै उत्तर दियो, “उनीहरूलाई पाठ पढाउन ।”

अरु दुइटा रजिस्टरमा आफ्नो बारेमा उल्लेख गरेपछि म भित्र गएर बसें । एउटा झ्यालबाट कसैले बाहिर हेर्‍यो र मेरो नाम बोलायो । कश्मिरमा स्वाँठ हुनु पनि एउटा चलनजस्तै हो । त्यो कोठामा म एक्लै थिएँ र पनि हात उठाएर मैले आफ्नो उपस्थितिको जनाउ दिएँ ।

आफूलाई ‘सल्लाह’ र ‘पाठ’को लागि तयार गर्दै म कोठाभित्र छिरें । त्यहाँ चार अधिकारी बसिरहेका थिए । वरिष्ठ अधिकारीले उत्तिखेरै मलाई सोधे, “पैसा कहाँबाट आउँछ ?”

त्यो प्रश्नले मलाई अकमक्क पार्‍यो । सोधें, “कस्तो पैसा ?”

“पैसा, पैसा... ठीक छ, बस ।”

खाली कुर्सीमा बस्दा मैले चारैतिर नजर दौडाएँ । यो कार्यालय नयाँ–नयाँ लागिरहेको थियो । कश्मिरी कलाकारले बडो सुन्दर तरिकाले काठमा कुँदेका चित्रलाई प्रहरीको कर्कश आवाजले चुनौती दिइरहेको थियो ।

फोनमा ‘सल्लाह’ भनिएको थियो तर मैले अत्यन्त अनावश्यक र हदभन्दा हद वाहियात प्रश्न सामना गरिरहेको थिएँ ।

“दक्षिणपन्थ र वामपन्थमा के फरक छ ?”

“तिम्रो राजनीतिक आस्था के हो ?”

“तिमीहरू स्वतन्त्रताको गलत फाइदा किन लिइरहेका छौ ?”

“यहाँ जे भइरहेको छ, त्यसबारे तिमीहरू किन लेख्छौ ?”

यिनै यावत् ‘सल्लाह’बीच उनीहरूले मलाई ‘पाठ’ पनि सिकाए, “कश्मिरमा द्वन्द्वमात्रै छैन । तपाईंले कश्मिरको सुन्दर तस्बिर कोर्ने कोसिस गर्नुपर्छ ।”

मलाई अरु धेरै ‘महत्वपूर्ण’ पाठ पनि सिकाइयो तर मलाई उनीहरूको धेरै बेइज्जत गर्न मन छैन ।

एक फेसबुक पोस्टका आधारमा मैले यो बेइज्जती सामना गर्नुपरेको थियो । मैले फेसबुकमा द्वन्द्वगस्त क्षेत्रमा पक्षधरता र वफादारिताको महत्वबारे लेखेको थिएँ । मैले यो पनि लेखेको थिएँ, “यदि कसैले कश्मिरको स्वतन्त्रताप्रति सद्भाव राख्छ भने उसले यससँगै प्रहरी र सेनाप्रति उस्तै सद्भाव राख्न सक्दैन ... ।”

मेरो अर्को पोस्टमा ‘हाउस निग्रो’ र ‘सहयोगी’को कुरा थियो । त्यसमा पनि सीआईकेका अधिकारीले प्रश्न उठाए, “कश्मिरको बहसमा यस्ता शब्द प्रयोग गर्नु उपयुक्त हो ?”

मसँग ‘हाउस निग्रो’को परिभाषा र यो शब्दको इतिहासबारे सोधियो । कश्मिरमा ‘हाउस निग्रो’ शब्दमा को फिट हुन्छ भनेर केरकार गरियो । सन् १९५० र ६० को दशकतिर अमेरिकामा भएको नागरिक अधिकार आन्दोलनमा चर्चा गरेपछि मैले मेल्कम एक्सको महत्वमाथि प्रकाश पारें, जसले ‘हाउस निग्रो’ शब्द पहिलो पटक प्रयोग गरेका थिए । उनले त्यस्ता अश्वेतलाई संकेत गरेका थिए, जो आफूजस्तै पीडितभन्दा उत्पीडकहरूसँग लहसिन्छन् ।

हाम्रो ‘सल्लाह’ धेरै बेरसम्म चल्यो । कुराकानीबाट थाकेर अधिकारीले मलाई जान निर्देशन दियो । लगभग ८ घण्टा बितिसकेको थियो । उनीहरूमध्ये एक अधिकारी मसँग गेटसम्मै आए । उनको व्यवहार अरूभन्दा फरक थियो । उनले आफूलाई कश्मिरी साथीको रूपमा प्रस्तुत गरे, जो आवश्यकता पर्दा आफ्ना दाजुभाइको पक्षमा उभिन्छ । उनले मलाई सम्झाए— द्वन्द्वग्रस्त अवस्थामा भ्रष्टाचार र नातावादविरुद्ध लेख्नुपर्छ ।

यही वर्ष जुलाईमा म दिल्ली थिएँ, भाइको फोन आयो । ऊ सीआईकेको कार्यालयबाट बोलिरहेको थियो । मेरो भाइ हुनुको नाताले उसलाई बोलाइएको रहेछ । ऊ एकदमै डराएको थियो । उसले भन्यो, “यिनीहरू तपाईंको खोजीमा छन् ।”

फेरि उही परिचित आवाज रुखो स्वरमा बोल्यो, “तपाईं यहाँ आउनुप¥यो ।”

भनें, “केही दिन लाग्छ ।”

उताबाट आवाज आयो, “हुँदैन । तपाईंका भाइ हामीसँग छन् । तपाईं भोलि नै सीआईकेको अफिसमा आउनुपर्छ ।”

मैले केही दिनको समय दिन आग्रह गरिरहें किनकि यति छोटो समयमा श्रीनगर जान मसँग पैसा थिएन । त्यो रुखो स्वरले मेरो कुरै सुनैन । मलाई आफ्नो पासपोर्ट, ल्यापटप, मोबाइल र पहिचानसँग जोडिएका अरु कागजपत्र पनि सँगै लिएर आउन हुकुम दिइयो । मलाई मनमनै लाग्यो— यसपटक पहिलेजस्तो ‘सल्लाह’ हुनेवाला छैन । उनीहरूले मेरो भाइलाई फोन गर्न लगाएका थिए जबकि यो आवश्यकै थिएन । उनीहरूसँग मेरो नम्बर थियो । म अर्को दिन बिहान ९ बजे पुग्ने शर्तमा भाइलाई छाडिदिए ।

मैले भतिजोसँग केही पैसा सापटी लिएँ । अर्को दिन १२ः४५ मा श्रीनगर विमानस्थल उत्रिएँ । दौडिएर सीआईके कार्यालय पुगें । त्यहाँका औपचारिकता पूरा गरें । जसै कोठाभित्र छिरें, त्यहाँ उपस्थित प्रहरीले भाइलाई भन्यो, “तिमी अब जान सक्छौ, मुख्य अपराधी आइपुगे ।”

मेरो दिमागमा ‘अपराधी’ शब्दले सयौं चक्कर लगायो ।

२ बजेतिर मसँग सोधपुछ शुरु गरियो । यसपटकको केरकार मेरो वेबसाइट lostkashmirihistory.com बारे थियो । यो वेबसाइट कश्मिरको रक्तरञ्जित इतिहासको डिजिटल संग्रह हो । यसले कश्मिरबारे लुकाइएका तथ्य उजागर गर्छ । यसमा सयभन्दा धेरै किताब छन् । ऐतिहासिक घटनाक्रमलाई पत्रपत्रिका र शोधपत्रमार्फत विभिन्न मल्टिमिडिया उपकरणको माध्यमबाट कालक्रमअनुसार राखिएको छ । शुरु गरेको दुई वर्षभित्रै २० लाखले यो वेबसाइट हेरिसकेका छन् ।

डीएसपीले मसँग सोधे, “यो वेबसाइट कसले चलाउँछ ?”

मैले सीधै भनें, “मैले ।”

उनले फेरि सोधे, “यसको लागि पैसा कहाँबाट आउँछ ?”

मैले भनें, “यति सानो वेबसाइट चलाउन मलाई बाहिरबाट पैसा लिन आवश्यक छैन ।”

उनीहरू मेरो उत्तरबाट सन्तुष्ट भएनन् । मेरो ल्यापटप र पासपोर्ट जाँच्न थाले । मेरा व्यक्तिगत कुराकानी (च्याट) जोडजोडले पढे । मेरा तस्बिरलाई मिहिन ढंगले हेरे । त्यत्तिमै एकजना अधिकारी जोडले चिच्याए, “यो मान्छेको सम्पर्क उमर खालिदसँग छ ।”

उनीहरूले विद्यार्थी नेता उमर खालिद र मेरो कुराकानी खोजेर निकाले । उनीसँग मैले पत्रकारको रूपमा कुराकानी गरेको थिएँ ।

उनीहरूले तुरुन्त वेबसाइट बन्द गर्न भने । मैले नकारें र भनें, “सक्नुहुन्छ भने तपाईंहरूले नै बन्द गराउनुस् ।”

मैले बन्द गर्नुपर्ने कारण सोधें, कसैले उत्तर दिन सकेन ।

मेरो वेबसाइट सम्झनाहरूमा समर्पित छ । यसले १९९० को कादल र हन्दवाडा नरसंहारबारे बोल्छ । १९३१ को अनन्तनाग नरसंहारमा सन्तान र जीवनसंगी गुमाउने महिलाको दुःखको कथा भन्छ । यसमा अरू पनि थुप्रै साहसी महिलाका कथा छन् ।

मलाई सीआईकेको कार्यालयमा घण्टौं अपमानित गरियो । वेबसाइटमा उल्लेख घटनाको प्रामाणिकताबारे सोधियो । उनीहरूले कश्मिरबारे ‘राम्रो किताब’ पढ्न पनि सुझाए । मैले किताबको नाम सोध्दा उनीहरू मुसुक्क हाँसे । मेरो भाषा प्रयोगमा प्रश्न उठाउँदै उनीहरूले घोषणा गरिदिए— मेरा लेखमा देशद्रोहको गहिरो छाप छ । उनीहरूले ‘म सम्बद्ध आतंकवादी संगठन’को नाम सोधे । केहीसीप नलागेपछि उनीहरूले मलाई ‘गुप्त राष्ट्रद्रोही’ भन्न थाले ।

मेरो अनुहारको रिस पढेर होला, एकजनाले भन्यो, “तपाईंले के लेख्नुहुन्छ र संसारलाई के भन्न चाहनुहुन्छ भन्ने कुरा हाम्रो चासोको विषय होइन ।”

मेरो जवाफ थियो, “यदि राज्यलाई मेरा शब्दको असरै छैन भने मलाई यहाँ यसरी किन सोधपुछ गरिएको हो ?”

लगभग साँझ साढे ६ बजेतिर घरमा फोन गरेर आफू हिरासतमा परेको खबर सुनाउन भनियो । मैले आफ्नो सामान प्याक गरें र आफूलाई थुनिने कोठामा लगेर राखें । मलाई सार्वजनिक सुरक्षा कानुनअन्तर्गत आरोप लगाइनेछ भनेर म मानसिक रूपमा पूरै तयार थिएँ ।

रातिको अँध्यारोमा अचम्मको सम्मोहन थियो । मैले अँध्यारोलाई सलाम गरें । बिहानै बिनाअनुमति झ्यालबाट छिरेको उज्यालो मलाई मन परेन । लाग्यो— यो किरण पनि मलाई दबाब दिन मेरो इच्छाविपरीत कोठाभित्र छिरेको छ ।

सोधपुछको अर्को चरणमा थाहा पाएँ कि यस्तो प्रवृत्ति यहाँ कति राम्ररी स्थापित भइसकेको रहेछ । मसँग मेरा लुगाको ब्रान्ड, धूमपानको बानी र केटाकेटी हुँदाका बानीव्यहोरा सोधियो । उनीहरूमध्ये एकले भन्यो, “जब तपाईंले जताततै मायाजाल देख्नुहुन्छ भने इतिहासका पुस्तक सही छन् भनेर कसरी विश्वास गर्न सक्नुहुन्छ ? तपाईंले लेख्दैमा केही फरक पर्नेवाला छैन ।”

केरकारको अन्त्यतिर उनीहरूले सोधे, “राजनीतिक उथलपुथल कसरी अन्त्य हुन सक्छ ? कश्मिरको अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ ?”

मैले देखें– रुखो बोलीबीच एउटा आवाजले छिटोछिटो कापीमा नोट गरिरहेको छ । म कुर्सीमा सीधा भएर बसें र भनें, “कश्मिर र कश्मिरीले स्वतन्त्रता चाहन्छन् । तपाईंलाई यो थाहा छैन र ? जबसम्म कश्मिरसँग जोडिएको राजनीतिक विवाद समाधान हुँदैन, जबसम्म यहाँको अवस्था सामान्य हुँदैन, तबसम्म यहाँका मान्छेले समाधानको माग गरी नै रहन्छन् ।”

मलाई पाँच दिन हिरासतमा राखेर सोधपुछ गरियो । यसपटक जुन अधिकारी मलाई छोड्न बाहिर गेटसम्म आएका थिए, उनले करिअर बनाउन, पैसा कमाउन र अनावश्यक कुरा नगर्न सल्लाह दिए । म बाहिर निस्किनै आँटेको थिएा, उनले भने, “तपाईंमाथि हाम्रो नजर छ ।”

० ० ०

मैले माथि भनेका कुरामा मिति, नाम र केही विशेष घटना परिवर्तन गर्ने हो भने आज पनि यो कश्मिरका बहुसंख्यक पत्रकारको आफ्नै कथा बन्छ । सरासर आफ्नो काम गर्दा र सामाजिक सञ्जालमा केही लेख्दा यहाँका पत्रकारले पटक–पटक सेन्सरसिप, केरकार र हिरासत भोगेका छन् । लाग्छ— भारत स्थानीय आवाजलाई दबाउन र रोक्न चाहन्छ । यस्तो संस्थागत दमनले यही संकेत गर्छ कि उनीहरू कश्मिरी जनतालाई आफ्नो सामाजिक–राजनीतिक स्थितिबारे सिन्को जानकारी दिन चाहँदैनन् । यो भूमि उनीहरूका लागि मात्रै हो, जसले सत्ताका कदमलाई साथ दिँदै जयजयकार गर्छन् ।

आसिफ सुल्तानको पक्राउ त्यस्तै घटना हो ।

२७ र २८ अगस्ट मध्यराति श्रीनगरको छिमेकी बटमालूमा सुल्तानको घरमा प्रहरीले छापा मार्‍यो । उनीहरूले पुस्तक च्याते, सुल्तानका सामान तोडफोड गरे । उनको ल्यापटप र मोबाइल लिएर गए । सुल्तानका पिता भन्दै थिए, “प्रहरीसँग खानतलासको पुर्जी नै थिएन ।”

सुल्तानलाई पक्राउ गरेर बटमालू प्रहरी कार्यालय लगियो । ‘कश्मिर न्यारेटिभ’का सम्पादक शौकत अली मोट्टाले पछि लेखे, “प्रहरी भन्दै थिए कि सुल्तान यो क्षेत्रका विकासबारे नलेखेर किन द्वन्द्वबारे मात्रै लेखिरहन्छन् ?”

मोट्टाले मलाई भनेअनुसार सुल्तानले राजनीति र अर्थशास्त्रबारे लेखेका थिए । साथै उनले आफ्नो सम्पादकीय कामका क्रममा कार्यकर्ता, राजनेता र पत्रकारहरूलाई भेटेका थिए । खासमा सुल्तानले मारिएका हिजबुल मुजाहिद्दिन कमान्डर बुरहान वानीमाथि जुलाई २०१८ को अंकमा आवरण कथा लेखेका थिए । प्रहरीले त्यो रिपोर्टका स्रोतबारे सोधखोज गर्दै उनलाई तनाव दिइरहेको थियो । प्रहरीले उनलाई सुराकी गर्न पनि दबाब दिइरहेको थियो ।

‘द राइज अफ बुरहान’ शीर्षकको रिपोर्टमा दुई वटा स्रोतलाई उल्लेख गरिएको थियो । उनीहरू बुरहानका खुला कार्यकर्ता भएको र बुरहानको मृत्युपछि उनीहरूले हिजबुल मुजाहिद्दिन संगठन छाडेको रिपोर्टमा उल्लेख थियो ।

(हिजबुल मुजाहिद्दिन स्वतन्त्र कश्मिरको माग लिएर संगठित सशस्त्र समूह हो । सन् १९८९ सेप्टेम्बरमा मुहम्मद अहसन दरले स्थापना गरेको यो समूहलाई भारत सरकारले आतंककारी घोषणा गरेको छ ।)

सामाजिक सञ्जालमा केही कश्मिरी पत्रकारले यी दुई स्रोतमाथि शंका व्यक्त गरेका थिए । केही पत्रकार बुरहानप्रति सुल्तानको प्रतिक्रियासँग सहमत थिएनन् । तर, समाचार वा टिप्पणी लेखेकै भरमा यसरी पत्रकारलाई गिरफ्तार गरिनु कुनै पनि कोणबाट सही नभएको भन्दै उनीहरूले प्रहरीको भने विरोध गरेका थिए ।

सुल्तानविरुद्धको पहिलो एफआईआर (फस्र्ट इन्फर्मेसन रिपोर्ट)मा उनलाई गैरकानुनी गतिविधि (नियन्त्रण) कानुनअनुसार पक्राउ गरिएको दाबी गरिएको छ । प्रहरीले रिपोर्टमा ‘आतंकवादीलाई सहयोग गरेको’ आरोप लगाएको छ । त्यससँगै रिपोर्टमा ‘हालै बटमालूमा हिजबुल मुजाहिद्दिनले प्रहरीलाई हत्या गरेको घटनामा पनि सुल्तानलाई संदिग्ध मानिएको’ उल्लेख छ । त्यसपछि प्रहरीले आफूसँग ‘प्रमाणित गर्ने सामग्री’ भएको दाबी पनि ग¥यो तर न उसले तथ्य देखायो, न आफ्नो दाबीलाई प्रमाणित गर्न सक्यो ।

पछि दक्षिणी श्रीनगरका प्रहरी उपरीक्षक (एसपी) जीबी सन्दीप चक्रवर्तीले भने, “सुल्तानले सुरक्षाफौजविरुद्ध लेख्दै आतंकवादीलाई समर्थन गरिरहेका छन् ।”

सुल्तानको गिरफ्तारीलाई लिएर व्यापक निन्दा भयो । सेप्टेम्बर १ मा कश्मिर वर्किङ जर्नलिस्ट एसोसिएसन र कश्मिर पत्रकार संघले संयुक्त विज्ञप्तिमा सुल्तानको गिरफ्तारी अवैध भएको भन्दै तत्काल रिहाइको माग गरे । कमिटी फर प्रोटेक्सन अफ जर्नलिस्ट (सीपीजे), इन्टरनेसनल फेडरेसन फर जर्नलिस्ट र रिपोर्टर विदाउट बोर्डरले पनि सुल्तानलाई रिहाई गर्न माग गरे ।

सीपीजेका एसिया संयोजक स्टिभन बटलरको भनाइ थियो, “आतंकवादी गतिविधिबारे समाचार लेखेर सुल्तानले केही अपराध गरेका होइनन्, बरु महत्वपूर्ण समाजसेवा गरिरहेका छन् ।

कश्मिर एडिटर्स गिल्डका सचिव बसिर मञ्जरले मसँग भने, “यस्तो पहिले कहिल्यै भएको थिएन । पहिले यता या उताबाट कोही आएर माथ्र्यो तर अब यो व्यवस्थित ढंगले भइरहेको छ । अघिल्लो वर्ष कामरान युसुफ (सुरक्षाकर्मीलाई ढुंगा हानेको र राज्यविरुद्ध युद्ध गरेको आरोपमा पक्राउ परी ६ महिनापछि रिहा भएका फोटो पत्रकार) र अहिले सुल्तान यो भूमरीमा पिसिएका छन् ।”

मञ्जरका अनुसार समाचारलाई लिएर केही मुख्य सम्पादकहरूलाई औपचारिक र अनौपचारिक दुवै तरिकाले थुप्रै पटक केरकार गरिएको छ । 

अर्का एक पत्रकार भन्छन्, “पहिले भारतलाई लाग्थ्यो कि यहाँका नागरिक प्रदर्शनकारीलाई आतंकवादीको खुला समर्थन छ । अहिले राज्यको प्रमुख निशाना मिडिया भएको छ र पत्रकारलाई आतंकवादीका समर्थक भन्न थालिएको छ ।”

१३ दिनको हिरासतपछि सुल्तानलाई सेप्टेम्बर ८ तारिखमा श्रीनगर अदालतसमक्ष पेश गरियो । त्यसपछि उनी अहिलेसम्मै न्यायिक हिरासतमा छन् । पहिलो पेशीमा उनले अंग्रेजीमा ‘पत्रकारिता कुनै अपराध होइन’ लेखिएको टीसर्ट लगाएका थिए । उनको यो कदमलाई लिएर प्रहरीले हिरासतमा कुटपिट गर्दै टीसर्ट च्यातिदिएको उनका बुवाले मलाई जानकारी दिए ।

यही वर्ष जुलाईमा दैनिक पत्रिका ‘कश्मिर अब्जर्भर’का पत्रकार अकिब जावेदलाई श्रीनगरको कोठीबाग प्रहरी चौकीबाट बोलाहट आयो । उनी हाजिर भए । चौकी इन्चार्जले जावेदलाई एकजना व्यक्तिसँग भेटाए । उनी राष्ट्रिय जाँच एजेन्सी (एनआईए)का एजेन्ट भएको बताइयो । जावेदलाई त्यतिखेर झट्का लाग्यो, जब ती एजेन्टले दिल्ली हिँड्न भने ।

यो विषय उनले आफ्ना सम्पादक सज्जन हैदरलाई सूचित गरे । लगत्तै कश्मिर एडिटर्स गिल्डको आपतकालीन बैठक बस्यो । बैठकले न्यायिक तरिकाले जवाफ दिन जावेदलाई निर्देशन दियो । उनलाई १५ जुलाईमा दिल्ली पुग्नु थियो तर आत्तिएर उनी एकदिन पहिले नै दिल्ली पुगे । अचम्म पर्ने कुरा त के थियो भने उनी दिल्ली विमानस्थलमा उत्रिनेबित्तिकै एनआईएबाट फोन आयो । उनलाई तत्कालै प्रधान कार्यालय आउन भनियो । जावेद आफ्ना वकिल र एक सहयोगीसँग तुरुन्तै त्यहाँ पुगे ।

एनआईए मुख्यालयमा प्रहरीका एक वरिष्ठ अधिकारी (एसएसपी)ले जावेदलाई बोलाउनुको कारण सुनाए । जावेदले दुख्तरान–ए–मिल्लत (देशका छोरीहरू)की संस्थापक असिया अन्द्राबीका अन्तर्वार्ता गरेका थिए । महिलाको यो संगठन जम्मु कश्मिरलाई पाकिस्तानमा विलय गर्नुपर्छ भन्ने वकालत गर्छ । एसएसपी जावेदसँग भन्दै थिए, “अन्द्राबीले भारतविरुद्ध अभिव्यक्ति दिँदा तपाईं सँगै हुनुहुन्थ्यो, त्यसैले तपाईंविरुद्ध मुद्दा दर्ता हुन्छ ।”

जावेदले तर्क दिए, “मैले पत्रकारको रूपमा आफ्नो काम गर्दै थिएँ, यो कुनै अपराध होइन ।”

तर, उनको स्पष्टीकरणले केही अर्थ राखेन ।

“मैले प्रहरीलाई आफूसक्दो सहयोग गरें । यहाँसम्म कि असिया अन्द्राबीको फोन नम्बर कसरी पाएँ पनि भनें । ती स्रोतबारे पनि भनें, जसको बारेमा मैले रिपोर्टमा उल्लेख गरेको छु । प्रहरीले मलाई ‘पत्रकारको रूपमा कति पैसा आउँछ ?’ भनेर पनि सोधे,” जावेदले मसँग भन्दै थिए ।

१ अगस्टमा यो क्षेत्रकै ठूलो अंग्रेजी दैनिक पत्रिका ‘ग्रेटर कश्मिर’को व्यवस्थापनले सहप्रकाशन ‘कश्मिर इन्क’का कार्यकारी सम्पादक माजिद मकबुललाई बिनाकारण राजीनामा दिन भन्यो । मेरो अध्ययनअनुसार प्रशासनको दबाबमा उनलाई निकालिएको हो ।

यो क्षेत्रका वरिष्ठ पत्रकार हिलाल मीर भन्छन्, “मैले चिनेका यस्ता थुप्रै पत्रकार छन्, जसलाई राज्यका विभिन्न निकायले सोधपुछका लागि बोलाएका छन् तर उनीहरू आफ्नो नाम बाहिर ल्याउन चाहँदैनन् । अहिले पासपोर्ट लिएरै आउन दबाब दिन थालिएको छ, यो बिल्कुल नयाँ कुरा हो । पत्रकारलाई सोधपुछका लागि बोलाउनु, हिरासतमा लिनु तर यसबारे कोही बोल्न नचाहनु— यस्तो अहिलेसम्म भएको थिएन । यसले प्रष्ट पार्छ कि राज्यले मिडियालाई कसरी नियन्त्रणमा राखेको छ र पत्रकारहरूलाई कसरी हायलकायल पारिरहेको छ ।”

अर्का वरिष्ठ पत्रकार युसुफ जमिल पनि मीरको कुरामा सहमति जनाउँछन्, “पत्रकारलाई स्रोत खोल्न बाध्य पार्ने कुरा यहाँ नयाँ होइन । यो ठूलो उत्पीडन हो, फगत सानो उदाहरणमात्रै होइन । यो अप्रत्यक्ष सेन्सरसिप हो । भन्नका लागि त कश्मिरमा प्रेस स्वतन्त्र छ भनिन्छ । तर, कफ्र्यु लागेका बेला प्रेसलाई पास दिइँदैन । पास दिइएका बेला पनि सुरक्षाकर्मीहरू त्यसलाई मान्न तयार देखिँदैनन् । अर्को कुरा— यहाँ बारम्बार इन्टरनेटमा रोक लगाउने गरिन्छ । पत्रकारले यस्तो अवस्थामा कसरी निष्फिक्री भएर काम गर्न सक्छन् ?”

२०१८ जुन १४ मा ‘राइजिङ कश्मिर’का सम्पादक सुजात बुखारीको हत्यापछि पत्रकारलाई दुःख दिने क्रम बढेको हो । हत्याको छानबिन भन्दै थुप्रै पत्रकारलाई केरकार गरी धम्की दिइएको छ । जसलाई गिरफ्तार गरिएको छ, उनीहरू कम परिचित र साना पत्रकार हुन् । एक राष्ट्रिय दैनिकका पत्रकारले नाम उल्लेख नगर्ने शर्तमा मलाई भने, “त्यसरी गिरफ्तार हुनेमा धेरैजसो स्थानीय प्रकाशनमा काम गर्ने पत्रकार हुन्छन्, जो दिल्लीमा बस्दैनन् । यहाँ छापिने समाचारले उनीहरूलाई बढ्तै तनाव दिन्छन् । सुरक्षाकर्मीले उनीहरूलाई विद्रोहीका सहयोगी ठान्छन् र उनीहरूको विश्वसनीयतामा प्रश्न उठाइदिन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उनीहरूको सम्पर्क खासै नहुने भएकाले पक्राउ गरिहाले पनि उनीहरूको पक्षमा बोल्ने कोही हुँदैनन् भन्ने ठान्छन् ।”

(ब्यान्डे दिल्लीमा बसेर पत्रकारिता गर्छन् । उनले लन्डनस्थित ‘युनिभर्सिटी अफ बेडफोर्डशायर’बाट स्नातकोत्तर गरेका हुन्)

आवरण तस्बिरः पक्राउ परेका पत्रकार आसिफ सुल्तान पहिलो पेशीका क्रममा
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC