site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भ्यानले ठक्कर दिँदा निगमको ट्विनअटर ग्राउन्डेड, निगम सञ्चालक पहाडी घटनामा मुछिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ‘ट्विनअटर’ जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाडीले ठक्कर दिँदा ‘ग्राउन्डेड’ भएको  छ । यो घटनामा निगम सञ्चालक समिति सदस्य अच्युतराज पहाडी मुछिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज राख्ने ‘ह्यांगर’ मा रहेको १९ सिट क्षमतायुक्त ‘९एन–एबिटी’ दर्ता नम्बरको ट्विनअटरमा निगमकै ‘र्‍याम्प भ्यान’ ले ठक्कर दिएपछि ग्राउन्डेड भएको हो । 

सम्बद्ध स्रोतका अनुसार एक साताअघिको यो घटनाको तथ्य पहाडीकै दबाबमा ‘लुकाइएको’ छ । “जुन दिन राति साढे ८ बजे निगमकै भ्यानले ट्विनअटरलाई ठक्कर दियो, त्यसबेला सञ्चालक समिति सदस्य पहाडी त्यही जहाजको इन्जिन स्टार्ट गरेर जहाजभित्रै बसिरहेका थिए,” स्रोतले आइतबार बाह्रखरीसँग भन्यो, “अर्को गम्भीर विषय के हो भने पहाडीसँगै जहाजभित्र निजी वायुसेवा कम्पनी बीबी एयरवेजका एक अधिकारी पनि थिए ।”

स्रोतका अनुसार दिउँसो नियमित उडान सकेर भोलिपल्टको उडानका लागि परीक्षण गर्न पहाडीको नेतृत्वको टोलीले उक्त ट्विनअटरको इन्जिन स्टार्ट गरिरहेको थियो । त्यही बेला निगमको भ्यान जहाज नजिकै आएर रोकियो र चालक बाहिर निस्किए । तर, निमेषभरमै त्यो भ्यान गुडेर जहाजको ककपिटको तलपट्टि ठोक्किएको थियो । 

Agni Group

“के कति कारण जहाज नजिक आएर भ्यान रोकियो र चालक ओर्लिएपछि गाडी गुडेर जहाजमा ठोक्कियो भन्ने अनुसन्धानको विषय हो,” स्रोतले भन्यो, “चालक ओर्लिए पनि गाडीभित्र अर्को मान्छे थियो र जानाजान जहाजमा लगेर ठोक्काइएको अनुमान सबैको छ । त्यसमाथि जहाजभित्र बीबी एयरवेजको कर्मचारी किन प्रवेश गरे भन्ने अर्को अनुसन्धानको विषय हो, यसबारे पहाडीमाथि छानबिन हुनुपर्छ ।” 

पहाडी तिनै हुन्, जो ०६८ असारमा २५ भारतीय नागरिकलाई जनही २ लाख भारतीय रुपैयाँका दरले रकम लिई निगमको ‘एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियन’ पदमा नियुक्ति गर्दा दोषी ठहरिएका थिए । त्यसबेला इन्जिनियरिङ विभागका निर्देशक रहेका पहाडीलाई असार २८ गते निगमकै उच्च अधिकारी सहभागी छानबिन समितिले दोषी ठहर गरेको थियो । त्यसपछि उनलाई कार्यकारी अध्यक्षको कार्यालयमा हाजिर गराइएको थियो ।

Global Ime bank

ती भारतीयलाई दिइएको नक्कली नियुक्ति पत्रमा भएको पहाडीको हस्ताक्षर, उनीबाट लिइएको हस्ताक्षर र निगमका आधिकारिक कागजातमा भएका उनका हस्ताक्षरलाई केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले परीक्षण गरी दुरुस्त प्रमाणित गरेपछि उनको संलग्नता पुष्टि भएको थियो । त्यसपछि एक महिनाभन्दा बढी  प्रहरी हिरासतमा बसेका थिए । केही समयपछि अदालतबाट मुद्दा जितेका पहाडी पुनः इन्जिनियरिङ विभाग सम्हाल्न पुगेका थिए । अवकाशलगत्तै तत्कालीन देउबा सरकारले उनलाई २०७३ फागुन ५ गते चार वर्षका लागि निगम सञ्चालक सदस्य नियुक्त गरेको थियो । उनको नियुक्तिलाई लिएर त्यसबेला ठूलो विवाद भएको थियो ।

निगम सञ्चालक समिति सदस्य हुँदाहुँदै पहाडी निजी क्षेत्रको अन्तर्राष्ट्रय वायुसेवा कम्पनी बीबी एयरवेजमा ‘कर्मचारी’ को हैसियतमा कार्यरत रहेको पुष्टि भएपछि निगम व्यवस्थापनले उनलाई सञ्चालक सदस्यमा बहाल गराउन उचित नहुने राय गत भदौ अन्तिम साता सरकारलाई दिएको थियो । 

पहाडी गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको कम्पनी बीबी एयरवेजको कर्मचारी भएर काम गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि अख्तियारले निगमको तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलाई साउन ८ मा ‘पहाडीका कर्तुतबारे सत्य–तथ्य जानकारी गराउन’ पत्राचार गरेको थियो । पत्रमाथि कारबाही गर्दै मन्त्रालयले साउन ११ मा निगम महाप्रबन्धकलाई सत्यतथ्य विवरणसहित राय र प्रतिक्रिया उपलब्ध गराउन निर्देशन दिएको थियो ।

निगमले पर्यटनलाई पठाएको पत्रअनुसार निगमको ३० वर्ष पुरानो ‘बोइङ ७५७’ जहाज लिलाम बिक्रीको ठेक्का पाएको बीबीसँग विभिन्न चरणमा लिलामबारे वार्ता हुँदा पहाडीले बीबीका तर्फबाट ती बैठकमा भाग लिने गरेका थिए । 

‘नेपाल वायुसेवा निगम ऐन, २०१९’ अनुसार निगमबाट ठेक्कापट्टा लिएको कुनै पनि व्यक्ति महाप्रबन्धक वा सञ्चालक सदस्य हुन सक्दैन । यस्तो ठेक्कापट्टामा संलग्न भए व्यवस्थापक वा कुनै सञ्चालकलाई सरकारले पदबाट हटाउन सक्छ । त्यसबाहेक सरकारले चाहेमा कुनै सञ्चालकलाई कार्यावधि समाप्त नहुँदै पनि हटाउन सक्छ ।

“सन् २०१८ जुन ५ मा बीबी एयरवेजबाट प्राप्त पत्रको व्यहोरालाई आधार मान्दा तथा एरोकनेक्ट डटकममा बीबीको बोइङ लिलाम बिक्रीसम्बन्धमा सम्पर्क गर्ने व्यक्ति अच्युतराज पहाडी भनी उल्लेख भएको र निगमसँग भएको एक ठेक्कापट्टाको कारोबारमा पहाडी ठेकेदारको तर्फबाट प्रत्यक्ष रूपमा संलग्न भएको प्रमाणित भएको छ,” निगमले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ, “पहाडी बीबी एयरवेजमा एक कर्मचारीको हैसियतमा कार्यरत रहँदा पटक–पटक गम्भीर प्रकृतिको विवादमा परिरहेको कागजातहरूबाट पुष्टि भएका कारण निजलाई निगमको सर्वोच्च निकायको सञ्चालक सदस्यको पदमा बहाली गराई राख्नु उचित नहुने व्यवस्थापनको राय/प्रतिक्रिया छ ।”

तर, निगम व्यवस्थापनले भने हालसम्म पहाडीलाई कुनै कारबाही गरेको छैन । बीबी एयरवेज र निगम सञ्चालक सदस्य पहाडीबीच भएको करार सम्झौतामा ०७४ पुस ६ बाट फागुन १६ सम्म पहाडीलाई परामर्शदाताका रूपमा नियुक्ति दिइएको छ । त्यति अवधिका लागि उनलाई ५ लाख ४९ हजार २० रुपैयाँ पारिश्रमिक दिने सम्झौता छ ।

त्यसैगरी अख्तियारमा परेको उजुरीमा पहाडीले ‘इन्जिनियरलाई जहाज मर्मत गर्न लगाएर आफैंले गरेको भनी बिल बुझाएर मासिक लाखौं भुक्तानी बुझ्ने गरेको, बीबी एयरवेजका तर्फबाट सीईओ भन्दै उक्त एयरवेजको हितमा काम गर्ने गरेको, ०६८ मा भारतीय नागरिकलाई किर्ते सही गरी त्रिभुवन विमानस्थलको पास बनाई ठगी गरेको, जहाजको टायर खरिद गर्दा भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा चलाएको’ उल्लेख छ ।

त्यसबाहेक करिब १७ वर्षअघि निगमका ‘बोइङ ७५७’ जहाजका १६ थान टायर खरिद गर्दा डेढदेखि २ लाख अमेरिकी डलर ‘घोटाला’ गरेको प्रमाणित हुँदा पनि निगमले कारबाही गरेको थिएन । तर, केही समयपछि यसबारे अख्तियारमा उजुरी परेपछि छानबिन गरिएको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए । त्यसपछि मुद्दा जितेर उनी काममा फर्किएका थिए ।

“सञ्चालक सदस्य भए पनि पहाडी जहाज मर्मत र परीक्षणको काम गर्दै थप आम्दानी गरिरहेका छन्,” सम्बद्ध एक अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, “सञ्चालक समिति सदस्यले दोहोरो सुविधा लिन पाइँदैन तर पहाडी नियम–कानुनभन्दा माथिका मान्छे भएका कारण कसैले केही बोल्न सकेका छैनन् ।” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC