site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के त्यसो भए निर्मलालाई कसैले मारेन ? 

दसैं र तिहार जस्ता चाडबाड सकिएका छन् । देश चाडबाडमा रमाएकै बेलामा सुदूरपश्चिमको एउटा परिवार भने आँसु पुछ्दै बसिरहेको थियो ।  प्रसंग कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको  हो । उनको हत्या भएको १ सय दिन नाघिसकेको छ । यतिन्जेल सम्मपनि न्याय प्राप्ति हुन नसकेपछि आज आइतबारबाट नै परिवारका सदस्यसहित अधिकारकर्मीसमेतको टोलीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना थालेको छ । निर्मलाका पिता यज्ञराज पन्त आइतबार बिहान न्याय नपाएको पीडा पोख्दै भन्दै थिए – ‘‘धर्ना दिँदा पनि सुनुवाइ भएन भने अब अनशन बस्ने सोचाइमा छौँ ।’’

कसले त्यो जघन्य अपराध गर्‍यो भन्ने अझै अन्योलमा छ । सरकारद्वारा नै गठित छानबिन समितिले संभावित हत्याराका बारेमा प्रशस्तै संकेत गरे पनि राज्य संयन्त्रले ठोस कदम चाल्न नसकेको धेरैको बुझाइ छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त दसैं तिहारजस्ता चाडबाडका कारण छानबिन प्रक्रिया ठप्प भएकोमा चिन्तित छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले सामाजिक सञ्जालमा ‘एक साताको समय दिने हो भने म हत्यारा पत्ता लगाउन सक्छु’ भनेर सरकारलाई थुप्रैले चुनौती दिइरहेको देख्न सकिन्छ । तर, देख्नमा दुई तिहाइको ‘डाल’ भएको शक्तिशाली सरकार यो मामिलामा के गर्दैछ भन्ने कुरा नै बुझ्न सर्वसाधारणलाई गाह्रो भइरहेको छ । त्यो गाह्रोसँगै जनस्तरमा आक्रोश पनि छ । नहोस् पनि कसरी ? मानिलिऔं–तपाईं हाम्रा छोरीबहिनी पढ्न गएका छन् । घर फर्किन्नन् । भोलिपल्ट उनको शव कतै खेतबारीमा विभत्स अवस्थामा भेटियो भने हाम्रो मन कति बिथोलिएला ? अझ त्यसमा हत्यारालाई जोगाउन खोजिएजस्तो देखियो र अभिभावकको रूपमा रहेको सरकारका अवयवले नै जिस्क्याएजस्तो भयो भने परिवारको मन कति रोला ?

अहिले पन्त परिवारको मन त्यसैगरी रोएको पाइएको छ । पन्त परिवारको मात्रै होइन आफ्ना छोरी चेलीको सुरक्षा चाहने जोसुकैको मन अहिले भत्भती पोलेको छ । 

Global Ime bank

यस्तै, घटना हाम्रो देशका ठूला नेताको परिवारमा भएको भए उहाँहरु यसैगरी टोले चियापानमा राज्यको ढिकुटीबाट हेलिकोप्टर चढेर छेऊ न टुप्पोको भाषण गर्दै हिँड्नुहुन्थ्यो होला ? पक्कै त्यसो गर्नु हुने थिएन । 

अहिले सर्वसाधारणको बुझाइ के रहेको देखिएको छ भने गृह सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको ३७ पेज लामो प्रतिवेदनले नै थुप्रै कुराको संकेत गरिसकेको छ । त्यसमा प्रारम्भिक अनुसन्धानको क्रममा प्रमाण नष्ट गर्न को को लागेका थिए भन्ने कुराको प्रष्टै संकेत छ । त्यसरी प्रमाण नष्ट गर्न कसले लगायो वा आफैंँ लागे भनेर उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने हो भने कुरा खुल्ने जनताको बुझाइ  छ । 

सरकारले निलम्बित प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई यही कार्तिक ८ गते ‘बर्खास्त’ शब्द प्रयोग नगरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी जागिरबाट हटाएको छ । तर, उनीहरुले प्रमाण नष्ट गर्न खेलेको भूमिकाका बारेमा राज्यले सजाय गर्नुपर्ने कि नपर्ने ? कि जागिरबाट हटाएपछि सबैथोक सकियो ? अनि निर्मलाको परिवारले न्याय कहाँ खोज्ने ? प्रश्न बग्रेल्ती उठिरहेका छन् । तर, राज्य संयन्त्र सोचे जसरी अनुसन्धानमा अघि बढेको देखिएको छैन । छानबिन समितिको प्रतिवेदनमा प्रहरी निरीक्षक भट्टले  त्यति संवेदनशील घटनालाई लिएर निर्मलाको परिवारले साउन १० गते साँझ घटनाको बारेमा जानकारी गराउँदा यतिबेला जानकारी गराउने भनेर हप्काएको कुरा उल्लेख छ । बिष्टले चाहिँ बयानमा भनेका रहेछन्,‘‘आन्दोलन र भिडको कारण मिति २०७५ साउन १४ गतेसम्म शव भेटिएको ठाउँमा नगएको हुँ ।’’

हेर्नुस्त जिल्ला प्रहरी हाकिमको ताल । १० गते बालिका हराइन्, ११ गते शव भेटियो । उनी चाहिँ १४ गतेसम्म शव नभेटिएर नगएको रे ! किन नगएको रे भने आन्दोलन र भिडभाड थियो रे । प्रहरीको हाकिम आन्दोलन र भिडभाड भएको ठाउँमा नगएर कहाँ जाने त ? यसभन्दा लाजमर्दो कुरा के हुन सक्छ ? अहिले उनैले चर्का कुरा गर्दै मलाई ‘फसाइयो’ भन्न थालेका छन् । फसाइएको हो भने कसले फसायो त्यो भन्न सक्नुपर्‍यो । अहिले त कतिसम्म मजाक गर्न थालिएको छ भने गाउँका गाउँ टोलका टोलकै डीएनए टेस्ट गराउने तयारी रे । घटनाको सुरुका केही साता प्रमाण नष्ट गर्न खेलिएको भूमिकालाई हेर्दा निर्मलाको भेजाइनल स्वाब नै सही त थियो भन्ने प्रश्न समेत उठिरहेको छ । यस्तो अवस्थामा डीएनएको तमासा देखाएरमात्रै कसरी समस्याको समाधान होला ? जनताको बुझाइ छ – यो अल्मल्याउने प्रयासजस्तो मात्रै हो । 

कर्मचारी आन्दोलनको शैली

प्रमाण नष्ट गर्नमा सहभागीहरू केही चाहिँ अहिले  निर्मलाको हत्यारा पत्ता लगाउनेतिर भन्दा पनि कारबाहीमा परिसकेका वा पर्न लागेकालाई जोगाउन पो दौडधुप गर्न थालेको हो कि जस्तो सन्देह व्यक्त हुन थालेको छ । अर्थात्, त्यसपछिका घटनाक्रमले  निर्मला हत्याको मूल मुद्दा छायाँमा पर्ने त होइन भन्ने प्रश्न उब्जिएको छ । यसमा कुनै निजी कम्पनीका कर्मचारीले गर्ने  हडतालको प्रसंगमा हुने व्यवहारमा मेल खाने अवस्था उत्पन्न भएजस्तो लाग्न थालेको छ । निजी कम्पनीका कर्मचारीले तलब वृद्धि वा त्यस्तै केही माग राखेर आन्दोलन गर्छन् । व्यवस्थापनले  कर्मचारीलाई निकालिदिन्छ । निकालेपछि कर्मचारीको माग तलब वृद्धितिर  होइन जागिरमा पुनर्बहालीमा केन्द्रित हुन्छ । अहिले कारबाहीमा परेका वा पर्न लागेका प्रहरी अधिकारीको गतिविधि हेर्दा निर्मलाको हत्यालाई बिर्सेर अन्तै ध्यान केन्द्रित गर्न खोजेको आभास भइरहेको छ । र, प्रश्न उठिरहेको छ – के उसो भए निर्मलालाई कसैले मारेन ? मारेको भए सरकारी प्रतिवेदनमा नै थुप्रै संकेत गर्दागर्दै पनि किन अनुसन्धान अलमलिई रहेको छ ?  

यो निष्कर्ष कतिपटक संझाउने ?

निर्मला हत्याकाण्डको झन्डै १ महिनापछि सहसचिव  मैनालीको संयोजकत्वमा  भदौ ७ गते गठित छानबिन समितिले असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको थियो । जुन प्रतिवेदन सार्वजनिक भइसकेको छ ।   

छानबिन समितिले आफ्नो निष्कर्षमा निर्मला पन्तको हत्या घटना र तत्पश्चात उत्पन्न परिस्थितिका विषयमा केन्द्रित भई खुला तथा गोप्यरूपमा संकलन गरिएको तथ्य र सूचनाको विश्लेषण गर्दा निर्मला हराएको प्रहरीमा जानकारी गराउँदा पनि तत्काल खोजतलास गर्ने सम्बन्धमा प्रहरी उदासीन पाइएको प्रष्टै उल्लेख छ । 

त्यसैगरी, निर्मलाको साइकल र नोटकपी फेला परेपश्चात सोही आसपासमा शव हुन सक्ने विषयमा गम्भीर भई खोजतलास नगरिएको, हत्या घटनासँग सम्बद्ध प्रमाण संकलनमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्रे्याइँ देखिएको त्यसमा उल्लेख छ । 

त्यस्तै, पन्तको शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र यी सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानमा सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रमा तत्काल पर्याप्त संख्यामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्थापन नगरेको समेत छानबिन समितिले निष्कर्ष निकालेको छ ।

शव फेला परेको स्थान र आसपासको क्षेत्रमा तत्काल पर्याप्त संख्यामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्थापन नगरेको, निर्मला जुन घरबाट हराएको हो सोही घरमा बस्ने बबिता भन्ने अनिता बम र रोशनी भन्ने आँचल बमलाई हिरासतमा लिई अनुसन्धान प्रक्रिया थालनी गर्नुपर्नेमा पीडित परिवार र आमनागरिकको मागअनुरूप प्रहरीले तत्काल सो काम नगरेको हुँदा जनआक्रोश बढेको समितिले निष्कर्ष निकालेको छ । 

स्थानीय प्रहरीले यथेष्ट प्रमाणबिना दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरी सार्वजनिक गरेकोे, भदौ ४ गते प्रहरीले खडा गरेको बरामदी मुचुल्कामा अमित गोल्ड लेखिएको भित्री कट्टु थान १ , नीलो रङको भित्री शरीरमा लगाउने गन्जी थान १ र नीलो रङको जिन्सको हाफ पाइन्ट थान १ विधि विज्ञान प्रयोगशालामा अनुसन्धानका लागि भदौ ८ गते पठाइएकोमा १० गते अर्को पत्र पठाएर सच्याउन लगाइएको, निर्मलाका पिता साउन ७ गते भारत गई १२ गते फर्केकोमा ११ गते तयार पारिएको कागजातमा उनको नाममा सहीछाप देखिएको प्रतिवेदनमा जनाइएको छ । 

प्रतिवेदनमा तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक तथा पीडित परिवारका सदस्यहरू प्रहरीको कामकारबाहीप्रति आश्वस्त हुन नसकेको, मृतकको अन्त्येष्टि गर्न पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिहरूले अनावश्यक प्रभाव, दबाब तथा धम्की दिएको भन्ने पीडित परिवार तथा आम नागरिकको भनाइ रहेको  जनाइएको छ । 

वडा प्रहरी कार्यालयका इन्चार्ज जगदीश भट्ट साउन १० गते राति ८ बजे निर्मला हराएको थाहा पाएर पनि गम्भीर नभएको, मृतक निर्मला निजकै छिमेकी रहेको, निज भट्टका भतिजा लोकेन्द्र भट्टको घरमा बस्ने माइलो भन्ने गोपाल चौधरीले साइकल भेटेको सम्बन्धमा फरक फरक भनाइ राखेको तथा निज कमान्डर भई खटिएको ट्राफिक चोकमा एसएलआर बन्दुकको सबैभन्दा बढी ७२ राउन्ड खर्च भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । अनिता बम साउन १० गते ट्युसन पढ्न नगएको भन्ने साथीहरूको भनाइ तर निजका बाबुले आएको हो भनिदिन भन्न गएको घटनाले उनको गतिविधि शंकास्पद देखिएको प्रतिवेदनमा जनाइएको छ । 

साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको घटनास्थल र लासको मुचुल्कामा निर्मलाको कापी र साइकल भएको स्थानदेखि १ किमी टाढा पानीमा रहेको भन्ने बेहोरा लेखिएको देखिन्छ । छानबिन समितिले छानबिनका क्रममा सो कापीमा पानी परेको नदेखिएको र त्यसमा रहेका अक्षर पनि निलो जेल पेनले लेखेको देखिएको र अक्षर पनि केही नभएको उल्लेख गरेको छ । 

निर्मलाले अम्बा लिएर गएको भनिए पनि सो अम्बा प्रहरीले बरामद नगरेको र साउन १७ गते सो अम्बाको रुख नै रोशनीका बाबु दीपेन्द्रबहादुर बमले काटेको पाइएको प्रतिवेदनमा उल्लेख छ । घटनापछि उत्पन्न आक्रोश नियन्त्रण गर्न न्यूनतम बल प्रयोग नगरिएको र आपसमा समन्वय पनि नभएको जनाइएको छ । के यसमा नै गडबडीका पर्याप्त संकेत छैनन् र ?

यी सुझाव के भए ?

प्रतिवेदनमा अभियुक्त भनिएका दिलीपसिंह विष्टलाई चरम शारीरिक यातना दिई अभियोग स्वीकार्न बाध्य पार्ने केरकारमा संलग्न प्रहरीलाई छानबिन गरी तत्काल कारबाही गर्न सुझाव दिइएको छ । त्यस्तै शव भएको स्थानमा खटिएका प्रहरीले जिम्मेवारीपूर्वक काम गरेको नपाइएकोले विभागीय कारबाही गर्नुपर्ने, एसपी दिल्लीराज विष्ट आफ्नो जिम्मेवारीको क्षेत्रमा गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थलमा नगएको तथा सो घटनाको थप अनुसन्धानमा समेत लापरबाही गरेको हुँदा निजलाई विभागीय कारबाही गर्न, निर्मला हराएको सूचना पश्चात तत्काल खोजी कार्यमा सक्रियता नदेखाई भिड नियन्त्रणका लागि बल प्रयोगमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीहरूलाई छानबिन गरी विभागीय कारबाही गर्न, हत्याको घटनामा विषय विज्ञहरूको टोली समेत खटाएर अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने, निर्मलाको हत्या घटनाको अनुसन्धान तथा सहयोगीको रूपमा खटिएका प्रहरी तथा कर्मचारीको कामकारबाहीको सम्बन्धमा प्राप्त तथ्य, प्रमाण र घटनाका आधारमा संलग्नता देखिएमा त्यस्ता पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउन प्रतिवेदनमा सुझाव दिइएको छ । 

सो घटनाको विरुद्धमा आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च र यसैका कारण सामान्य जीवनमा फर्किने अवस्था नरहे राज्यको तर्फबाट जीवन निर्वाह भत्ता दिनुपर्ने प्रतिवेदनमा सुझाव दिइएको छ ।  पीडित परिवारको सुरक्षा लगायत सामान्य जीवनयापनका लागि राज्यका तर्फबाट सामाजिक पुनःस्थापना गर्नुपर्ने समेत समितिले सुझाव दिएको छ ।

आगामी दिनमा स्थानीय व्यक्तिलाई नै प्रहरीको नेतृत्वको रूपमा पठाउन नहुने, जिल्लाका प्रशासनिक र सुरक्षा निकायको एकसाथ स्थानान्तरण गर्न नहुने लगायतका आगामी दिनमा अपनाउनुपर्ने सतर्कतासमेत प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा घटनामा दोषी देखिएकालाई मुलुकी अपराध संहिता आकर्षित हुने देखिएको पनि जनाइएको छ । यसमा राज्य संयन्त्रले के कति काम अगाडि बढाए त ? अहिले चासो र चिन्ता बढीरहेको छ ।

राज्य संयन्त्रको ध्यान कता ?

प्रधानमन्त्री केपी शर्मा ओलीबाट केही समयअघि हत्याका घटनाको वास्तविकता पत्ता लगाउन कैयौं वर्ष सम्मपनि लाग्न सक्ने संकेत भएको थियो ।  त्यो कुरा असत्य पनि होइन । विश्वमा नै कतिपय घटना कसले गरेको भनेर सयौं वर्षसम्म पनि पत्ता नलागेको उदाहरण पाइनछ । तर, कञ्चनपुरको घटना त्यस्तो पनि होइन । त्यहाँ खुलेआम प्रमाण नष्ट गर्ने प्रयास भएको देखिएको छ । त्यो कार्यमा को को संलग्न थिए भन्ने पनि थाहा छ । यस्तो अवस्थामा पनि कसरी वास्तविकता पत्ता लाग्न सकेको छैन भन्ने कुरा टड्कारो रूपमा उठिरहेको छ । त्यसैले त्यो दिशातर्फ सरकारी अनुसन्धान अघि बढोस् भन्नेमात्रै परिवारका सदस्य र सर्वसाधारणको आग्रह भइरहेको मात्रै हो । 

लाजले नै लजाइदिनुपर्ने हो ?

कञ्चनपुर घटनालाई यस्ता घटना कति हुन्छन् हुन्छन् भनेर बेवास्ता गरियो भने त्यो सरकार र सत्तारुढ दललाई नै  प्रत्युदपादक हुनेछ । किनभने यो घटनाले सम्पूर्ण जनताको मन छोएको छ, मन रोएको छ । त्यसैले यो सबैको लागि एउटा प्रतिनिधिमूलक घटना हो । यसको निकासका लागि प्रधानमन्त्री तहबाट राज्यका तल्ला निकायलाई कडाभन्दा कडा निर्देशन दिनुपर्ने जरुरी देखिएको छ । निर्देशन पालना नगर्नेलाई तत्काल कडा कारबाही गर्नु पनि उत्तिकै जरुरी छ । अहिले त सत्तापक्षका नेताहरु चियापान भन्दै राज्यको खर्च गरेर देशैभरी दौडिँदै हिँडेको देखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि आफैँं दंग परेको देखिन्छ । चियापानमा सत्तापक्षको दौड देखेर सायद बीपी कोइरालाको सिको नेपालका कम्युनिस्टले पनि गर्न थाले भन्दै कांग्रेस निर्मलाको मुद्दा नै बिर्सेर बसेको हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । यस्तो अवस्थामा नेपाली जनताले लज्जाबोध गर्न थालेका छन् । अब लाज स्वयं लज्जित हुनमात्रै बाँकी छ ।

सिंहदरबार कति रुन्थ्यो होला ?

माथिका पंक्ति  लेख्दै गर्दा एउटा पुरानो कुराको याद आयो । कुरा २०६६ सालको पुस महिनातिरको हो ।  तत्कालीन नेकपा (माओवादी)ले नागरिक सर्वोच्चताको नाममा आन्दोलन सुरु गरेको समयमा  एक जना पूर्वप्रधानसेनापतिले यो पंक्तिकारसँगको भेटमा  नेपालका प्रधानमन्त्रीलाई ‘निरीह’ भन्ने शब्द प्रयोग गरेका थिए । उनले थपेका  थिए —‘सिंहदरबार सजीव प्राणी भइदिएको भए अहिलेको अवस्थामा कति रुन्थ्यो होला?’  उनको भनाइ निकै पेचिलो थियो ।  उनले भने झैँ के अहिले पनि सिंहदरबारबाट  भइरहेका पहल वा निर्देशनलाई अवज्ञा गरेर राज्य संयन्त्रलाई कमजोर बनाउने काम निर्मला प्रकरण र अन्य थुप्रै विषयमा त  भइरहेको छैन ? के साँच्चै सिंहदरबार नै रुने अवस्थामा पुगेको हो  ? अब समीक्षा गरेर कदम चाल्न ढिलो नगरौँ । दुई तिहाइको सरकार पनि यस्ता सामान्य कुरालाई पनि टुंगोमा नपुर्‍याउने अवस्थामा पुगेको हो भने नेपाली जनताले अब केमा चाहिँ विश्वास गर्ने ?
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC