नेपालीले दसैंभन्दा बढी तिहारमा खर्च गर्छन् । विशेषगरी खानेकुराको किनमेलमा बढी खर्च गरिन्छ । यसो त दसैंमा पनि मासुको खपत वर्षभरको भन्दा धेरै हुन्छ । तर, दसैंको आवश्यकता गाउँघरमा लुगाफाटाबाहेक अरू धेरै वस्तु आफ्नै वा स्थानीय उत्पादनबाट नै पूरा हुन्छ । तिहारमा भने टीकादेखि बत्तीसम्म लगभग सबै आयात गर्नुपर्छ । यो वर्ष ताजा फलफूलमात्रै ७ अर्ब ५८ करोडको आयात गरिएको भन्सार विभागले जनाएको छ । गत वर्ष यही अवधिमा ४ अर्ब ७४ करोडको फलफूल नेपाल ल्याइएको थियो । भन्सारले दिएको जानकारी भएकाले यसमा न्यून मूल्यांकन भएको हुनसक्छ । यी ताजा फलफूलबाहेक तिहारमा ठूलो मात्रामा सुख्खा फल (ड्राइ फ्रुडस्) पनि खपत हुन्छ । सुख्खा फल त झन् यसै पनि आयात गर्नुपर्ने नै भयो । फलफूलको कुल आयातमध्ये तिहारमा मात्र ४० प्रतिशत हुने फलफूल विक्रेताले बताएका छन् । उनको भनाइअनुसार हेर्दा करिब १६ अर्बको स्याउ, अनार, अंगुर, केरा, आँपजस्ता फलफूल आयात हुने देखिन्छ ।
नेपालले आयात गर्ने लगभग सबै ताजा फलफूल यहीँ उत्पादन गर्न सकिन्छ । भौगोलिक अवस्थितिमा आधारमा नेपालमा जति विविधता पाइने अर्को मुलुक संसारमा बिरलै होला । नेपालको धरातल समुद्रको सतहको उचाइदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म फैलिएको छ । रसिला हिमाल खुलेका पहाडी जमिन फलफूल खेतीका लागि अति उपयुक्त मानिन्छ । नेपालकै हिमाली जिल्लाहरूमा फल्ने स्याउको गुणस्तर संसारको कुनै पनि ठाउँका स्याउसँग दाजिन सक्छ । सुन्तलालगायतका सिट्रस जातिका फलफूलका हकमा त झन् नेपाली जमिन अद्वितीय मानिन्छ । नेपाली स्वादको सुन्तला संसारको अरू कुनै ठाउँमा पनि पाउन नसकिने दाबीसमेत गरिएको छ । तर, नेपालीहरू भने आयात गरिएका फलफूल महँगो मूल्य तिरेर खान विवश छन् । फलफूल खेती सप्रन सक्ने कान्ला र बारी भने बाँझैं देखिन्छन् । किन ?
विगतमा फलफूल विकासका योजना पनि बनेकै हो । राज्यले फलफूल खेतीलाई प्रोत्साहन दिने घोषणा पनि भएकै हो । तर, बर्र्सेनि खपतसँगै आयात नै बढ्दो छ । यही क्रममा स्थानीय उत्पादन घट्दो छ । हामी ‘समृद्धि र विकास’को अमूर्त नारामा रमाउँछौँ । तर, देश भने बिस्तारै खोक्रो हुने क्रममा देखिएको छ । नेपाल न दैनिक उपभोगका सबै वस्तुमा आत्मनिर्भर छ न हाम्रो कुनै उत्पादनको निश्चित बजार छ । गुजाराको प्रमुख स्रोत अन्न खेती हो । अन्न बाली अझै पनि मूलतः मौसममा निर्भर छ । यस्तो अवस्थामा समृद्धि र विकासका ‘हावा गफ‘ जनताका लागि त्रूmर उपहासमात्रै हो । उपभोक्ता संस्कारको सिको गर्न भने सरकारमात्र हैन जनता पनि होडबाजी गर्छन् । सायद, यसैले आत्मनिर्भर नभई समृद्धिको अर्थ हुँदैन विशेषगरी नेपालजस्ता ‘ढुंगाका बीचको तरुल’लाई भन्ने हामीले कहिल्यै आत्मसात् गर्न सकेनौ ।
देशलाई साँच्चै नै समृद्ध बनाउन खोजिएको हो भने सबैभन्दा पहिले देशमै उत्पादन हुनसक्ने उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अठोटसहित योजना र कार्यक्रम बनाउनु आवश्यक छ । डाँडैपिच्छे मोटर बाटो बनाउनुभन्दा पहिले फलफूल फलाउन सक्नुपर्छ । सरकारले अन्न, फलफूल र माछामासुको उत्पादनमा आत्मनिर्भर भएरै छाड्ने नीति अपनाएमा मात्र समृद्धिको ढोका खुल्नेछ । खेतीमा भएको लगानी नोक्सान नहुने ग्यारेन्टी सरकारले गर्ने हो भने फलफूलको व्यावसायिक खेतीमा निकै वृद्धि हुनेछ । साना किसानले खेतीका लागि लिएको रिन तिर्न नसकेर घरबार लिलाम हुने अवस्था नआउने सुनिश्चित नभई किसानहरू व्यापकरूपमा नयाँ खेतीमा लगानी गर्न तम्सने छैनन् । यसैले किसानको मानसिकता र मर्का बुझेर योजना निर्माण र कार्यान्वयन गर्न स्थानीय तहदेखि संघीय सरकारसमेत प्राथमिकता दिनुपर्छ । उपलब्ध जमिनमा उत्पादन बढाउन ध्यान नदिने कमिसन आउने योजनालाई प्राथमिकता दिने अहिलेको प्रवृत्तिले नेपाल आत्मनिर्भर हुनसक्तैन । आत्मनिर्भरताविनाको समृद्धि नेपालका हकमा ‘सुन्निएर मोटाएको’ जस्तै हो ।