– वाक्सेली थापा
खेतभरि धान पाकेर पहेंलपुर छ । बारीमा कोदो पसाउन थालेको छ । हिउँदका शुरुवाती दिनहरू सफा र न्याना छन् । यतिबेला भित्री मधेसको विशेषता नै हो— बिहान–बिहान हुस्सुले ढाकेर अलिअलि चिसो महसुस हुने र खेतका आलीहरू शीतले लपक्कै भिज्ने । बारीको डिलउँदो र करेसाबारीमा मखमली, सयपत्रीका बोटहरू ढकमक्क फुलेका छन् । यतिबेला गाउँका घरहरू गच्छेअनुसार माटो वा बजारीया रङले पोतिएर आकर्षक देखिएका छन् । प्रायः सबैको घरमा कामको चटारो छ, विशेषगरी धान काट्ने र भित्र्याउने । धान थन्क्याएर चाडबाड मनाउनुको आनन्द बेग्लै हुन्छ गाउँमा । के गर्नू— वर्षभरिलाई पापी पेटको सवाल छ । दशैंको समाप्तिसँगै तिहारको तयारी मुख्य प्राथमिकतामा रहन्छ । कुन–कुन दाजुभाइ, दिदीबहिनी टीका लगाउन आउने हुन्, हिसाबकिताब हुँदैछ । अभिभावकहरूलाई कामको चटारो, खर्चको तनाव, पर्वको उत्साह र तयारीले एकमुष्ट सताइरहेको छ । केटाकेटीहरूमा टीका लगाउने, रमाइलो गर्ने उत्साह छ । र, सबैभन्दा बढी देउसी–भैलो खेल्ने कुराले नै दिलदिमाग भरिभराउ छ ।
संस्कृति त हाम्रो माटोमा छ । मुटुमा छ । आँसुमा छ । हाँसोमा छ । हिँड्ने हरेक पाइलामा छ । निल्ने प्रत्येक गाँस र टाउको ढाक्ने प्रत्येक बासमा छ । त्यसमाथि पनि तिहारअन्तर्गतको देउसी त्यस्तो सांस्कृतिक उत्सव हो, जहाँ बारीको साँध मिचेको निहुँमा हानाहान गरेका संधियार हुन् कि चुनावको निहुँमा काटामार गरेका छिमेकीहरू हुन्, सबैजना एउटै आँगनमा भेला भई ढाड जोडेर नाच्छन् र मौन रूपमै पछुताउँदै आपसमा माफीमिनाह दिन्छन् । यसमा आत्मीयता छ, सामूहिकता छ, मनोरञ्जन छ, मौलिकता छ । तिहारको सुन्दरतम् पक्ष हो यो ।
तिहारमा देउसी खेल्ने प्रसंग सम्झिँदा रंगीन यादहरूले मेरो मस्तिष्क भरिएर आउँछ एकाएक । त्यो समयमा फर्केर पुग्छु, जतिबेला बालापन हुर्कंदै गर्दा समयानुसार सुर्रा, आसपास, डन्डीबियो, बूढीकन्या, पौडी, गुच्चा, बाघचाल, लुडोजस्ता खेल खेल्थ्यौं हामी । सबैभन्दा प्रिय खेलचाहिँ फुटबल थियो । फुटबल के भन्नू, फुटबलको नाममा पुरानो मोजामा पुरानै कागज, लुगा र प्लास्टिक खाँदेर बनाएको भकुन्डो । बाल्यकालको खेल पनि समय, स्थान र आर्थिक हैसियतसँग सोझो सम्बन्ध राख्दो रहेछ । बजारीया छालाको फुटबल किन्ने हाम्रो ल्याकत बनिसकेको थिएन । कल्पना भने पेले र म्याराडोनासरह देख्ने गथ्र्यौं आ–आफूलाई । भलै पेले र म्याराडोनालाई कोठाको भित्तामा टाँसिएको ‘गोरखापत्र’को खेलकुद पृष्ठ वा चटपटे खाएको पत्रिकाको टुक्रामा आक्कलझुक्कलबाहेक थप कहीँकतै देख्ने मौका मिलेको होइन । तर, स्थानीय स्तरमा फुटबल टुर्नामेन्टहरू भइरहन्थे बेलाबेला । लोकल पेलेहरू तिनै प्रतियोगितामा देख्न पाइन्थ्यो । गाउँघरतिर तिनको निकै चर्चा हुन्थ्यो । हामीमा पनि उनीहरूजत्रो भएपछि पेले हुन पाए कस्तो होला भन्ने सपना आउँथ्यो मनमस्तिष्कमा । र, टुर्नामेन्ट हेरिसकेर फर्किएपछि यति जोस पलाउँथ्यो कि मोजाको भकुन्डो बोकेर लाग्थ्यौं आँगन, डगर, बाँझो बारी या धान उठाएको खेततिर । यही जोसमा कतिले टाउको फुटायौं । हातखुट्टा मर्कायौं । खुट्टाका नङ नउडेको र नलीखुट्टामा रगत जमेको नीलो घाउ नलागेसम्म पेले बनिँदैन भन्ने पो थियो कि ? हामी सबैको हविगत यस्तै हुन्थ्यो । खुट्टातिर खोज्यौं भने त्यतिबेलाका खतहरू मौज्दात देखिन्छ अझै पनि ।
हामीले फुटबल छुने भनेको त सिनियरहरूले खेलेको बेला मैदानबाट आउट हुँदा ल्याएर उनीहरूलाई दिनेबेला मात्र हो । अरू समयमा फुटबल छुँदा घच्चीको खप्की पाइन्थ्यो उनीहरूको । मनमनै रिस उठ्थ्यो । इख पलाएर आउँथ्यो । शायद त्यसैको परिणाम पनि हुन सक्छ, ५–६ कक्षामा पुगेपछि हामीलाई पनि फुटबल किनेर खेल्ने रहर पलायो । तर, दुर्भाग्य ! किन्नलाई पैसा थिएन । यदाकदा खाजा खान पाएको पैसा बचाएरमात्र फुटबल आउँदैनथ्यो । त्यसपछि अचुक उपाय पत्ता लगायौं— देउसी खेलेर छालाकै बजारीया फुटबल किन्ने । ०५०–५१ सालदेखि लगातार तीन वर्ष देउसीबाटै फुटबलको रहर पु¥यायौं ।
देउसीको योजना बनाउन थाल्थ्यौं तिहार आउनु एकाध महिनाअघि नै । फुटबल किन्नलाई खेलिने देउसीप्रति समकालीन साथीहरूबीच एकमुखे सहमति हुन्थ्यो । देउसी खेल्ने तयारी मन, वचन र कर्मले गथ्र्यौं हामी । दशैंअघि नै मादलको बन्दोबस्त गरिन्थ्यो, मादलधनीलाई केही निश्चित रकम दिने शर्तमा । त्यतिबेला हाम्रो पहुँचमा भएको मादलधनी भनेका टंक दाइ थिए । प्रायः उनीसँगै मादलको व्यवस्था गथ्र्यौं । देउसी खेल्ने बृहत् योजना प्रायः भैंसी वा गाईगोरू चराउन जाँदा नै बन्ने गथ्र्यो । कसरी खेल्ने, कहाँ–कहाँ खेल्ने, कुन दिनदेखि खेल्ने, क–कस्लाई खेलाउने, मादल कसले बजाउने, कसले भट्याउने, पैसा कसले राख्ने, चामल कसले बोक्ने । यावत निर्णयहरूमा उमेरले भाइहरूमाथि दाइहरूको हेपाहा प्रवृत्ति र ठूलै दबदबा रहन्थ्यो । हाम्रो टिममा प्रायः कुमारले मादल बजाउँथ्यो भने सञ्जीवले भट्याउने जिम्मेवारी लिन्थ्यो । अरूमा त्यो सामथ्र्य थिएन पनि । मादलधनीलाई जस्तै भट्याउनेलाई छुट्टै पैसा भाग लगाइन्थ्यो । प्रायः त्यो समयको देउसी टिममा दाइ छिमलका सञ्जीव, कुमार, भाइकाजी र म थियौं । भोला, माधव, अमलकाजी, देवु, गणेश, बासु, दिनेश, तिलकलगायतका केटाहरू भाइ छिमलका थिए । भाइ टोलीलाई पालैपालो बोरा बोक्ने नियम अनिवार्यजस्तै बनाएका थियौं हामी दाइहरूले । भनेको नमान्नेलाई टिममा समावेश नगर्ने धम्की हुन्थ्यो । धम्की कम कठोर र हृदयविदारक थिएन । जुनियरहरूलाई काबुमा ल्याउने अचुक अस्त्र थियो त्यो । दाइहरूको एक किसिमको दादागिरी नै चल्न शुरू भइहाल्थ्यो देउसी योजना बनेपछि । हामीसँग देउसी खेलाउँदैनौं भनेपछि गाईबस्तु फर्काउनेलगायतका काममा दल्न शुरू हुन्थ्यो । भाइहरूले कयौं पटक रुनुपथ्र्यो दाइहरूको धम्कीमा ।
देउसीको सम्पूर्ण तयारी समयमै सकिन्थ्यो । जिउमा बाक्ला लुगा लगाइन्थ्यो । आमा, हजुरआमाहरूको करबलपछि ऊनीको टोपी वा गलबन्दीबिना हिँड्न पाइँदैनथ्यो । एउटा मादल, दुई वटा बोरा, लालटिन र मट्टितेलको बोतल लिएर लक्ष्मीपूजाकै साँझ गाउँको कुनै छेउबाट शुरु गरिन्थ्यो देउसी । बढीभन्दा बढी घर खेलेर भ्याउने ध्याउन्न हुन्थ्यो ताकि पैसा पनि धेरै झार्न सकियोस् । निरपेक्ष लक्ष्य हुन्थ्यो, फुटबल किन्न पैसा पुगोस् । तर, फुटबल किन्न भनेरै देउसी खेले पनि आनन्द र हर्षोल्लासले मन साह्रै पुलकित हुन्थ्यो । एकाध घण्टा चिच्याएपछि बीच आँगनमा आइपुग्थ्यो नाङ्लोभरि धान, चामल, सेलरोटी, बलिरहेको दियो, फूलका थुंगाहरू र ५–१० रूपैयाँका नयाँ नोट । दान आएपछि हामीमा नयाँ जोस सवार भएर आउँथ्यो । वरिपरि घुमिघुमी ‘देउसीरे’ भन्थ्यौं तर सबैका आँखा नाङ्लोको बीचमा गएर गाडिन्थे । पैसा कति राखिएको छ, त्यही अनुपातमा चिच्याइ र उफ्राइ हुने नै भयो । भट्याउने जिम्मेवारी पाएको सञ्जीव पैसा झार्न भरमग्दुर प्रयास गथ्र्यो । हामी मरीमरी चिच्याउँथ्यौं । २० रूपैयाँ पाइयो भने सगरमाथा उक्लेझैं अनुभूत हुन्थ्यो किनकि हामीजस्ता देउसे टोलीको तत्कालीन रेट ५–१० रूपैयाँ न थियो औसतमा ।
पहाडबाट झरेका पहाडीया र आदिवासी दनुवारहरूको मिश्रित बसोबासले कमलाखोंज आफैंमा हाइब्रिड क्षेत्र हो । दनुवारहरू फरक ढंगले तिहार मनाउँथे तर देउसी खल्ने चलन भने थिएन । समयक्रममा सांस्कृतिक अन्तर्घुलन यति घनिभूत हुँदै गएको थियो कि दनुवारका बच्चाहरू पनि पहाडीयाका आँगनमा र हामीहरू दनुवारका आँगनमा देउसी खेल्न शुरुवात भइसकेको थियो । दनुवारी गाउँमा देउसी खेल्दा पैसा दिने चलन थिएन त्यतिखेर । चामलमात्र दिइन्थ्यो, त्यो पनि नाङ्लोमा होइन, चोयाको पंखा । एकपटक कटिलखनपुरमा एकजना दनुवार दाइले ५ रूपैयाँ दिए दानमा । त्यो हाम्रो आशाको सीमाभन्दा धेरै माथि थियो । अत्यधिक खुशी भएका थियौं । खुब उफ्रियौं । यसका अलावा दनुवारी गाउँमा पैसा पाएको स्मरण छैन । अहिले सम्झन्छु— दानदक्षिणा पनि त सोझै अर्थस्थितिसँग जोडिने कुरा हो । खासमा दनुवार जातिको अर्थस्थिति नाजुक छ अझै पनि । दानमा पैसा नदिनु अस्वाभाविक थिएन । कुनै–कुनै घरमा उनीहरू पानीरोटी पनि दिन्थे । चामलको पानीरोटी पहिलोपटक त्यतिबेला नै चाखेको हो तर बिल्कुल वेस्वाद लागेको थियो । पैसा नपाए पनि दनुवारी गाउँमा देउसी खेल्नुमा हाम्रो गहिरो स्वार्थ थियो । पैसा नदिए पनि चामल भने निकै दिने चलन थियो । चामल बेचेर पनि पैसा जम्मा गर्न सक्थ्यौं । दनुवार बस्तीमा घरहरू एकै ठाउँमा झुरूप्प हुन्छन् । निकै घरबाट प्रशस्तै चामल जम्मा हुन्थ्यो । चामल धेरै जम्मा गर्नलाई हामी चलाखी गथ्र्यौं । अझ भनूँ बदमासी गथ्र्यौं । ८—१० जनाको हाम्रो टोलीलाई फ्याक पारी दुई समूह बनाएर अलग—अलग घरमा दोहो¥याएर खेल्थ्यौं । यसरी धैरै चामल जम्मा पाथ्र्यौं । अन्तिम अभीप्सा उही फुटबल किन्न पैसा पुग्नु प¥यो ।
कतिपय घरमा देउसेहरू जति कराए पनि घरबेटी उठ्दै उठ्दैनथे । पटाका पट्काउँथ्यौं अनि उठ्थे । त्यसपछि बेस्मारी गाली खान्थ्यौं । एकपटक ठूलोलखनपुरमा गौरूङ दनुवारको घरमा धेरैबेर चिच्याउँदा पनि मान्छे नउठेपछि भोला भाइले झ्यालबाट कानै नजिक लगेर बेस्सरी मुरली बजायो । सुतेको मान्छे उठ्यो र हामीलाई लखेट्यो । हामी त्यहाँबाट टाप कस्यौं । कति घरमा ठूला देउसी समूह खेलिरहेको भेट हुँदा हेपिने डरले त्यतातिर जाँदैन्थ्यौं । हाम्रो देउसी स्तरहीन छ भनेर लाज हुन्थ्यो । आखिर सानै भए पनि आत्मसम्मान कहाँ मर्छ र ! तर्किएर भए पनि आफ्नो इज्जत बचाउँथ्यौं हामी ।
सकभर धेरै घर देउसी खेल्न प्रयत्न गथ्र्यौं । आफ्नो गाउँका अलावा लखनपुर, लखिमा, तीताकुनी, घेलफोरा, पतियानी, डाँडाटोल, कटिलखनपुर आदि एकैघर नछोडी खेलिसक्थ्यौं । सम्झिँदा अचम्म लाग्छ— कसरी भ्याउँथ्यौं त्यति धेरै घरहरू । स्वर बस्थ्यो तर पनि चामल र थुंगेफूलका पत्रहरू मुखभरि चपाएर रस निल्दै चिच्याइरहन्थ्यौं तीन दिनसम्म । भाइटीकाको भोलिपल्ट बिहानसम्म पनि चल्थ्यो देउसी । अनिद्राले निस्लोट भए पनि देउसी सकिनेबित्तिकै पैसा एकैठाम पारेर गन्थ्यौं । पैसा राख्ने मान्छे विश्वासिलो भए पनि के हो, कसो हो भन्ने पथ्र्यो सबैलाई । त्यसपछि जम्मा भएको रकम थाहा पाएर ढुक्कसँग सुत्थ्यौं । हप्ता दिनसम्म स्वर खासिन्थ्यो । चामल बनियाकहाँ लगेर बेच्थ्यौं । कनीकुथी जम्मा हुन्थ्यो— तीनदेखि चार सय रुपैयाँसम्म । मादल र भट्याउनेको भाग छुट्याई बाँकी रहेको पैसा दिएर कसैलाई स्टेसनरीबाट फुटबल लिन मिर्चैया वा लहान पठाउँथ्यौं । पैसा नपुगे सबैले बराबर उठाउँथ्यौं, बाँकी रहे त्यसैगरी बाँड्थ्यौं । सस्तो कम्पनीकै भए पनि जब फुटबल आइपुग्थ्यो, हाम्रो खुशीको स्केल असीमित रूपले अकासिन्थ्यो । कुनै युद्धमा विजय प्राप्त गरेझैं अनुभूति हुन्थ्यो । ती केटाहरूको अगाडि छाती फुल्थ्यो, जो हाम्रो देउसी टिममा सामेल थिएनन् । उनीहरूले हाम्रो फुटबल हेर्नसम्म पाउँथे तर छुन पाउँदैनथे । फुटबल आएपछि सगरगरे खेतको ठूलो गरा कि त लखिमा खोलाको बगरमा उफ्रिन थाल्थ्यौं र पेले बन्ने सपनाको शुरूवात गथ्र्यौं । केही महिनापछि सपना पनि फुटबलसँगै फुटेर जान्थ्यो । केही समय ब्लाडर हालेर नि काम चलाउँथ्यौं तर कामै नलाग्ने भएपछि फेरि तिहार आउन कति बाँकी छ भनेर औंला गन्थ्यौं । अर्को तिहारपछि जोस फर्केर आउँथ्यो तर दुर्भाग्य ! हामीमध्ये कोही पेले बनेन । पेलेको त के कुरा, लोकल पोलेसम्म पनि बनेनौं । आज त्यतिखेरका देउसेहरू दशदिशातिर छरिएर आ–आफ्नो जिम्मेवारीको पोस्टमा गोल छिराउनै प्रयत्नरत छौं, जीवन धान्ने नाउमा । ती दिनहरू सम्झिँदा अझै पनि रोमाञ्चित भएर आउँछ मन । हिजोमात्र स्मृतिका पानाहरू पल्टाउँदै थिएँ, दिनेश भाइले साउदीबाट भाइबरमा कल ग¥यो । लामो कुराकानीमा देउसीका ती दृश्यहरू एकएक गरेर सवार भए र नोस्टाल्जिक बनाए ।
आजभोलि पनि देउसी खेलिन्छ तर मनले खेलिएजस्तो लाग्दैन । मान्छेले होइन, प्रविधिले खेल्छ देउसी आजकाल । जोडघटाउ गरेर मात्र खेलिन्छ । सामूहिक भावनामा ह्रास आएको छ । आत्मीयता छैन । तिहारमा देउसी खेल्नुभन्दा मल्टिमिडियामै एकोहोरिनु आजका किशोरकिशोरीलाई श्रेयस्कर लाग्छ । अरू चाडबाडजस्तै तिहारले पनि रङ फेरेको छ । देउसीको मौलिक रङ फिका हुँदै गएको छ । हिजो बलिराजाको आदेशले देउसी खेलिन्थ्यो, आज सीडीओको आदेशले खेलिन्छ । भलै फुटबल किन्ने अभीष्टमा नै किन नहोस्, हिजो देउसी मनले खेल्थ्यौं हामी, दिलले खेल्थ्यौं र भरपुर आनन्दित हुन्थ्यौं । सामाजिक उद्देश्यले आक्कलझुक्कल अहिले पनि देउसी खेलिन्छ तर त्यही दाँजोको उल्लास महसुस हुँदैन । आजभोलि देउसी खेल्नुभन्दा ती देउसी सम्झिल्याउँदा बढी आनन्दित हुन्छु बरू, जसरी विगतमा ती देउसीहरू खेलिसकेर हप्ता दिनसम्म पनि ‘देउसीरे’ र मादलको ‘टुङटुङ’ आवाज प्रतिध्वनित भइरहन्थ्यो कानमा, आज पनि अमिटरूपले गुञ्जिरहेकै छ मनमा । गुञ्जिरहेकै छ मस्तिष्कमा ।