site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रसेवक
Ghorahi CementGhorahi Cement

– इस्माली


सेतो कमिज, गाढा नीलो पाइन्ट र गाढा नीलो कोटमा ऊ झन् चिटिक्क देखियो । गोरो वर्णमा कस्तो खुलेको ! पाँचै हजारमा सेट तयार भयो । मोफसलमा भएर होला, यताबाट अढाई हजार उसले चोखै उबा¥यो । उब्रेको रकम अफिसलाई फिर्ता गरिदिऊँ कि भन्ने लाग्यो, प्रेप्रपौ अर्थात् प्रेमप्रसाद पौडेललाई । (कार्यालयमा प्रेमप्रसाद पौडेललाई छोटकरीमा प्रेप्रपौ भन्ने गर्थे अरुहरू) । त्यसैले कार्यालयको प्रमुख माड्साबलाई सोध्यो पनि ।

माड्साबले हाँस्दै भने, “प्रेमजी ! गिनिज बुकमा नाम दर्ता गराउने सुर छ कि कसो ? संघ संगठनकाहरू लुगाभत्ता थोरै भयो भनेर आन्दोलनको धम्की दिँदैछन्, तपाईं भने बढी भयो भनेर ? मार्लान् है मार्लान् । त्यसै पनि तपाईंलाई देखिसहँदैनन् । झन् त्यसमाथि... । सत्चालीसअघि भए मण्डले भन्थे तपाईंलाई । मण्डलेलाई संरक्षण दिनका लागि संस्था थियो, सरकार थियो तर तपाईंलाई ? कोही छ तपाईंको पछाडि ?”

Agni Group

प्रेप्रपौ खिस्रिक्क प¥यो र प्रमुख माड्साबको कक्षबाट बाहिर निस्क्यो । उसकै पछिपछि निस्केकाहरूमध्येको एकजना सुब्बाले बाहिर एकान्त पारेर साउतीको स्वरमा अपनत्व भावमा भन्यो, “माड्साबले सोच्नुभएको कुरो नजाति होइन तर यो लुगाभत्ता भनेर दिएको साढे ७ हजारचाहिँ एकचोटिलाई होइन, वर्षभरिलाई हो । वर्ष दिन नपुग्दै लुगा च्यातियो वा फाट्यो भने सरकारले फेरि अर्को साढे ७ हजार दिँदैन तर अफिस आउँदा पोशाक त लाएर आउनु पर्‍यो नि ! त्यसैले बरु एकजोर अर्को पनि हाल्नुस् । सर्कारले यो रकम फिर्ता लिनै मिल्दैन अनि फेरि साढे ७ मा पोशाक बनेन भने सर्कारले थप्ने पनि होइन । अनि किन फिर्ता गर्नू ?”

प्रेप्रपौले शुभेच्छुकको कुरोमा न त समर्थन जनायो न त त्यसको प्रतिवाद नै गर्‍यो, एकहोरो सुन्यो र फिसिक्क हाँस्दै आफ्नो कक्षतिर लाग्यो ।

Global Ime bank

प्रेप्रपौको कक्षमा तीन सेट टेबलमेच थियो । ढोकै सामुन्नेको टेबिलमा ऊ हुन्थ्यो, दाहिनेतिर अग्रज अधिकृत मोहनजी र देब्रेतिर ना.सु. रूपा । ऊ कोठामा पस्दापस्दै कुरा गर्दै गरेका मोहन र रूपा अकस्मात चुप लागे र उसको अनुहारमा हेर्न लागे ।

‘यिनको छाँटछन्द निको छैन’ स्वगत सम्झ्यो र आफ्नो आसन ओगट्दै मेचमा बस्यो अनि हिजोको बाँकी कामको फाइल पल्टाएर हेर्न थाल्यो ।

‘खेतीमा तरकारी, जागिरमा सर्कारी’ भन्ने उखान प्रेप्रपौले उहिल्यै सुनेको हो, गाउँका बिचारीबाजेको मुखबाट । यो त उनको थेगै बनेको थियो । पढैयाहरू र आफ्नालाई उनी यही सल्लाह दिने गर्थे । सर्कारी जागिरमा रहेका तीन–चार जनालाई ऊ पहिल्यैदेखि चिन्थ्यो पनि । तिनको शानशौकत, रोबरवाफ, मानसम्मान र उपरीथुपरी कमाइ पनि उसले आफ्नै आँखाले देखेको थियो र परोक्षमा तिनलाई मानिसहरुले तथानाम गाली गरेको, घुस्याहा र भ्रष्टाचारी भनेको पनि सुनेको थियो । तीमध्ये कोही—कोहीलाई इमान्दार, राष्ट्रप्रेमी भनी इज्जत गरेको, तिनको बखान गरेको पनि सुनेको थियो । त्यही शानशौकत, मानसम्मान, सुखसयल र राष्ट्रप्रेमको लालसाले होला— प्रेप्रपौ पनि पढ्दापढ्दै लोकसेवाको तयारीमा लाग्न प्रेरित भइरहेथ्यो ।

स्नातक तेस्रो वर्षको जाँच सकिएकै दिन उसले ‘सामान्य ज्ञान’को एउटा गतिलो पुस्तक किन्यो, लोकसेवामा एक नम्बरमै नाम निकालेर अर्थराजस्वमा नियुक्ति पाएको अधिकृत मान्छेले लेखेको । भोलिपल्ट कानुनी किताब व्यवस्था कार्यालयमा गएर ऐन–नियम संग्रहका पाँच थान किताब किन्यो । पर्सिपल्ट केही पसल चहारेर प्रशासनिक प्रतियोगिताका लागि उपयोगी हुने तीन–चार थान पत्रिका पनि किन्यो । एफएम रेडियो नियमित रूपले सुन्ने, खबर पत्रिकाहरू नियमित रूपले पढ्ने गर्न थाल्यो । क्याम्पसको र सार्वजनिक पुस्तकालयहरू धाउँदै पत्रिकाहरू पढेर महत्वपूर्ण समाचार, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरू आदिको टिपोट बनाउने पनि गर्न थाल्यो ।

पढ्नुपर्ने क्षेत्र व्यापक र विस्तृत थियो— धर्म, संस्कृति, साहित्य, इतिहास, भूगोल र प्रकृति, विज्ञान, राजनीति, विधि र अर्थआदि । पढ्नुपर्ने कत्ति हो कत्ति, पढेर पार पाइनसक्नू ! तर, प्रेप्रपौ त्यस मार्गमा उत्साह, धैर्य र लगनका साथ लागिरह्यो । त्यो सेवामा रहेका अग्रजहरूसँग पनि सम्पर्क बढाउँदै तिनको सल्लाहविचार पनि लिइरह्यो । काममा व्यस्त भएपछि समय बितेको पनि पत्तो हुँदो रहेनछ । उसलाई त्यस्तै भयो । अस्ति भर्खर जाँच सिद्धिएको जस्तो लागेको थियो, परीक्षाफल आइसकेछ, नौ महिनामै । राम्रै गरेछ प्रेप्रपौले । अर्थशास्त्र र अंग्र्रेजी विषय लिएर ऊ स्नातक भएको थियो, दोस्रो श्रेणीमा । त्यसपछि ऊ अर्थशास्त्रमा स्नातकोत्तरको तयारीमा पनि जुट्यो ।

पहिल्यै पटकको प्रवेश परीक्षामा उत्तीर्ण भएको भए पनि ऊ प्रतीक्षा सूचीमा पर्‍यो । दोस्रो पटकको जाँचमा त उसले नाम निकाल्यो नै । अनि ऊ सरकारी अधिकृत भयो— राजपत्रांकित तेस्रो श्रेणीको अधिकृत ।

“हामीले नि जान्या छ टेबिलमुनिबाट कमाउने हो कि माथिबाट,” नियुक्तिपत्र बुझेकै दिन तिनीहरूमध्येकै एकजनाको मुखारबिन्दुबाट निस्केको महावाणी प्रेप्रपौको कर्णगुहामा प्रवेश गरेको थियो । यही वाणी र यस वाणीका दृढ समर्थकहरूले प्रेप्रपौलाई यतिन्जेलसम्म पनि खेदिरहेका छन्, दिनमा मात्र होइन, रातमा पनि ।

दायाँ–बायाँका यी दुई पनि त्यही वाणीका अन्तरंग मित्र हुन् । मान्छेले देख्दा, जान्दा त यी दुईलाई विपरीत विचारका कट्टर अनुयायी ठान्छन् तर खानेपिउने कुरामा यिनको मत ट्याक्कै मिल्छ— यी आँत जोडिएका दाइ–बैनीजस्ता बन्छन् । द्रव्य देख्नासाथ यिनका तीन नेत्रले महादेवलाई पनि मात गरिदिन्छन् । जनताले आफ्नो रगतपसिनाबाट कमाएर करको रूपमा सरकारलाई देशविकासका लागि तिरेको रकममा राष्ट्रसेवकहरू र सरकारका मन्त्रीहरूले ब्रह्मलुट गरेको देख्दा उसको छाती चिरिन्थ्यो, औडाहा भएर छटपटिइरहन्थ्यो । कहिलेकाहीँ त बौलाउँथ्यो पनि । उहीजस्तो बीस–बाइस हजार तलब खाने एलडीओ, सीडीओले तीन पुस्तालाई पुग्ने गरी ढुकुटी रित्याएको ऊ देख्छ । तर, यसको दुरुपयोग रोक्न कोही अघि सर्दैनन् । ऊ यो पनि देख्छ ।

अघिल्ला अफिसहरूमा झैं यहाँ पनि प्रेप्रपौलाई प्रायःजसोले देखिसहन्नन् । तर, उसलाई झैं राष्ट्रसेवाको धून चढेका सेवकहरू एक–दुई जना अरू पनि छन् । तिनलाई देखे–भेटेपछि प्रेप्रपौको मनलाई पनि अलि शान्ति मिल्छ ।

“जागिर खाने कमाउनका लागि हो कि राष्ट्रको सेवा गर्नका लागि ?” ऊ द्विविधामा पर्‍यो, “राष्ट्रसेवक भनिएकाहरूले ऐन–नियमका छिद्र खोतलेर यसैगरी कमाउने कार्यमा कस्सिएर कदम चाले भने के होला ? राष्ट्रलाई धोका, धोका ! अहँ, म त्यस्तो मार्गमा कदापि लाग्दिनँ ।”

यो दृढतासँगै आफूलाई केही दिलासा मिलेझैं ठान्यो प्रेप्रपौले । यो खुशीमा उसले एक नजर कोठामा फाल्यो । मोहन माड्साब कम्प्युटरमा तास खेल्दै थिए र रूपा स्वीटर बुन्दै थिई ।

“रूपाजी, टिप्पणी उठाउनु पर्ने हिजोको त्यो काम सक्नुभयो त ?” उसले सोध्यो ।

“सरले बिस्तारै गर्दा नि हुन्छ भन्नुभाथ्यो,” मोहन माड्साबतिर हेर्दै रूपाले भनी ।

ती दुबै जना उसैलाई हेर्न थालेथे ।

कार्यालय सहयोगी झलकसिंह कोठामा आयो र ‘मोहन माड्साबलाई माथि बोलाउनुभएको छ’ भन्यो ।

नियुक्तिपत्र पाएपछि तालिमस्वरुप तीन महिना स्टाफ कलेजमा बिताएपछि एउटा दुर्गम जिल्ला रसुवामा पदबहाली भएको थियो उसको । सदरमुकाम धुन्चेको वन कार्यालयमा ठ्याक्कै दुई वर्ष बितायो उसले । धुन्चेमा ऊ शिकारु कर्मचारी थियो । उसको शिकारूपनको फाइदा त्यहाँका रैथाने कर्मचारीले मजाले उठाउनसम्म उठाए । त्यसपछि तल नुवाकोटको बिदुरमा शिक्षा कार्यालयमा सारिदिएथे उसलाई । दिनभरि काममा जोतिन्थ्यो ऊ, उसको नाममा दस्तुर उठाउँथे अरू । दस्तुरको लालसा त उसलाई भएन तर नामजश पनि अर्कैले उछिट्याउने । तैपनि बढुवाको लोभमा त्यहाँ लामै बस्यो । राजधानी नजिकको जिल्ला । बढुवा भएर त ऊ महोत्तरी जलेश्वरको मालपोतमा कार्यालय प्रमुख भएर गयो । अब भने केही राहत होला भन्ठान्यो । आन्दोलनपछिको केही वर्षसम्म ऊ यहाँ रह्यो ।

मध्यावधि निर्वाचन सम्पन्न भएर भर्खर–भर्खर नयाँ सरकार बनेको थियो— नयाँ पार्टीको । नयाँ विचारको नयाँ पार्टी नयाँ नेपाल बनाउन तम्सेको थियो । नयाँ पार्टीले केकेन गर्ने भयो भन्ने त्राहीत्राही थियो पुरातन संस्कार बोकेको समाजमा । परिवर्तनकामी जनता चौपट्टै आशामुखी थिए— अब त जनताका दिन आए भनेर ।

कर्मचारीहरू पनि त्राहिमाम थिए, टेबिलमुनिबाट समेत पैसा लिन डराउँथे ।

एकदिन त के भयो भने दुई–तीन भाइ किसान आएका थिए, अंशबण्डा र जग्गाजमिनको मामिला थियो । सबै काम सम्पन्न भयो, हात–हातमा लालपुर्जा लिइसकेर पनि ऊकहाँ आए, “हुजुर, हाम्रो काम ?”

“किन ? भइसकेन र तपाईंको काम ? लालपुर्जा लिनुभएन र ?” सोध्यो उसले ।

“लालपुर्जा त लिएँ हुजुर तर दस्तुर त हाम्रो हातैमा छ । अनि कसरी भयो हाम्रो काम ?” उदेक मान्दै प्रौढ किसानले भनेथ्यो, “बिनादस्तुरको काम त कच्चा हुन्छ ।”

उसले कुरो बुझ्यो र मुसुमुसु हाँस्दै सम्झाउँदै भन्यो, “हामी तपाईंहरूको सेवक हौं । यही कामका लागि सरकारले हामीलाई खर्च दिएर खटाएको छ । त्यसैले कुनै पनि अफिसमा सरकारी दस्तुरबाहेक तपाईंहरूले अर्को कुनै दस्तुर तिर्नु पर्दैन । जानुस् अब । तपाईंको काम भइसक्यो । काम एकदम पक्का भएको छ ।”

र, तिनीहरू गाह्रो मानीमानी बाहिर निस्केका थिए । सरकारी कार्यालयमा बिनाघूस पनि काम हुन्छ भन्ने कुरामा मानिसको विश्वासै थिएन । बिनाघूस भएको काममा मानिसको पत्यार उठिसकेको थियो ।

तर, यो सिलसिला तीन दिन पनि टिकेन । नयाँ पार्टीका सत्ताधारीहरूतिर संकेत गर्दै सेवकहरू भन्न थाले, “यी त झन् भोका रै’छन् । अब त हाम्रो दस्तुरको दर परिमार्जन गर्नुप¥यो । महँगी यो विधि बढिरा’छ ।”

प्रेप्रपौले प्रतिवाद गर्दै भन्यो, “अहँ, यस्तो हुँदैन । यो कार्यालयमा प्रेप्रपौ रहुन्जेल यस्तो किमार्थ हुँदैन ।”

“हेर्दै जानुस्, हुन्छ कि हुँदैन ! भोलिदेखि हाम्रो कलमबन्द आन्दोलन शुरु,” कर्मचारी संगठनको अध्यक्ष बनेको नायब सुब्बा अर्थात् सहायक अधिकृतले भन्यो ।

प्रेप्रपौ हच्केन, बरु चुनौती दिँदै भन्यो, “मैलेमात्र हैन, जनताले पनि हेर्नेछन् ।”

यो बहस–विवादको खबर सदरमुकाममा पनि फैलियो । पक्ष–विपक्षमा चर्चा परिचर्चा भयो । स्थानीय अखबार र एफएमहरूले पनि खबर प्रसारण गरे । राजनीतिक मत पनि विभाजित भयो । आखिर राष्ट्रसेवकहरू पनि त राजनीति निरपेक्ष प्राणी थिएनन् ।

देख्दादेख्दै मान्छेहरुको भीड जम्मा हुन थाल्यो अफिसमा । कर्मचारीहरू कार्यालयमा आए । भित्तामा कलमबन्दको तुल टाँगे । अनि बरन्डामा ओछ्याइएको त्रिपालमा पलेटी कसेर बसे । तिनका वरिपरि लेखनदासहरूको जमात थियो । त्यसपछि जग्गा दलाल र लिनेदिनेहरूको जमात । पत्रकारहरू पनि आए, टीभीका संवाददाता र क्यामरापर्सनहरू पनि आएका थिए । कर्मचारीका जिल्ला संगठनका अध्यक्ष पनि आए । सीडीओसाहेबका पीए पनि आए । सीडीओ साहेबबाट वार्ताका लागि दबाब पनि आयो प्रेप्रपौलाई । अन्ततोगत्वा प्रेप्रपौ घुस्याहा कर्मचारीका पक्षधर संगठनसँग वार्तामा बस्न बाध्य भयो । तीन घण्टासम्म लगातार वार्ता भइरह्यो र बल्लतल्ल वार्ता समाप्त भयो । कुनै सहमति बन्न सकेन । प्रमुख जिल्ला अधिकारीले प्रेप्रपौलाई बिदामा बस्न बाध्य पारे । निमित्त भयो सीडीओको मान्छे । प्रेप्रपौलाई केन्द्रमा बोलाइयो र अतिरिक्तमा राखियो ।

प्रेप्रपौ अचेल अलि उदास देखिन थाल्यो । घरकाहरूसँग पनि रामरी बोल्दैनथ्यो । एक्लै धुम्धुम्ती बसिरहन्थ्यो । श्रीमती सत्याले उसको पीडामा मलम लाउँदै भनी, “किन हजुर अचेल झोक्राइरहनु हुन्छ ? अतिरिक्तमा परियो त के भो ? घूस खाएको होइन, भ्रष्टाचार गरेको होइन, नियम–कानुन मिचेर काम गर्‍या पनि होइन । जिल्लामा रहँदाको तनावबाट त मुक्त हुनुहुन्छ नि ! त्यो तनाउभन्दा त यो कति जाती–जाती ! बरु फुर्सदको यो समयलाई कुनै सिर्जनात्मक कामकुरोमा प्रयोग गरौं हामी । हजुर बढुवाको पढाइमा लाग्नुस् ।”

“तिम्रो सल्लाह नराम्रो होइन सत्या । राम्रो गरौं भन्दाभन्दै पनि कहिल्यै कतै कुनै राम्रो कामकुरो गर्न सकिएको होइन । यल्ले राम्रो गर्‍यो भनी कोही भन्दैनन् । तिमीहरूको जिन्दगी पनि सधैं कष्टकहरमै बितिरा’छ । बुबा सधैं भन्ने गर्नुहुन्थ्यो—प्रेम, आडम्बरी ठूलो मान्छे हैन, सादगीपूर्ण असल मानिस बनेस् ।”

यति भन्दै ऊ सामुन्नेको भित्तामा झुन्डिरहेको दिवंगत मातापिताको तस्बिर अगाडि उभियो । पिता भूमिनन्द पण्डित हुनुहुन्थ्यो, मनुका आदर्शहरूको अनुगामी ।

“हामीलाई कुनै कष्टकहर छैन । हजुर आफ्नो कर्तव्यबाट विचलित नहुनुस्, बस् त्यति भए पुग्छ । जस कमाएका छैनौं त के भो, अपजस पनि त कमाएका छैनौं । नाम छैन त के भो, बदनाम पनि छैनौं । सुखसुविधा छैन त के भो, कर्तव्यनिष्ठ र इमान्दार कर्मचारी भएकोले प्रेमप्रसादले दुःख पायो भनी बुझ्नेहरूले भनिरहेकै छन् । यसैमा हामी खुशी छौं । कसैले परोक्षमा हामीलाई घुस्याहा वा भ्रष्टाचारी त भनेका छैनन् नि,” सत्याले ढाडस दिई ।

यो ढाडसले प्रेप्रपौ किञ्चित पुलकित भयो । “यस्तो समझदार संगिनी पाउनु पनि गौरवकै कुरो हो । संगिनीकै लहैलहैमा तिनका असीमित इच्छाआकांछा पूरा गर्न कतिपय राष्ट्रसेवक कुमार्गमा लागेका छन्,” स्वगत भन्यो ।

सहसा उसलाई लाग्यो— शिशाजडित फ्रेममा बन्दी बन्नुभएका पिताजी उसलाई केही भनिरहनुभएको छ— “आत्मानं नावमन्येत पूर्व्भिरसमृद्धिभिः । आमृत्योः श्रियमन्विच्छेन्ननामन्येत दुर्लभाम् ।।”

अर्थात् पहिलेका असफलतामा आपूmलाई अपमानित वा निराश नपार, जीवनभर श्रीवृद्धिको कामना गरिरहू, यसलाई दुर्लभ ठान्दै नठान ।

हात जोडेर ऊ मातापिताको तस्बिरअगाडि एक छिनसम्म उभिइरह्यो । मनमनै भन्यो, “असल मार्गमा हिँडिरहन हामीलाई समर्थ बन्ने आशीर्वाद दिनुस् बाबाआमा ।”

एकदिन टिभीमा उसले समाचार सुन्यो— आर्थिक अनियमितता गरेको कसुरमा ६ जना कर्मचारी कारबाहीमा । आफ्नो पदाधिकारको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्ने पूर्वमन्त्रीउपर विशेष अदालतमा मुद्दा दायर ।

“सत्या, देशमा थिति बसाल्न खोज्ने मान्छेहरू पनि रहेछन् । अनियमित काम गर्नेहरूउपर यसरी नियमित कारबाही हुने हो भने त राम्रो थिति बसिहाल्छ नि,” प्रेप्रपौको बोलीमा कता–कता एक किसिमको खुशी झल्किरहेको थियो ।

(साभारः कथाकार इस्मालीको कथासंग्रह ‘श्रीको खोजी’बाट)

:s]r ;fef/M medibang.com

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC