काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । ११ ः ५५ को शुभ साइत पारेर विधिपूर्वक दिदी–बहिनीले टीका फूलमाला लगाइदिन थालेका हुन् । र, आज दिनभरजसो यो क्रम रहने छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउँछन् ।
“भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको हो”, उनको कथन थियो ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको शुभसाइत मध्याह्न ११ बजेर ५५ मिनेट तय गरेको छ । यद्यपि शुभसाइतमा टीका लगाइदिन नभ्याइए दिनभर टीका लगाउँदा पनि बिग्रय भने पर्ने छैन ।
भाइटीकाका समय दाजु–भाइले पश्चिम फर्केर बस्ने र दिदी–बहिनीले पूर्व फर्केर टीका लगाउँदा उत्तम हुने शास्त्रीय मान्यता छ ।
कसरी लगाउने टीका ?
दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान(सुपारी, पत्र(पुष्प पठाई निम्तो दिइन्छ ।
यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ । टीकाको दिन प्रातकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आवाहन गरिन्छ ।
विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ ।
पूजा–विधिअन्तर्गत दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको लाक्षणिक एवम् प्रतीकात्मक अर्थ हो– दिदीबहिनी–दाजुभाइको सुख–समृद्धि, आरोग्य एवं दीर्घायु ।
टीका–विधि
भाइटीका लगाउनुपूर्व सबैभन्दा पहिले दियो, कलश तथा गणेश स्थापना गरी पूजा–अर्चना गरिन्छ । त्यसपछि दाजु–भाइको मंगल–माङ्गल्यको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी काल छेकिन्छ । र, ओखरसमेत फुटाइन्छ । त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ ।
अनि क्रमशः फूल, अक्षता, अबिर, केशरी र चन्दन, पत्रपुष्प, लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिएर सगुनस्वरूप दही खुवाउने चलन छ ।त्यसपछि दिदी–बहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकाको पनि आ–आफ्नै महिमा छ । रातो रङले सुख, नीलो रङले शान्ति, गुलाफी रङले समृद्धि, वैजनी रङले स्वास्थ्य, हरियो रङले दीर्घायु र पहेँलो रङ उल्लाको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमंगको जनाउ दिने शास्त्रीय मान्यता छ ।
टीका लगाइसकेपछि फूलको माला पर्हि यई दिनुपर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको आ–आफ्नै महत्त्व पनि छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरित रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास स्वरूप ती माला प्रयोग गरिने शास्त्रमा उल्लेख छ ।
टीकाको उपक्रम अन्तर्गत अन्तिममा दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिँदै उँचो शीरको कामना गर्दछन् । दिदीबहिनीले टीका लगाउने क्रम सिद्धिएपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर गच्छेअनुसार उपहार र दक्षिणा प्रदान गर्दछन् ।
दिदी–बहिनी नभए के गर्ने ?
तिहारको टीका दाजुभाइ दिदीबहिनीबीच भ्रातृत्व र सहअस्तित्वको पर्व हो । अतः दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन् । यद्यपि भूकम्पमा रानीपोखरीको बालगोपालेश्वर मन्दिर भग्न बनेकाले विधिपूर्वक पूजा गर्ने अवस्था छैन । त्यहाँको मन्दिर छाउनीस्थित संग्रहालयमा राखिएको छ भने टीकाकैदिन ल्याइने र शुक्रबार अबेरसम्म राखिने मन्दिर संरक्षण समितिले जानकारी दिएको छ ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले भन्छन् ।
पूर्वराजाको बेग्लै साइत
पूर्व राजा ज्ञानेन्द्र शाहले बिहानै भाइटीका लगाएका छन् । देशबासीले टीका लगाउने ११ः५५को शुभसाइत कुरिरहँदा शाहले तीन घन्टा अगावै ९ः३० को मंगलसमय पारेर बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले तय गरेको साइतमा टीका ग्रहण गर्दैनन् । आफ्नै राजज्योतिष, पुरोहितले जुराएको साइतमा टीका लगाउने हुनाले देशबासीको भन्दा तीन घन्टा लगावै उनको निधारमा सप्तरङ्गी टीका परेको हो ।