Skip Advt.

देश

...अनि ब्लेडले हात चिरेर लेखेँ– जय नेपाल

डा. राजेन्द्र विमल–वरिष्ठ साहित्यकार

...अनि ब्लेडले हात चिरेर लेखेँ– जय नेपाल

नेपाली भाषा, साहित्य र संस्कृतिप्रति अथाह मोह छ उनमा । भाषाले नै सिङ्गो मुलुकका नेपालीलाई एक आपसमा गाँस्दछ । एक आपसमा सम्वन्ध बिस्तारको मूलसूत्र नै भाषा भएको उनको तर्क छ । त्यसैले त उनले प्रारम्भमा हिन्दी भाषामा एमए गरेर केही समय त्रिविविमा पढाए पनि पछि गएर उनले नेपाली भाषामा एमए गरे । अनि नेपाली भाषा साहित्य पढाउन थाले, नेपालीका विद्यार्थीलाई । 

नेपाली भाषाको कक्षा लिन थालेपछि उनलाई अगाध तृप्ती मिल्यो । आत्मसन्तुष्टिको भेल उर्लियो । यसो हुनुको कारण उनको हृदयले भन्दै थियो, ‘यो मेरो भाषा हो । हाम्रो भाषा हो । सारा नेपालीको साझा भाषा हो’ । 

नेपाली भाषा, साहित्य, संस्कृतिमा निथु्रक्क भिजेका डा. राजेन्द्र विमल (७२) सँग दुईसाताअघि जनकपुरधामको देवीचोकस्थित उनको निवासमा कुराकानी गर्दैगर्दा उनी भन्दैथिए, “नेपाली भाषालाई समृद्ध बनाउनु पर्छ, भाषालाई उचाईमा पु¥याउनु पर्छ भन्ने भावना ममा बाल्यकालदेखिनै अत्यत्नै प्रवलरुपमा गडेर रहेको थियो । म एउटा घटना सुनाउँछु । तपाईलाई रोचक लाग्न सक्छ....”

डा. विमलका अनुसार उनी सानै थिए । यस्तै दस एघार वर्षका । त्यसबेला भारतीय स्वतन्त्रता सेनानीका नामहरु खुबै चल्थ्यो तराई तिर । भारत स्वतन्त्र भएको केही समय मात्रै भएको थियो । त्यसैले पनि भारतीय स्वतन्त्रता सेनानीहरुको नाम नेपालसम्म चर्चामा थियो । 
एक दिन राजेन्द्र विमल एउटा साथीको घरमा गएका थिए । त्यहीँ अर्को एकजना साथी पनि आइपुगे । उनको मावल भारतमा भएकोले ति साथी भारतीय स्वतन्त्रता संग्राम र स्वतन्त्रता सेनानीहरुबाट अत्यधिक प्रभावित थिए । सोही साथीले डा. विमललाई सुनाएछन्, “हाम्रो देशमा त यस्तो यस्तो भयो । भगत सिंहले यस्तो गरे । फलानाले यस्तो र ढिस्कानाले यस्तो गरेका छन् ।”

त्यो साथीले आफ्नो मावललाई आफ्नै देश भनेर भगत सिंहको नाम लिएको देख्दा डा. विमल छक्क परे । उनको साथीले आफ्नो हातमा चिरेर ‘जय हिन्द’ लेखेको पनि देखाए ।

आफ्नो मुलुकको माटोमै लुटपुटिएका डा. विमललाई यसले उद्वेलित तुल्यायो । उनी भन्छन्, “मेरो साथीको त्यो रंगरुप देखेर मलाई औधि चित्त दुख्यो । मलाई पनि झोँक चल्यो । मैले त्यहीँ रहेको एउटा दारी काट्ने ब्लेड उठाएर आफ्नो देब्रे हातमा काटेर ‘जय नेपाल’ लेखेँ । अनि त्यो साथीलाई भनेँ, हेर म पनि भगत सिंह हुँ, नेपालको ।”

यो भनिरहँदा उनी भावुक भए । आफ्नो माटो र मुलुकप्रतिको असीम प्रेम उनको आँखाबाट मात्रै होइन्, उनले बोलेको शब्दशब्दबाट छल्किरहेको थियो ।

साथीसँग चित्त दुखेर हातमा जय नेपाल लेखेका उनी घरमा आए । हातबाट रगत बगिरहेको थियो । घरमा कुटाई पनि खाए । केही दिन जरो पनि आयो घाउको तोडले । तर उनी सन्तुष्ट थिए, आफूले गरेको कामप्रति । राष्ट्रप्रेमका अगाडि घाउको पीडा गौण भइदिएको थियो । केही दिनपछि उनी घाउको उपचार गरेर ठीक भए । तर त्यो भावना र घटनाले उनलाई आज पनि ऊर्जा दिन्छ । यो घटना उनको मनमा गढेर बसेको छ । यसैले नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानका लागि उनलाई निरन्तर लागिरहन प्रेरित पनि गरेको छ । आजपनि उनी नेपाली भाषामै रमाईरहेका छन् ।

०००

डा. राजेन्द्र विमल जनकपुरको रैथाने बासिन्दा हुन् । कैयन पुस्तादेखि उनको परिवार जनकपुरमै बस्दै आएको हो । ७२ वर्ष अघि उनी यहीँ जन्मिए । आजको उप–महानगरपालिका भएको जनकपुर पहिले गाउँ थियो । जानकी मन्दिर, राम मन्दिरलगायत आठ दस वटा घर पक्की थिए । बाँकी फुसको छानो र माटोले बनेका घरहरु थिए । जनकपुरमा डिट्ठा गौरीनारायण गिरी, मन्दीप गिरी (डा. तुलसी गिरीका पिताजी) हरुको समय थियो त्यो । तिनैको जगजगी थियो जनकपुरमा ।
त्योबेला राजेन्द्र विमलको पढाई लेखाई त्यति व्यवस्थित हुन सकिरहेको थिएन् । आर्थिक अवस्था सवल तुल्याउन उनका पिताजी संघर्षरत थिए । 

यति भनिरहँदा उनको मुहारमा मुस्कान छायो । उनी त्यसबेलाका घटना स्मरण गर्दै भन्छन्, “मेरो भाग्य बलियो, म २००३ साल चैत्रमा म जन्मिएँ । २००४ सालमा जनकपुरमा सरस्वती हाइस्कूलको स्थापना भयो । जसरी प्रकृतिले एउटा बच्चाकालागि आमाको दुधको व्यवस्था गरिदिएको हुन्छ, त्यही परिस्थिति मेरोमा पनि लागु भयो । मैले पढ्ने समयमा स्कुल स्थापित भइसकेको थियो । म ९ कक्षामा पढ्दै गर्दा नै जनकपुरमा रामस्वरुप रामसागर कलेजको स्थापना भइसकेको थियो । मैले एसएलसी २०१८ सालमा गरेँ ।”

कलेजको स्थापना भएपनि कलेज अहिलेको ठाउँमा थिएन् । त्यतिबेला सरस्वती हाइस्कूलकै क्लासहरुमा कलेजको पढाई हुन्थ्यो । दिउँसो स्कूल र राति कलेजको कक्षा चल्थ्यो । भारतबाट प्रोफेसरहरु पढाउन आएका थिए ।

त्यसपछि मात्रै कुवा रामपुरमा रारा कलेज स्थानान्तर गरियो । त्यो पनि जस्ता पाताको घर टहरा बनाएर । कुरा सुनाउँदा सुनाउँदै उनी हाँसे । अनि भने, “कहिले काँही त पढ्दापढ्दै हुरी आएर टहराको छानो उडाउँथ्यो ।”
त्यो बेला उनी नाङ्गै खुट्टा कलेज जाने गरेको सम्झिन्छन् । हाफ पाइन्ट लगाएर कलेज जान्थे उनी । एकपटक उनलाई पनि केही सहपाठी साथीहरु जस्तै फूल पाइन्ट लगाएर कलेज जान मन लाग्यो । उनले आफ्ना पिताजीलाई भनेर फूल पाइन्ट सिलाए । 

उनी सम्झन्छन् त्यो क्षण, “तथाकथित पाइन्ट थियो त्यो । पाइन्ट लगाएर म कलेजमा पुगेपछि सबैले थपडी ठटाउन थाले । जिस्केर कट्टु लगाएर आयो कट्टु लगाएर आयोसम्म भने । किनभने फुल पाइन्टमा पनि माथी पाईजामामा जस्तै डोरी हालिएको थियो । बटन र जीपर थिएन । पाइन्ट के हो, कट्टु के हो ? मलाई केही पनि थाहा थिएन ।”

यद्यपि पहिरनले उनको पढाईमा बाधा पु¥याएन । उनको ध्यान पढाईमा बढी थियो । त्यसबेला जनकपुरमा कमै मात्रै विद्यार्थी थिए, बीए पास गर्ने । त्यसै मध्येमा पर्दथे राजेन्द्र विमल ।

त्यसपछि उनी थप पढ्ने मनस्थिति बनाउन थाले । तर जानकी मन्दिरमा बसेर लेखापढी गर्दै आएका उनका पिताजीले आफूले धान्न नसक्नेभन्दै हात उठाए । त्यसैबेला कसैले उनलाई सुझाए, ‘तिमी हिन्दी विषय लिएर पढ । हिन्दी विषयको अध्ययनका लागि भारतीय दूतावासले स्कलरसीप दिन्छ’ ।

यही सोचेर उनी सन् १९६७ मा काठमाडौं आए । केही समय काठमाडौं बसे । तर स्कलरसीप पाएनन् । खानैलाई धौधौ पर्ने अवस्था आयो । त्यसैले उनले ट्युसन पढाउन सुरु गरे । यति गर्दापनि नसकिएपछि उनी एक वर्ष राजधानीमा बिताएर जनकपुर फर्किए ।
केही समय उप्रान्त फेरि काठमाडौंको बाटो समाए । हिन्दी विषय लिएर एमए पढ्न थाले । केही वर्षमा उनले एमए पनि गरे ।  

०००

वि.सं. २०२९ सालदेखि पद्मकन्या कलेजमा पढाउन सुरु गरेका डा. राजेन्द्र विमलले करिब चार दशक मुलुकका विभिन्न कलेजहरुमा पढाए । त्यस अगाडि उनले केही समय धनुषा जिल्लाको खजुरी स्कूलमा हेडमास्टर भई पढाएका थिए ।  पढाइका साथै जागिरको जोहोका लागि राजधानी भित्रिएका उनले पहिलो जागिर उद्योग बाणिज्य संघमा पाए । संघले व्यापार पत्रिकाको प्रकाशन गर्दथ्यो । उनी व्यापारको सम्पादक भए । त्यहाँ उनले एक वर्ष बिताए ।

सरदार रुद्रराज पाण्डे त्रिविविका उपकुलपति थिए । सरदार पाण्डेसँग उनको सम्वन्ध घनिष्ट थियो । उनले औधि माया गर्थे राजेन्द्र विमललाई । तिनताक उनलाई त्रिविविबाट प्रकाशित हुने बुलेटिनको सम्पादकको जिम्मेवारी दिइएको थियो । पछि त्यसलाई नामाकरण गरियोे, प्रेस एण्ड पब्लिसिटी ब्युरो । सरदार पाण्डेले नै विमललाई ब्युरोमा नियुक्त गरेका थिए । 

उनी भन्छन्, “त्रिविवि प्रेस एण्ड पब्लिसिटि व्युरोमा कमलप्रकाश मल्ल, डा. मजपुरिया, हर्षनारायण धौवडेलहरु समितिका सल्लाहकार हुुनुहुन्थ्यो । त्यसको केही समय पछि म पद्मकन्या कलेजमा हिन्दी विषयको लेक्चरर नियुक्त गरिएँ ।”
यहाँबाट प्राध्यापन पेशाको प्रारम्भ भइसकेको थियो । पद्मकन्या कलेजमा हिन्दी विषयको पनि पढाई हुन्थ्यो । डा. राजेन्द्र विमलको विचारमा त्यसबेला पद्मकन्यामा हिन्दी भाषाको क्लास हुनुमा भारतीय दुतावासको सहयोग अधिक रहेको आँकलन छ । अझै सहयोगभन्दा पनि दबाब बढी भएको उनको तर्क छ । 

केही वर्षपछि राजेन्द्र विमल विराटनगरको क्याम्पसमा सरुवा भए । तर विराटनगरमा हिन्दी भाषा पढ्ने विद्यार्थी खासै भेटेनन् उनले । हिन्दी भाषा पढ्ने विद्यार्थी खोज्नु पर्ने अवस्था थियो । 

उनले सम्झिए विराटनगरको त्यो प्रसंग । भने, “त्यतिबेलासम्म अलिअलि पैसा जम्मा गरिसकेको थिएँ । मलाई मेरो मनले भन्यो विदेशी भाषा वा हिन्दी भाषा पढाएर के गर्ने ? आखिर यो त भारतकै भाषा हो । मेरो मनले नेपाली भाषा पढ्न अह्रायो ।” 
उनलाई हिन्दी भाषा पढाउन मन लागेन । त्यसैले उनले फर्म भर्ने अन्तिम मितिमा नेपाली विषयकालागि एमएको फर्म भरे । यसरी उनले नेपाली भाषामा एमए गरे । एमए पास गरेर उनी नेपाली भाषा साहित्य पढाउन थाले ।

पछि उनी आफ्नै गाउँठाउँ, आफ्नै जन्मथलो फर्किए । जुन कलेजमा उनले पढेका थिए, त्यही कलेजमा उनी पढाउन आईपुगेका थिए । ०३४ सालमा जनकपुरको रामस्वरुप रामसागर क्याम्पसमा सरुवा भइआएका उनले यहीँ लामो समय अध्यापनमा खर्चिए । र, त्यहीँबाट सह प्राध्यापक पदबाट अवकाश लिए । 

डा. राजेन्द्र भन्छन्, “जब मैले नेपाली भाषा साहित्य पढाउन थालेँ, मलाई लाग्यो वास्तवमा म मेरो भाषा र साहित्य पढाउँदै छु । त्यसबेला मलाई आत्मगौरवको अनुभूति भयो । मानसिकरुपमा म तृप्त भएँ ।”

नेपाल र नेपाली भाषालाई उनी साझा भाषा मान्छन् । यस भाषाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीहरुलाई एक सुत्रका गाँसेर राखेको उनको भनाई छ । यद्यपि आजसम्म नेपाली भाषालाई साझा भाषा बनाउन नसकेकोमा उनी दुःखि छन् । उनको विचारमा सुदूर पश्चिमको हुम्ला, जुम्ला र दुल्लुको लोक भाषा र साहित्य होस् वा पूर्वको भाषा साहित्य र लोक संस्कृति, अथवा तराई भेगको भाषा साहित्य र सांस्कृतिक विषय वस्तु, ति सबैलाई नेपाली भाषा साहित्य भित्र ल्याउन सक्नु पर्छ, राज्यले, सरोकारवाला संस्था र निकायले ।
उनका अनुसार तराईका विभिन्न भाषाका साहित्यलाई कुनै पनि माध्यमबाट नेपालीमा ल्याउन सक्नु पर्छ । यसरी भाषाका माध्यमबाट हामी हामीबीच एउटा गतिलो र आत्मिय सम्वन्ध गासिन्छ । 

मैथिली भाषाका रचनालाई नेवारी भाषामा, नेवारी भाषाका रचनालाई मैथिली र भोजपुरीमा, तिनै रचनाहरुलाई तामाङ र अन्य भाषामा अनुवाद गर्न सक्नुपर्छ, सरोकारवाला संस्थाले । यसैले अपनत्व बढाउँछ । नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्छ । संरक्षण गर्छ । सम्वद्र्धन गर्छ । साथै, सबै नेपालीलाई एक आपसमा जोड्छ पनि । 

उनी भन्छन्, “कहिले काँही मेरो मन कुँढिन्छ । एउटै देशमा एक्काइस वटा नोवेल पुरस्कार पाउने मान्छे पनि छन् । तर हामीले एसिया स्तरमा पनि आफ्नो भाषा साहित्यलाई पु¥याउन सकेका छैनौं । हाम्रो विडम्बना !”

०००

बाल्यावस्थादेखि नै साहित्य लेखनमा रुची राख्ने डा. राजेन्द्र विमलले पठाएको एउटा रचना सन् १९५९मा पटनाबाट प्रकाशित हुने आर्यावर्त दैनिकमा प्रकाशित भयो । उनको यो पहिलो प्रकाशित रचना थियो । त्यस पछि उनले सन् ७२–७३ तिर ‘कचनारका पेड’ शीर्षकको कथा आर्यावर्त पत्रिकामै छापिएको थियो ।

यसरी १४–१५ वर्षको उमेरदेखि लेख्न थालेका राजेन्द्र विमलको साहित्य र गैर साहित्य गरि करिब दुई दर्जन पुस्तक प्रकाशित भइसकेको छ । उनले उहिल्यै दुईवटा उपन्यासिका लेखेका थिए, ‘रोएको जुन’ र ‘खहरे’ । यी दुबै पुस्तक प्रकाशित थिए । तर आज उनीसँग पनि छैन । 

उनले जनकपुरमा रहँदा पनि धेरै लेखे । वैदेही, पञ्चवाणि, जनक पत्रिकाहरुमा उनका रचना प्रशस्त छापिन्थे । २०४० साल पछि उनका रचना मधुपर्क मासिकमा प्रकाशित हुन थाल्यो । जसले उनलाई चर्चाको शिखरमा उकाल्यो ।
उनी भन्छन्, “निश्चय पनि मलाई नेपाली साहित्यमा स्थापित गर्ने पत्रिका मधुपर्क नै हो ।”

मधुपर्कमा प्रकाशित ‘पोष्टमार्टम’ शीर्षकको कथाले नाममा पाँच सयवटाभन्दा बढी चिठीको ओइरो लाग्यो । यो उनको कल्पनाभन्दा बाहिरको कुरा थियो । तर चिठीको ओइरो लागेको लागेकै थियो । फलतः उनको लेखनप्रतिको निरन्तरताले पनि गति समाएको समाएकै गर्यो । 

‘इतर ब्रह्माण्ड’ नाटक र दुई वटा कथा संग्रह पनि प्रकाशित गरिसकेका डा. विमल आफूले अरु पनि थप पुस्तक प्रकाशन गर्ने तयारी गरिरहेकोे उल्लेख गर्दै थिए ।   एउटी आमाले प्रशवपीडा अनुभव गरे जसरी सिर्जना गरिएको साहित्यलाई मात्र मान्न सकिने उनको तर्क छ । बाँकी साहित्य त निर्माण र उत्पादनको कोटीमा पर्ने उनको भनाई छ ।  

उनी भन्छन्, “यताबाट सिमेन्ट ल्यायो, बालुवा मिसायो र इँटा जोड्दै केही निर्माण गर्यो । यस्तो निर्माणलाई साहित्य भन्न सकिँदैन । अर्को, बजारले के खोजेको छ ? त्यो लेखेर दिनु मात्रै पनि साहित्य होइन् । त्यो त बजार अनुसारको उत्पादन मात्रै हो । सिर्जना त्यो हो, जुन निःश्वार्थ हुन्छ । एउटा साहित्यकारले वेदनामा रन्थनिए पछि मात्रै वास्तविक कृतिको सिर्जना गर्न सक्छ ।”

आफ्नो साहित्यलाई समकालीन लेखन मान्ने डा. राजेन्द्र विमल  भावना, विचार र व्यवहारले मात्रै कुनै पनि साहित्यकार ठूलो हुने बताउँछन् । यस पंक्तिकारसँग कुराकानी गर्ने क्रममै डा. विमलको घरमा आइपुगे, नेपालगंजका गजलकार खगेन्द्र गिरी कोपिला । 

करिब चार दशक लामो शिक्षण पेशाको यात्रामा उनले हजारौं विद्यार्थीलाई शिक्षित र दीक्षित तुल्याए । आफूसँग भएको ज्ञान र सीप बाँडे । उनलाई उनका कैयन विद्यार्थीहरुले आज पनि सम्मान गर्दै आएका छन् । श्रद्धा गर्दै आएका छन् ।  उनी भन्छन्, “मेरा कतिपय विद्यार्थीहरु पनि शिक्षण पेशामा छन् । म उनीहरुलाई आशिक दिन्छु, तिम्रो जुन किसिमको श्रद्धा मप्रति छ, त्यही श्रद्धा तिम्रा विद्यार्थीहरुको तिमीप्रति पनि होस् ।”

यस पछि उनी आफ्नो चिरपरिचित हाँसो हाँसे । उनको कथन र हाँसोमा अहिलेका विद्यार्थीहरुको शिक्षकप्रतिको दृष्टिकोण झल्किरहेको थियो । 
 

तपाईंको मत