Skip Advt.

विचार

सरकार ! आरोपले अक्षमता छोपिदैन 

कुलचन्द्र वाग्ले

सरकार ! आरोपले अक्षमता छोपिदैन 

राजनीतिमा सबैभन्दा बढी आरोप, प्रत्यारोप हुने र लगाउने गरिन्छ । यस्तो ज्यादा अर्को विधा हुँदैन । अहिले पनि सरकारी राजनीति काम गरेर हैन आरोप लगाएर छवि तल्लीन देखिएको छ । प्रतिदिन विकृत बन्दै गएको नेपाली राजनीतिमा दुई तिहाइ बहुमत सहितको कम्युनिस्ट सरकार बनेपछि त झन् मुलुकले थेग्नै नसक्ने गरी विकृत हुँदैछ । विकृति अर्थात् बेथिति बढाइँदै छ । तर, सत्तारुढ कम्युनिस्टहरू भने अरूमाथि आरोप थोपरेर पानीमाथि ओभानो हुन खोज्दैछन् । 

राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रमा सरकार चारैतिर असफल देखिँदैछ । सरकारको असफलताले विकृति त जन्माउने र बढाउने नै भयो  । सम्भवतः यो सरकारले अब स्थितिमा सुधार ल्याउन पनि सक्तैन । कम्युनिस्टहरू मुलुकको समस्या समाधान गर्ने क्षमता राख्दैनन्, समस्या उत्पन्न गर्न र थप्न सक्छन् भन्ने धारणा पुष्टि हुँदैछ । विगत पनि त त्यस्तै छ । पूर्व एमालेजन त्यही नौ महिने सरकारको बखान गर्छन् । इतिहासमा अरू केही पनि छैन उनीहरूसँग बखानका लागि । उही ‘आफ्नो गाउँ आफँै बनाऊँ’ भन्ने नारा र वृद्ध भत्ता बस् ! तत्कालको समस्या समाधान चाहने नागरिकलाई आकाशको फल देखाएर दुत्कार्ने यिनको कपटी शैली क्रमशः प्रकट हुँदैछ । 

प्रतिपक्षलाई, कर्मचारी संयन्त्रलाई, नागरिक संस्थालाई वा नाम नलिई विदेशी मुलुकलाई र अमूर्त कुनै भूत खडा गरेर त्यसलाईसमेत आरोप लगाउने काम सरकार सञ्चालकहरूको नित्यकर्म भएको छ । अरूलाई प्रतिक्रियावादी, षड्यन्त्रकारी र असहयोगी आरोप लगाएर आफूलाई लोकतान्त्रिक भएको दाबा गर्ने कथित कम्युनिस्टहरू आफूलाई दूधले धोएको साबित गर्न खोज्दैछन् । आरोपमा आफ्नो असफलता लुकाउन प्रयासरत छन् । हुनत, सत्ताधारी सबै कम्युनिस्टको हाल यही हो तर पुष्पकमल दाहाल चाहिँ ‘आरोप महाकाव्य’का उम्दा वाचक देखिँदैछन् ।  

आरोप लगाउन आधार त हुनुपर्थ्यो । तर, पुष्पकमल दाहाललाई त्यस्तो कुनै आधार चाहिँदैन । मूर्त प्रतिक्रियावादी देखाउन पनि सक्तैनन् । मनगढन्त सूत्रहरू छँदैछन् ।

उनले गुरु मोहन वैद्यलाई मानेनन्, डा.बाबुराम भट्टराईलाई धानेनन्, विप्लव त विप्लव भइगए । साना ठूला सयौंयस्ता जंगलका साथीलाई दाहालले सँगै राख्न सकेनन् । तिनलाई जंगलमा वा भारतमा बन्दुकले सँगै राखेको रहेछ । क्षमताले होइन । तिनै दाहाल कम्युनिस्ट एकताको कथा हाल्दैछन् । असंख्य नामधारी कम्युनिस्ट दल देखापरे, छन् । अहिलेको नेकपा उहिले एमाले झन् अघि के थियो ? माले, कोअर्डिनेसन कमिटी आदि, इत्यादि । झन्डै आधा दर्जनपटक नाम फेरेर एमाले भएको अहिलेको नेकपा । नामै नपाएर अर्काको नाम सत्ता बलमा खोसिएको आरोप छ । अरूले होइन, कम्युनिस्ट ऋषि कट्टेलले नै यस्तो आरोप लगाएका हुन्, नयाँ न्वारन गरिएको नेकपामाथि ।  उहिलेको के के र माओवादी हँुदै, पछिल्लो केन्द्र बनेको दाहालको दल एमालेमा बिलाएको छ । एमाले र माओवादी केन्द्रको विलय तर एकता भनिएको त्यो कथा कति लामो जाने हो ? ‘सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला’ यस्तै लोभ देखाइँदै छ । 

केही दिनअघि पुष्पकमल दाहालले रुपन्देहीको एउटा कार्यक्रममा सबैलाई प्रतिक्रियावादी आरोपित गरे । आफ्नो कामले आफूलाई नै चुनौती थपिदिएको लागे पनि उनी  अरू कोही, कसैलाई, जो पहिचानमा शून्य हुन्छलाई सजिलै यो शब्दवाण प्रयोग गर्छन् । आफ्नो कमजोरीबाट जनताको ध्यान अन्तै मोड्ने कोसिस गर्छन् । लाग्छ, यो शब्द उनैको खपतका खातिर बनेको थियो । 

रुपन्देहीमा अध्यक्ष केपी ओली र आफूलाई मात्र उनले प्रतिक्रियावादी घोषणा गर्न बाँकी राखे होलान् । उनले कसैलाई तोकेनन् । सबैलाई त्यही आरोप ‘विशेषण’ दिए । संस्कार र सचिवालयबाट यो विशेषण दिने जिम्माको प्राधिकार उनी तोकिएका हुन् कि ! 

‘चौध वर्ष जेल, चौध वर्ष वनबास’ । त्यही कार्यक्रममा उनले परिचय नखुलाइएका प्रतिक्रियावादीलाई धम्काउन भने । अध्यक्ष केपीको १४ वर्षे जेल जबाइ त बुझियो कम्युनिस्ट अधिनायकवादी सत्ता ल्याउन भएको ।  वनवास चौध वर्ष कसको हो ? कुन्नि, तर अठार हजार नेपाली मारिएको हिंसाचारलाई वनबास भनिएको हो भने ती दस वर्ष थिए र आठ वर्ष भारतको आतिथ्यतामा बितेका थिए । उनले भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई निवेदनपत्र हालेको रहस्य डा.भट्टराईका गुरु एसडी मुनीले खोलिदिए । आठ वर्षका निकट सहयोगी भारतीय पत्रकार आनन्द बर्मासँग समेत कथित चौध वर्षको रौनक सोधे हुन्छ ।

के नेपाली जनता ज्यादै गँबार र स्मृतिहीन छन् । बाह्र वर्षअघिको सत्यलाई लुकाएर रामभन्दा पनि दुई वर्ष बढी वनबासी भएको हिसाब निकाले । दसैंतिर झन्डै रामभन्दा उच्चकोटीको काम गरेको घोषणा गर्नमात्र बाँकी राखे दाहलले । हाड नभएको जिब्रो विवेकले कमान्ड नगरे जता पनि बटारिन्छ । 

दाहाल यतिबेला ‘बढी खरानी धस्ने जोगी’ जस्ता भएका छन् । यो उनको बाध्यता पनि हो । अध्यक्ष ओलीको तारिफ गर्ने र भिन्न विचारकालाई मौकाअनुसार दुत्कार्ने । पुराना साथीलाई जोड्न नसकेका दाहालले आफू जोडिन गएको एमालेका कार्यकर्तालाई यसरी रिझाउनु जो छ ।  चर्को कुरा गर्ने, काम न साम सरकारको काल्पनिक तारिफ र रक्षाकवच बन्ने । दाहालले यसरी नै भविष्यमा एमालेको अध्यक्ष र प्रधानन्त्रीको सपना सजाएका छन् । त्यो सम्भव पनि छ । त्यहाँ अरूको हैसियत त बिचरा मात्र हो । जे छन् कि ओली कि दाहाल ? 
कुना बसेर गनगन गर्ने झलनाथ खनालले कांग्रेसलाई चियापानमा भेटे अरे । त्यसै भने उनले । कहाँ भेटिन्छ कांग्रेस वा भेटिँदैन यो बहसको कुरा भएन । तर, केपी ओली सरकारको विरोध नगरेका कारण उनले कांग्रेसलाई चियापानमा भेटेको व्यंग्य गरे । त्यसो नहुँदो हो त, आफ्नै विवादमा रन्थनिएको कांग्रेसलाई उनले पनि भेटेकै थिए होलान् । आफू बोल्न नसक्ने, तर कांग्रेसले बोलिदिए पेटको कीरा पनि मर्ने, आफ्नो भूमिका पनि देख्ने वा बढ्ने झलनाथको दाउ । बिचरा । 
केही थान मन्त्री र पार्टी समायोजनमा एक्का, दुक्काको मागमा झगडा थापेका माधव नेपाल बिचरा, के गरुन् ? बिचराहरुको जमघटमा केपी ओलीलाई रिझाएपछि एमालेको सत्ता आफ्नो हातमा आउने बुझेका छन् पुष्पकमलले । यसैकारण उनी बढी खरानी धस्दै छन् । अरूलाई चर्को आरोप लगाएर । सरकारका विकृतिको काँध थापेर । 

झलनाथ खनालकै भनाइअनुसार नभेटिने वा कांग्रेसलाई के प्रतिक्रियावादी भन्नु ? केन्द्र, प्रदेश र स्थानीय तहमा कुनै प्रभावकारी काम गर्न र समन्वय संयन्त्रसमेत बनाउन नसकेको दोष कर्मचारीलाई दिएर कति पन्छिनु ? सरकार कति जोगिनु ? कर्मचारीयन्त्र चलाउन नजान्ने तर असहयोगी भन्ने ? नागरिक संस्थालाई साम, दाम, दण्ड, भेदी उपायबाट थच्मर्याउन खोज्ने अनि प्रतिक्रियावादी भन्ने ? अमूर्त भूत कता, को हुन् ? प्रतिक्रियावादी । 

अरू काम गर्न सकेनन् । फलतः कम्युनिस्टहरूले अमूर्त पात्र खडा गर्दै  प्रतिक्रियावादी आरोप लगाउँदै तर्साउने काम थालेका छन् । मौका आए भिन्न विचारलाई ठेगान लाग्ने गरी ठोक्ने । कम्युनिस्ट दाहाल यही बाटोमा छन् । समस्या समाधान र वाचाअनुसार काम गर भन्ने नेपाली नागरिकलाई प्रतिक्रियावादी आरोप लगाइएको हो भने यी कम्युनिस्टसँग सरकार चलाउने नैतिक धरातल बाँकी रहँदैन । दाहाल नयाँ नयाँ कुरा गर्छन्, नयाँ नयाँ आरोप खडा गर्छन् । 

नेकपा अध्यक्ष दाहाल हिजो, आज कर्मचारीलाई निकै असहयोगी बताउँदैछन् । कर्मचारीकै असहयोगका कारण सरकारले काम गर्न नसकेको आरोप लगाउँदै छन् । एकातिर सरकारले काम गरेको भन्छन्, अर्कोतर्फ कर्मचारीको असहयोगका कारण काम गर्न नसकेको पनि स्वीकार गर्छन्, यसरी सरकारको लज्जाको बचाउ पनि  गर्न खोज्छन् । भएन त राजनीतिक हास्य रचना । 

दाहालले कर्मचारीलाई धम्क्याउन थालेका छन् । राजनीति परिवर्तनसँगै कर्मचारीतन्त्र पनि परिवर्तन हुने बताउँदै केही दिनमा कर्मचारीको नियति त्यही हुने धम्की पोखरा पुगेर उनले दिएका छन् । दाहालको आशय कर्मचारी पनि कम्युनिस्ट हुनुपर्छ भन्ने हो कि ?

नेपालको कर्मचारीतन्त्रमा व्यापक कमजोरी छ । यो कुरा कतिपय कार्यरत र पूर्व वरिष्ठ कर्मचारीले समेत स्वीकारेका छन् । तर, सुधारका लागि राजनीति र राजनीतिक सरकार नै पहिलो प्रस्थान हुनुपर्छ । दाहालको आरोप त मुहानमा पानी धमिलिएको दोष ब्वाँसोले पुछारको पाठोलाई दिएजस्तै भयो । अरूलाई आरोप लगाएर कतिदिन लाज बचाउने, अक्षमता ढाक्ने सत्तारुढ नेकपाका नेताले ? 
 

तपाईंको मत