Skip Advt.

देश

#Metoo मुभमेन्ट : नेपालमा किन लुकाइए यौन दुर्व्यवहार ?

निर्मला ढकाल

#Metoo मुभमेन्ट : नेपालमा किन लुकाइए यौन दुर्व्यवहार ?

अहिले यौन दुर्व्यवहारमा परेका महिलाहरुको आवाज मुखरित गर्ने उद्देश्यले विश्वव्यापी रुपमा ‘मि टू’ अभियान चलिरहेको छ । मैले व्यक्तिगत रुपमा यो अभियानलाई सकारात्मक रुपमा लिएको छु । यो एक खालको विद्रोह हो । यो सामाजिक सञ्जालमा ‘तिमी मात्रै पीडित होइनौ, म पनि छु’  भनेर पीडितलाई निराश हुन नदिने प्रयास हो । 
यौन दुर्व्यवहार र ज्यादतीको बारेमा यसमार्फत ध्यानाकर्षण गराउने काम भइरहेको छ । कार्यक्षेत्रमा  अधिकांश यस्ता दुर्व्यवहारका घटना भएका पाइएका छन् । यो अभियान अमेरिकी नागरिक तारना बुर्केले सन् २००६ मा सुरु गरेकी भएपनि सन् २०१७ बाट यो विश्वव्यापी चर्चाको विषय  हुन पुगेको छ । यो अभियान समाज परिवर्तनका लागि पनि आवश्यक थियो । यसले अब पुरुषहरुलाई सचेत हुनुपर्ने अवस्था बनाएको छ भने महिला पनि यस्ता घटना पनि हुन सक्दा रहेछन् भनेर सचेत हुनेछन् । 

नेपालमा किन थोरै?

विश्वमा झण्डै दुई सय मानिसको यही अभियानका कारण जागिर नै गइसकेको तथ्यांक सार्वजनिक भएको छ । तर, नेपालमा भने कम मात्रै सार्वजनिक भएका छन् । नेपालको सामाजिक अवस्थाका कारणले पनि महिलाहरु आफ्ना कुराहरु बाहिर ल्याउन सकिरहेका छैनन् । तर, नेपालमा यस्ता घटना थोरै होलान् भन्ने मलाई लाग्दैन । तर, सार्वजनिक हुन सकेनन् । किनकि नेपाली महिला यस्ता कुरामा मुख खोल्न सक्दैनन्  । कसरी कहाँ सुनाउने भन्ने थाहा पनि हुन्न । मध्यमवर्गका कामकाजी महिलाहरुले यसबारेमा केही कुरा बुझेका छन् ।

तर, घरमा बस्ने महिला र गाउँका महिलालाई यस्तो विश्वव्यापी अभियानको बारेमा जानकारी हुँदैन । उनीहरु यस्ता दुर्व्यवहार भइहालेपनि कता भन्ने थाहा नपाएर त्यसै गुम्सेर बसेका छन् । फेरि, यस्ता कुरा उठाउन परिवारमा पुरुषहरुले पनि समर्थन गर्नुपर्ने हुन्छ । यस्ता कुरा उठाउँदै हिंड्यो भने आफ्नै बदनाम हुन्छ भन्ने खालको मान्यता पनि पाइन्छ । श्रीमानले समर्थन नगरी यस्ता कुरा बाहिर ल्याउन महिलालाई गाह्रो हुन्छ । श्रीमानले नै अन्यथा सोचिदिए भने झन् अप्ठेरो हुन्छ ।  नेपालमा कामकाजी महिलाहरु मध्ये करिब  ८० प्रतिशत कुनै न कुनै हिसाबले यौनजन्य दुर्व्यवहारको शिकार हुने गरेका छन् । तर, उनीहरु बोलिरहेका हुन्नन् । सामाजिक रुपमा बदनाम हुनुपर्ने वा जागिर जोगाउनुपर्ने वाध्यताले गर्दा उनीहरु गुपचुप बसिरहेका छन् । अनि ठोस प्रमाण जुटाउनपनि अप्ठेरो पर्ने हुनाले चुप लागेर बस्नुपर्ने वाध्यतामा उनीहरु छन् । त्यसैले नेपालमा दुर्व्यवहार कम भएका होइनन्, सार्वजनिक नभएका मात्र हुन् । 

पुराना कुरालाई लिएर आरोप लगाउनु कति ठीक ?

यो अभियानमा जति पुराना कुरामा पनि आरोप लाग्न सक्ने अवस्था देखिएकोले हदम्यादको कुरा पनि कतिपयले उठाएको पाइन्छ । तर, लामो समय अघिकै घटना भएपनि अहिले सार्वजनिक गर्दा त्यसले समाजलाई सकारात्मक दिशामा नै लिएर जान्छ  । किनकी हिजो त्यस खालकोे दुर्व्यवहारमा संलग्न मान्छे फेरि पनि त्यस्ता गतिविधिमा कुनै न कुनै हिसाबले सलग्न भइरहेको हुन सक्छ । हिजो केही भएन भनेर उसले त्यस्ता कदम दोहो¥याउन सक्छ । त्यसैले त्यस्ता गतिविधि जति पुराना भएपनि सार्वजनिक गर्दा नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ । यसो गर्दा नै पछि गएरपनि यस्तो हुन सक्दो रहेछ है भनेर मानिस यस्ता कमजोरी देखाउनबाट जोगिन सक्छ । यस्ता खालका गतिविधिमा संलग्नता हुनु भनेको पनि एक खालको रोग हो । त्यसैले यस्ता घटना सार्वजनिक हुँदा नै त्यो रोगको उपचार हुन सक्छ ।

यसको दुरुपयोग त हुँदैन भन्ने प्रश्न पनि बेलाबेलामा उठेको पाइन्छ । तर, मलाई त्यस्तो लाग्दैन । किनकि नेपालमा नभएको कुरालाई लिएर हिंड्ने महिला होलान् जस्तो लाग्दैन । भएका कुरा नै लुकाइएको अवस्थामा नभएका कुरा भन्दै कोही नहिंड्ला । तर, अति नै भएर यस्ता कुरा सार्वजनिक पनि भएका छन् । जस्तो केशव स्थापितले काठमाडौं महानगरपालिकाको मेयर भएको समयमा दुर्व्यवहार गरेको भनेर दुई जना महिलाले आरोप लगाएको कुरा सार्वजनिक भयो । उनी प्रदेश ३को मन्त्रीबाट पनि हटेका छन् । तर, महिलाहरुले लगाएको आरोपको कारणले भन्दा पनि उनी मुख्यमन्त्रीसँगको झगडाका कारण पदबाट हट्नुप¥यो । जे भएपनि सञ्चार माध्यममा कुरा आएर उनलाई अप्ठ्यारो त पक्कै परेको छ । त्यसैले जति पुरानो भएपनि अप्ठेरो पर्ने रहेछ यस्ता गतिविधिमा संलग्न हुन नहुने रहेछ भनेर धेरैलाई यस्ता घटनाले सचेत बन्न शिक्षापनि दिएको छ ।

त्यसैले नेपालको सन्दर्भमा कपोलकल्पित रुपमा कसैले पनि अर्को व्यक्तिलाई  आरोप लगाउला जस्तो मलाई लाग्दैन । सामाजिक सञ्जालहरुमा मन मिलुन्जेल ‘वि टु’  मन नमिलेपछि ‘मि टू’ भनेर महिलालाई व्यङ्ग गर्ने खालका सामग्री पनि मैले देखिरहेकी छु । तर, यो बेकारको कुरा हो ।  आरोपको नाममा आरोप मात्रै हो । कोही पनि केही समस्यामा नपरिकन यसरी सार्वजनिक रुपमा बोल्दै हिंड्दैन । कुनै न कुनै दुर्व्यवहारमा परेर नै उनीहरुले यसरी सार्वजनिक रुपमा भन्दै हिंडेका हुन् । त्यसैले ‘वि टु ’र ‘मि टू ’भन्दै जिस्क्याउनु गलत कुरा हो । 

नेपालको सामाजिक परिस्थितिका कारण पनि धेरै कुरा बाहिर नआएको हुन सक्छ । तर, हामीले यस्ता कुरा बाहिर ल्याउन  सबैलाई सिकाउनु पर्छ । त्यसो नगरे दुर्व्यवहारका घटना भित्रभित्रै झन् बढ्न सक्छन् । हामीले सबैलाई सचेत गरायौं भने मात्रै यस्ता घटनाहरु दोहोरिँदैनन् ।

राज्यले के गर्ने ?

यस्ता गतिविधिलाई समाजको तल्लो तहबाट नै सम्बोधन गर्नु जरुरी रहेको छ । जस्तो कि स्थानीय तहमा अहिले महिला जनप्रतिनिधिहरुको बाहुल्यता रहेको छ । उहाँहरुले स्थानीय तहमा सचेतना बढाउन सक्नुहुन्छ । के गर्दा दुर्व्यवहार हुन्छ त्यसबारेमा जानकारी गराउनुपर्दछ । पुरुषलाई पनि यस्ता गतिविधिमा संलग्न हुनुहुँदैन भनेर सचेत गर्नु जरुरी रहेको छ  । यसो गरिएमा तल्लो तहदेखि नै यसका बारेमा जानकारी हुन्छ । र कसैले गल्ती गरेमा त्यो सार्वजनिक गर्नुपर्छ भन्ने ज्ञान सबैमा बृद्धि हुन्छ ।

कोही पुरुष नै जोगिएनन् भने ...

जिवनमा कुनै पनि पुरुषले कोही न कोही महिलालाई कुनै कालखण्डमा नजिस्काएको भेट्टाउन नै गाह्रो हुने र पुराना कुरालाई लिएर उजुरी गर्ने वा सार्वजनिक गर्ने भयो भने कोही पनि पुरुष नजोगिने हुन् कि भन्ने चर्चा पनि सुनिन्छ । तर, यसरी सबै पुरुषलाई आरोप लाग्छ भन्ने कुरा गलत हो । किनकि सामान्य रुपमा  जिस्क्याउने वा प्रस्ताव राख्ने भन्ने कुरा ठूलो कुरा होइन । त्यस्तो, प्रस्ताव महिलाले अस्वीकार गरिन् भने त्यो प्रसंग नै सकियो । तर, महिलाले अस्वीकार गर्दागर्दै पनि हतोत्साहित गर्ने, सोही प्रस्ताव बारम्बार राख्ने, ब्ल्याकमेलिङ्ग गर्ने, मानसिक रुपमा तनाव दिने  काम भयो भने त्यो चाहिं दुर्व्यवहार हुन्छ । त्यसैले त्यस्ता दुर्व्यवहार सार्वजनिक गर्नु जरुरी हुन्छ । कुनै जमानामा कुनै महिलालाई एक पटक जिस्क्याएको वा प्रस्ताव राखेको भनेर अहिले पुरुषहरु डराउनुपर्छ जस्तो लाग्दैन । तर, साँच्चै दुर्व्यवहार  गर्ने भने अब डराउनुपर्ने भएको छ । विश्वव्यापी रुपमा नै यो अवस्था सिर्जना भएको छ । जुन निश्चयपनि सकारात्मक पक्ष हो । 
(समाजशास्त्री ढकालसँगको कुराकानीमा आधारित । तस्बिरः फेसबुकबाट )

तपाईंको मत