काठमाडौं । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे ।
उनले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरे । प्रदेश ३ को आवधिक योजना आधारपत्र तर्जुमासम्बन्धी गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताए । मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना पनि अघि सारे ।
कार्यक्रममा प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए । कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत् क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिएका थिए ।