site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रमस्वीकृति नलिई विदेशी खेलाडी पीपीएलमा सहभागी, श्रम विभाग भन्छ– दण्डनीय काम
Ghorahi CementGhorahi Cement

काठमाडौं । पर्यटकीय नगरी पोखरामा यतिबेला खेलप्रेमी आगन्तुकको संख्या बढ्दो छ । फुटबलमा नेपालकै स्तरीय नकआउट प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय खेलहरु आयोजना गरिरहेको पोखरा अहिले क्रिकेटमय बनेको छ, पोखरा प्रिमियर लिग (पीपीएल)का कारण । कात्तिक ९ गतेबाट शुरु भएको प्रतियोगिता अन्तिम चरणमा छ । मंगलबार पोखरा पल्टन र चितवन राइनोजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सबै हिसाबले प्रतियोगिता सफलताका साथ सम्पन्न हुँदैछ । 

सफल प्रतियोगितामा प्रदर्शनका हिसाबले विदेशी खेलाडी नेपालीको तुलनामा माथि रहे । चितवनलाई फाइनलसम्म डोर्याउन भारतीय खेलाडी सन्नी पटेल र स्मित पटेलको प्रदर्शन उलेख्य रह्यो । फाइनलको प्रतिद्वन्द्वी पोखरा पल्टनले पनि उपाधि होडमा कायम रहन भारतीय खेलाडी रवि इन्दर सिंह र युनाइटेड अरब इमिरेट्स (यूएई)का मोहम्मद नाभिदको प्रदर्शनबाट प्रेरणा लिनुपर्यो । 

एउटा टोलीमा दुई विदेशी खेलाडी राख्नैपर्ने नियमअनुसार चितवन र पोखराबाहेकका सहभागी काठमाडौं रोयल्स, बुटवल ब्लास्टर्स, धनगढी ब्लुज र विराटनगर टाइटन्सले पनि विदेशी खेलाडी अनुबन्धनको नियम पूरा गरे । काठमाडौं रोयल्सले भारतका जयकिशन कोल्सावाल र गौरव तोमरलाई टोलीमा अनुबन्ध गर्यो भने धनगढी ब्लुजले पिटर ट्रेगो र डन लाउरेन्सलाई आबद्ध गरेको थियो । बुटवल ब्लास्टर्सले यूएईका कप्तान रोहन मुस्तफा र चिराग सुरीलाई अनुबन्ध गरेको थियो भने विराटनगर टाइटन्सले पाकिस्तानका मुहम्मद जाइद र भारतका एन्ड्रयू सुविक्षणलाई भित्र्याएको थियो ।

Agni Group

विदेशी खेलाडीको उपस्थितिले प्रतियोगितालाई रोमाञ्चक बनायो । समर्थकलाई स्तरीय ब्याटिङ र बलिङका दृष्य देखायो । खेलाडीलाई स्तरीय खेलाडीसँग प्रतिस्पर्धाको अनुभव दियो । समग्रमा नेपालभित्र क्रिकेटको लोकप्रियता बढाउन योगदान पुर्यायो । 
तर, नेपाल सरकारको नियमअनुसार विदेशीले पारिश्रमिक लिएर कुनै पनि खेलमा सहभागी हुँदा श्रमस्वीकृति लिनैपर्ने बाध्यकारी नियम भने नेपालमा हुँदै आएका अन्य प्रतियोगिताझैँ पीपीएलमा पनि पालना भएको छैन । 

विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्थापन सम्बन्धी निर्देशिकाअनुसार विदेशी नागरिक नेपालमा आएर काम गर्दा विभागबाट श्रम इजाजत लिनुपर्ने उल्लेख छ । क्रिकेटमा जस्तै फुटबलमा पनि क्लबहरुले विदेशी खेलाडी अनुबन्ध गरेर खेलाइरहेका छन् । तर, फुटबलमा क्लबहरुले विभागबाट अनिवार्य श्रम स्वीकृति लिने गरेका छन् । अन्य खेलमा पनि विदेशी प्रशिक्षकहरु आएर काम गरिरहेका हुन्छन् । तिनीहरुले पनि श्रमस्वीकृति लिएका हुन्छन् । खेलाडीहरुले युवा तथा खेलकुद मन्त्रालयबाट कार्य सहमति, श्रमस्वीकृति र गैर पर्यटकीय भिसाका लागि सिफारिस गरेपछि गृह मन्त्रालयबाट कार्य सहमतिपत्र लिएपछि श्रम विभागले स्वीकृती प्रदान गर्छ । 

Global Ime bank

सामान्यतयाः नेपाली क्रिकेट प्रतियोगिताका लागि आएका सबै विदेशी खेलाडीले घुमफिर (भिजिटिङ) भिसा प्रयोग गर्ने गर्छन् । यस्तो भिसामा आउने खेलाडीहरु साता–दश दिनसम्म चल्ने प्रतियोगिता खेलेर फर्किने गर्छन् । प्रतियोगिताका फ्रेन्चाइज क्लबहरुबाट उनीहरुले राम्रै कमाइ पनि गर्छन् । विदेशी खेलाडी ल्याउने टिमले आयोजक र सम्बन्धित खेलाडीको देशको क्रिकेट बोर्डसँग स्वीकृति लिएर अनुबन्ध गर्छन् । 

“आयोजकले राष्ट्रिय खेलकुद परिषद्सँग प्रतियोगिता आयोजना गर्नका लागि स्वीकृति लिइसकेको हुन्छ,” पीपीएलमा सहभागी बुटबल ब्लास्टर्सका कार्यकारी प्रमुख अधिकृत (सीइओ) अमित पोखरेलले भने, “आयोजकले नै यस्तो स्वरुपमा प्रतियोगिता गर्ने भनेर राखेपसँग स्वीकृति लिइसकेको हुन्छ । त्यसैले टिमहरुले आयोजकसँगको सहमतिमा खेलाडी ल्याउने हो ।”

पीपीएलको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले खेलाडीका लागि श्रमस्वीकृति आवश्यक नरहेको तर्क गरे । “भारतीय खेलाडीलाई त त्यस्तो आवश्यकता पर्दैन । अन्य खेलाडीहरु पनि सामान्य भिजामा नै आउने हुन्,” नेपाल क्रिकेट संघ (क्यान)मा पनि प्रशासन प्रमुखका रुपमा काम गरिसकेका लामाले थपे, “फुटबल लामो समयसम्म चल्छ । त्यसैले खेलाडीहरु लामो समय यहाँ बस्नुपर्ने भएकाले श्रम स्वीकृति आवश्यक भएको होला । क्रिकेट लामो समय चल्दैन, ९–१० दिन चल्ने हो । नेपालमा हुने सबै प्रतियोगितामा यस्तै हुन्छ ।”

पोखरामा जारी प्रतियोगिता पीपीएलको पहिलो संस्करण हो । पीपीएलजस्तै अन्य दुई प्रतियोगिता नेपालमा भइरहेका छन्, धनगढी प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग । दुवै प्रतियोगितामा विदेशी खेलाडी राख्नैपर्ने नियम छ । तर विदेशी खेलाडी सहभागि गराउँदा श्रमस्वीकृति लिर्नैपर्ने देशको अनिवार्य कानुन पालनाको भने कुनै व्यवस्था छैन । 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक रामप्रसाद भट्टराईले कुनै पनि विदेशी नागरिकलाई नेपालमा काम गर्न श्रम स्वीकृति लिनैपर्ने बाध्यकारी व्यवस्था भएको र त्यो खेलाडीको हकमा पनि लागू हुने स्पष्ट पारे । “नेपालमा आएर काम गर्दा श्रमस्वीकृति लिनैपर्छ । खेलाडीको हकमा पनि त्यो लागु हुन्छ,” महानिर्देशक भट्टराईले भने, “काम लगाउने संघ, संस्थाले सबै प्रकृया पूरा गर्नु आवश्यक छ । फुटबल खेलाडीहरुले श्रमस्वीकृति लिएका छन् । क्रिकेटमा भने लिएको थाहा छैन । यदि त्यस्तो छ भने त्यसलाई व्यवस्थित गर्नुपर्छ । यो गम्भीर विषय हो । हामी अनुगमन गर्छौं र कारवाहीको प्रकृया अघि बढाउछौं ।”

उनले पारिश्रमिक लिएर काम गर्ने भएपछि लामो वा छोटो समयका आधारमा श्रमस्वीकृति लिनुपर्ने र नपर्ने नहुने बताए । अन्य देशमा पनि श्रमस्वीकृतिबिना विदेशीले खेल्न नपाउने दृष्टान्त दिँदै उनले बाध्यकारी नियम पालना नगर्ने कारबाहीको भागिदार बन्ने प्रष्ट्याए ।
सन् २०१० मा बेलायतको श्रमस्वीकृति नपाएका कारण नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले त्यहाँको तत्कालीन छैटौं डिभिजनको वोकिङ एफसीबाट खेल्ने मौका चुकाउनु परेको थियो । 

तस्बिरः सुदर्शन रञ्जित
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC