site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पार्टी एकता नटुंगिदै नेकपामा गुटैगुट ! कता जालान् वामदेव गौतम ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “एमाले पार्टी नभएर गुटहरूको महासंघ बन्न पुगेको छ !” वर्षौंअघि कुनै सन्दर्भमा नेकपा एमालेका तत्कालीन नेता घनश्याम भुसालले उठाएको प्रसंग ने क पाभित्र अहिले पनि उत्तिकै सान्दर्भिक छ । 

गत जेठ ३ गते एकीकरण भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता प्रक्रियामा पूर्णविराम लागेको छैन । केन्द्रमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्यको टुंगो लागेको छ । तर, पोलिट्व्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन । त्यस्तै विभाग र केन्द्रीय निकायमा रहने पदाधिकारीको पनि टुंगो लाग्न बाँकी छ । यसबारेमा टुंगो लगाउन रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेललाई जिम्मा दिएको छ, सचिवालयले ।

प्रदेशको हकमा पनि त्यस्तै छ । २८ पदाधिकारीको टुंगो लागेको छ तर प्रदेश सदस्यहरू मनोनीत भएका छैनन् । जिल्ला र स्थानीय तहका कमिटी कहिले बन्ने हुन्, अनिश्चित छ । एकताको अध्याय नै पूरा हुन नसकेको ने क पाभित्र आन्तरिक ध्रुवीकरण भने तीव्रतर रूपमा हुन थालेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले र माओवादी केन्द्र एकता भएर ने क पा बन्दा पनि त्यहाँभित्रका गुटहरू खजमजिएनन् । र, घनश्याम भुसालले भनेझैँ ने क पा रूपमा विशाल कम्युनिस्ट पार्टी बन्यो तर यथार्थमा गुटहरूको महासंघ ।
ने क पाभित्र अहिले पनि झन्डै आधा दर्जन गुट सक्रिय छन् । 

ने क पाको अन्तरिम विधानअनुसार ०७७ जेठ ३ भित्र एकताको महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । तर, महाधिवेशन आउन डेढ वर्ष बाँकी हुँदै ने क पाभित्र तीव्र ध्रुवीकरण शुरू भएको छ ।

Global Ime bank

ने क पाका चौथो वरीयताका नेता  झलनाथ खनाल पार्टीको एकता प्रक्रियामा घुन–पुत्ली लाग्न थालिसकेको र त्यसले पार्टीलाई दिनप्रतिदिन खोक्र्याएर धूलोपीठो बनाउने तर्क गर्छन् । उनी त अझ अघि बढेर गुटबन्दी पार्टी विभाजनको भ्रूण भएको टिप्पणी गर्छन् ।
पार्टी नेतृत्व कमजोर भयो भने त्यस्ता गुट सलबलाउने र पार्टीलाई क्षयीकरणको दिशामा धकेल्ने हुनाले बेलैमा ‘घाँटी निमोठ्नु’पर्ने तर्क गर्छन् खनाल ।

तर, झलनाथले जतिसुकै गुटबन्दीको कटू आलोचना गरे पनि पार्टी गुटबन्दीको दलदलबाट उम्कने छाँट देखिँदैन । र, झलनाथ स्वयम् पनि गुटबन्दीबाट अछुतो रहन सकेका छैनन् ।

गुटमय पूर्वएमाले
०६५ फागुन ५–१० मा सम्पन्न बुटवल महाधिवेशनबाट एमालेले आन्तरिक लोकतन्त्रको सूत्रपात गरेको हो । नेतृत्व चुन्न प्रतिनिधिहरूको बीचमा खुलमखुला बाकस थाप्यो । आठौँ महाधिवेशनले एमालेको आन्तरिक जीवलाई लोकत्रान्तिककरणमात्र गरेन, गुटहरूलाई बैधानिकता दियो । कम्युनिस्टहरूले अंगीकार गर्दै आएको ‘दुईलाइन सङ्घर्ष’लाई नेतृत्व हत्याउने कसीका रूपमासमेत विश्लेषण गरिदियो ।

नवौँ महाधिवेशनसम्म आइपुग्दा पार्टीभित्र नीति, सिद्धान्तभन्दा पनि गुटगत विचार र त्यसमा आधारित क्रियाकलापले नै वैधानिकता पायो । र, परिणामस्वरूप पार्टीमा नयाँ गुट–उपगुटले मुन्टो उठाउने केही नेता–कार्यकर्ता किनाराकृत हुने अवस्था पनि सिर्जना भयो ।
माओवादी केन्द्रसँग एकता हुनुपूर्व एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको गुट शक्तिशाली थिए । ०७० को दोस्रो संविधान निर्वाचनपछि एमालेभित्र झलनाथ खनाल र माधव नेपालको गुटबीच ध्रुवीकरण भयो ।

संसदीय दलको नेता चयन गर्ने पूर्वसन्ध्यामा भएको कार्यगत एकता ०७१ साउन १ मा सम्पन्न नवौँ महाधिवेशन आइपुग्दा निकै झाँगियो । तिनताक नेपाल गुटमा झलनाथ खनालका अतिरिक्त भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, लालबाबु पण्डित, अमृत बोहोरा, बेदुराम भुसाललगायत नेता थिए ।

त्यस्तै ओली समूहमा ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, सुवास नेम्वाङ, भानुभक्त ढकाल, विष्णु रिमाललगायत नेता थिए ।

तर, ०७५ जेठ ३ सम्म आइपुग्दा कित्ताकाट हुने अवस्था आयो । अहिले एकताले थमाएको चौथो वरीयता स्वीकार्न झलनाथ खनाल तयार छैनन् । नवौँ महाधिवेशनले व्यवस्था परेको वरिष्ठ नेता आफूमात्रै भएको दाबी गर्दै माधव नेपाललाई आफ्नो पिठ्युँ चढाएर वरिष्ठ नेता बनाइएको बताउँदै पार्टीमा फरक मत राखेका छन् खनालले ।

तर, सचिवालयमा उनको पक्षमा बोलिदिने नेता नभएकाले उनले माग पूरा गराउन सकेका छैनन् । स्थायी कमिटीमा पनि आफ्नो कुरा राख्ने उनको तयारी छ ।  नवौँ महाधिवेशनमा केपी ओलीलाई पार्टी अध्यक्ष बनाउन काँध हाल्ने नेता हुन्– वामदेव गौतम । आठौँ महाधिवेशनमा झलनाथलाई सघाए भने नवौँमा ‘क्याम्प’ फेरे ।
आठौँ महाधिवेशन अगाडि उनकै ‘पूर्वमाले क्याम्प’ थियो । नवौँमा आइपुग्दा छिन्नभिन्न भयो । नवौँमा किरण गुरूङ, रवीन्द्र अधिकारी, दलबहादुर राना, हरि पराजुलीलगायत केही नेताले मात्रै उनलाई साथ दिने अवस्था बन्यो । घनश्याम भुसाल, योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायत युवा नेताले साथ छाडे ।

पार्टी अध्यक्ष बनाउन दर्बिलो साथ दिएका गौतम अहिले ओलीलाई साथ छाड्ने निष्कर्षमा पुगेका छन् । र, नयाँ ध्रुवीकरणको तयारीमा छन् । ओलीसँग गौतमको असन्तुष्टि बर्दियामा चुनाव हारेयता हो । पार्टी अध्यक्ष ओलीले नै ‘कान फुकेकाले’ आफू पराजित भएको र त्यसमा ईश्वर पोखरेललेसम्म साथ दिएको उनको आरोप छ ।

त्यसो त अध्यक्ष ओलीसँग ईश्वर पोखरेलसमेतको असन्तुष्टि छ । मन्त्रिमण्डल गठन हुँदा अर्थमन्त्री बन्ने इच्छा व्यक्त गरेका पोखरेलले रक्षामन्त्रीको शपथ खानुपर्‍यो । सबैलाई फलिफाप बनेको एकता प्रक्रिया पोखरेलका लागि अफापसिद्ध भयो र हुँदाखाँदाको महासचिव पद विष्णु पौडेलका भागमा पर्‍यो ।

त्यसर्थ पनि उनी अध्यक्ष ओलीसँग सन्तुष्ट छैनन् । नवौं महाधिवेशनमा जस्तो ‘क्याम्प’ फेर्ने अथवा अर्को गुटको नेतृत्व गर्ने तहमा उनी नभएको ने क पाका नेता बताउँछन् ।

पूर्वमाओवादी केन्द्रमा पनि त्यस्तै
 

पूर्वमाओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली गुट चलाउँदै आएका छन् । ०४५ सालमा सेक्टर काण्डपछि पार्टी नेतृत्वमा उदाएका प्रचण्ड त्यसयता लगातार नेतृत्वमा छन् । र, उत्तिकै गुट पनि चलाएका छन् । उनको गुटमा वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत, अग्नि सापकोटालगायत नेता छन् । र, ने क पा गठन हुँदासम्म त्यसमा फेरबदल आएको छैन ।

पूर्वमाओवादी केन्द्रमा प्रचण्डपछिको शक्तिशाली गुट रामबहादुर थापा ‘बादल’को छ । मोहन वैद्य नेतृत्वका माओवादीबाट पुनः माओवादीमै जोडिएको यो समूहको नेतृत्व बादलले गरेका छन् । र, उनलाई साथ दिएका छन्– पम्फा भुसाल र देव गुरूङले ।
त्यसबाहेक शान्ति प्रक्रियामा आएलगत्तै माओवादीमा मिसिएको अर्को समूह पनि छ । त्यसको नेतृत्व नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गरिरहेका छन् भने उनलाई साथ दिने गिरिराजमणि पोखरेल, विश्वनाथ साह, लिलामणि पोख्रेल, शशी श्रेष्ठ, अञ्जना विसंखेलगाायत नेता छन् ।
ध्रुवीकरणको तयारी
पार्टी एकतालाई आधारभूत तहमा पुर्‍याउन निकै कठिनाइ झेलिरहेको ने क पाभित्र आन्तरिक ध्रुवीकरण तीव्र भएको छ । विशेषतः गएको ५ असोजमा प्रदेश इन्जार्च, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय गरेपछि र त्यसमा प्रचण्डले अध्यक्ष ओलीलाई साथ दिएपछि नयाँ गुटको बीजारोपण भएको चर्चा ने क पाभित्रै हुन थालेको छ ।

त्यस निर्णयप्रति असहमति जनाउँदै नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ नै लेखे ।  ५ असोजकै निर्णयप्रति पार्टीका अर्का नेता झलनाथ खनालको पनि असहमति पनि थियो । तर, उनले ‘नोट अफ डिसेन्ट’को कुनै उपादेयता देखेनन् ।
“५ असोजको निर्णयले पार्टीभित्र नयाँ गुट जन्माएको छ,” एक स्थायी कमिटी सदस्यले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा बताए ।

‘नोट अफ डिसेन्ट’ नेताद्वय नेपाल र श्रेष्ठले स्थायी कमिटीमा प्रस्तुत गर्नुपर्ने बताइरहँदा खनालले त्यसप्रति पनि कुनै विधि नभएको र स्थायी कमिटीमा लैजान समझदारीसमेत नभएको बताउँदै आएका छन् ।

कता जालान् वामदेव ?
०५९ सालमा एकता हुँदा पार्टी महासचिव (प्रमुख) नेता नेपालको पक्षमा थिए वामदेव गौतम । आगामी महाधिवेशनमा सघाउलान् भन्ने नेपालको अपेक्षा थियो । तर, गौतम झलनाथको इष्ट बने र ०६५ को महाधिवेशनमा उनैलाई सघाए । ०७१ मा पुनः ‘क्याम्प’ फेरेर झलनाथको कित्तामा उभिएकाले नेपालको पार्टी अध्यक्ष बन्ने लालसा ४४ मतले पछि पर्‍यो ।

पार्टी एकतापछि भने कुन कित्तामा उभिन्छन् वामदेव भन्ने प्रश्न झनै पेचिलो बनेको छ । ७० वर्षे उमेरहद पाखा लगाइसकेकाले नेतृत्वमा आउने बाटो खुलै छ उनको ।

बर्दियामा चुनाव हारेपछि उपनिर्वाचन गरेर भए पनि संसद्मा आउन खोजेका थिए उनी । काठमाडौँ–७ का रामवीर मानन्धरलाई मनाएर राजीनामा दिन ठिक्क पनि पारेका थिए । तर, दसैँ खल्लो हुनेगरी उनी निर्णयबाट पछि हट्नुपर्‍यो ।

त्यसको ‘प्रतिशोध’ साँध्न पनि उनी अध्यक्ष ओलीको ‘क्याम्प’मा रहने छैनन् ।  त्यसैले वामदेव अब प्रचण्ड क्याम्पमा जान्छन् भन्ने चर्चा पनि राजनीतिक वृत्तमा हुन थालेको छ । र, दुवैलाई साथ दिन आइपुग्नेछन्– पार्टीका चौथो वरीयताका नेता झलनाथ खनाल ।
वरीयताबारे बाक्लो विवाद र अध्यक्ष ओलीसँग असन्तुष्टिका कारण ओली, नेपाल दुवैको क्याम्पमा खनाल जाने सम्भावना छैन ।

खनालको पक्षमा सचिवालयमा मात्रै होइन, ४५ सदस्यीय स्थायी कमिटीमै एकजना पनि खुलेका छैनन् । आफैं गुटको नेतृत्व गर्ने हैसियत समाप्तप्रायः भएकाले प्रचण्ड–गौतमको साथ लाग्नु खनालको बाध्यताजस्तै भएको ने क पाका नेताहरू बताउँछन् । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC