— विजेता चौधरी
भान्सामा थिएँ, अचानक छोरीले आएर सोधी, “ममी नेपालको प्रथम महिला मन्त्रीको नाम के हो ?”
अलमलमा परें एकछिन तर तत्कालै सम्झेर भनें, “हाम्रो प्रथम महिला मन्त्रीको नाम द्वारिकादेवी ठकुरानी हो । सी वाज अ ग्रेट लेडी ।”
महसुस गरें— छोरीको आँखा गर्वले उचालिएको ।
नेपालकी पहिलो महिला मन्त्री को हुन् भन्ने प्रश्नको जवाफ सबैले दिन सक्दैनन् किनभने त्यो इतिहास सम्भवतः देशले नै बिर्सिसकेको छ ।
क्रियाशील पत्रकार महिला संस्थाले कात्तिक १२ गते उनको जन्मजयन्तीको सन्दर्भ पारेर आयोजना गरेको कार्यक्रमबारे रिपोर्टिङ गर्दा छोरीसँगको संवाद सम्झें । र, सम्झें ‘ग्रेट लेडी’ ठकुरानीलाई, जो विसं २००३ सालमै राजनीतिमा उदाएकी थिइन् । आजभन्दा झन्डै ७२ वर्षअघि, जतिबेला महिलालाई घरबाट निस्किनेसम्मको अधिकार थिएन ।
नेपालको राजनीतिमा, राजनीति बुझ्ने महिलाको संख्या बढाउने कुरा सधैं चलिरहे पनि दक्षिण एसियाकी प्रथम महिला मन्त्री तथा नेपालकी पहिलो महिला उपमन्त्री द्वारिकादेवी ठकुरानीको योगदानलाई देशले कहिल्यै नसम्झेको आरोप छ ।
अझ एसियाकै प्रथम महिला मन्त्री द्वारिकादेवी भएको कुराप्रति नेपालले गौरवबोध गरेको छैन नै, प्रजातान्त्रिक लडाइँकी योद्धालाई स्वयं उनकै पार्टी नेपाली कांग्रेसले समेत सधैं बेवास्ता गरेको छ ।
वि.सं. १९७२ कात्तिक १२ गते डोटीको जनौली भन्ने ठाउँमा जन्मेकी नेपाल राजनीतिकी सशक्त महिला हस्ती द्वावारिकादेवीको १०४ औं जन्मजयन्तीको बारेमा पनि कतै कुनै चर्चा छैन । न त चासो नै । एक–दुई ठाउँमा उनको शालिक बनाउनुबाहेक राज्यले उनको नाममा कुनै स्मृति कायम गरेन, जसबाट भोलिका सन्ततीले एसियाकै प्रथम महिला मन्त्री आफ्नै देशकी थिइन् भनेर गौरवबोध गर्न सकून् ।
द्वावारिकादेवी ठकुरानी स्मृति प्रतिष्ठान कञ्चनपुर, महेन्द्रनगरले उनको सम्झनामा स्मृति दिवस मनाए पनि राज्यले उनको योगदानलाई कहिल्यै नसम्झेको आरोप प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रबहादुर चन्दको छ । उनी द्वारिकादेवीका भतिज हुन् ।
ठकुरानीको राजनीतिक जीवन
द्वारिकादेवी देशकै पिछडिएको सुदूरपश्चिममा जन्मेर सक्रिय राजनीतिमा आएकी थिइन् । आजभन्दा झन्डै ७२ वर्षअघि राजनीतिमा महिला आउनु त्यति सहज थिएन । अझ पश्चिमका अधिका भन्ने ठाउँ, जहाँका रानी मानिने ठकुरानीहरू बाहिर आउँदैनथे । अरूले देख्नै नहुने परम्पराको पर्खाललाई भत्काएर द्वावारिकदेवी सक्रिय राजनीतिमा आएकी थिइन्, जो त्यसबेलाको ठूलै क्रान्ति हो ।
द्वारिकादेवीले २००३ सालमा बीपी कोइरालाबाट कांग्रेसको सक्रिय सदस्यता ग्रहण गरेकी थिइन् । प्रतिष्ठानका अध्यक्ष चन्द भन्छन्, “भारतको मुजफ्फरपुरमा उनलाई बीपीले सदस्यता दिएका थिए । २००७ सालको क्रान्तिमा भाग लिएकै कारण त्यसताका उनलाई ४० दिन जेल बस्नु परेको थियो । ०१७ सालको ‘कु’पछि पुस १ गते उनलाई सिंहदरबारमा नजरबन्द राखिएको थियो ।”
राज्यपक्षले ‘पञ्चायतलाई सहयोग गर्नुस्, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, तपाई ठकुरीकी छोरी, यहीँ बस्नुस्’ भन्दा पनि उनले ‘बरु म जेल बस्छु’ भनेर गइनन् । त्यसपछि उनी भारतीय सीमाक्षेत्र पञ्चेश्वरमा बसिन् । १० वर्षजति पञ्चेश्वरको सिल्गा भन्ने गाउँमा बसेर उनी बाह्य रूपले राजनीतिमा सक्रिय भइरहिन् । ०२५ सालमा आम माफीपछि मात्रै अरू योद्धासँगै उनी पनि फर्किइन् ।
०१५ सालको आमनिर्वाचनमा द्वारिकादेवीलाई टिकट दिइएको थियो, डडेलधुराको क्षेत्र नं ६ बाट । उनले त्यतिबेला ६ हजार भोट पाएकी थिइन् । ०१६ जेठ १३ गते गठित प्रथम जननिर्वाचित मन्त्रीमण्डलमा उनलाई स्वास्थ्य तथा स्थानीय स्वायत्त उपमन्त्रीको जिम्मेवारी दिइएको थियो । र, यसरी उनी दक्षिण एसियाकै प्रथम महिला मन्त्री बन्न सफल भएकी थिइन् । एक वर्षपछि नै राजा महेन्द्रले यो मन्त्रिपरिषद् विघटन गरेर पञ्चायत लागू गरे ।
०२५ सालमा फर्केपछि पनि सरकारले द्वारिकादेवीका राजनीतिक सल्लाहकार मीनबहादुर चन्दलाई गोली हानेर हत्या गरेपछि उनी धनगढी बस्न थालिन् । त्यसपछि उनी राजनीतिमा समेत कमजोर भइन् ।
पञ्चायत ढलेपछिको ०४८ सालको चुनावमा उनलाई टिकट दिइएन । ०१५ सालमा टिकट पाएकालाई टिकट दिने पार्टीको निर्णय र जिल्लाबाट समेत उनलाई टिकट दिन सिफारिस भए पनि शेरबहादुर देउवाले सिफारिस नगरेपछि उनलाई पाखा लगाइयो । उनको स्थानमा विनयध्वज चन्दलाई टिकट दिइयो । तर, द्वारिकादेवी विनयध्वजलाई जिताउन स्वयं प्रचारमा खटिएकी थिइन् ।
त्यतिमात्रै नभएर द्वारिकादेवी परिवार नियोजन संघकी पनि संस्थापक अध्यक्ष हुन् । थापाथलीस्थित प्रसूतिगृह अस्पताल खोल्नमा समेत उनको भूमिका महत्वपूर्ण रहेको अध्यक्ष चन्दले जानकारी दिए ।
समाजसेवा र सक्रियता
त्यतिबेला समाजमा महिला, दलित, जनजाति र गरिबलाई सम्पन्नले गर्ने अन्याय र अत्याचारविरुद्ध उनले खुलेर बोल्थिन् । गरिब परिवारका घरमा पुगेर काममा सघाउने, गाउँमा सद्भावका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्थिन् । यसरी सामाजिक काम गर्दै जाँदा बैतडीको मेलौलीका उद्धवबहादुर चन्दसँग उनको भेट भयो । र, बिस्तारै उनीहरूबीच चिनजान भएपछि निकटता बढ्दै गयो । र, वि.सं. १९९२ सालमा विवाह भयो । त्यतिबेला ब्राह्मण र ठकुरीको विवाह हुँदैनथ्यो तर उनले ठूलो साहसका साथ विवाह गरिन् ।
उद्धव पनि सामाजिक तथा शिक्षासेवी भएकाले उनीहरूको जोडी मिलेको थियो । यो जोडीले २००४ सालमा अतिपिछडिएको डडेलधुरामा मणिलेक स्कुल खोलेको थियो । विद्यालय खोलेपछि द्वारिकादेवीप्रति आम जनभावना राम्रो हुँदै गयो । विद्यालयलाई सफलापूर्वक सञ्चालन गर्न द्वारिकादेवीले बर्मासम्म गएरसमेत चन्दा उठाउँथिन् । अहिले त्यो विद्यालय स्तरोन्नति भएर कलेज भएको छ, जहाँ स्नातकोत्तरसम्मको पढाइ हुन्छ ।
महिलाको सचेतना र सशक्तीकरणका लागि समेत द्वारिकादेवीले काम गरिन् । आफ्नो ठाउँमा प्रहरी चौकी, स्वास्थ्यचौकी र हुलाक ल्याउने काममा समेत उनी सधैं अगाडि रहिन् ।
उनको योगदानमाथि पनि राजनीति
०६६ सालमा गिरिजाप्रसाद कोइरालाले सुदूरपश्चिमको आमसभामा द्वारिकादेवीको नाममा मेडिकल कलेज खोल्ने घोषणा गरे । त्यसका लागि कमिटी बनाएर आफूसहतिको टोलीले काम गरेको बताउने अध्यक्ष चन्दले भने, “पछि भरतमोहन अर्थमन्त्री भएपछि शहीद दशरथ चन्दको नाममा मेडिकल कलेज खोल्न लगाए ।”
सुशील कोइराला प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्बाटै सुदूरपश्चिम विश्वविद्यालयको नाम ‘द्वारिकादेवी ठकुरानी विश्वविद्यालय’ कायम गर्ने निर्णय गरेका थिए । तत्काल कार्यान्वयन गर्ने निर्णय भए पनि अहिलेसम्म त्यसमा कुनै कदम चालिएको छैन ।
प्रतिष्ठान अध्यक्ष चन्द भन्छन्, “देशले नै गौरव गर्नुपर्ने दक्षिण एसियाकै प्रथम महिला मन्त्रीको नाममा एउटा प्रतिष्ठान छ । त्यसको भवनमा बसेर केही बैठक, कार्यक्रम गरिए पनि उहाँलाई इतिहास र भोलिका सन्ततीले सम्झने कुनै काम गर्न सकिएको छैन ।”