site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नियतिको रंगमञ्च
Ghorahi CementGhorahi Cement

– सरोज जीसी


जब मलाई शहरबाट अलग्गिएकोे आभास हुन्थ्यो, म मन्दिर र गुम्बा धाउँथें । मन्दिरका चौकोसमा बस्दा अर्कै सान्त्वना मिल्थ्यो । मान्छेले विश्वास गरून् या नगरून्— मन्दिरको आडमा बसेर एक्लोपन हटाउन सक्ने  क्षमता दिन्छन् ती पराम्परागत बुट्टाले मलाई । त्यसो त मन्दिर धाउनुका धेरै उपलब्धि होलान् । मैले विशेषगरी एउटा सुख भेटाउँछु, आत्मिक ।

एउटा शहर धाउने काम नबनेपछि आँखाले आराम खोजे । मनले कार्यक्षेत्रको मूल ढोका ढप्काएर आत्मिक सुख खोज्ने प्रयत्न गरेपछि खुट्टा उतै लम्किए । पाटनको साँघुरो गल्लीमा मेरो पाइला लसकलसक लम्किँदा आँखा भने ती सोह्र–सत्र वर्षे युवतीले समाएको कुचीले कोरेका ती बुद्धको आँखामा अड्किएका थिए । मलाई अचम्म लाग्यो— मेरा अशान्त आँखा र बुद्धका शान्त आखाँबीचको आकर्षण । यहाँ विपरीत लिंगबीच त विजातीय विकर्षण हुनुपथ्र्यो । लाग्थ्यो— वास्तविक जीवनमा पनि त्यस्तै ब्रसको सानो धर्कोले शीतल दिने भए आँखालाई ? यो लाग्थ्यो मात्र, सत्य थिएन । एकछिन घोरिएपछि, टुँडालको बोलावट खुट्टाले पनि थाहा पाएछन्, लम्किन थाले ।

Agni Group

० ० ०

उनको नाम र मेरो नाम एउटै हो, अनि काम पनि । म चुरोट पिउँदिनँ । त्यसैले उनले कटाक्ष गरे, “चुरोट पिउनुहुन्छ ?” 

Global Ime bank

मैले चुरोट लिएर कानमा सिउरिएँ । नपिए पनि कानमा सिउरिन मलाई मन पर्छ ।

सामान्य बोलचालपछि थाहा भयो— उनलाई पनि टुँडालले नै निमन्त्रणा पठाएका रहेछन् । उनले पनि सहर्ष स्वीकार गरेपछि हाम्रो भेट भएको रहेछ, पाटन कृष्णमदिर छिर्ने चोकमा ।

म प्रायः कृष्ण मन्दिरअघिको एउटा चौकोसमा बस्छु । त्यहाँबाट अघिल्लोपट्टि हुने दृश्य पूर्ण र सग्लो देखिन्छ । हामी त्यो चौकोसमा बस्यौं । एकछिनमा एक हुल मान्छे जम्मा भए । सुटिङ रहेछ । मेरै नामका मसँगै भएका साथीलाई अहिलेको मास मिडियाले खुप छुन्छ । उनले ध्यान उतै तन्काए । सुकोमल र पूरै लेपनमा बेरिएकी एक स्त्रीले गीतको भिडियोको लागि नाच्ने रहिछन् । लख काटें र लख साँचो थियो । म भने मुखमा केरा हालेर दर्शकलाई हेरिरहने आइरिस नाटककार स्याम्युल बेकेटको पात्र क्र्यापले जस्तो एकहोरो त्यो अगाडिको खुला ठाउँमा ट्वाल्ल हेरिरहेको थिएँ । कति बेला मेरो नामका साथीले पाइला उतै लस्काएछन् । केहीछिनपछि दर्शकदीर्घामा उनलाई टाढैबाट टोपलें । 

त्यो खाली ठाउँ मलाई रंगमञ्चजस्तो लाग्छ, जहिल्यै केही मञ्चन भइरहन्छ जस्तो । इँटाहरू मिलाएर चाँजिएको छ, एउटा आकृति, टेक्स्चर रचना गर्छन्, कुनै पेन्टिङमा जस्तो । कहिले पाश्र्वजस्तो देखिन्छ, त्यो नाटकघरको पृष्ठभूमिमा सजाउनेजस्तो । कहिलेकाहीँ यो दृश्य फिल्ममा प्रयोग गरिने कोलाज र मोन्टाजजस्तो देखिन्छ— एकै स्क्रिनमा विभिन्नथरीका चित्र तथा परिस्थिति । त्यही थलोमा दिनभरि बस्दा मैले धेरै जातका नाटक देखको छु, प्रेमका, द्वेषका, धोकाका, मिलनका । आज के देख्न पाइएला ?

एकछिनमा करिब ४५ वर्षको मानिस त्यो रंगमञ्चमा देखियो, नितान्त एक्लो । खुट्टा लर्खराएका थिए । रक्सी धेरै पिएजस्तो, अथवा कुनै पात्रले नाटकमा धेरै पिएको चरित्र निभाएजस्तो । एक्कासि उसले आफ्ना ती नांगा खुट्टा बेस्सरी बजार्न थाल्यो, धुम्मधुम्म । तर, उसले मुखबाट आवाज भने ‘गड्याप ऽऽ गड्याप’ निकाल्यो, आर्मीले परेड खेलेजस्तो । मलाई अनौठो लाग्यो । किन होला यो मान्छे यसरी चिढिएको ? रक्सीले मातेको नै रहेछ क्यार ! कतिबेला उसले पूर्वतिर नाच्ने धाननाचजस्तो जिउ मर्काउँथ्यो, कतिबेला तराईतिरको लकडी नाचमा जस्तो हात तेस्र्याउँथ्यो । तर, एकछिनपछि पो थाहा भो— उसले त परेड खेलेको रहेछ । किनकि, उसले अब आर्मी वा पुलिसले शत्रुसँग लडेको नाच मञ्चन गरिरहेको छ । अहिले त उसले मुखबाट आवाज पनि निकाल्यो ! ‘बुडुम ऽऽऽ बुडुम ऽऽऽ पटट ट ट ट ट ट ऽऽऽ सरररररर ऽऽ ।’ ‘सरर’ चाहिँ किन निकाल्यो, थाहा भएन । र, अहिले ऊ आफ्नो पूरै शरीरलाई कुहिनाको आड दिई भुइँमा घस्रिन लाइसकेको थियो । एकछिन एकधक भएर हेरेपछि मन म¥यो किनकि उसले यही क्रिया दोहो¥याइरहेको थियो ।

आँखा अर्को चौकोसमा पुगे । त्यहाँ एक नाङ्लो पसले थिइन् । उस्तै ४० वर्ष उमेरकी । चुरोट किन्नेहरू थिए । मेरो आँखालाई पछ्याउँदै त्यो मान्छे पनि त्यहाँ पुग्यो र पसले दिदीसँग झगडा गर्न थाल्यो । झगडाको लवज सुन्दा र परिस्थिति बुझ्दा लाग्यो— उनीहरू लोग्ने र स्वास्नी थिए । बेलाबेला उसले त्यो नाङ्लो पसल भत्काइदेलाझैं गथ्र्याे । फेरि दिदीले उसलाई धकेल्न्थिन् । झगडाको बीउ रहेछ, पैसा । उसले पैसा माग्थ्यो, पिउन । उनी दिन सक्दिन थिइन् । टाढाबाट मैले त्यही बुझें । त्यही झगडाबीचमा आइन् एक युवती, रातो लिपिस्टिक लगाएकी । कपडा गुणस्तरीय नभए पनि मोडर्न चाहिँ थिए । छड्के ब्याग बोकेकी थिइन् । फिल्महरूमा लास भेगासका गल्लीमा देखाउँछ नि, त्यस्तै लाग्यो मलाई उनी । उनको आवरणमा कृत्रिमताले गुलाबी लेस लगाएको थियो । र, पनि मलाई उनको वेश विदीर्ण लाग्यो । मेरो तुलना गलत वा आंशिक हुन पनि पायो । उनको पछाडिबाट एउटा युवक पल्लो मन्दिरको सिँढी उक्लियो र बस्यो, तलबाट चौथो सिँढीमा ।

झगडा जारी छ । ग्राहक आउँदा त्यो मान्छेलाई पर धकेलेर सामान बेच्छिन् दिदी । अनि ऊ फेरि आउँछ, दिदी नसुनेझैं गर्छिन् । टाढैबाट त्यहाँको कुरा अलि नबुझिएपछि अर्को चौकोसमा सरें । अब ठीक छ । हेर्दा लाग्यो— उनी ती दिदीकी छोरी हुन् । मान्छे उठेर आयो र फेरि पैसा माग्यो, उनले दिइनन् । दिदीको सामीप्यमा उभिएकी ती युवतीले आफ्नो बायाँ छातीभित्र दायाँ हात घुसारिन् । हातले केही पैसा निकाल्यो छातीबाट । केहीमात्र होइन, बढी नै देखिन्थ्यो पैसा— हजार, पाँच सय र सयका केही नोट । मलाई काउकुती लाग्यो । भाग्मानी पैसा ! उनले त्यो पैसा त्यो व्यक्ति अर्थात् (अहिले म ढुक्क भइसकेको छु) उनको बाबुलाई दिइन् । तर, म दिग्भ्रमित भएँ, अहिलेसम्म उसले पैसाका लागि यत्रो नाटक मञ्चन ग¥योे तर उसले पैसा लिएन । जबर्जस्ती दिइन् ती युवतीले, उसले जबर्जस्ती लिएन । लिँदै लिएन । उसले जहिले उनै दिदीसँग पैसा माग्थ्यो । यत्तिसम्म स्वाभिमान त लाग्यो, छोरीको कमाइ नखाने ।

बेलाबेला ती युवती मुन्टो फर्काउँथिन् र आँखा जुधाउँथिन् त्यो सिँढी चड्ने युवकसँग । र, हाउभाउले भन्थिन्, “शान्त होऊ न एकछिन ।”

उसको आँखामा रिस र अनुहारमा हतार थियो । केही तिरेर पनि केही नपाएजस्तो हतार थियो । मैले क्यामेरा निकालें । त्यो मन्दिरको फोटो खिच्ने निहुँमा लेन्सको बीचमा राखेर उसलाई हेरें । उसका ओंठ अतृप्त थिए र आत्मा असन्तुष्ट थियो— मरुभूमिको तिर्खा नमेटिएको उँटजस्तो । त्यही लेन्समा ती युवतीलाई हेर्दा उनी पनि छटपट देखिन्थिन्, आफ्नो ऋण चुक्ता गर्न । हतार उनको आँखामा पनि थियो । तर, त्यो सानो झगडाको मञ्चनले उनीहरूलाई अल्झाएको थियो ।

झगडा नै ‘सेन्ट्रल कन्फ्लिक्ट’ थियो त्यो सानो मञ्चनको । त्यसैले यो चलिरहनु आवश्यक थियो । पैसा नपाएपछि ऊ फर्केर त्यही रंगमञ्चमा जान्थ्यो र आफ्नो क्रिडा जारी राख्थ्यो । धेरै मान्छेलाई ऊबारे चासो नै थिएन । र, पनि उसले आफ्नो कला देखाइरहेको थियो । फेरि एकछिन रोकिन्थ्यो, सम्झिन्थ्यो र ढल्फलाउँदै आउँथ्यो, त्यै नाङ्लो पसलनिर ।

ऊ नाच्न गयो । ती युवतीले टाढैबाट त्यो व्यक्तिसँग केही छोटो वार्तालाप गर्न गइन् । म त्यो नाङ्लो पसलतिर गएँ चुरोट किन्न । म चुरोट नपिउने तर सिउरिने मान्छे । चुरोट किन्नु मेरो निहुँमात्र थियो । म उनीसँग छोटो कुरा गर्न चाहन्थें । नाङ्लो पसलले बोलायो ।

“दिदी चुरोट दिनुस् न !”

“लिनुस् ।”

“दिदीको बोली सुन्दा दिदी त काठमान्डूबाहिरको जस्तो लाग्यो ।”

“हो ।”

“दिदी कतातिरको ? म पनि काठमान्डूबाहिरकै हुँ ।”

“हामी रुकुमको ।”

“ए, म चैं गुल्मीको ।” 

कुरा अझै गर्नु मन छ । कसरी शुरु गर्ने होला ! १० रुप्पेको व्यापारका लागि यो कुरा काफी होइन र ? समय कति बर्बाद गर्दिनू !

“दिदी अर्को पनि चुरोट दिनुस् न, आखिर पछि किन्नु नै छ । दिदीकोमै किन्नु प¥यो ।”

“लिनुस् ।”

“अनि दिदीहरू कहिले काठमान्डू आउनुभएको नि ?”

“भयो १०–११ वर्ष । गाउँमा बस्नखान दिएनन्, ओत खोज्दै राजधानी आइयो ।”

“ए ।”

के राजधानीले ओत देला त ? मनको बह कसैलाई नकह भने पनि ठाउँ पाएपछि, समय आएपछि, कसैले कोट्याइदिएपछि बह यसरी बहन्छ । दिदीले धेरै कुरा बोलिन् । मेरो मानसपटलमा धेरै कुरा अट्दै अटेनन् । केही पंक्तिमात्र अटे¬, “रुकुममा बस्न दिएनन्, काठमान्डूले ओत दिन्छ कि ?” कुरो मेटियो ।

विस्थापित हुनु र शरण खोज्नु नै कसैको नियति हो । मलाई अब बल्ल ती दाइले पागलले झैं गर्ने, रंगमञ्चमा लर्खराउँदै गर्ने भावभंगिमा अर्थपूर्ण लाग्न थाले । अहिले उनी पागलजस्तै छन्, पियक्कड छन् । पहिला थिएनन् होला । मान्छे आफ्नै अस्तित्वबाट विस्थापित हुन रत्तिभर लाग्दैन । नयाँ जीवनको शुरुवात कठोर पो हुन्छ त !

यतिबेलासम्म ती छोरी त्यहाँ थिइनन् । शायद ऋण तिर्न गइन् । र, त्यो युवक पनि । थाकेरै होला— ती दाइ पनि म पहिला बसेको चौकोसभन्दा तलको कुनामा गुडुल्किएका थिए, घुरिरहेका थिए । मेरो नि चुरोटको निहुँको धूवाँ सकियो । धूवाँ गफ पनि । उता सुटिङ पनि सकिएछ क्यारे, मलाई मेरै नामका साथीले बोलाएको देखें । मैले यताबाट हात हल्लाएपछि उनी उतै अड्किए । ती दाइ सुतेको नजिकैबाट बाटो काट्दा उनको आडमा केही टल्केको वस्तु आँखामा प¥यो । निहालेर हेरें, नेमप्लेट रहेछ । लेखिएको थियो— सुवेदारः बलराम माझी । म अमुक भएँ, कस्तो खालको अन्त्य आजको नाटकको !

यो ‘क्लाइम्याक्स’सँगै पाटन रंगमञ्चको मैझारो भएजस्तो लाग्यो । साथी भएतिर लागें । कानमा सिउरिएको चुरोट निकालेर दिँदै भने, “चुरोट पिउनुहुन्छ ?”

उनी मन्द हाँसे ।

Twitter: @sarosegc

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC