विदेशमा रहेका नेपाली, खान्छन् सँधै गाली

लीला घिमिरे 

विदेशमा रहेका नेपाली, खान्छन् सँधै गाली

नेपालमा सबैभन्दा धेरै गाली खानेमा को पर्लान् ? नेता ।

त्यसपछि पत्रकार ।

अनि ?

डाक्टर ? वा ठेकेदार, वा कोही ?

हैन, नेपाली पत्रकारसँगै विनाकारण गाली खानेको सूचीमा विदेशिएका नेपाली पर्लान् । 

यस्तो अचम्म नेपाली समाजमा किन भइरहेको छ भन्ने समाज विज्ञानका अध्येतालाई थाहा होला ?

अचम्म किन भने, कुनै उचित कारण विनै पनि मजस्तै विदेशमा बसेर काम गर्ने, अध्ययनमा लागि परेका, व्यवसायमा लागेका वा कुनै सामजिक संस्थामा सक्रिय भएका हरेकले कुनै न कुनैरूपमा आफ्नै देशका मनिस र आपन्तबाटै गाली, घोचपेच, कटाक्ष, ईष्र्या र आलोचनाको बारम्बार सिकार हुनुपरेको छ । यसले कसैलाई कुनै फाइदा त पक्कै पुग्दैन ।

यस्तो गाली वा आलोचनाको सिकार हुनेको पनि दुई श्रेणी सृजना गरेको छ हाम्रो समाजले । खाडी मुलुकतर्फ विदेशिएका नेपाली र अलि विकसित युरोप र अमेरिका वा अस्ट्रेलियाका नेपाली ।  खाडी मुलुकमा विभिन्न कारणले पुगेका नेपालीले भने यस्तो गालीको मात्रा अलि कम खाने गरेका छन् । बरु सहानुभूति पाइरहेका हुन्छन् । विनाकारण अति धेरै सहानुभूति पाउनु पनि गाली खाएजस्तै त हो नि !

यसको कारण के हो भने हामी सन्तुलिन विचार प्रवाह गर्ने मामिलामा कमजोर छौँ । कि एकदमै सकारात्मक कि एकदमै नाकारात्मक । दुवै असवस्थ प्रवृत्ति हुन । यसले असल र अनुशासित समाजको विकासमा अवरोध खडा गर्छ । अनुशासनहीन समाजले आर्थिक र समाजिकरूपले उल्लेख्य सफलता प्राप्त गर्नै सक्तैन । 

नेपाल कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा रेमिट्यान्स भित्र्याउने देशमा  माथि नै पर्ला । यस्तो रेमिट्यान्समा खाडी मुलुकतर्फका नेपालीको हिस्सा उलेख्य रहने गरेको छ । यसको पनि आफ्नै सामाजिक कारण छन् । 

यहाँ विश्वव्यापीकरणले सिँगो विश्व नै साँगुरिँदै गएको वर्तमानमा कुनै एक देशको मानिस अर्को देशमा जानु, काम गर्नु, स्थायी वा अस्थायी रूपमा बसोबास गर्नु त एकदमै सामान्य मानिनु पर्ने हो । तर, हामी नेपालीले यति सामान्य कुरालाई पनि सहजरूपमा लिन नसकी विदेशमा गएर कुनै निश्चत समय बिताएकै कारणले कसैलाई पलायनवादी, अराष्ट्रवादी,  देशलाई माया नगर्ने वा धोका दिने देशद्रोहीसम्मका लाञ्छना लगाउनु विडम्बनै हो । 

आज नेपालमा विदेशमा स्थायी वा अस्थायीरूपमा कुनै सदस्य वा आफन्त नरहेको परिवार भेट्टाउन मुस्किल छ । जो जे बहानामा जहाँ गए पनि देश छोड्नु पर्दा सबैलाई नरमाइलो र देश फर्कदा खुसी लाग्छ ।   आँफूसँग नभएको, कोसिस गर्दा पनि पाउन नसकेको, पाएर पनि टिकाउन वा जतन गर्न नसकेको, कतिपय अवस्थामा कुनै एक स्थान विशेषमा उपलब्ध हुन नसकेका उपलब्धि, सफलता अर्को स्थानमा पुग्दा पाउने संभावना, आशाले व्यक्ति गतिशील हुने हो । यसका कारणमा, पैसा, खुसी, मनको शान्ति, स्वाभिमान, चाहना, सफलता सबै पर्छन् । पैसा नहुने पैसा कामाउन जान्छ, दुखी खुसी हुन, अशान्त शान्तिको खोजीमा, असफल सफलताको लागि विश्वका विभिन्न कुनामा भाँैतारिने हो । यसरी भौँतारिने प्रवृत्ति मनिसमा मात्रै होन जनावर र पशुपंक्षीमा पनि हुन्छ । 

अनि किन त विदेशमा भएका आफ्नालाई विभिन्न माध्यमबाट तथानाम गाली गर्ने ? के थाहा त्यताबाट गाली गर्न प्रयोग हुने मोबाइल, ल्यापटप, ट्याबलेट विदेश गएकै आफ्नो नजिकको कसैले पठाइदिएको पो हो कि ?  विदेशमा रहेकाले पैसा पठाए माया र नपठाउँदा गाली गर्ने प्रवृत्ति सही होइन । विदेशमा रहेका नेपालीले कुनै न कुनै माध्ययबाट आफ्नो देशलाई गुन लगाई रहेकै हुन्छन् । यत्ति हो त्यस्तो गुनलाई पैसासँग मात्रै तुलना गर्न मिल्दैन ।  

मेरो परिवारले म विदेशिएकै कारण आर्थिक उन्नति गरेको छ भने त्यो त खुसीको कुुरा हो । म विदेशिएर  विदेशमा दुःख गरेको थाहा पाएर, हरेक चाडवाड मविना मनाउनुपर्दाको नारमाइलोबाट सिकेर मेरो दाइ, दिदी, बैनी वा भाइले देशमै केही गर्नुपर्छ भन्ने ज्ञान पाउनु पनि उपलब्धि हो । मैले जानेका कुरा मेरो परिवारलाई सिकाउन सके र उनीहरूले सिके भने पनि त्यो उपलब्धि हो । मैले लाउन र खान जानेकै कारण मेरो परिवारले त्यो पनि जान्यो भने पनि त्यो उपलब्धि हो । म घुमेकै देखेर मेरा साथी प्नि घुम्न निस्किए भने पनि त्यो उपलब्धि हो । मैले जनेका सीप नेपालतर्फ हस्तान्तरण गर्न सके त्यो पनि उपलब्धि नै हो । आखिर सबै सहयोग पैसामा, सबै उपलब्धि आर्थिक उन्नतिमा, सबै सम्बन्ध पैसामा नै टिक्दैन भन्ने त हामीले सबैले बुझेकै हो । र, पनि ी किन विदेशमा रहेका आफ्नाप्रति यति धेरै घृणा ? 

अर्को, कुनै नेपाली विदेशको स्थायी वासिन्दा वा नागरिक बन्दैमा रोइलो किन गर्ने ? डीभी परेर विदेश जाँदासमेत ईष्र्या गर्छौँ हामी । किन बुझ्दैनौ यी सबै कागजका खोस्टा हुन् । जसरी प्रक्रिया मिलाएर लिन सकिन्छ त्यस्तै रीत मिलाएर त्याग्न पनि सकिन्छ । स्थायी बसोवास अनुमति पनि देशअनुसार निश्चित अवधिका लागि हुन्छन् । म्याद सकिए थप्नुपर्छ । यो पनि एउटा समान्य भिसा जस्तै हो । फरक के हो भने पीआर पाएकाले अन्यले भन्दा थप केही सुविधा पाउँछन्, छिटो छिटो भिसाको म्यादा थपिरहन पर्दैन जसले गर्दा आफ्नो देश आउन जान पनि सजिलो हुन्छ । नागरिकता पनि त्यस्तै हो । लिन पनि सकिन्छ, आवश्यक परे त्याग्न पनि । यति सामान्य कुरा मेरो देशका मानिसले नबुझेका होलान्जस्तो त लाग्दैन । बुझेर पनि बुझ पचाउपछि त कसैले केही गर्न सक्तैन । 

प्रवल गुरुङ देखेर मख्ख, शेष घले अर्बपति रे अस्ट्रेलियाको भनेर मख्ख, डा. धिताल नेपाली मूलका भनेर मख्ख, विडम्बना विदेशमै भए पनि जाबो एउटा पाँच वर्षसम्म बस्न मिल्ने भिसा लिएका हामीजस्ता नेपाली नागरिक चाँहि पलायनवादी ! दुखीमात्रै विदेश जाँदैन, गरिबमात्रै विदेश जाँदैन । विदेश जाने कुरालाई राष्ट्रप्रति अनादरको रूपमा पनि लिने होइन । विदेश जानु सबैको आआफना कारण छन् । बाध्यता पनि । नेपालमा होस् वा खाडीमा वा अमेरिकामा कसैको मृत्यु हुनु दुवै उत्तिकै पीडादायी क्षण हुन् । एउटालाई सहानुभूति अर्कोलाई खुच्चिङ् भन्नु त हुँदैन । नेपालमा गरे त्यही अपराधीलाई दण्ड विदेशमा गरे सहानुभूति यो पनि जरुरी छैन ।  

सन्तुलित धारणा सिर्जना र प्रवाह गर्ने कोसिस गरौँ । 

प्रतिकृया दिनुहोस