site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शाही शासकको इच्छा धेरै राजनीतिक नेतालाई थुनोस् भन्ने थियो
Sarbottam CementSarbottam Cement

उनी आफ्नो दृष्टिबिन्दुमा सधैं दृढ रहेको दाबी गर्छन् । आफूलाई जिम्मा लगाइएको कामलाई पूर्णता दिनु उनको कर्तव्य हुन्थ्यो । त्यसैले शाखाअधिकृत हुँदाको अवस्था होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएको स्थिति, उनले कामलाई नै महत्व दिए । कामप्रतिको अति लगनशीलताले नै उनलाई विवादको घेरामा पनि पुर्‍यायो । 

कृषि मन्त्रालयको सचिवसमेत रहेका सूर्यनाथ उपाध्याय (७५)ले पाँच वर्षे अवधि पुगेपछि अनिवार्य अवकाश पाए । त्यसपछि उनले दुई वर्ष कानून सम्बन्धी काम गरे ।

सही र सार्थक काम गर्न चाहने उपाध्यायलाई अख्तियारमा नियुक्त गरिने चर्चा चल्दै थियो । उनी अख्तियारमा जाने मनस्थितिमा थिएनन् । आफूले थालेको कानूनी कन्सल्टेन्सीको काममै उनी सक्रिय रहन चाहेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पुराना दिन सम्झिने इच्छा कसलाई हुँँदैन र ! उपाध्याय अपवाद थिएनन् । उनले भने, “मनस्थिति नभए पनि चर्चा चुलिँदै गएपछि मलाई लाग्यो, केही गर्नैपर्छ । यसमा दबाब त आउला । तर माने न दबाब आउने हो, नमान्दा दबाब आउने कुरै हुँदैन । मैले नमानेपछि मलाई जबरजस्ती कसले गराउन सक्छ ? मेरो नेचर पनि कडा नै थियो । त्यसैले पनि मलाई अख्तियार प्रमुखमा पुर्‍याइएको हो ।”

\"\"

Global Ime bank

उनले कसैको दबाब नसहने र आर्थिक शुभलाभका कुरामा चोखो रहने दृढ निश्चय गरे । यही निश्चयले उनलाई अख्तियारको प्रमुखमा सफल बनाएको थियो । उनलाई अख्तियारको स्टियरिङ सुम्पिएका थिए, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले । अनि यही दृढताले उनलाई त्यो पदमा छ वर्षसम्म काम गर्न सहज तुल्याएको थियो ।  

राजा ज्ञानेन्द्रको समयमा भने उनलाई केही तनाव भयो । शाही शासकहरुको इच्छा धेरै राजनीतिक नेतालाई थुनोस् भन्ने थियो । त्यसो त यस विषयमा उपाध्यायलाई कसैले स्पष्ट त भनेनन्, तर त्यस्तो ‘हिन्ट्स’ भने उनको कानसम्म पुग्यो । खरा स्वभावका उनले यस्ता कुरा टेरेनन् । फलतः शाही सरकारले भ्रष्टाचारीहरुको दोहोलो काढ्ने भन्दै एउटा शक्तिशाली निकाय गठन गर्ने चेष्टा गर्‍यो ‘शाही आयोग’ ।

त्यो आयोगले उपाध्यायमाथि पनि दबाब दियो । उनले आफूले दबाब नसहने बरु राजीनामा दिने आशय व्यक्त गरिदिए । त्यसपछि उनीसँग राजीनामा भने मागिएन ।

केही समयपछि शाही सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्‍यो । त्यसले तत्कालीन राजनीतिज्ञहरुको सम्पत्ति छानबिन गर्न थाल्यो । आयोगले अमुक व्यक्तिहरुको सम्पत्ति शंकास्पद छ, त्यसको छानबिन हुनुपर्छ भनेर प्रतिवेदन पठायो । त्यो प्रतिवेदन सरकारले अख्तियारमा पठायो र त्यसको कार्यान्वयन गर्न अख्तियारलाई अह्रायो । अख्तियारले कार्यान्वयन गर्नैपर्ने अवस्था सिर्जना भयो । त्यसमा धेरैको नाम थियो । उपाध्याय त्यो प्रसंग सम्झन्छन्, “त्यस प्रतिवेदनमा लेखिएका नामहरुमाथि छानबिन गर्नैपर्ने थियो । मैले कांग्रेस–कम्युनिस्ट भनेर छोड्ने कुरो पनि थिएन र पक्रन पनि सहज थिएन । त्यसैले मैले अख्तियारका साथीहरुलाई प्रतिवेदनअनुसार अनुसन्धान गरौं भनेँ ।”

उपाध्यायलाई जसले अख्तियारमा लग्यो, उसैमाथि छानबिन गरायो भन्ने आरोप पनि लाग्दै आएको छ । उनी यसलाई दुःखदायी कुरा मान्छन् । भन्छन्, “मलाई दुःख लागेको छ । त्यसोे नभएको भए हुन्थ्यो । सरकारले सोध भनेपछि सोध्नु त पर्‍यो नै ।”
उनका अनुसार त्यसबेला सारा ठूला पत्रिकाले लाउडाको कुरा समाचारमा व्यापक उठाइरहेका थिए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसादलाई कसैले छोडेका थिएनन् । हरेक दिन त्यस विषयको समाचारले पत्रिकाहरुमा प्राथमिकता पाउँथ्यो । त्योे अवस्थामा गिरिजाप्रसादलाई सोध्दै नसोधी छोड्न सकिँदैनथ्यो । उनले यसलाई आफ्नोे पदीय दायित्व माने । 

\"\"

उनी भन्छन्, “हो । गिरिजाप्रसाद कोइरालालाई सामान्य प्रश्न सोधिएको हो । उहाँलाई तपाईंको निर्णयको आडमा अरुले भ्रष्टाचार गरे । तपाईं सचेत हुनुस् है भन्नेसम्म भएको हो । र, यो निर्णय हामी पाँच जना (आयुक्तहरु) नै बसेर गरेका थियौं । अर्को कुरो, त्यस प्रतिवेदनमा कम्युनिस्टहरुकोे नामै थोरै थियो । अनि मैले के गर्ने त !”

शाही शासनकालमा उनलाई असाध्यै गाह्रो भयो । हरेक दिन तनाव भयो । यसै कारण पनि अख्तियार छोड्नु केही दिनअगाडि उनलाई हृदयाघात पनि भयो । तर जब उनले अख्तियार छोडे, आफू मुक्त भएको अनुभूत गरे ।  

०००

उपाध्याय वीरगन्जमा जन्मिए । जन्मिएपछि उनको टिप्पन बनेको थियो । त्यो हरायो । फेला परेन । त्यसैले उनको चिना बनेन । त्यसपछि उनको उमेर सर्टिफिकेटअनुसार भयो । उनका बाबुले स्कुल भर्ना गर्दा उमेर एक–दुई वर्ष घटाइदिए । चिनाटिपनले रोक्ने कुरो भएन । यसले उनलाई कुनै अप्ठेरो भएन । किनभने उनी उमेरभन्दा अगाडि नै सचिवबाट रिटायर्ड भए ।

उनका हजुरबुवा लमजुङबाट वीरगन्ज पुगेका थिए । हजुरबुवाले उनको बुवालाई पनि लिएर गएका थिए । यसरी वीरगन्ज पुगेका बाबु–छोरा दुवै  पण्डित्यार्इं गर्न थाले । उनको बाबुको सानै उमेरमा बिहे भएको थियो । उनकी आमा पनि वीरगन्जमै थिइन् । त्यही सूर्यनाथ र उनका भाइ–बहिनीहरुको जन्म भयो । बाबुले वीरगन्जमै घर बनाए । तर पनि लमजुङसँगको सम्पर्क टुटेको थिएन ।

उपाध्याय अचेल वीरगन्ज पुग्दा त्यहाँको माटोको सुगन्धमा भुल्छन् । वीरगन्जका साथीभाइसित गफिन्छन् । दसैंअगाडि पनि उनी एकदिन वीरगन्ज पुगे र साथीहरुसित रमाए । 

उनले बीरगन्जको माइस्थान मिडिल स्कुलबाट ७ कक्षा उत्तीर्ण गरे । त्रिजुद्ध हाइस्कुलबाट एसएलसी गरे । अनि ठाकुरराम क्याम्पसबाट बीए पास गरे । वीरगन्ज एउटा पुरानो सहर भएको उनी बताउँछन् । त्यहाँको बजार एकलाइनमात्रै थियो । पहिले घन्टाघरदेखि छपकैयासम्म थियो बजार । बस्ती पातलो थियो । वीरगन्जबाट अमलेखगन्जसम्म पुग्ने रेलमा यात्रा गरेको सम्झन्छन् उनी । त्यो बेला परवानीपुर, जीतपुर, आधाभार (पथलैयाको पुरानो नाम) हुँदै अमलेखगन्ज पुगिन्थ्यो । 

उनले त्रिजुद्ध हाइस्कुलमै सञ्चालन भएको कलेजमा आईए र बीए पढे । अहिलेको ठाकुरराम क्याम्पसको भवन थिएन । पहिले राति पढाइ हुन्थ्यो आइए र बीएको । बिहान स्कुलका हेडमास्टर कृष्णबहादुर मानन्धर बेलुकी कलेजका प्रिन्सिपल हुन्थे । 
उपाध्यायका अनुसार वीरगन्जमा भन्सार पहिलेदेखि नै थियो । त्यसैबेला पनि केही उद्योग स्थापित भइसकेका थिए । त्यसैले पनि वीरगन्ज व्यापारिक सहरका रुपमा विकसित हुँदै गएको थियो । 

उनी भन्छन्, “बोर्डरमा भन्सार भएकोले ब्ल्याक मार्केटिङ वीरगन्जमा त्यो बेला पनि हुन्थ्यो । त्यसैले पनि व्यापारीहरु बढ्दै गएका थिए । भन्सार छलेर सामान ल्याएर बेच्न सुरु भइसकेको थियो । त्यसो त वीरगन्जमा कृषि पेशामा लागेका मानिस पनि थिए । सयौं बिघा जमिन हुने जमिनदारहरु पनि नभएका होइनन् । तर व्यापार मौलाउँदो थियो विरगन्जमा ।” 

\"\"

०००

वीरगन्जबाट बीए पास गर्दासम्म पनि उपाध्याय र उनका सहपाठीहरुले ऐच्छिक नेपाली लिएर पढ्नुपर्‍यो । अधिकांशः हिन्दी विषयका पुस्तक नै पढाइन्थ्यो कलेजमा पनि । 

उनी सम्झन्छन्, “हामीले विद्रोह गरेरै ऐच्छिक रुपमा भए पनि नेपाली पढने वातावरण बनाएका हौं । हैन भने त अंग्रेजी विषयबाहेक अरु सबै हिन्दीमा पढ्नुपर्थ्यो । हामी त घरमा नेपाली, बाहिर भोजपुरी र स्कुल–कलेजमा हिन्दी बोलेर हुर्किएका हौं ।”
ऐच्छिक संस्कृत पनि पढेका उपाध्यायले स्कूल पढ्दा नै रिजाल थरका एक सहपाठीसँग मित लगाए । उनका मित काठमाडौं पनि आए । अहिले उनी अमेरिका छन् । बेलाबखत मितमितको आउजाउ चलिरहन्छ ।

अचेल मित लगाउने प्रचलन हराउँदै गएको छ । जबकि उनको घरमा पूजापाठ गरेर देउतालाई साक्षी राखेर मित लगाइएको थियो । उनी भन्छन्, ‘यो हाम्री आमाहरुको रहर थियोे । हामीले मित लगायौं । मितेरी वाचा पनि पूरा गरेका छौं । तर अचेल यो प्रचलन सायद हराउँदै गएको छ ।’ एउटा पुरानो चलन छ, मितको नाम लिनुँहुँदैन भनिन्छ । उपाध्यायले मितको नाम लिएनन् । 

०००

उनले २१ सालमा बीए पास गरे । अब उनको वीरगन्जमा काम थिएन । शिक्षक भएर बस्न सकिन्थ्यो । तर उनलाई त्यो रहर भएन । उनी आफ्ना मितसँग काठमाडौं उक्लिए । काठमाडौं आएपछि उनले बीएल (कानुन) पढ्न थाले बेलुकीको क्लासमा । दिउँसो सानोतिनो जागिर समाए । 

उनका काका कहिलेकाहीँ बीरगन्ज आउँथे । बीएलको जाँच दिएपछि उनले काका सम्झिए । त्यसपछि काकासँग भेट्न र आफ्नो पुर्ख्याैली गाउँ हेर्न भनेरै उनी लमजुङ पुगे । त्यो बेला पालुङटारसम्म प्लेन जान्थ्यो । त्यहाँबाट हिँडेर लमजुङ पुगेको उनलाई अहिले पनि ताजै लाग्छ । यसरी उनी काकाको नाम सोध्दै पुगे । केही समय बसे पनि ।

त्यसैबेला त्यहाँ स्कूल खोल्न लागिएको रहेछ । कसैले भनेछन्, पण्डितको भतिजो बीए पास गरेर आएको छ भनेर । त्यसबेला उनले अंग्रेजी ग्रामरका केही टेक्स्ट बुकहरु लेखिसकेको थिए । सायद त्यताका विद्यार्थीले पढेका पनि थिए ।

त्यसैले उनलाई हेडमास्टर हुने प्रस्ताव आयो । उनले काकालाई सोधे र हुन्छ भने । उनी भन्छन्, “भर्खर २२ वर्ष पुगेको मलाई रमाइलो लाग्यो । म त्यहीँ हेडमास्टर भएर बसेँ र पढाएँ । यसरी दुई वर्षै पो बसिएछ । त्यसैबेला मैले रामशरण महतलाई पनि शिक्षकका रुपमा त्यहाँ लगेको थिएँ । उनी बीएको जाँच दिएर त्यसै बसेका थिए । एकजनाले उनीसित परिचय गराइदिएपछि उनलाई पनि लिएर लमजुङ गएँ ।”

त्यो समयमा स्कूल स्थापना गर्दा टौवाको मुनि पढाइ हुने गरेको उनी सम्झिँदै थिए । टौवाको मचानमाथि पराल राखिएको हुन्थ्यो । त्यही मचानमुनि पढाइ हुन्थ्यो । 

हेडमास्टर भएर दुई वर्ष बिताएपछि उनलाई लाग्यो, अब अरु कुनै काम थाल्नुपर्छ । यसबीचमा उनको कानूनको नतिजा आइसकेको थियो । उनी वकालत गर्नै भनेर काठमाडौं आए । वकिलको लाइसेन्स लिए । केही समय वकालत पनि गरे । तर यसमा पनि उनको मन रमेन । उनी भन्छन्, “एक वर्ष वकालत गरेपछि त्यो काम गर्न मन लागेन । खै किन लागेन लागेन । मैले जागिर खाने मन बनाएँ र लोकसेवाको जाँच दिएँ ।”

०००

उनी शाखा अधिकृतमा पास भए । कानून मन्त्रालयमा उनको नियुक्ति भयो । त्यसपछि जिन्दगी एउटा लिकमा गुडेको उनलाई लाग्छ । जीवनले लाइन पक्डियोे । उनी आफूलाई जिम्मा दिएको काममा व्यस्त भए । उनको बाबुको रहर थियो छोरो न्यायाधीश भइदिए हुन्थ्यो भन्ने । तर उनलाई न्यायाधीश हुने रहर भएन ।

उनी कानुन मन्त्रालयको अन्तर्राष्ट्रिय शाखामा कार्यरत थिए । कुनै पनि काम गर्दा दत्तचित्त भएर लाग्ने मानिस थिए उनी । त्यसैले उनले सधैं कामलाई नै महत्व दिए । त्यसैले शाखा अधिकृत हुँदा पनि उनले आफूलाई तोकिएको काम सिध्याउनमै ध्यान दिए । त्यसका लागि कहिलेकाहीँ कडा पनि भए । उनी भन्छन्, “सायद त्यसैले पनि मलाई कडा वा खरो भनेका होलान् । तर त्यो मेरो कामप्रतिको डेडिकेसन हो ।” 

सचिव–सहसचिवहरु उनीप्रति सकारात्मक थिए । यो काम गर्ने केटो हो भन्ने थियो । उपाध्यायलाई भने विदेशमा गएर एक पटक पढ्न पाए हुन्थ्यो भन्ने थियो । त्यसैले पनि उनले काम गर्दा काममा मात्रै ध्यान दिए । उनको कर्मशीलताले नै उनलाई पहिलो पटक २१ दिने तालिमका लागि बैंकक पुर्‍याएको थियो । त्यसैबेला उनले पहिलो पटक जेट चढेका थिए । विदेश देखेका थिए ।

\"\"

उनले काठमाडौंको त्यो समय सम्झिए । भन्छन्, “काठमाडौंमा डेरा लिएर बसेको थिएँ । कुल ४ सय रुपैयाँ तलब थियो । ४० रुपैयाँ सञ्चयकोष काटेपछि ३ सय ६० हात पथ्र्यो । त्यति पैसाले खर्च पुर्‍याउनुपर्थ्यो । घरपरिवार यतै थिए । धान्न कठिन थियो । त्यसैले सहजताका लागि मैले ट्युसन पढाउन थालेँ । कहिले लोकसेवा आयोगका नोट्सहरु लेखेँ । त्यसका अतिरिक्त नेपालीबाट अंग्रेजी र अंग्रेजीबाट नेपालीमा अनुवाद पनि गर्न थालेँ । यसरी मेरो आर्जन बढ्दै गयो ।”

उनी अन्तर्राष्ट्रिय शाखामा भएकोले पनि कतिपय अवस्थामा विदेश गइरहनुपर्थ्यो । सम्झौता गरिँदा कानूनको राय खोजिन्थ्यो । मन्त्रालयको अन्तर्राष्ट्रिय शाखाले राय दिनुपर्थ्यो ।

शाखा अधिकृत भएको ५ वर्षपछि उनी जाँच दिएर उपसचिव भए । त्यसको ५ वर्षपछि सहसचिव । सहसचिव भएपछि उनको सरुवा जलस्रोत मन्त्रालयअन्तर्गतको जल तथा शक्ति आयोगमा भयो । त्यहा पनि कानून नै हेर्नेगरी दरबन्दी थपिएको थियो । त्यहाँ उनले ९ वर्ष बिताए । 

एउटा प्रसंग यसरी सम्झे उनले, “म ०४० सालमा सहसचिव भएको थिएँ । ९ वर्षसम्म मेरो बढुवा भएको थिएन । ०४९ सालमा म कामले विदेश गएको थिएँ । यहाँ भने ठूलो परिवर्तन भयो । त्यसबेला धेरै कर्मचारीलाई अवकाश दिइयो, ३० वर्षको कार्य समय भन्दै । त्यसैबेला म अचानक कामु सचिव बनाइएँ जलस्रोत मन्त्रालयको । म न्याय सेवाको मानिस प्रशासनतर्फ सारिएर कायममुकायम सचिव बनाइएको थियो ।”

पछि उनी कन्फर्म सचिव भए । तीन वर्षपछि उनको सरुवा वातावारण मन्त्रालयमा भयो । त्यहाँ केही समय बसे । केही समय उद्योग वाणिज्य मन्त्रालय पनि पुगे । रिटायर्ड हुने बेलामा उनी कृषि मन्त्रालयमा सचिव थिए, जहाँ उनले २२ महिना बिताएका थिए ।

उनी भन्छन्, “जागिर मेरा लागि फाप नै रह्यो । समयमा नै उपसचिव भएँ केही अबेला भए पनि सचिव भएँ । ०४७ सालमा राजाले संविधान बनाउने आयोगकको सचिव पनि बनाइदिए । मेरो करियरका लागि उक्त जिम्मेवारी सधैं राम्रो नै रह्यो ।”

लामो समय विभिन्न मन्त्रालयमा जिम्मेवारीमा बसे पनि उनको कुनै पनि मन्त्रीहरु विवाद भएन । उनको कुरो पनि बाझिएन । उनले मन्त्रीहरुलाई सम्झाएरै काम गरे । उनी भन्छन्, “मन्त्रीको धारणा के हुन्छ भने मैले काम पनि गर्न पाउँ तर आक्षेप पनि नआओस । मलाई विवादमा नतानियोस् । मैले पनि गर्नुनपर्ने कामलाई कहिल्यै महत्व दिइनँ ।”

तस्बिरः साैरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०७५  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC