Skip Advt.

विचार

हत्यारा राजनीतिज्ञ

जेफ्री डी साख

हत्यारा राजनीतिज्ञ

सन् ११७० मा केन्टबरीका आर्कविसप थोमस बेकेटको हत्याका लागि उक्साउनुपूर्व हेनरी द्वितीयले सोधेका थिए – ‘‘यो कचकचे पादरीबाट मलाई कसैले छुटकारा दिँदैन ?’’  हावर्डका ठूला समाजशास्त्री पिटिरिम सोरोकिन र वाल्टर लुन्डनले ‘पावर एन्ड मोरालिटी’ मा अभिलेखन गरेको विस्तृत तथ्यांकमा देखाइएकअनुसार युगौंसम्म राजा र युवराजहरू दुनियाँभर नै हत्यारा वा हत्याराका सहयोगी भएका छन् । तिनको मुख्य निष्कर्ष के छ भने शासितहरूभन्दा शासकहरूको व्यवहार बढी अपराधी र अनैतिक हुन्छ ।

शासकहरूले हत्या गर्न चाहे भने धेरैजसो इन्कार गर्न सकिनेगरी गर्छन् । तर, साउदी पत्रकार जमाल खसोगीको उनैको सरकारले गरेको हत्या, बेलायतमा पूर्व रुसी गुप्तचरलाई प्रयोग गरिएको विष र चीनमा इन्टरपोलका प्रमुख मेङ होङवेइ मारिएको हल्ला हेर्दा पहिले पहिलेभन्दा अहिले रहस्यको पर्दा खुल्दै गएको देखिएको छ । रियाद, मस्को र बेइजिङमा राजनीतिक नेतृत्व आफ्नो बर्बर शैली लुकाउनका लागि छटपटाएको छ ।

यसमा कोही पनि आत्मरतिमा रमाउन भने हुँदैन । अमेरिकी राष्ट्रपतिहरूको हत्याको लामो इतिहास छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खासै मतलब नभए पनि उनका आदर्श पूर्ववर्ती एन्ड्य्रु ज्याक्सन त्रूmर हत्यारा, दासका मालिक र आदिवासी अमेरिकीहरूको जाति संहारकर्ता थिए । ह्यारी ट्यु्रम्यानका हकमा हिरोसिमामा आणविक बम प्रहार गरेर जापानमाथिको आक्रमणको ठूलो खर्च जोगाए भनिन्छ । तर, नागासाकीमा गरिएको दोस्रो अणुबम प्रहार कुनै पनि अवस्थामा उचित ठहर गर्न सकिँदैन । यसै पनि दोस्रो बम ट्युम्यानको विशेष आदेशविना कर्मचारी तहबाटै हानिएको थियो । 

सन् १९४७ देखि भने सीआईएले राष्ट्रपतिको गोप्य सेना र यदाकदा हत्यारा दस्ताका रूपमा काम गरेर तिनले गर्ने गोप्य हत्यालाई इन्कार गर्न पनि सजिलो बनाइदियो । सीआईए संसारका सबै भागमा हत्या र उपद्रोमा एउटा पक्ष भएको छ र यसका अनगिन्ती हत्याहरूका लागि भने छानबिन गरिएको वा उत्तरदायी बनाइएको छैन । हुनत प्रमाणित भएको छैन तर सीआईएले नै संयुक्त राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डको हत्या गरेको हुनसक्छ । सीआईए सन् १९७५ मा अमेरिकी सिनेटमा फ्य्रांक चर्चको नेतृत्वमा भएको सुनवाइमा मात्र सार्वजनिकरूपमाकठघरामा उभ्याइएको थियो । त्यसपछि पनि सीआईएले आफ्नो हिंसात्मक र हत्यारा नीति अपनाउँदै आएको छ तर यसले वा यसलाई अख्तियारी दिने राष्ट्रपतिले आफ्ना त्यस्ता कामका लागि उत्तरदायी हुनपरेको छैन ।

राष्ट्रपतिहरूबाट भएको कतिपय नरसंहारमा परम्परागत सेनाको संलग्नता रहेको छ । लिन्डन जोन्सनले टन्किनको खाडीमा उत्तर भियतनामले आक्रमण गरेको बहाना बनाएर भियतनाममा सैनिक कारबाही बढाएका थिए । तर टन्निको खाडीमा आक्रमण भने कहिल्यै भएको थिएन । सोभियत संघलाई आफू जे पनि गर्न सक्छु भनेर थर्काउनका लागि रिचर्ड निक्सनले जोन्सनभन्दा पनि अगाडि बढेर भियतनाम, कम्बोडिया र लाओसमा जथाभावी बमबारी गरे । ( आफूलाई विवेकहीन सन्काहा देखाउन उनले अपनाएको ‘म्याडम्यान थ्योरी’ नै उनको पागलपनको प्रमाण हो ।) अन्ततः जोन्सन र निक्सनको अमेरिकी युद्धले इन्डोचाइनामा लाखौं निर्दोष व्यक्तिको ज्यान लियो । यसको वास्तविक गणना भएन बरु उल्टो भयो । त्यसपछिका अमेरिकी सेनाले गरेको नरसंहारमा पनि त्यही उदाहरण पछ्याइयो । 

जर्ज डब्लु बुसका पालामा इराकमा भएको नरसंहारका बारेमा धेरै थाहा पाइयो । अमेरिकी नेतृत्वको यो युद्ध नै टेलिभिजनका लागि जो प्रायोजित थियो । कथित सभ्य मुलुक अर्को मुलुकको सरकारलाई अपदस्थ गर्न झुटो बहानामा ‘थर्काउने र आतंकित पार्ने’ शैलीमा प्रस्तुत भयो । परिणामस्वरूप लाखौं इराकी नागरिकको ज्यान गयो ।

अपेक्षाकृत नरम नीति अपनाएको भन्दै दक्षिणपन्थीहरूबाट व्यापक आलोचना गरिएका बाराक ओबामाका पालामा पनि मारिनेहरूको संख्या सानो छैन । उनको प्रशासनले पटकपटक द्रोण आक्रमणलाई अनुमति दिँदा त्यसबाट आतंककारीमात्र हैन निर्दोष नागरिकहरू र अमेरिकाको मुस्लिम मुलुकमा भएको रक्तरञ्जित युद्धको विरोध गर्ने अमेरिकी नागरिकसमेत मारिए । उनले सिरियाली सरकारलाई अपदस्थ गर्न साउदी अरेयिबासँग मिलेर का मगर्न सीआईएलाई अनुमति दिने राष्ट्रपतीय आदेशमा हस्ताक्षर गरे । द न्यु योर्क टाइम्सका पानामा सामान्य चर्चामात्र भएको त्यस गोप्य कारबाहीले अहिलेको गृहयुद्ध मच्चायो र लाखौं गैरसैनिक नागरिकको ज्यान लियो भने करोडौंलाई विस्थापित बनायो । उनले लिबियाका मोअम्मर अल गदाफीलाई सत्ताबाट हटाउन नेटोको हवाई आक्रमण गराए । फलस्वरूप, लिबिया असफल राज्य भयो भने अहिलेसम्म हिंसा थामिएको छैन ।  

ट्रम्पकै कार्यकालमा कांग्रेसको वा सार्वजनिक निगरानीविना बम र आधुनिक हतियार विक्री गरेर साउदी अरेबियालाई यमनमा बालबालिकालगायत नरसंहार गर्न मद्दत गरिएको छ । अचेल सञ्चार माध्यमले थाहा नपाएको हत्या त हत्या नै मानिदैन । 

खसोगी हत्याकाण्डको खुलासा हुँदै जाँदा हामी संसारको यथार्थ रूप देख्दैछौँ । वासिङटन टाइम्सका एक जना स्तम्भकारको अमेरिकाको निकट ‘सहयोगी’का हातबाट बर्बर हत्या भएको छ । अमेरिकी – इजरायली – साउदी अरेबियाले इरान विश्व आतंकवादको केन्द्र हो भन्ने भ्रम फैलाउँछन् तर तथ्यांकले यो प्रचारवाजीलाई पुष्टि गर्दैनन् । अहिले खसोगीको भयावह हत्याको खुलासाले यसलाई केही समयका लागि चुनौती दिएको छ । खसोगीको हत्याको आदेश दिएको शंका गरिएका युवराज मोहम्मद बिन सलमानलाई नै घटनाको ‘अनुसन्धान’ को जिम्मा दिइएको छ । साउदी अरेबियाका केही वरिष्ठ अधिकारी र निरन्तर झुटमा पारंगत ट्रम्पका चाटुकारहरू यस हत्याकाण्डका सम्बन्धमा निरन्तर झुट फैलाइरहेका छन् । 

केही सरकारी र व्यावसायिक नेतृत्वले साउदी अरेयिबा भ्रमण स्थगित गरेका छन् । यो तामझामपूर्ण सम्मेलनमा सहभागी नहुने घोषणा गर्नेहरूमा अमेरिकाका सैनिक औद्योगिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू, वाल स्ट्रिटका बैंकरहरू, प्रमुख मिडिया कम्पनीका कार्यकारी प्रमुखहरू, एअरबसको प्रतिरक्षा प्रमुखजस्ता सैनिक सामग्री निर्माणका ठेकेदार कम्पनीका उच्च अधिकृतहरूलगायत छन् । 

अमेरिकाले संवैधानिक लोकतन्त्र भएकोमा गर्व गर्छ तर विदेश नीतिमा मामिलामा भने राष्ट्रपतिहरू तानाशाहहरूभन्दा खासै फरक हुँदैनन् । ट्रम्पले हालै संसद्सँग सल्लाहै नगरी ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स ट्रिटी’ नामक आणविक सन्धिबाट अमेरिकालाई बाहिर निकाले । 

राजनीतिशास्त्रीहरू यी परिकल्पनाहरूको परीक्षण गर्नुपर्छ ः संसद् र संसदीय प्रधानमन्त्रीहरूका तुलनामा अमेरिकाको जस्तो राष्ट्रपतिय पद्धति वा साउदी अरेबियाजस्तो असंवैधानिक राजाहरू हत्याको राजनीतिमा बढी संलग्न हुन्छन् । संसद्ले नियन्त्रणको सुनिश्चित गर्दैन तर अमेरिका र साउदी अरेबियाको जस्तो एक जनाको विदेश नीतिमा भने व्यापक रक्तपात हुने निश्चित छ ।  

खसोगीको हत्याबाट अमेरिकीहरू आतंकित भएका छन् । तर, उनीहरूकै सरकारको हत्यारा नीति भने खासै फरक छैन । राज्य संरक्षित हत्या जताततै हुन्छ भन्दैमा हत्याको औचित्य सिद्ध हुनसक्तैन । बरु, यसविरुद्ध स्पष्ट संवैधानिक प्रावधान र संयुक्त राष्ट्रसंघीय बडापत्र र मानव अधिकारको विश्वव्यापी घोषणाजस्ता अन्तर्राष्ट्रिय कानुन लागु गर्नेे व्यवस्था गर्नु विवेकपूर्ण हुन्छ । अहिलेको दुनियाँमा हामी सबैको यस्तै अन्त्य हुने खतरा व्यापक रहेका बेला सुरक्षा र जीवनका लागि आशाको आधार यहीमात्र हो ।  

(कोलम्बिया विश्वविद्यालयमा दिगो विकासका प्राध्यापक )

(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copyright: Project Syndicate, 2018.
 

तपाईंको मत