site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सात दिनभित्र २ करोड नतिरे सौर्यको उडान रोकिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सलाई सबै बक्यौता चुक्ता गर्न सात दिनको म्याद दिएको छ । तोकिएको म्यादभित्र  चुक्ता नगरे सौर्यका उडान दैनिक एकदेखि डेढ घन्टाका दरले रोक्दै जाने विमानस्थल व्यवस्थापनले चेतावनी दिएको छ । 

विमानस्थल व्यवस्थापनका अनुसार सौर्यले अझै करिब २ करोड रुपैयाँ बक्यौता चुक्ता गर्न बाँकी छ । झन्डै एक वर्षदेखिको यो बक्यौता चुक्ता गर्न ताकेता गरिए पनि सौर्यले आलटाल गर्दै आएको छ ।

“बक्यौता चुक्ता गर्न सौर्यलाई धेरै पटक आग्रह गरिसक्यौं तर उसले आलटाल गर्दै आएको छ,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मंगलबार बाह्रखरीसँग भने, “त्यही भएर अहिलेलाई सात दिनको म्याद दिएर उसका उडान विस्तारै रोक्दै जाने चेतावनी दिएका हौं ।”

Agni Group

क्षेत्रीका अनुसार एक साताभित्र सम्पूर्ण बक्यौता नतिरे सौर्यका उडान दैनिक एकदेखि डेढ घन्टाका दरले रोक्दै लगिने छ । जबससम्म बक्यौता चुक्ता हुँदैन तबसम्म उडान रोक्ने समय बढाउँदै लैजाने र अन्तिममा सम्पूर्ण उडान पूर्णरूपमा रोक्का गरिने छ । 

विमानस्थलका अनुसार २०७४ यता सौर्यको बक्यौता करिब ४ करोडहाराहारी थियो । बारम्बारको ताकेतापछि उसले किस्ता–किस्तामा गरी १ करोड ७० लाख रुपैयाँ तिरे पनि अझै करिब २ करोड बाँकी राखेको छ । त्यसपछि पुनः ताकेता गरे पनि रकम चुक्ता गरेको छैन ।
“अबको एक साताभित्र २० देखि २५ लाख रुपैयाँ चुक्ता गर्‍यो भने सौर्यका उडानलाई हामी आरामसँग हुन दिन्छौं,” महाप्रबन्धक क्षेत्रीले भने, “तर, विगतमा जस्तै आलटाल गर्न थाल्यो भने हामी कडा कारबाहीमा उत्रिने छौं ।”

Global Ime bank

त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत सेवा उपयोग गरेवापत सौर्यले उक्त परिमाणबराबरको रकम चुक्ता गर्न बाँकी रहेको छ ।

‘विमानस्थल सेवा शुल्क नियमावली २०६७’ को नियम ३० मा ‘कुनै पनि वायुसेवा वा अन्य कम्पनीबाट ६० दिनभित्र बक्यौता शुल्क उठेन भने सम्बद्ध वायुसेवाको उडानमा रोक लगाउन र अन्य कम्पनीको कारोबार रोक्का गर्नसक्ने अधिकार विमानस्थल प्रमुखलाई हुने’ उल्लेख छ । यही नियमावलीको नियम २९ मा भने ‘विमानस्थलमा तोकिएको शुल्क उठाउने जिम्मेवारी सम्बन्धित विमानस्थल प्रमुखको हुने’ उल्लेख छ ।

२०७१ भदौ पहिलो साता २५ करोड रुपैयाँ लगानीमा सौर्य स्थापना भएको थियो । कम्पनीले क्यानडास्थित जहाज निर्माता कम्पनी बम्बार्डियरमा उत्पादित ५० सिट क्षमतायुक्त ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) सिरिजको जहाज  एकथान ल्याएपछि त्यही वर्ष मंसिर १ बाट नियमित व्यापारिक उडान सुरु गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० साउन तेस्रो साता मुलुकका प्रमुख सहरहरूमा उडान गर्ने गरी सौर्यलाई उडान अनुमति दिएको थियो । सौर्यले पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा वा अन्य सहरी गन्तव्यमा आधार गर्न पाउने गरी अनुमति पाएको थियो । सौर्यले सुरुमा ३४ सिट क्षमताको ‘डोर्नियर–३२८’ सिरिज एउटा र ३५ सिटे ‘एसएबी–३४०बी’ सिरिजको एउटा जहाजबाट उडान गर्ने योजना बनाएको थियो । 

सौर्यले मुलुकको आन्तरिक उडान इतिहासमै ‘पहिलो पटक’ जेट इन्जिनयुक्त जहाज प्रयोग गरेको थियो । उसले २०७३ फागुन अन्तिम साता दोस्रो सिआरजे–२०० सिरिजको जहाज ल्याएको थियो । 

त्यसयता निरन्तर दुई जहाजबाट नियमित उडान गरिरहेको सौर्यको हाल एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छ । एउटा जहाजबाट सीमित गन्तव्यमा सेवा दिइरहेको सौर्यलाई दुई महिनाअघि गैरआवासीय नेपाली श्याम अधिकारीलगायतको समूहले करिब ६७ करोड रुपैयाँमा खरिद गरेको थियो । लामो समय घाटामा सञ्चालन भएपछि पुरानो व्यवस्थापनले कम्पनी अधिकारीको समूहलाई बिक्री गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC