site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
ननिदाई देखिएको सपना

औरही नगरपालिकास्थित साहित्यकार मनु ब्राजाकीको घर 


मैतीदेवी मन्दिरतर्फ मोडिने मनस्थितिमा थिएँ । हठात् मन परिवर्तन भयो । मनले अह्रायो– देवीको मन्दिर हैन साहित्यको मन्दिर दर्शन गर्न जा । त्यहीँ गएर घुँडा टेक् ।
मनको आदेश मान्दै डिल्लीबजार पीपलबोटतिर लम्किएँ । मनमा उमंग छायो । त्यसैले बाटोको दूरी पनि छोटो लाग्यो । अनुभूत गरिरहेको थिएँ, मेरा पाउ भुइँमा छैनन् । शीमलको भुवासरी ती उडिरहेका छन् ।
कतिबेला पीपलबोटबाट दाहिने मोडिएँ हेक्कै भएन । म सफा, चम्किलो कालोपत्रे सडकमा हिँडिरहेको छु, अलिक छेउ लागेर । सडकमा मसँगै मजस्ता सयौं मानिसको आउजाउ थियो । त्यही भीडमा मिसिँदै डिल्लीबजारस्थित एउटा विशाल मन्दिरमा प्रवेश गरेँ । त्यो साहित्यको मन्दिर थियो ।
त्यो विशाल मन्दिर परिसरमा सयौं अनुहार देखिए । परिचित–अपरिचित सबै किसिमको अनुहार थिए त्यहाँ । मन्दिर परिसरको टुँडालमा कलात्मक अक्षरमा लेखिएको थियो– ‘महाकवि देवकोटा आश्रम’ ।
भवनको ढोकाको दुवैछेउ पर्खालभरिको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पोट्रेट टाँगिएको छ । मुलुककै विख्यात चित्रकारले कोरेका हुन् ती चित्रहरु ।
परिसरमा पस्दा नै नतमस्तक भएँ । आश्रमको मूलद्वारमा दण्डवत् गरेँ । नेपाली साहित्य जगत्का ‘सूर्य’ महाकविको जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर मिलेको छ, यहाँ आएर । 
भित्र पस्दा तोकिएको दरको टिकट लिएको छु, जहाँ महाकविको जीवनलाई नियाल्ने चेष्टा गर्दैछु । भित्र पस्दापस्दै लाग्यो, आश्रमका हरेक कोठाचोटा तेजपूर्ण छन् । कुनै कोठा उनका शयन कक्ष बनेका छन् भने कुनै उनको भेटघाट कक्ष । कुनै कोठा उनको लेखन कक्ष बनेको छ त कुनै पुस्तकालय । 
उनको लेखनशैलीको सानासाना तौरतरिकादेखि उनले पिएका अनगिन्ती चुरोटका ठुटाहरु एस्ट्रेहरुमा साबुत छ । यस्तो लाग्छ, महाकविले चुरोट भरखरै निभाएका हुन्, कुनै कविता कोरिसकेर ।
जब उनको लेखन कक्षमा भित्रिएँ, उनले लेख्नका लागि प्रयोग गर्ने टेबुलले तान्यो । टेबुलनजिक पुगेँ । हातले हल्का सुमसुम्याएँ । डर लाग्यो, दाग पो लाग्छ कि भनेर ! दाग लागेर बिग्रिन्छ कि सय वर्षअगाडिको फर्निचर ? आफैलाई सोधेँ । टेबुल स्पर्श गर्दा एक किसिमको ऊर्जा मिलेको अनुभव भयो । 
आश्रमको हरेक कक्षमा महाकवि देखिए, भेटिए र अनुभूत भए । उनका सानाठूला सबै कृति शिशाको दराजमा सजिएका छन् । अर्को कोठामा उनका कृतिहरुको माइक्रोफिल्म जतनका साथ राखिएका छन् । 
एउटा अर्को कोठामा महाकविमाथि लेखिएका पत्र, कार्यपत्र, अनुसन्धान पत्र र विद्यावारिधिका थेसिस तथा अनुसन्धानपत्रहरु चिटिक्क पारेर राखिएका छन् । त्यसमा अझै थपिने क्रम जारी नै छ । कैयन् थेसिसका चाङलाई नम्बरिङ गरेर वर्णानुक्रमअनुरुप दराजमा सजाउन बाँकी नै छ । त्यसका लागि आश्रमका कर्मचारी खटिएका छन् ।
अर्को एउटा कोठामा महाकविका कृति र उनीमाथि बनेका चलचित्र, वृत्तचित्र तथा लघुचलचित्रहरु राखिएका छन् । त्यहीँ नै छ महाकविको चर्चित सांगीतिक नाट्य कृति ‘मुना मदन’को भिडियो रेकर्डिङ ।  
महाकविका कविताका हरफहरुले हरेक भित्तो सजिएका त छन् नै, सँगै छन् महाकविलाई कुची र रंगमा उतारिएका अनेकौं चित्र ।    
यसरी महाकविको जीवनसँग जोडिएका अनेक विषयसित परिचित हुने अवसर मिलेको छ मलाई यतिखेर । म आफूलाई भाग्यमानी सम्झिरहेको छु । यस्ता धेरै भाग्यमानीहरु त्यहाँ छन् । त्यसमध्येको एउटा म पनि हुँ । 
सबैतिरको दर्शन गर्दै म मूलथलोमा पुगेँ । महाकविको विशाल सालिक खडा छ त्यहाँ । सालिकको दर्शन गर्दा मन प्रफुल्ल भयो । महसुस गरेँ, मैतिदेवी मन्दिर नगएर यता आएको विशेष उपलब्धिपूर्ण रह्यो ।
मनमष्तिष्कमा महाकविलाई बोकेर उनको आश्रमबाहिर निस्किएँ । सम्झिएँ नजिकैको ज्ञानेश्वर । नाटककार बालकृष्ण सम । उनको मन्दिर । नाट्य एवम् दर्शनकलाले भरिएको उनको मन्दिर दर्शन गर्ने चाहना तीव्र भएर गयो ।
हठात् यात्रा रोकियो । भ्रममा थिएँ म । एउटा भ्रमपूर्ण सपना देख्दै थिएँ यतिखेर । सम्साँझै देखिएको सपनामा महाकविको जीवन थियो । यथार्थमा, म उभिएको थिएँ, नेपाली कथा क्षेत्रका कुशलशिल्पी मनु ब्राजाकीको टायलको छानो भएको घरअघिल्तिर । महोत्तरीको नितान्त ग्रामीण भेग औरहीमा ।
मभित्रको ‘म’ले भन्यो, सम्झाँझै सपना देख्न बन्द गर ।
यो सपना नै हो । सपना नहुँदो हो त आज काठमाडौं पसेको करिब ४० वर्ष पुग्न लाग्दा पनि नेपाली साहित्यका सगरमाथा महाकवि देवकोटाको घर हेरेको छैन भन्ने अवस्था रहन्थेन । समको घर पुगिसकेको हुन्थेँ । रिमाल, गोठाले, मल्ल, अर्यालहरु, भूपी, पारिजातहरुका सालिक अघिल्तिर लम्पसार पर्दै दण्डवत् गरिसकेको हुन्थे । तर यो सबै सपनामात्रै भएको छ । विपना होइन । विपना बनाउने दूरदृष्टि र सोच पनि कसैमा छैन सायद !
यो सपना विपनामा रुपान्तरण हुन सक्छ । मनु ब्राजाकीको घरअगाडि उभिएर देखिएको यो सपनामा महाकविको भवन र जीवनशैली देखिए पनि औरहीमा मनुको जीवनशैलीलाई सोहीरुपमा सम्भवतः प्रस्तुत गर्न सकिन्छ । त्यहाँ टायलले छाएको त्यो एकनाले घर मनु मन्दिरका रुपमा विकसित हुन सक्छ । नेपाली साहित्यका मात्रै नभएर साहित्यलाई मन पराउने धेरैका लागि यो पर्यटकीय स्थल बन्न सक्छ ।
तर यो घर श्यामबाबुको मात्रै भइदिएको छ । चेतमानसिंह भण्डारीको मात्रै भइदिएको छ । मनु ब्राजाकीको हुन सकेको छैन । यो माटो र टायलको घर, विश्वमा साहित्य रुचाउने हरेकका लागि आस्थाको स्थल हुन सक्छ । त्यसका लागि बृहत, तर खुला दृष्टिकोणको खाँचो छ । 
यो काम कसले गर्ने ? यसलाई साहित्यिक आस्थाको मन्दिरमा कसले परिणत गर्ने ? यो प्रश्नको जवाफ सम्भवतः कतैबाट पनि नआउला ! तर प्रश्न भने सोधिरहनु आवश्यक छ ।
महोत्तरी जिल्लाको औरही गाउँ– जहाँ मनुले सयौं कथा, निबन्ध र गजल सिर्जना गरे– अहिले औरही नगरपालिकामा बढुवा भएको भएको छ । तर आफ्नो नगरपालिकाको १ नम्बर वडामा मुलुककै प्रतिष्ठित अनि भूगोल र सीमाले छेक्न नसक्ने सामथ्र्यका शक्तिशाली कथाशिल्पी छन् भन्ने नगरप्रमुखलाई पनि थाहा छैन । हाम्रो विडम्बना !
साहित्यकार मनु ब्राजाकीको जीवनकालमै औरहीलाई साहित्यकारहरुलाई आकर्षण गर्ने क्षेत्रकारुपमा विकसित गर्न सकिन्थ्यो । त्यतिबेला हुन सकेन । अहिले पनि औरही नगरपालिकाले यो सुकर्ममा साथ दिन सक्छ ।
आफ्नो थातथलो औरही पुगेका राजनीतिज्ञ, राजपा नेता तथा ब्राजाकीका पारिवारिक सदस्य शरदसिंंह भण्डारीले पङ्क्तिकारसँग भने, ‘यो सही हो, औरहीका गाउँलेले श्यामबाबुलाई मात्रै चिनेका छन् । साहित्यकार मनु ब्राजाकीलाई चिनेकै छैनन् । न त तिनले ब्राजाकीलाई पढेका नै छन् !’
ब्राजाकीलाई युगयुगान्तर जीवित राख्ने उनको कृति नै हो । तर गाउँलेहरुको सहयोगमा ब्राजाकीलाई गाउँले मात्रै हैन वरपरका सबैको मनमनमा बसाउन सक्ने अवस्था सिर्जना गर्न सक्छ नगरपालिकाले । यस्तो यदि हुन्छ भने बेलायत, अमेरिका वा रसिया पुगेर त्यस मुलुकका विख्यात लेखकहरुको घर(संग्रहालय) अगाडि तस्बिर खिचाउन जानेहरुले वर्दिबासदेखि १७ किलोमिटर दक्षिणमा पर्ने औरही गाउँको बाटो बिर्सने छैनन् । यसरी औरही पुग्ने व्यक्ति नेपालीमात्रै नभएर विभिन्न देशका पर्यटकहरु हुन सक्छन् । त्यसका लागि जाग्नु त औरही नगरपालिका नै पर्छ ।
नगरप्रमुख सुनील यादव फोनमा भन्दैथिए, ‘खै यस किसिमको प्रोपोजल कसैले मेरा अगाडि ल्याएका नै छैनन् । म तपाईंको मुखबाट पहिलो पटक यो सुन्दैछु ।’ अर्थात् मनु को हुन् ? सायद उनलाई थाहा पनि छैन । मनुलाई पढ्नु त परको कुरा ! शरदसिंहका अनुसार मनुकै परिवारले पनि मनुको महत्व, उनको योगदान र लेखकीय उचाइलाई बुझ्न सकेका छैनन् ।

Agni Group

उनी भन्छन्, ‘सही हो, मनु ब्राजाकीको नाममा गाउँमै केही विशेष कार्य हुनुपर्छ । मेरो व्यक्तिगत कुरो गर्नुहुन्छ भने म मेरा पिताजी पृथ्वीमान सिंह भण्डारी तथा मेरा मितबुवा मनोहर सिंह माथेमाको नाममा एउटा प्रतिष्ठान खोल्ने मनस्थितिमा छु । जसले मनु ब्राजाकीको नाममा एउटा विशेष पुरस्कारको पनि व्यवस्था गर्नेछ ।’
शरदसिंहका अनुसार व्यक्तिगत रुपमा यस किसिमको पहल भए पनि कालान्तरमा ब्राजाकीको नाममा थप केही काम गर्न सकिन्छ । 
कथाशिल्पी ब्राजाकीले कैयन् रचना सिर्जेको मूलघर र कोठा अहिले छैन । उनको भागमा परेको जग्गा र त्यसमा बनेको घर देखभालका लागि दुई वृद्धवृद्धालाई जिम्मा दिइएको छ । 
म मनुको त्यही आँगनमा उभिएँ केहीबेर । बारीतिर गएर हेरेँ । घरको कोठामा पनि चिहाउने प्रयास गरेँ । साँझको बेला भएकोले भित्र केही देखिनँ, देखियो केवल अँध्यारो ।
राज्यले चाह्यो भने, नगरपालिकाले चाह्यो भने, गाउँलेले चाहे भने त्यो कोठामात्रै नभएर सर्वत्र झललल उज्यालो फैलिन सक्छ । ब्राजाकीको घर घर हैन, साहित्यिक मन्दिरमा परिणत हुन सक्छ । एउटा साहित्यिक पर्यटकीय स्थलका रुपमा त्यो क्षेत्र चिनिन सक्छ ।
स्थानीय निर्मल घिमिरे ब्राजाकी गाउँको सम्पदा भएको बताउँछन् । नगरपालिकालाई घचघचाउने जिम्मा अब गाउँलेहरुको भएको उनको भनाई थियो । 
ब्राजाकीको घर क्षेत्र भएको औरही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राजकिशोर चौधरी ब्राजाकीको नाममा नगरपालिकाले केही गर्नुपर्ने कुरामा सहमत छन् । उनी भन्छन्, ‘नगरप्रमुखले चाहेको खण्डमा जे पनि हुनसक्छ । तर विडम्बना, मेयरसाबले मनुलाई चिन्नु भएकै छैन ।’
यतातिर नगरपालिकाको ध्यान जाला–नजाला ! तर गाउँलेले यतातिर ध्यान दिने हो भने यस आलेखको प्रारम्भमा देखेको सपना कसैले देख्नुपर्ने छैन । विपनामै महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, सम, गोविन्द गोठाले, विजय मल्ल, रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, गोपालप्रसाद रिमाल, ब्राजाकीलगायतहरुको सिर्जनास्थल अनि तिनका जीवनशैलीको नजिक सामान्य नागरिक पुग्ने थिए ।
तर के नेपालमा यस्तो होला ? कसैले यो काम गर्न सक्ला ? यसरी प्रश्न केही व्यक्तिले उठाए पनि जवाफ पाउन कठिन छ । र, जबसम्म यसको जवाफ मिल्दैन तबसम्म यस्ता अनेकन् सपना हामीले देखी नै रहनुपर्ने हुन्छ ! लेखी नै रहनुपर्ने हुन्छ !

    
 

Global Ime bank

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC