site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रिविको वरीयताक्रम :  जिम्मेवारी र सुधारको खाँचो

टाइम्स हायर एजुकेसनले भर्खरै जारी गरेको सन् २०१९ का विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय उत्कृष्ट एक हजार विश्वविद्यालयभित्र पर्न सफल भएको छ । हुनत, त्रिविको स्थान ८०१–१००१ को बीचमा रहेको छ ता पनि पहिलोपटक यस्तो वर्र्गीकरणभित्र पर्नु त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीका साथै त्रिविबाट विगतमा दीक्षित संपूर्ण विद्यार्थी र अभिभावकका लागि पनि खुसीको क्षण हो । त्यसैकारणले देशमा चलिरहेका राजनीतिक तथा सामाजिक विषयका ताता बहसहरुको बीचमा पनि त्रिविको यो उपलब्धिले पत्रपत्रिका, सामाजिक संजाल तथा औपचारिक अनौपचारिक कुराकानीमा उल्लेखनीय स्थान पाएको होला ।

टाइम्स हायर एजुकेसनले विश्वभरका विश्वविद्यालयको बर्गीकरण गर्दा पाँचवटा सूचकलाई आधार मान्छ : शिक्षण, अनुसन्धान, उद्धरण, अन्तर्राष्ट्रिय दृष्टिकोण र औद्योगिक आमदानी  । यी पाँच सूचकमध्ये शिक्षण, अनुसन्धान र उद्धरणको भार ३०, ३० प्रतिशत हुन्छ भने अन्तर्राष्ट्रीय दृष्टिकोणको भार ७.५ प्रतिशत र औद्योगिक आमदानीको भार २.५ प्रतिशत हुन्छ । शिक्षणको स्तरलाई चार कुराले नापिन्छ : प्रतिष्ठा सर्वेक्षण १५ प्रतिशत, कर्मचारी विद्यार्थी अनुपात ४.५ प्रतिशत, विद्यावारिधिरत र स्नातक विद्यार्थी अनुपात २.२५ प्रतिशत, विद्यावारिधि प्राप्त गर्नेको संख्या र प्राज्ञिक कर्मचारीको संख्याको अनुपात ६ प्रतिशत, विश्वविद्यालयको आमदानी २. २५ प्रतिशत । त्यस्तै अनुसन्धानको स्तरलाई तीन कुराले नापिन्छ : प्रतिष्ठा सर्वेक्षण १८ प्रतिशत, अनुसन्धानबाट विश्वविद्यालयलाई भएको आमदानी ६ प्रतिशत र अनुसन्धानको उत्पादकत्व ६प्रतिशत । अन्तर्राष्ट्रिय दृष्टिकोणलाई पनि तीन कुराले नापिन्छ : अन्तर्राष्ट्रिय विद्यार्थीको अनुपात २.५ प्रतिशत, अन्तर्राष्ट्रिय कर्मचारीको अनुपात २.५ प्रतिशत, अन्तर्राष्ट्रिय सहकार्य २.५ प्रतिशत । स्तरमापनका यी आयामलाई हेर्दा अनुसन्धान तथा प्रकाशनले विश्वविद्यालयको स्तर निर्धारणमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयको हकमा माथि उल्लेख गरिएका  स्तर निर्धारणका सूचकका मान नेपालभन्दा बाहिरका अन्य विश्वविद्यालयहरुको तुलनामा कहाँ पर्छन् त ? यसको लागी मैले सर्सर्ती सम्झनामा आएका तीनवटा विश्वविद्यालयका आईआईटी खडगपुर, दिल्ली विश्वविद्यालय, युनिवर्सिटी अफ न्यु मेक्सिकोको सूचकांकलाई त्रिविसँग तुलना गरेको छु । स्मरण रहोस्, यी तीन विश्वविद्यालयको छनोटमा कुनै विशेष आधार छैन । युनिवर्सिटी अफ न्यु मेक्सिको म आफैँले विद्यावारिधि गरेको विश्वविद्यालय हो भने अरु दुई विश्वविद्यालय भारतका कहलिएका विश्वविद्यालय हुन् । यस तुलनाका लागि तथ्यांकहरु टाइम्स हायर एजुकेसनको वेबसाइटबाट लिइएको हो । तलको रेखाचित्रले त्रिविको तुलनात्मक स्थिति प्रदर्शन गर्छ । रेखाचित्रमा विश्वविद्यालयको नामको छेउमा कोष्ठमा दिएको संख्याले उक्त विश्वविद्यालयको समग्र स्तरीयताको वरीयताक्रम देखाउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"
माथिको रेखाचित्रबाट के थाहा हुन्छ भने त्रिविको शिक्षण र अनुसन्धानको स्तर अन्य विश्वविद्यालयको तुलनामा निकै नै कम रहेको छ । शिक्षण र अनुसन्धानबाहेक अन्य सूचकमा त्रिवि भारतका दुई विश्वविद्यालयभन्दा कम छैन तर पनि त्रिविको स्तर ती विश्वविद्यालयभन्दा निकै कम हुनुले शिक्षण र अनुसन्धानको महत्त्व दर्शाउँछ । अर्को ख्याल राख्नुपर्ने कुरा के छ भने शिक्षण सूचकले शिक्षण विधिको प्रभावकारिता वा प्राध्यापकको ज्ञानको स्तरलाई प्रत्यक्ष मापन गर्दैन । अप्रत्यक्षरुपमा यी दुई कुराले प्रतिष्ठा सर्वेक्षणमार्फत शिक्षण सूचकांकमा असर गर्नसक्ने सम्भावना भए पनि शिक्षण सूचक आफैँमा अनुसन्धान क्रियापकलापमा भर पर्छ । त्यसो किनभने शिक्षण सूचकाङ्कको करिब एक चौथाइ भाग विद्यावारिधिरत र विद्यावारिधि गरिसकेका विद्यार्थीको संख्यामा भर पर्छ । विद्यावारिधि आफैँमा अनुसन्धानमा आधारित उपाधि हो ।

माथिको रेखा चित्रमा देखिने अर्को उल्लेखनीय कुरा उद्धरणको भूमिका हो । उद्धरण सूचकांकबाहेक युनिवर्सिटी अफ न्यु मेक्सिकोका अन्य सूचकांक भारतका दुई विश्वविद्यालयका सूचकांकभन्दा खासै फरक छैन तर युनिवर्सिटी अफ न्यु मेक्सिकोको वरीयताक्रम भारतका ती दुई विश्वविद्यालयको भन्दा निकै माथि छ । यसको प्रमुख कारण उद्धरण सूचक हो । समग्र वरीयताक्रम निर्धारणमा उद्धरण सूचकको भार करिब एक तिहाइ छ र भारतका दुई विश्वविद्यालयका तुलनामा यूनिवर्सिटी अफ न्यु मेक्सिकोका लागि यो सूचकको मान करिब करिब दुई गुणा बढी छ । त्रिविको तुलनामा त यो झन् करिब १२ गुणा बढी छ । यसबाट गुणस्तरीय विश्वविद्यालयमा उद्धरणको महत्त्व थाहा हुन्छ ।

Global Ime bank

त्रिवि पहिलोपटक औपचारिकरुपले वरीयताक्रममा परेपछि त्रिविका पदाधिकारीबाट उत्साहजनक प्रतिक्रिया आएको छ । उनीहरुबाट व्यक्त खुसी तथा निकै छोटो समयमा नै त्रिविलाई हजारबाट पाँच सयौं स्थानभित्र पार्ने प्रतिबद्धता स्वाभाविक र स्वागत योग्य छ । मुख्य कुरा प्रतिबद्धतालाई यथार्थ कसरी बनाउने भन्ने हो । कुनै उचाइमा पुग्न जति गाह्रो हुन्छ त्यसभन्दा गाह्रो त्यो उचाइमा रहिरहन हुन्छ । यस लेखमा त्रिविमा रहँदा प्राप्त गरेको अध्ययन र अध्यापनको अनुभवको आधारमा त्रिविले वरीयताक्रमको माथिल्लो तहमा पुग्न र त्यहाँ रहिरहन के गर्दा राम्रो हुन्छ भन्ने संक्षेपमा विश्लेषण गर्ने जमर्को गरेको छु । । यी उपायहरु संपूर्ण त होइनन् तर आवश्यक भने पक्कै हुन् ।

१. अनुसन्धान विश्वविद्यालय : त्रिविलाई अनुसन्धान विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने पहिलो आवश्यकता हो । माथि उल्लेख गरिएका वरीयताक्रम निर्धारणका सूचक हेर्दा विश्वविद्यालयमा अनुसन्धानको महत्त्व कति हुँदोरहेछ भन्ने थाहा भइसकेको छ । विकसित देशमा हुने धेरैजसो अनुसन्धान विश्वविद्यालयमा नै हुन्छन् । संयूक्त राज्य अमेरिकामा कुल पेटेंट अधिकारमध्ये करिब दुई तिहाइ अधिकार विश्वविद्यालयसँग रहेको छ । विनाअनुसन्धान पेटेंट अधिकार प्राप्त हुँदैन । विश्वमा अमेरिकी विश्वविद्यालयको रबाफ स्तरीय अनुसन्धानकै कारणले बढेको हो भन्दा फरक पर्दैन । अनुसन्धानले विश्वविद्यालयको ख्यातिका साथै आमदानी पनि वृद्धि गर्छ । उदाहरणका लागि न्यु योर्क युनिवर्सिटीले सन् २००६ मा पेटेन्ट अधिकारबाट करिब १५ करोड ७० लाख डलर आमदानी गरेको थियो ।

कुनै पनि विश्वविद्यालयमा अनुसन्धानका संवाहक त्यहाँका प्राध्यापक नै हुन् । तर, प्राध्यापकले आफ्नो सोख पूरा गर्न अनुसन्धान गर्ने होइन । प्राध्यापक अनुसन्धानमा संलग्न हुन कुनै न कुनै प्रकारको प्रोत्साहन वा प्रेरणा चाहिन्छ । यस्ता प्रेरणा र प्रोत्साहनमध्ये सबैभन्दा महत्त्वपूर्ण प्रेरणा वृत्ति विकासको अवसर हो । कुनै पनि प्राध्यापकले निश्चित संख्यामा अनुसन्धनात्मक लेख विश्वस्तरीय जर्नलमा प्रकाशित गरेमा स्वतः बढुवा हुने प्रावधान राखिनु पर्छ । यसले प्राध्यापकलाई आफ्नो वृत्ति विकासका लागि कसैको ढोका चहार्नु पर्दैन । यसको सट्टामा उसले आफ्नो अमूल्य समय अध्ययन र अनुसन्धानमा लगाउन पाउँछ ।

कुनै पनि प्राध्यापक अनुसन्धानमा केन्द्रित हुन ऊ आमदानीका लागि निश्चिन्त हुनु सक्नुपर्छ । त्रिविमा अहिले सामान्यतया के देखिन्छ भने कुनै पनि प्राध्यापक या त त्रिविमा आफ्नो कक्षा पढाइ सकेपछि बाहिरको कलेजमा पढाउन जाने गर्छन् वा परामर्शदाताका रुपमा घरमा बसेर काम गर्ने गर्छन् । यो उनीहरुको रहर नभई बाध्यता हो । तर, यस प्रवृत्तिले त्रिविमात्र नभई संपूर्ण विद्यार्थी र राष्ट्रलाई नै घाटा भइराखेको छ । अतः त्रिविले यस प्रवृत्तिलाई कम गर्न प्राध्यापकलाई अनुसन्धनात्मक काम विश्वविद्यालयको कार्यालयमा नै बसेर गर्न मिल्ने वातावरण बनाइदिनु पर्छ । कुनै पनि प्राध्यापकले बाहिरको अनुसन्धनात्मक काम प्राप्त गरेमा त्यसको ओभरहेड लागत त्रिविले प्राप्त गर्ने र अनुसन्धान बापत प्राप्त पारिश्रमिक प्राध्यापकले प्राप्त गर्ने पारदर्शी व्यवस्था हुनुपर्छ । यसबाहेक अनुसन्धानकर्ता प्राध्यापकले अनुसन्धान सहायकको रुपमा सोही विश्वविद्यालयका विद्यार्थीलाई नै प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ । 

त्रिविमात्र नभई नेपालका अन्य विश्वविद्यालयले पनि गर्नुपर्ने कार्य हो विश्वविद्यालयलाई तथ्यांक केन्द्रका रुपमा विकास गर्ने । विकसित देशमा हरेक विश्वविद्यालयले अफूलाई कुनै न कुनै प्रकारको तथ्यांकको विशेषज्ञ केन्द्रको रुपमा विकास गरेका हुन्छन् । उदाहरणको लागी हार्वर्ड–एमआईटी तथ्यांक केन्द्रले अमेरिकी सरकारको सहयोगमा सामाजिक विज्ञानसँग संबन्धित उच्च गुणस्तरको तथ्यांक संकलन, व्यवस्थापन, र वितरण गर्छ । यस्तै अमेरिकाकै मिसिगन विश्वविद्यालयले शिक्षा, आतंकवाद, लागुपदार्थ दुव्र्यसनजस्ता २१ विधामा तथ्यांक संकलन, व्यवस्थापन, तथा वितरण गर्छ । यसबाहेक अमेरिकाका हरेक राज्यका विश्वविद्यालयले सम्बन्धित राज्यका विभिन्न विधाका तथ्यांक संकलन, व्यवस्थापन, तथा वितरण गर्छन् । त्रिविका विभिन्न विभागले पनि विभिन्न विधाका तथ्यांक संकलन गरेमा यी तथ्यांकहरु नीति निर्माणका लागि गरिने अनुसन्धानका निम्ति उपयोगी हुने त छँदैछ तथ्यांक विक्रीबाट आमदानी पनि गर्न सकिन्छ । यसबाहेक तथ्यांक संकलनमा विद्यार्थीलाई उपयोग गरेमा विद्यार्थीको आमदानीको साथसाथै अनुसन्धान संबन्धी ज्ञानमा पनि वृद्धि हुन्छ ।

अनुसन्धानको अर्को पाटो गुणस्तरीय अनुसन्धान पनि हो । मौलिक र गुणस्तरीय अनुसन्धानको प्रकाशन उच्चस्तरीय जर्नलमा हुन्छ । उच्चस्तरीय जर्नलमा प्रकाशित लेखको उद्धरण पनि बढी नै हुन्छ । उद्धरणको संख्या वृद्धि हुँदा विश्वविद्यालयको वरीयता क्रममा पनि सुधार हुन्छ । यसको लागी त्रिवि तत्काल ध्यान दिनुपर्ने कुरा साहित्यिक चोरी (प्लेजरिज्म) लाई नियंत्रण गर्नु हो । प्राज्ञिक क्षेत्रमा साहित्यिक चोरी निकै ठूलो अपराध मानिन्छ । साहित्यिक चोरीले अनुसन्धानको गुणस्तरीयता र विश्वसनीयता त घट्छ नै यसले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा विश्वविद्यालयको छवि पनि धमिलो बनाउँछ । साहित्यिक चोरीमा नियन्त्रण गर्न प्राध्यापकहरु नै सक्रिय हुनुपर्छ । अचेल विभिन्न सफ्टवेयरको प्रयोगमार्फत साहित्यिक चोरी भएको छ की छैन भनी सजिलै जाँच गर्न सकिन्छ । अतः प्राध्यापकहरुले आफ्ना विद्यार्थीले लेखेका शोधपत्रमा साहित्यिक चोरी भएको छ कि छैन जाँच गरेरमात्र स्वीकृत गर्ने परिपाटीको सुरुआत गर्नुपर्छ । यस्तै साहित्यिक चोरीमा संलग्न प्राध्यापक तथा विद्यार्थीलाई कडा कारबाही गर्न हिचकिचाउनु हुँदैन ।

२. शिक्षण कार्यमा समयानुकूल परिमार्जनः त्रिविका विद्यार्थी सैद्धान्तिक ज्ञानमा विश्वका अन्य विश्वविद्यालयका विद्यार्थी भन्दा पछि छैनन् तर शोधकार्यमा भने निकै पछि छन् भन्ने मेरो अनुभव छ । यो कुरा मलाई अमेरिकी विश्वविद्यालयका कम्तीमा पनि दुईजना प्राध्यापकले भनेको सम्झना छ । तर पनि त्रिविका पाठ्क्रम केही पुराना भने पक्कै छन् । त्रिविको पाठ्यक्रम परिवर्तन गर्न निकै लामो प्रक्रिया पूरा गर्नुपर्ने र झन्झटिलो हुने भएकोले समय अनुसार पाठ्यक्रम परिमार्जन हुँदैनन् । यस्तै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण प्रक्रिया पनि उत्तिकै अवैज्ञानिक छ ।

त्रिविले सम्बन्धित विषयको प्राध्यापकलाई नै पाठ्यक्रम निर्माण गर्नुका साथै शैक्षिक सत्रको बीचमा पनि पाठ्यक्रम परिवर्तन गर्ने अधिकार दिनुपर्छ । अनि न समय सापेक्ष विषय पाठ्यक्रममा समावेश गर्न सकिन्छ । प्राध्यापकले आफूले निर्माण गरेको पाठ्यक्रम सम्बन्धित विभागमा पेस गर्ने र त्यस पाठ्यक्रममा निकै गम्भीर त्रुटि देखिएमात्र सम्बन्धित निकायले हस्तक्षेप गर्नुपर्छ । यस्तै कुनै पनि विषयको प्रश्न पत्रको निर्माण र जाँच पनि सम्बधित शिक्षकले नै लिने परिपाटीको सुरु गर्दा राम्रो हुन्छ । उत्तर पुस्तिकाको परीक्षण गर्दा भने सम्बधित शिक्षक र एकजना बाह्य परीक्षकले परीक्षण गर्दा प्राप्त गरेको अंकको औसतलाई अन्तिम अंक मानेर परिणाम प्रकाशित गर्दा निष्पक्ष र उचित हुन्छ ।

यसबाहेक त्रिविमा विद्यार्थीले प्राध्यापकको गोप्य मूल्याङ्कन गर्ने परिपाटीको विकास गरिनुपर्छ । प्राध्यापकको बढुवामा यसरी गरिएको मूल्याङ्कनको केही अंश प्रयोग गरिनुपर्छ । विद्यार्थीलाई कुनै पनि शैक्षिक सत्रको अन्त्यमा अनलाइन वा विश्वविद्यालयले दिएको प्रश्नावलीमार्फत प्राध्यापकको बारेमा तथा पढाइएको विषय वस्तु, शिक्षण विधि तथा प्रभावकारिताको मूल्याङ्कन गर्ने मौका दिएमा प्राध्यापकलाई पनि आफ्नो विषय वस्तु र त्यसको प्रभावकारिताका बारेमा थाहा पाउने र सुधार गर्ने मौका प्राप्त हुन्छ ।

३. भौतिक सुविधामा सुधार : त्रिविको भौतिक सुविधामा व्यापक सुधारको खाँचो छ । भर्खरै मात्र ल क्याम्पसको भर्नाले जन्माएको समस्याको विषय आएको छ । क्षमताभन्दा बढी भर्ना लिने परिपाटी बन्द गरिनुपर्छ र अनलाइन पाठ्यक्रम सुरु गरिनु पर्छ । यसले उपलब्ध सुविधामा धेरै विद्यार्थीलाई अध्यापन गराउन सकिन्छ । यसबाहेक त्रिविमा सूचना प्रविधिको व्यापक प्रयोगको थालनी गरिनु पर्छ । यस्तै त्रिविले हरेक विद्यार्थी, कर्मचारी र प्राध्यापकको लागि इमेल आईडी दिनुपर्छ जसको प्रयोग गरेर उनीहरुले विभिन्न जर्नलका लेखमा पहुँच पाउन सकुन् । विद्यार्थीको भर्ना, पाठ्यक्रम, शुल्क, परीक्षा परिणाम इत्यादि सबै अनलाइन भएमा काम छिटो, छरितो, गुणस्तरीय एवं पारदर्शी हुन्छ । सूचना प्रविधिको प्रयोगले विद्यार्थी–कर्मचारीको अनुपातमा वृद्धि गरी दीर्घकालमा संचालन खर्चमा पनि कमी हुन्छ ।

४. विदेशी विश्वविद्यालयसँग सहकार्यः त्रिविले विदेशी विश्वविद्यालयहरुसँगको सहकार्यलाई व्यापकरुपमा अघि बढाउनु पर्छ । संयुक्त अनुसन्धान परियोजना, विद्यार्थी आदान प्रदान, प्राध्यापकहरुलाई तालिम तथा प्रशिक्षण जस्ता विषयमा विदेशी विश्वविद्यालयसँगको सहकार्यले विद्यार्थी, प्राध्यापक तथा विश्वविद्यालयको क्षमता अभिवृद्धि हुनुका साथै त्रिविको नाम पनि अन्तर्राष्ट्रिय स्तरमा फैलन जान्छ । त्रिविमा विदेशी विश्वविद्यालयसँगको सहकार्यमा सबैभन्दा ठूलो अवरोध एउटा वा अर्को कारणले हुने प्रशासनिक ढिलासुस्ती हो । कुनै विभागले आफ्नो आवश्यकताअनुसार सहकार्यको प्रक्रिया अघि बढाए पनि प्रशासनिक ढिलासुस्तीले ती प्रक्रिया बीचैमा तुहिने गरेका अनेकौं उदाहरण छन् । यस प्रवृत्तिको अन्त्य गरिनु आवश्यक छ ।

५. विदेशमा प्राध्यापनरत नेपाली प्रध्यापकहरुलाई स्वागतः त्रिविले विदेश र विदेशी विश्वविद्यालयलाई प्रतिभाशाली र होनहार विद्यार्थी दिएको छ । त्रिविबाट स्नातक र स्नातकोत्तर गरेका हजारौं विद्यार्थी विदेशी विश्वविद्यालयमा अध्यापनरत छन् । उनीहरुको नाम र काम विश्वमै चर्चित छ । तिनको नाममा दस, बीस होइन सयाैं अनुसन्धनात्मक लेख विश्वका प्रतिष्ठित जर्नलमा प्रकाशित भएका छन् । बीसौं वर्षदेखि प्रध्यानरत उनीहरुको सार्वजनिक सम्बन्ध पनि निकै राम्रो रहेको छ । अब त्रिवि र नेपाल सरकारले समेत त्यस्ता प्राध्यापकलाई नेपालमा पुनः स्वागत गर्ने बेला आएको छ ।

विदेशमा रहेका नेपाली प्राध्यापकहरुलाई विदेशको जागिरको निवृत्तिपछि त्रिविमा आएर करिब पाँच वर्ष अध्यापन गर्ने वातावरण बनाउन सके उच्च प्राज्ञिक संस्कार, प्रविधि, तथा ज्ञानको खानीमा रहेर उनीहरुले आर्जन गरेको अनुभव त्रिविले संपूर्ण नेपाल र नेपालीको उन्नतिको लागी उपयोग गर्न सक्नेछ । यसको लागि त्रिवि, नेपाल सरकार र विदेशमा रहेका नेपाली प्राध्यापकहरु माझ के गरेमा उहाँहरु फर्कने वातावरण बन्न सक्छ भन्ने बारेमा छलफलको थालनी गर्नुपर्छ ।  

अन्त्यमा त्रिवि विश्वभरका उत्कृष्ठ विश्वविद्यालयको वरीयताक्रममा पर्नु उत्साहजनक विषय हो । तर, त्रिविले गर्नुपर्ने कार्य अझै धेरै छ । सबैभन्दा महत्त्वपूर्ण त त्रिविले अनुसन्धानको स्तरमा सुधार गर्नु आवश्यक छ । यस लेखमा व्यक्त गरिएका उपाय संपूर्ण नभए पनि अनुभवका आधारमा आएका केही उपयोगी उपाय हुन् जसलाई क्रमशः अवलम्बन गरिएमा पक्कै पनि त्रिविको वरीयताक्रममा सुधार गर्न सहयोग पुग्नेछ ।  
Email: dadhinp@gmail.com

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०७५  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC