वि.सं. २०७५ सालको दसैंको समाचार मुख्यतः राष्ट्रपतिबाट टिका थाप्न आउनेलाई घुँडा टेकाएको विषयमा केन्द्रित भयो भने प्रधानमन्त्रीले देखाएको सर्वसाधारणका लागि टीका प्रदान गर्ने सोखले आलोचनाको आगोमा घ्यु थप्ने काम गर्यो ।
गत साता पत्रपत्रिकामा घुँडा टेकाएर टीका लगाइदिने र घुँडा धसेर टीका थाप्ने नयाँ तौरतरिकामा निकै छलफल भयो । शुक्रवार राष्ट्रपतिले लगाइदिएको टीकाको विषयमा मंगलवारको नागरिकले प्रथम पृष्ठमा समाचार त प्रकाशित गर्यो नै सोही दिन सम्पादकीय पनि लेख्यो । नागरिकको समाचारअनुसार नेकपा (नेकपा)का केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको टीका लगाइदिएको तस्बिरलाई आफ्नो फेसबुकको वालमा राख्दै यो प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्रअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक नभएको टिप्पणी गरेका छन् ।
सोही विषयको सम्पादकीयमा नागरिक लेख्छ – पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले घुँडा टेकेर राष्ट्रपति भण्डारीका हातको टीका थापेको तस्बिरले मुलुकलाई लज्जित तुल्याएको छ । नागरिक लेख्छ, राष्ट्रपतिबाट टीकाटालो गर्ने, त्यही परम्परालाई प्रधानमन्त्रीले पनि अघि बढाउने र हरेक कार्यालयका हाकिमले पनि त्यसैलाई दोहो¥याउने हो भने हाम्रो महान् चाड दसैं परिवार र आफन्तको चाड रहनेछैन । बरु यो एउटा चाकडीको अवसरमा अनूदित हुनेछ । सो दैनिक लेख्छ – राष्ट्रपतिलाई बदनाम बनाउन त्यहाँको संरचनाबाटै यस किसिमको षड्यन्त्र भएको हुन सक्छ । तर, यो स्थिति देखेपछि राष्ट्रपतिलाई पनि अप्ठेरो लाग्नुपर्ने हो ।
कान्तिपुरले पनि मंगलवारको पत्रिकामा ‘धनुष्टंकारको संस्कार’ शीर्षकमा गधालाई पनि हजुर भन्न मनलाग्छ भन्दै भूपी शेरचनको कविताको एक अनुच्छेदबाट सम्पादकीय सुरु गरेको छ । सो सम्पादकीयमा लेखिएको छ – ‘‘पञ्चायत हटायौँ, बहुदल ल्यायौँ । संवैधानिक राजतन्त्र फाल्यौंँ । गणतन्त्र ल्यायौंँ । हाम्रा संस्कारहरूले देखाइरहेका छन्, व्यवस्था कागजमा बदलियो । हाम्रो दास मानसिकता उस्तै छ । के शासन, के शासित, के ओहदावाल, के सर्वसाधारण ।’’
कान्तिपुर लेख्छ – संवैधानिक राष्ट्रपति पदको सिर्जना जनताको आस्थाको केन्द्र बनाउन भएको हो । त्यो अधिकारले होइन, आचरणले बन्ने हो । पदासीन व्यक्तिको हरेक व्यवहारले बचाउने हो पदको गरिमा । गह्रुँगो पदमा बसेकाको हलुका व्यवहारले संवैधानिक प्रबन्धलाई धुजाधुजा पारिदिने रहेछ ।
मंगलवारकै दिन कान्तिपुरमा राजेन्द्र महर्जनले ‘नयाँ महाराजको ‘टीकातन्त्र’’ शीर्षकमा एक लेख लेखेका छन् । उक्त लेखमा पहिले राजाको दरबारमा मात्र हुने टीकाको प्रचलन अचेल राष्ट्रपति निवासदेखि प्रधानमन्त्री निवास बलुवाटारमा मात्रै होइन, नेपाली सेनाको मुख्यालय, भद्रकाली र जनपद प्रहरीको केन्द्रीय कार्यालय नक्सालसम्म फैलिएको छ । आगामी वर्ष प्रत्येक सरकारी कार्यालय र तीनवटै जननिर्वाचित अँगसँगै अन्य संरचनामा पनि यसको फैलावट भए अनौठो हुनेछैन । महर्जन लेख्छन् – टीकाको फर्मान जारी हुँदा लोकतान्त्रिक गणतन्त्रका नागरिक भएको भ्रममा बाँचेका केही नागरिकलाई आफू त प्रजा र रैती नै रहेको असहज अनुभूति भएको हुनुपर्छ ।
यही विषयमा शनिवार भैरव रिसालको एक लेख कान्तिपुरले प्रकाशित गरेको छ । वरिष्ठ पत्रकार रिसाल लेख्छन् – घुँडा धँसेर टीका थाप्ने र सोफामा बसेर टीका लगाइदिएको घटना यति व्यापक भो, जसले आकाश–पाताल सबै दिशा ढाक्यो । यो घुँडामार शैलीप्रति सबैतिर आश्चर्य मानियो । यो घुँडामार काण्ड स्पष्टीकरणले निरस्त हुँदैन । यसको एकमात्र उपचार हो – क्षमा माग्ने ।
कान्तिपुरले बिहीबार चन्द्रकिशोरको एक लेख पनि प्रकाशित गरेको छ । उक्त लेखमा चन्द्रकिशोर भन्छन्, ‘टीका प्रकरणपछि जेजस्ता सूचना शीतल निवासबाट चुहिएका छन् त्यसले प्रश्न उठ्न थालेको छ, कतै ‘राष्ट्रपति संस्थाको कठपुतलीकरण’ त भइरहेको छैन?’
मच्चिएर थच्चिए नेपाल
नेकपा (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले दसैंअघि सरकारको कामकाजको विरोध गर्दै सशक्त आवाज उठाए । सरकारको विरोधसँगै नेपालले प्रदेशका पार्टी पदाधिकारी, सरकार सञ्चालनलगायतका विषयमा प्रश्न उठाएका थिए । मंगलवारको राजधानी लेख्छ – माधव नेपालको प्रश्न पश्चात ती विषयमा अध्यक्ष द्वयले कमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि यसअघि गरिसकेको प्रदेश पदाधिकारी चयनको निर्णय उल्टाएको छैन । सो दैनिक लेख्छ – असोज ६ गते पार्टी सचिवालय बैठक गरेर प्रदेश पदाधिकारी चयन गरिएको प्रति नेता नेपालले लिखितरूपमै असन्तुष्टि व्यक्त गरेका छन् । सो बैठकले सातवटै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।
राजधानीले माधव नेपालको माग पूरा नभएको विषय समाचारका लागि उपयुक्त देख्यो भने गोरखापत्रले नेकपा (नेकपा) सचिवालयको बैठकले प्रदेश इन्चार्ज र प्रदेश कमिटीबारे निर्णय यथावत् भएको समाचार बनायो ।
यस विषयमा कान्तिपुरको शीर्षक तटस्थ देखियो । सो दैनिक लेख्छ – ‘नेता नेपालको तीव्र असन्तुष्टिबीच प्रदेश समिति गठनको निर्णय सदर । पार्टी र सरकार सञ्चालन शैलीबारे अर्को बैठकमा छलफल हुने ।’
यही समाचारको सिलसिलाको रूपमा राजधानीले नेकपामा नयाँ गुट जन्मिएको समाचारलाई बुधबार मुख्य समाचार बनायो । सो दैनिकका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरेका छन् । सचिवालयको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका कारण पार्टीभित्र नयाँ गुटको जन्म भएको राजधानीको दाबी छ ।
यही समाचारको फलोअपका रुपमा हिमालय टाइम्सले शुक्रवार नेकपामा भागबन्डा मिलाउन नयाँ कार्यदल बनेको समाचार प्रकाशित गरेको छ । सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरू चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेस गर्नेछ ।
प्रदेश र संघीय सरकारबीच सम्बन्ध चिसियो
प्रदेश नम्बर २ ले केन्द्रीय सरकारले ऐन नबनाउँदै प्रहरी ऐन बनाएपश्चात संघीय सरकार तथा प्रदेश सरकारकाबीच अप्ठेरो अवस्थामा रहेको सम्बन्ध थप चिसिएको छ । नेकपाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष दाहालले प्रहरी ऐन, निजामती सेवा तथा लोकसेवालगायत ऐन संघीय सरकारले ल्याएपछिमात्र तिनैमा टेकेर प्रदेश सरकारले आफ्नो कानुन बनाउनुपर्ने कुरा सम्झाए । यो समाचारलाई कान्तिपुर, नयाँ पत्रिका, गोरखापत्र तथा राजधानीले पनि प्रथम पृष्ठमा स्थान दिएका छन् ।
खानेपानीमा ब्रह्मलुट
अन्नपूर्ण पोस्टमा विकास थापा तथा सुरेन्द्र काफ्लेले खानेपानीमा ब्रह्मलुट भएको एक समाचार लेखेका छन् । पोस्टमा बुधबार मुख्य बनाइएको सो समाचारअनुसार अर्थ मन्त्रालयले खानेपानीका लागि असार १५ देखि ३२ सम्म मात्रै अढाई अर्ब रुपैयाँ रकमान्तर गरेको छ । त्यसमा पनि असार ३२ गते एकदिन मात्र १७ करोड ५४ लाख अठासी हजार रुपैयाँ रकमान्तर गरेको प्रमाण आफूसँग भएको पनि पोस्टले दाबी गरेको छ । सो रकममध्ये सबैभन्दा बढी प्रधानमन्त्रीको गृह जिल्ला झापामा रकमान्तर गरिएको छ । सो समाचारअनुसार विकास निर्माणको कामको यकिन नै नगरी अर्थ मन्त्रालयल स्वयंले खानेपानीको सिफारिसकै भरमा अन्धाधुन्द रकमान्तर गरी अनियमितता गर्ने ठाउँ दिएको छ ।