site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गैरजबाफदेह सरकार

घटनाप्रवृत्तिले सरकार गैरजबाफदेही शैलीमा निर्लिप्त देखिँदैछ । दुईतिहाइ बहुमत छ । चाहेर पनि,सरकारलाई कसैले हल्लाउन सक्ने होइनन्, किन जबाफदेह बन्नुपर्यो ? यस्तै अहं सायद् पालेको छ, सरकार भनिने संरचनाले । जबाफदेही उत्तरदायित्वको बोध हो । जनस्तरबाट आएका प्रश्नको सही सम्बोधनले जनताप्रति सरकारी उत्तरदायित्व कायम रहेको सन्देश मिल्छ । तर यो सरकार त्यस्तो सन्देश दिन इच्छुक या सक्षम देखिएन । 

सरकार जबाफदेह अर्थात् जनताप्रति उत्तरदायी बन्न नसकेको अनुत्तरदायी घटना प्रस्तुतिभन्दा अघि दार्शनिक दीक्षाको प्रभावतर्फ हेर्नुपर्ने जस्तो लाग्छ । 

प्रजातन्त्र जनताप्रति जबाफदेही वा उत्तरदायी दीक्षाको अपेक्षा राख्छ । तर कम्युनिष्ट दर्शनको स्थापित मान्यतामा जनतालाई कम्युनिष्ट सरकार र दलप्रति समर्पित बनाइनुपर्छ । वैकल्पिक विचारको स्वतन्त्रता नदिइएको नागरिकप्रति सरकारको जबाफदेहिता जरुरी पर्दैन, प्रजातन्त्रवादीलाई जस्तो बाध्यकारी पनि हुँदैन । कम्युनिष्टमा स्वतन्त्र विचारको ठामै हुँदैन । जनताको नाम त लिन्छ तर जनताप्रतिको दायित्व बोधले झुक्ने जोखिम कम्युनिष्ट दर्शनले सिकाउँदैन । ‘घुम्दै फिर्दै रुम्झाटार’ भने जस्तो कम्युनिष्ट प्रणाली अन्तर्गत शीर्ष एक पदाधिकारी केन्द्रित शासन संरचनाको  उत्तरदायित्व अन्ततः त्यही पदाधिकारीप्रति रहन्छ । जनताप्रति होइन । कम्युनिष्ट दर्शनको यस्तो बुझाइ वा दीक्षा र व्यवहार प्रकट रुपमै स्थापित भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा अहिलेको शासन प्रणाली बहुदलीय प्रजातान्त्रिक हो । तर सरकार यसको विपरीत कम्युनिष्ट दीक्षित । सरकार दुई डुङ्गामा खुट्टा राखे जस्तो । एकदलीय दीक्षा, बहुदलीय प्रणाली । जुन डुङ्गामा मौका मिल्यो त्यतै खुट्टा सार्यो । प्रजातान्त्रिक डुङ्गामा सर्न वा नसर्न खोज्दा कम्युनिष्टले कम्युनिष्टलाई यही कारण संशोधनवाद र जडसूत्रवादको भासमा डुबेको आरोप, एकथरिले अर्कोथरिलाई लगाउने गरेका छन् । 

यही दार्शनिक दोषले कम्युनिष्टहरु जनताप्रति अनुत्तरदायी बन्न सक्छन् र पाउँछन् । अहिलेको सरकार यही बाटोमा उभिएको छ । 

Global Ime bank

जनताले निर्मला पन्तको हत्याराको पता मागे, तेत्तीस किलो सुनको थाहा खोजे, वाइड बडी जाहजको हिसाब अँध्यारोमा किन ? प्रश्न गरे, महँगीको कारण सोधे,चिनीको चास्नीमा स्वाद लिने को को हुन् ? सोधखोज गरे, प्रशासन र सरकारी संरचनाको कम्युनिष्टीकरण र दूरसञ्चार प्राधिकरण काण्ड लगायत दर्जनाँै विषयमा सरकारसँग जानकारी मागे, भ्रष्टाचार रोकिनुपर्छ भने तर सरकार जबाफ दिँदैन,अनुत्तरदायी छ, गैरजबाफदेह छ । सुशासनको गफ गर्छ तर पारदर्शिता शून्य छ । 

एक, दुई घटनाको चिरफार गरौँ । निर्मला पन्तको बलात्कार र हत्या गर्ने कारकको प्रमाण नस्ट वा छानवीनमा लापरबाही गरेको आरोपमा त्यहाँका तत्कालीन प्रहरी उपरीक्षक र प्रहरी निरीक्षकलाई स्पष्टीकरणको दायरामा ल्याइएको छ । प्रमाण नस्ट गरेको दोषमा जागिर बर्खास्तगीको सम्भावना पनि छ । तर त्यो प्रमाण उनीहरुले कसका खातिर नस्ट गरे ? वा  सबै दोषी के उनीहरु नै हुन् ? सरकारले सही जबाफ दिनु पर्छ वा पर्दैन ? कि सरकार प्रमाण नस्ट पार्ने लापरबाही गरेको दण्ड उनीहरुलाई दिएर घटनाको कारकलाई लुकाउन चाहन्छ ? सीबीआईका दुई टोली समेत झण्डै आधा दर्जन छानवीन समिति बनाएर पनि दोषी लुक्न पाउनुमा, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले दावा गरे जस्तै ‘सरकारले नै दोषी लुकाएको’ शंका हुने नै भयो । सरकार पटक्कै जबाफदेही देखिएन । 

महँगी, अर्को घटना–दशैँको मुखमा निजी क्षेत्र (व्यापारी)ले बेचेभन्दा चिनीको सरकारी मूल्य बढी चर्को किन भयो ? दशैँ गयो, छानवीन सानवीनको नाममा हाटहुट,लाट्लुट भयो,संसदीय समितिको निर्देशन पनि म्याद गुज्रिएको औषधि जस्तै बनाइयो । चर्को मूल्य तिरेर गुलियो पारिएको जनजिब्रोले सोध्यो किन ? तर सरकार मौन छ । अनुत्तरदायी अर्थात् गैरजबाफदेह । 

तेत्तीस किलो सुनको घटना पुरानो भयो । यसमा सोधखोज गरिरहनु सरकारको दृष्टिमा कपट ठानिएला । सुनको कनेक्सन प्रहरीवृत्तमा नै सीमित भयो, हरायो । न सुन भेटियो न खाने घुन पता लाग्यो । सोधी रहून्, प्रजातन्त्र भन्नेमा जनता सोधी रहन्छन् । तर कम्युनिष्ट शिक्षाले जनतालाई जबाफ दिनुपर्दैन, हामी कम्युनिष्ट सरकार । सायद् यस्तै सोचेर सरकार मौन,  सुन्या, नसुन्यै गर्दैछ । निरुत्तर ।

अर्को, प्रशासन र सरकारी संरचनामा कम्युनिष्टीकरण ? नबोले पनि सरकारका लागि मनमनै उत्तर सजिलै छ । कम्युनिष्टले कम्युनिष्टीकरण नगरे, के लोकतन्त्रीकरण गर्छ त ? जे हो,त्यही गर्ने हो । सरकार लोकतन्त्रको अर्थात् लोकको तन्त्रको होइन नि, कम्युनिष्ट को हो, भन्यो, पुग्यो । 

जबाफदेही बोली, व्यवहार र संस्कारमा प्रतिविम्बित हुन्छ । यसपटकको दशैँमा नागरिक संस्कार, संस्कृतिले हार्यो । फेरि सामन्ती संस्कारले जित्यो । राष्ट्राध्यक्षदेखि सरकार प्रमुखसम्मले नागरिकलाई घुँटा टेकाए, शिर जोताए । संस्कृतिको सम्मान अन्यथा होइन, ठीकै हो । तर गणतन्त्र, लोकतन्त्र वा  प्रजातन्त्रको संस्कार नागरिक सम्मानको खातिर पनि मागिएको होला नि । कि घुँडा टेकाउन गणतन्त्र ? नागरिक सम्मानप्रति संवेदनहीन यस्तो गैर जिम्मेवारी किन ? कम्युनिष्ट दीक्षा लिँदा संग्रहित सामन्ती सोच मौका पाउँदा खुला प्रकट भयो । 
प्रधानमन्त्री केपी शर्मा ओलीले टीका प्रदान गर्ने समय तालिकामा संस्कृतिको पर्दाभित्र अहंप्रभुको मनोदशा मात्रै सीमित राखेका छैनन् । जो व्याख्या गरिँदैछ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पथगामी भएको सन्देश पनि सँगै दिएका छन् । दशैँ कुन समयदेखि कुन समुदायले शुरु गर्यो एकीन छैन । तर दुर्गा भगवती र राजा रामसँग कथा जोडिएकाले दशैँ सबै नेपालीको भएर पनि हिन्दुत्वको प्रतिनिधि पर्व आरोपित छ । 

टीका कूटले विश्वमा हिन्दुत्व दर्शनको एकमात्र सम्वाहक शासक मान्ने प्रधानमन्त्री मोदी पनि खुस । हिन्दुत्वको राजकीय उत्थानमा आफ्नो पुनरुत्थानको बलियो सम्भावना देख्ने हाम्रा राजा पनि खुसी । संस्कृतिसँग तालिकासमेत मिलाएर बडादशैँमा प्रधानमन्त्री ओलीले प्रदान गरेको टीकाभित्र हिन्दुवादी भनिने र बनिने राजनीतिक रहस्य घुसाइएको छ । एक वर्षभित्र हुने भारतीय चुनावमा मोदीको बिजेपी पुनः सरकारमा जाने छनक, थप प्रेरणाको कारण जो छ । विचारहिनताको कथित राजनीतिले वर्गीय, जातीय, क्षेत्रीय र धर्मीय, मौका अनुसार सबथोक पाखण्ड चलाउँछ । लाल चन्दन टीका यस्तै हो । जबाफदेही कता,कता ? सुनुवाइ नहुने निरिह जनता । नामको ठाम नखोज्ने हो भने अहिले नेपालमा विचार त्यागेका तर स्वाभाव नछुटेका कम्युनिष्टहरुको सरकार, जो नागरिकप्रति गैरजबाफदेह छ । 

गैरजबाफदेहीको अर्को उदाहरण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निरन्तर हुने नेकपाको बैठक । बालुवाटारमा यदाकदा यस्ता बैठक हुनुलाई प्रधानमन्त्रीको स्वास्थ्यका कारण पनि अन्यथा भन्न मिल्दैन । तर, देश र जनताको समस्या सम्बोधन गर्न हुनुपर्ने निवासको त्यो बैठकस्थल नेकपा भित्रको उहापोह वा भागबण्डा मिलाउन निरन्तर भइरहे छ । 

अब हुने मन्त्रिपरिषद् पुनर्गठनमा भाग दिने र एकताको संगठनमा अलिकति सूत्र हात पारिदिने बालुवाटारी मन्त्रणाले माधव नेपालको गुनासो–पत्र फिर्ता भएको छ । थन्किएको भन्दा फिर्ता भन्नु सही होला । झण्डै उस्तै, काजी नारायण श्रेष्ठको घुर्कीको फिर्ती जस्तै । प्रधानमन्त्री निवास, जनताको नासोमा नेकपाको गैरजिम्मेवारी प्रदर्शन ।   

राजनीति स्थिरताको निकै चर्का चर्चा सुनियो । दुईतिहाइ सांसद् रहेको सरकार र राजनीति मुलुकी इतिहासमा सबैभन्दा अस्थिर प्रमाणित भएको छ । त्यहाँभित्र दावानल छ । बालुवाटारी अटुट बैठकले यही पुष्टी गर्छ । सरकार र दुईतिहाइका नेताले भित्रभित्रै हल्लिएको बुझेछन् क्यारे, हिजोआज स्थिरताको तुरही बज्न छोडेको छ । 

स्थिरताको दुन्दुभीमा आकर्षण त थियो नै । त्यसमाथि थपिएको सम्मृद्धि, सुशासन र उग्रराष्ट्रवादी नाराले दुःखी नेपालीलाई लोभ्याउने नै भयो । अहिले समृद्धि र सुशासन आइसकेछ क्यारे,चूप छन् । रन्को चाहिँ बाँकी छ । राष्ट्रवादले भर्खरै बितेको दशैँमा जस्तै घुँडा टेके, टेकाएको देखियो । सरकार पारदर्शी होइन, थप अँध्यारो बढाउँदै छ । दुःखी जनताको भावनामाथि शोषण, योभन्दा गैरजबाफदेही अरु केही हुन्छ ? सरकारको काम आफ्ना कम्युनिष्टका लागि, मीठा र आकर्षक कुरा जनताको खपतका लागि, अहिले यत्ति बुझे हुनेभयो, बस् । 
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०७५  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC