site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
अग्रणी विश्व शक्तिको रोजाइ शक्तिहीनता
Agni Group
Global Ime bank

संयुक्त राष्ट्र महासभाको वार्षिक बैठक अन्तर्राष्ट्रिय कूटनीतिक घटनाक्रममा सबैभन्दा उल्लेख्य घटना हो । सधैँजस्तै सेप्टेम्बरको अन्तिम साता सम्पन्न यस वर्षको बैठकमा विश्वका नेता ठूलो संख्यामा सहभागी भए । सायद ‘विश्व नेता‘ शब्द यति सहजरूपमा प्रयोग गर्नु उचित हुँदैन । अग्रणी विश्व शक्तिको राष्ट्रपतिले त संसारका साझा समस्या समाधानमा संलग्न हुने आफ्नो चाहना नभएको स्पष्ट पारेका छन् । दुर्भाग्य, यसो ठान्ने उनी एक्लै थिएनन् ।
आर्थिक विश्वव्यापीकरणको पूरकमा रूपमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ भन्ने विश्वास गर्ने हामीजस्ताका लागि महासभाको बैठकमा भएको छलफलले निराश तस्बिर प्रस्तुत गरेको छ । ‘राष्ट्रिय हित’का रूपमा प्रस्तुत गरिएको केही नेताको क्षणिक स्वार्थ यसको प्रमुख कारणमध्येको हो । शीतयुद्धको अन्त्यपछि अहिले जति कहिल्यै पनि नेताको स्वार्थ र राष्ट्रिय हितलाई यसरी छासमिस पारेर प्रस्तुत गरिएको थिएन । अहिले देखिएको ‘राष्ट्रिय लोकप्रियतावाद’को उदय भने कारणभन्दा पनि केही समयदेखि बढ्दै गएको विभाजनको परिणाम हो ।
कुनै पनि आर्थिक प्रक्रियामा जस्तै विश्वव्यापीकरणको पनि वितरणात्मक आयाम हुन्छ र यसको अर्थ जनसंख्याको कुनै समूहमा यसले असन्तोष उत्पन्न गराउँछ । पश्चिमी राजनीतिक क्षेत्रको केन्द्रले खुला बजार र त्यसको परिणाममा विश्वव्यापी गरिबी तीव्र गतिमा घटाउनेजस्ता विषयमा ध्यान केन्द्रित गरेर मुलुकहरूबीच बढ्दो असमानताको प्रभावलाई बेवास्ता गरेको छ । यस्तो परिणामबाट सबै खुसी हुन नसक्नु स्वाभाविकै हो ।  
अर्थतन्त्रको विश्वव्यापीकरणबाट वस्तु, सेवा र पुँजीमात्र होइन विचारहरू पनि सञ्चारित हुन्छन् ।   यसैले विश्वव्यापीकरण पनि लोकतन्त्रजस्तै आफैँमा कमजोर हुन्छ र विरोधीहरूले यसको विनाशका लागि उपकरणहरू प्रयोग गर्न सक्छन् । यसबाट फाइदा उठाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वैचारिक सहयात्रीहरूले ‘अन्तर्राष्ट्रिय राष्ट्रवाद’को अभियान चलाएर जनतामा विद्यमान असन्तोष र चिन्तालाई विश्वव्यापीकरणविरुद्धको संघर्षलाई विश्वव्यापी बनाएका छन् । कस्तो विडम्बना !   
राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले सार्वजनिकरूपमै ‘‘हामी विश्वव्यापीकरणको विचारलाई अस्वीकार गर्छौँ र देशभक्तिको सिद्धान्त अपनाउँछौँ ’’ भन्ने घोषणा गरे । उनले पोल्यान्डजस्ता आफ्नो विचारको अनुयायी मुलुकहरूको खुलेर प्रशंसा गरे । ब्राजिलियनहरूले चरम दक्षिणपन्थी उमेदवार जैर बोल्सोनारोलाई राष्ट्रपति चुने भने उग्र राष्ट्रवादको विस्तारले  विश्वको बहुपक्षीय संस्थागत संरचना ध्वस्त हुने जोखिम बढ्नेछ । 
हुनत, देशभक्ति र विश्वव्यापीकरण सँगै जान नसक्ने धारणा हैनन् । ट्रम्पको देशभक्तिको नाराको उद्देश्य भने उनको राष्ट्रवादी र जातिवादी प्रवृत्तिलाई लुकाउनु नै हो । आफ्ना अपरिष्कृत धारणा लाद्नका लागि जे पनि गर्न तम्सने नेता भएका बेला यस्ता नाराहरूले हामीलाई जोखिमको धरापमा पार्छ । यद्यपि, ट्रम्प प्रशासन स्वयं नै आफ्नो छविप्रति चिन्तित देखिएको छ । अरू पनि कैयौं उदाहरण छन् । राष्ट्रसंघमा ट्रम्पले आफ्नो विदेश नीतिलाई ‘सैद्धान्तिक यथार्थवाद’को संज्ञा दिएर स्थिरताको आवरण दिन खोजेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा यथार्थवाद भन्नाले अन्तर्राष्ट्रिय संस्था र कानुनलाई गौण बनाएर राज्यलाई केन्द्रीय पात्र र विश्लेषणको एकाइ मान्नु हो । मानव अधिकारजस्ता सिद्धान्तहरू प्रायः पन्छाउने गरिन्छ र मुलुकहरूले आफ्नो स्वार्थ पूरा गर्नका लागिमात्र तिनलाई अपनाउने गर्छन् । 
इरानमा भएको दमनको आलोचना गर्ने तर अरू मुलुकमा भएका त्यस्तै अभ्यासको निन्दा नगर्ने नीति अपनाएर ट्रम्पले ठीक यस्तै व्यवहार देखाएका छन् । कुनै पनि आत्मसम्मान भएको यथार्थवादीले इरानबाट हुनसक्ने खतरालाई बढाइचडाइ गर्ने तर उत्तर कोरियाका हकमा किम जोङ उनको प्रशंसा गरेर भ्रम पार्ने प्रयास गर्दैन ।
ट्रम्पले संयुक्त राष्ट्रसंघमा भने ‘‘विश्वव्यापी प्रशासन, नियन्त्रण र प्रभुत्वको साटो अमेरिका सधैँ नै स्वतन्त्रता र सहयोगको पक्षमा रहनेछ ।’’ सिद्धान्ततः सहयोग यथार्थवादी परिदृश्यमा मेल नखाने नीति हैन । उदाहरणका लागि यथार्थवादीहरू अमेरिकाले चीनको भूराजनीतिक उदयलाई रोक्न एसिया प्रशान्त क्षेत्रमा विशेषगरी जापान र दक्षिण कोरियासँग साझेदारी गर्नुलाई सहजै स्वीकार गर्न सक्छन् ।
परन्तु, ट्रम्प प्रशासनले यी मुलुकहरूलाई दिएको सुरक्षामा प्रश्न उठाएको छ र व्यापारमा अपनाएको संरक्षणवादी उपायहरूबाट ुमेत मुक्त गरेको छैन । (यद्यपि, हालै दक्षिण कोरियासँग भएको दुई पक्षीय सम्झौताबाट स्थिति केही साम्य भएको छ ।) यही प्रकारको असंगत व्यवहार युरोपेली युनियन,जस्ता अमेरिकाका अरू परम्परागत साझेदार मित्रहरूसँग पनि गरिएको छ । यसबाट ट्रम्प सहयोग सम्बन्ध कायम राख्न एकदमै अनिच्छुक रहेको स्पष्ट भएको छ । उनले सहयोग सम्बन्ध बढाउन खोज्दा पनि अमेरिकाको रणनीतिक हितअनुरूप हुने मुलुकहरूका पक्षमा बिरलै हुन्छन् ।
राष्ट्रपति सी जिनपिङसँग व्यक्तिगतसम्बन्ध मित्रतापूर्ण रहेको दाबी गरे पनि चीनसँगको अमेरिकी कूटनीतिको सम्बन्धमा ट्रम्पले ‘प्रतिपस्र्धा’ भन्ने शब्द गरेका प्रयोग गरेका छन् । दुई देशबीच चलिरहेको व्यापार ( र प्रविधि) युद्ध तथा दक्षिण चीन समुद्रमा देखिएको द्वन्द्वको संकेतले मुठभेडको जोखिम नियन्त्रणबाहिर पुग्न सक्छ । 
यद्यपि, विद्यमान बहुपक्षीय शासकीय संरचनालाई आधार बनाउने हो भने यथार्थवादी धारले देख्ने यस प्रकारको परिदृश्य बदलेर शक्ति सन्तुलनमा भएको परिवर्तनबाट उत्पन्न समस्यालाई व्यवस्थापन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय मान्यतालाई चीनले सधैँ नै सम्मान गर्छ भन्ने त छैन । तर, त्यसो भन्दैमा अन्तर्राष्ट्रिय मान्यता नै भत्काउनु नभई त्यसको उचित प्रतिक्रियाबाट नै सही समाधान निस्कन्छ । दुर्भाग्य, अमेरिकाले भने व्यापार सम्बन्धलगायत धेरै क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता नै ध्वस्त पार्ने बाटो समातेको छ ।
संयुक्त राष्ट्रसंघको भाषणमा चीनका विदेश मन्त्री वाङ यीले उनको मुलुकले  प्रवर्धन गर्ने व्यावहारिक राजनीतिमा जोड दिएनन् बरु उनले त पाँचपल्ट भन्दा बढी ‘विन विन’ अवधारणाको नाम लिए । ट्रम्पले अरू अन्तर्राष्ट्रिय राष्ट्रवादीहरूसँगै पारस्परिक लाभको धारणालाई निषेध गर्न जारी नै राखे भने उनले चीनको मात्र हैन अमेरिकाको वृद्धि पनि मन्द बनाउन सक्छन् ।
अझ भयावह अवस्था त के छ भने बहुपक्षीय सहयोगको निषेधको अर्थ ट्रम्प प्रशासनले अपनाएको उपेक्षापूर्ण नीतिजस्तै जलवायु परिवर्तनलगायतका संसारकै अस्तित्वमा संकट उत्पन्न गर्ने समस्याहरूबाट पन्छनु हुनेछ । ट्रम्पको शासनमा अमेरिकाले नेतृत्वदायी भूमिका परित्याग गर्नुले एउटा जटिल प्रश्न उत्पन्न भएको छ : विश्वको सबैभन्दा ठूलो संकटको घडीमा कुनै मुलुकको सरकार शक्तिहीन हुन रुचाउने हो भने त्यो राष्ट्र विश्वको सबैभन्दा प्रभावशाली देश भएर के लाभ हुन्छ ?
(स्पेनका पूर्व विदेश मन्त्री हाल इसाड सेन्टर अफ वल्र्ड इकोनोमी र जियोपोलिटिक्सका अध्यक्ष) 
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य) 
Copyright: Project Syndicate, 2018.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC