site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
परदेशी दसैं
Sarbottam CementSarbottam Cement

दिपक महत    


समय फेरियो तर स्वदेशमा चरम निराशाको बादल हटेर निलो सग्लो आकाश देखिने सम्भावना, सम्भावनामै रह्यो । परदेशिएर भविष्य उज्वल बनाउने सपना, थाहा छैन कतैयो जुनीमा यो पनि देशकै नियतिसँग मेल खाने त हैन !

प्रिय बुबाआमा, बालुवा भूमिबाट ढोग गरें । अवश्य आशिर्वाद दिनुभयो । मैले पाएको आभास गरें । सन्चै हुनुहुन्छ भन्ने आशा छ । 
श्रीमती पनि सन्चै होलिन् । असिम र अटुट माया । 

Prabhu Bank
Agni Group
NIC Asia

यहाँ म कुशल छु । तपाईंहरुमा पनि यही कामना ।

त्रिभुवन विमानस्थलमा जेट विमानको यात्री बनेसँगै मातृभूमिबाट टाढिएँ । सम्भावनाहरुको राजधानी काठमाण्डौंमा आफ्ना सुखद पाइलाको दूरी नाप्न खोज्दै गर्दा विकल्पहरु साघुँरिएपछि कतार बाध्यताको कर्मथलो बन्यो । योसँगै स्वदेशमा देखिएका सुकिला र उर्वर अभिलाषा मुर्झाए ।
काठमाडौं एयरपोर्टमाविमान ठूलो स्वरले उड्दा धेरै पटक आफैं तर्सिएको छु कतै परदेशतिर बत्तिनुपर्ने त होइन भनेर,तर परिस्थितिले त्यहि डरसँग साक्षात् भेट गराइदियो ।

Global Ime bank

काठमाडौंको आकाशबाट जहाज जतिजति टाढा पुग्दै थियो, स्वदेशीसामिप्यता नजिकिएको आभास भइराख्थ्यो ।जहाज स्वदेशको भूमिबाट स्वतन्त्र भएर वेग उडेपनिम स्वतन्त्र बन्न सकिनँ । किनकी मस्तिष्कमा भरिएका सपना, इच्छा र पीडाले साथ छोडेनन् । केही समयको अन्तरालमाआफ्नै देशबाट निकै टाढा पुगिसकेछु । 

कतारको हमाद विमानस्थलमा ज्यान उत्रिएपछि घर छाड्नुको पीडा तथा जहाजको पट्यारलाग्दो थकानले शरीर ऊर्जाहिन बन्यो । तैपनि जीवनको फूल फुलाउनु थियो । त्यसको सुगन्ध परिवारमा छर्नु थियो । त्यसैले परदेशको कर्ममा जोडिएँ । विस्तारै आफ्नै सहपाठीको उहि नै दिनचर्याले मनलाई तग्रांउँदै लग्यो । शरीर लयमा फर्कने कोसिस गर्यो ।

जिन्दगीको सुनौलो भविष्यमा सजिदैं यहाँकाआलिसान महल खडा गरिरहँदा इँटा र बालुवा मेरा हरपलका साथी बनेका छन् । दुःख यिनैसँग साट्छु । रिस उठे इँटा माथि पोख्छु । जो नजिक छ, उसैसँग त पर्ने रहेछ ठाकठुक र लाग्दो रहेछ माया । एक खालको प्रेम भनौं न ! नभए निर्जीवसँग यसरी सम्बन्ध पनि त रहने थिएन नि ।

प्रिय बुबाआमा,

एक्लो सन्तान । घरमै नभए स्वदेशकै कुनै ठाउँमा बसेर छोराले केही गरोस् भन्ने आशा तपाईंको थियो नै तर जिन्दगीका केही सीमित चाहना पूरा गर्नेको लागि यहाँसम्म आएँ । असीमित चाहना मनमै बाँधिएका छन् ।

यसपाली पनि घर नफर्किदापरदेशी छोराले बिर्सियो भन्ने लाग्यो होला । दसैं नजिकिँदाबुबाआमाको अनुहारभरी बेखुसीका उदासिन बिम्ब दौडिँदा हुन् ।

प्रियश्रीमतीको प्रेमिल चम्किलो मुहार मेरो प्रतीक्षामा अनवरत वेचैन छ होला । सोच्छु, मेरो अभावमा तपाईंका आँखानिलो आकाश हेरेर कति भिज्दा हुन् ।

बाल्यकालमा स्कुल पढ्दा बुबाआमा तपाईंले कठिन ज्यामी काम गरेर मलाई पढाउनु भयो । बिर्सेको छैन, मलाई मात्रै खुवाएर तपाइर्हंरु भोकै सुतेको । अनि अझै झस्काउँछ चारैतिर च्यातिएर टालेका कपडा लगाएर तपाइर्हंरु काममा हिँडेको । मलाई पोल्छ,गरिबीको चित्र बोकेर हिँड्नुभएका तपाईंहरुलाई खिसिट्युरी गर्दै कानेखुसी गर्ने गरेका ति विरुप मान्छेका चित्रले ।

गरिब परिवारमा जन्मेपछि परदेश बाहेक अर्को विकल्प के नै रह्यो र । खर्चमा मितव्ययी सदा हामीलाई बनिरहनु नै पर्यो । जीवनको ३१ आंै वसन्तमा हिँडिरहँदा थोरै पैसा खर्च गर्न पनि दिमाग सयौं पटक सोचिरहन्छ । 

अग्ला हिमालमा सौम्य भएर बसेका हिउँका ढिक्का कति खुसी छन् है नेपालमा । ती हिमाल आफ्नै हुनुको नाताले पनिअलिकति त हाम्रो ओठमा पनि हाँसो छचल्किनु पर्ने हो तर अहँ हाम्रो हाँसोको बान्की हराएको छ । 

आमाको लामो कपाल पनि ढकमक्क फुलिसक्यो होला । बुबाको अनुहार पनि चाउरिन थाल्यो कि ! बुबालाई घरव्यवहार चलाउन गाह्रो पर्यो होला । कतै भनेजस्तो छोराले पैसा पठाएन भनेर तपाईंको मनले थकथकी त मान्दै छैन ! 

यहाँ सोचेजस्तो कमाई छैन । छिमेकीहरुले कमाएको देख्दा घरमा तपाईंहरुलाई लाग्ला छोराले सोचेजस्तो पैसा कमाएन भनेर तर यहाँ काम अनुसारको तलब छैन । सबैको कमाई एकनासै कहाँ हुदो रहेछ र ! तर, हिम्मत हारेको छैन । एकदिन कसरी हाम्रा खुसीका दिन नफर्किएलान् र !

बुबा दसैं मनाउन भनेर सदरमुकाम सन्धिखर्कमा आइएमई मार्फत् पैसा पठाएको छु । मैले पठाएको पैसाले तपाईंलाई कपडा किन्न नपुगेपनि आमा र श्रीमतीलाई भने किनिदिनुहोला । उधारो भएपनि दसैंमा मिठो मसिनो ल्याउनुहोला । मोवाइल किनेर पठाउँछु भनेको थिएँ तर यसपटक सकिनँ । सकें भने तिहारसम्म पठाउनेछु । अनि फोनमा धित मरुन्जेल कुरा गरौंला ।

दसैंमा धेरैजसो घर फर्किदा अरुबेला शून्य लाग्ने गाउँघर भरिए होलान् । फेसबुकमा सेयर भएका फोटोहरुले यहि बुझिरहेको छु मैले । स्वदेशमा यति ठूलो पर्वले खुसी दिइरहँदा परदेशमा बसेर सम्झनामा उदास बन्नुपरेको छ । यसपाला दसैं मान्न गाउँमा को–को आए सम्भव भयो भने बुहारीलाई चिठी कोर्न लगाउनुहोला ।
यहाँको हावापानी खै के हावापानी !नेपालको त्यो स्वच्छ चिसो देउराली डाँडाको हावा सोच्दा पनि शरीरमा शितलताको सञ्चार हुन्छ । मस्तिष्कका कुना–कुनामा त्यो प्रकृतिको हरियाली छटाले नाचीदिँदा मेरो मातृभूमिको यादले बेस्सरी चिथोर्छ ।

हरियो वनपाखा, लहरै झुल्न तर्खर गरेका धानका बाला, पहेलैं ढममक्क फुलेर सुगन्ध छरिरहेका तोरीबारी । सोच्दा पनि यहाँ मन उजाडिन्छ । भौतिक शरीर यो मरुभूमीमा रहे पनि मन भने गाउँमै रहन्छ । आखिर याद न हो कल्पनामा डुब्दा पनि अपार आनन्द मिल्छ । यो परदेशी जीवन विचित्रकोछ । गाउँका सबै एकैपटक भेट्ने सौभाग्य कहिले जुर्ला र ! 

यो चिठी तपाईंहरुको हातमा पुग्दा जमरा पनि अंकुराइ सके होलान् । घरमा सानो हँुदा आमा तपाईंले जमरा छर्दा म कत्ति खुसी हुन्थे है !

हिजोमात्रै एउटा दैनिक अखबार पढ्दै थिए । “एकै गाउँका ५०० भन्दा बढी युवा रोजगारीको लागि कतारमा” शीर्षकमा । यो समाचार पढेपछि मन कुँडियो । आफ्नै गाउँको यो आफ्नै समाचार थियो । नजिकिँदा ठूला पर्वमा गाउँका अधिकांश युवा यतै हुँदा धेरैका परिवारमा खुसीको आयतन पक्कै बढेको छैन होला तर बाध्यताको उपज आज हामी स्वदेशमा रहन सकेनौं । दसैंको छेकोमा आएको यो समाचारले यहाँको तापलाई उछिनेर उकालो ग्राफ चढ्यो । र मनको गर्मी त्यसैगरी उम्लियो ।

मनका कुराहरु लेखेर त कहिल्यै सकिँदैन । लेखँु भने पनि शब्दहरु नपुग्लान् जस्तो !खुसी खोज्न र दिने भिडमा हिँडिरहे पनि अझै भेटिन । हेरौं, यो यात्राबाट भेटिन्छ–भेटिन्न ।

सायद मैले गल्ति गरेँ । परिवारलाई यी सारा दुःखका कुरा व्यक्त गरेर । अरु कसलाई सुनाऔं ? परिवार नै त हो हरेक घुम्तिहरुमा सँगै रहने । बुबा, आमा र श्रीमतीलाई यो चिठीले स्तब्ध बनायो होला । पढ्ने पाठकलाई पनि त्यसैगरी । 

३ वर्षको बसाइ सकिन अझै ३ महिना बाँकी छन् । म घर फर्कदा चाडपर्व सबैले बिदाइ गरिसकेका हुनेछन् । विदेशको कर्मभूमि आफूले भनेजस्तो त कहाँ हुन्छ र ! कति चाडपर्वमा घरमा सँगै हुन नपाइने हो यही पिरलोले मनलाई सधै घोचिरहेको हुन्छ ।

मनका कुरा पोख्दै जाँदा चिठी पनि लामो बनिसकेछ । भोलि बिहान सबेरै उठेर डिउटी जानु छ । अब कलमलाई यही रोक्छु है ।
रातो टीका र जमराले निधार रङ्गाउनुहोला । ज्यान सकुशल रहे भेटौंला ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC