मलयालम भाषामा लेखिएको बेन्यामिनको बहुप्रतीक्षित उपन्यास ज्यास्मिन डेज जेसीबी पुरस्कारका लागि ‘सर्टलिस्टेड’ भएको छ । यसको अंग्रेजी अनुवाद साहनाज हबिबले गरेकी हुन् ।
यो उपन्यास नेपालका कतिपय पाठकको पनि रुचिको पुस्तक बन्न पुगेको छ । यसअघिको उनको उपन्यास गोट डेज नेपालका साथै अन्य मुलुकमा निकै चर्चित रहेको थियो । भारतको दक्षिणी सहर केरलाका बेन्यामिन केही वर्ष खाडी मुलुकमा बसे । आप्रवासी भएर बाँच्न कठिन हुन्छ, विभिन्नखालका अपमान सहनुपर्ने उनको धारणा छ । भारतीय अनलाइन पत्रिका स्क्रोल डट इनले उनीसँग गरेको अन्तर्वार्ताको सम्पादित तथा अनूदित अंश :
अनुवाद परम्पराको रहस्यबारे केही बताइदिनुस् । अनुवादक कसरी चयन गरिन्छ ?
साहित्यको दुनियाँमा यो संवादको अन्त्य कहिल्यै हुँदैन । एउटा लेखकका हैसियतमा अनुवादक चयनमा मेरो कुनै प्रभावकारी संलग्नता छैन । प्रमुख कुरो के हो भने, अनुवादकले पुस्तकको मुख्य गुदीलाई कसरी बुझ्छ, भाषा, लय तथा मूल लेखनलाई कसरी हेर्छ भन्ने हो । म पनि चाहन्छु मेरा प्रत्येक शब्दशब्दको अनुवाद होस् । तर मैले यथार्थ स्वीकार्नुपर्छ, शब्दशब्दको अनुवादले पुस्तकलाई राम्रो पार्दैन । त्यसकारण अनुवाद गराउन चाहने लेखकले अनुवादकलाई स्वतन्त्र छाडिदिनुपर्छ, पुस्तकलाई थप सुन्दर पार्न दिनुपर्छ । मेरो दृष्टिमा अनुवाद र मूल लेखनबीचको सम्बन्ध भनेको पानी र वाफको जस्तै हुन्छ । यसकारण म अनुवाद नभनेर लिप्यन्तरण भन्नु उचित हुने देख्छु । सौभाग्य नै मान्नुपर्छ, मेरो पुस्तकको अनुवादक प्रकाशकले नै चयन गर्छ । म सधैं अनूदित पाण्डुलिपि पढ्छु र आवश्यक सल्लाह दिन्छु । मेरो चासो भनेको अनुवादकले मेरा विचार, मैले प्रयोग गरेका शब्दका अर्थ बुझेको छ कि छैन भन्नेमा रहन्छ ।
ज्यास्मिन डेजमा तपाईंले परम्परागत द्वन्द्व र क्रान्ति देखाउन प्रारम्भिक सेटिङ रेडियो स्टेसनलाई किन बनाउनु भएको ?
उपन्यासको कथामा कुनै अनाम खाडी मुलुकलाई देखाउन खोजेको छु । भारतमा भन्दा खाडी मुलुकमा रेडियो स्टेसनलाई सबैभन्दा चाँडो चिनिन्छ । तिनीहरुले सुरु गरेका विभिन्न भाषाका रेडियो स्टेसनहरु चर्चित छन् । विभिन्न भाषा बोल्ने मान्छे, जो दूर मरुभूमिमा काम गरिरहेको छ, त्यसले पनि रेडियो सुन्छ । एकान्तमा जीवन बिताइरहेका मान्छेहरुका निम्ति रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । द्वन्द्वको अवस्थामा यस्ता रेडियोहरु झनै प्रभावकारी हुने हुनाले मैले सतर्कतापूर्वक उपन्यासमा त्यसको प्रयोग गरेको हुँ ।
‘ताया घर’ को कन्सेप्ट जन्माउनुभएको छ । ताया घरका अन्य शाखा पनि छन्, जहाँ आप्रवासीहरु भेटेर आआफ्ना समस्या, रोजगारीलगायतका विषयमा छलफल गर्छन् । यस्तो आइडिया कसरी फुर्यो ?
केही वर्ष म खाडी मुलुकमा बसेँ । उक्त समयमा मेरा थुप्रै पाकिस्तानी सहकर्मी, साथी र छिमेकी बने । हामी मिलेर बस्यौं, खानेकुरा बाँडेर खायौं, क्रिकेट साथै खेल्यौं, म निकै घुमलमिल भएर बसेँ । उनीहरु आफ्ना दैनिक जीवनका कथा सुनाउँथे, परिवार, नाताका बारेमा कुरा गर्थे । त्यही कुराले मलाई उपन्यासमा ताया घर सिर्जना गर्ने हुटहुटी चल्यो । उनीहरुका आफ्नै ताया घर थिए, त्यसभित्रको कथा उनीहरु मलाई सुनाउँथे । तिनका कथाले मेरो आफ्नै ताया घर निर्माण गर्न मलाई सहज भयो ।
उपन्यासकी प्रोटागोनिस्ट समीराले बारम्बार ‘हरामी’ उच्चारण गरिरहन्छिन् नि ?
यो सुन्नी मुसलमान समुदायकी समीराको मात्रै कुरा होइन । उक्त समाजमा हरेक महिलाले हरामीको उपमा अरुद्वारा पाइरहेका हुन्छन्, कहिलेकाहीँ आफैद्वारा पनि । समीराले त्यस्ता महिलाको प्रतिनिधित्व गर्छिन् । ‘हरामी शब्द समीराका निम्ति लाजमर्दो छैन, बरु संसारभरका यस्ता उपमा दिने पुरुषहरुसँग भिड्ने साहस उनीसँग छ ।
उपन्यासमा केही समय सिया मुसलमानका बारेमा बुझ्न खर्च गरिएको छ । कथामा सुन्नी मुसलमानको प्रभुत्व अधिक छ । उपन्यासमा सुन्नीको आवाज बन्न तपाईंलाई के कुराले उक्सायो ?
एउटा सुन्दर र प्रजातान्त्रिक मुलुकमा बहुमत नै अल्पमतको आवाज बन्न सक्नुपर्छ । अल्पमतमा परेकाहरुको स्वतन्त्रता, भावना तथा हक–अधिकारबारे बहुमतले बोलिदिनुपर्छ । यही कुराबाट निर्देशित भएर मैले समीरा (जसलाई मैले सुन्नी समुदायको बनाएको छु)ले अरुको पीडा बुझ्न सक्छिन् भन्ने ठहर गरेको हुँ ।
लामो समय एउटै सहरमा बसिरहेको आप्रवासीलाई पनि तपाईंले ‘विदेशी’ भन्नुभएको छ, तीमध्ये कतिपय त त्यहीँका नागरिक भइसकेका छन् । यसको पछाडिको कारण के होला ?
मलाई लाग्छ, संसारका सबै ठाउँमा आप्रवासीले सधैं विदेशी नै बन्नुपर्ने बाध्यता छ । पछिल्लो समय त आप्रवासीका लागि झनै खतरनाक हुन पुगेको छ । आप्रवासीले स्थानीय बन्न पाउने अवस्था छैन । छालाको रङ, जन्मथलो, धर्मजस्ता कुराले अप्ठेरो पारिरहेको छ । पूर्वी एसियाका अधिकांश आप्रवासीले एकपटकमा दुई वर्षका लागि ‘वर्क भिसा’ पाउँछन् । अरब समुदाय आफ्नो संस्कृति र शुद्ध रगत जोगाएर राख्न चाहन्छ, अरुसँग घुलमिल हुन रुचाउँदैन, त्यसकारण तपाईंको परिचय विदेशी नै रहन्छ । र, त्यो समयमा तपाईंलाई उनीहरु ‘तलबी दास’ बनाएर राख्न चाहन्छन् । मैले यही कुरालाई उपन्यासका माध्यमबाट छलफलमा ल्याउन चाहेको हुँ ।
सामाजिक सञ्जाल (फेसबुक, ट्विटर)मा ज्यास्मिन डेजबारे चासो र छलफल चलिरहेको छ । तपार्इंले उपन्यासमा उठाएको विषयमा ती माध्यमबाट सक्रिय सहभागिता र परिवर्तन आउला भन्ने लाग्छ ?
सोसल मिडियाजस्ता माध्यमहरु हाम्रा हातमा भर्खरै आउन थालेका हुन् । हामीमध्ये कतिपय यसको शक्तिबारे सचेत छैनौं, हामी यसलाई हावादारी कुरा गर्न र कसैलाई उडाउन पनि प्रयोग गरिरहेका छौं । तर अरब क्रान्ति र ज्यास्मिन क्रान्तिले यसको शक्तिलाई प्रमाणित गरिदिएको छ । हामीले कैयौं घटना देखिसकेका छौं, सोसल मिडियाले प्रभाव पारेका सन्दर्भमा । पछिल्लो घटना ‘निर्भया’ काण्डलाई लिन सकिन्छ । यस्ता माध्यमले राजनीतिक दलले गर्नुपर्ने काम गरिरहेका छन् । कहाँबाट यी अनुहारविहीनहरुको जमात आयो ? कसरी तिनीहरु एकत्रित भए ? कसरी तिनले लड्ने शक्ति प्राप्त गरे ? यसको जवाफ सोसल मिडियाले दिइरहेको छ । एउटा लेखक हुनुको नाताले म समाजसँग नजिकबाट जोडिएको छु । म यसलाई आफ्नो पुस्तकमा उल्लेख नगरिरहन सक्दिनँ ।