site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पशुको बली कि खराब बानीको ?

आज दसैंको महाअष्टमीको दिन हो । आजको दिन देशैभरी खसी, बोका, राँगा, कुखुरा लगायतका पशुपन्छीलाई देवीका मन्दिरमा र घर–घरमा पनि बली दिने वा बध गरेको पाइन्छ । निर्दोष पशुहरु निरीह भएर कराइरहेको, जता पनि रगत अनि मासु देख्दा मलाई साह्रै नै वेदना हुन्छ । देशै छोडेर हिँड्नु जस्तो लाग्छ । जता जाँदा पनि निरीह पशुपन्छीलाई बध गर्न ठिक्क पारिएको, च्याँच्याँ र चुँचुँ गरेको देख्दा मलाई के गर्नु के नगर्नु जस्तो महसुस हुने गरेको छ । 

सानैदेखि पशुपन्छीलाई बध गरेको देखेर मलाई साह्रै दुःख लाग्थ्यो । त्यही भएर मैले पशुपन्छी बली दिनु हुन्न वा बध गर्नु हुन्न भनेर अभियान नै चलाएकी हुँ । यो अभियान चलाएको पनि दश वर्ष भइसकेको छ । 

अभियानले कति असर गर्यो ?

Prabhu Bank
Agni Group
NIC Asia

हामीसँग ठ्याक्कै संख्या त छैन । तर, मन्दिरहरुमा गएर हामीले पुजारीहरुलाई सोद्धा उहाँहरुले पहिलाको तुलनामा बली दिनेहरु घटेको बताउनुभएको छ । यसको विस्तृत आँकडा निकाल्ने प्रयास हामीले गरिरहेका छौं । केही न केही सकारात्मक प्रभाव परेको हामीले ठानेका छौं । तर, अझैपनि हजारौंको संख्यामा पशु बली दिने गरिएको छ । यो क्रमलाई घटाउँदै लगियोस् भन्ने अभियानमा हामी छौं । केही न केही सकारात्मक असर गरिरहेको छ ।

बली धर्मले मागेको हो त?
बली धर्मले मागेको जस्तो मलाई लाग्दैन । मैले यसबीचमा हिन्दू धर्मशास्त्रको पनि अध्ययन गरेँ । त्यो अध्ययन गर्दा हिन्दू धर्ममा विभिन्न विकल्पहरु पनि दिइएको पाएँ । जस्तो कि बलीकै लागि पनि खसी वा बोका नकाटी त्यसको सट्टामा नरिवल वा कुभिण्डो पनि काट्न सकिने व्यवस्था पनि छ । त्यसैले निर्दोष र माया लाग्दा पशुलाई बली दिनुपर्छ भनेर कहिं भनिए जस्तो लाग्दैन । बली दिँदा देवी खुसी हुनुहुन्छ जस्तो पनि मलाई लाग्दैन ।

Global Ime bank

त्यसैले धर्मले मागेको भनेर काटमार गर्नु भनेको धर्मको बदनाम गर्नु हो भन्ने मलाई लाग्छ । यो अभियान अहिले देशव्यापी मात्रै होइन, अन्तर्राष्ट्रियकरण पनि भएको छ । जस्तो कि गढीमाईमा दिइने बलीको चर्चा विश्वभरीकै सञ्चार माध्यममा आएका छन् । यसले हिन्दू धर्मको बदनाम पनि गराएको छ । त्यसैले हिन्दू धर्मलाई अझ फैलाउने हो भने यसको बदनाम हुनुहुँदैन । त्यसैले आफ्नो धर्म सबैका लागि ग्राह्य बनाउनकालागि पनि स्वयं हिन्दू धर्मावलम्बीहरुले बली जस्ता गलत प्रयोगहरु बन्द गर्नु जरुरी रहेको मैले ठानेकी छु । 

घरमै झगडा पर्छ
परम्परागत रुपमा चलेको चलन भएकोले कहिलेकाहीं बली र मासु खाने कि नखाने भन्ने बारेमा मेरो घरमै पनि झगडा पर्छ । म शाकाहारी हुँ तर मेरो घरमा मांसाहारी पनि हुनुहुन्छ । मैले पशुबली विरुद्धको अभियान चलाएको लामो समय भइसक्दा पनि घरमै त बुझाउन सकिरहेको छैन भने समाज र देशभरी बुझाउनका लागि समय लाग्छ । त्यसैले मैले आफ्नो अभियान जारी राखेकी छु । अहिलेपनि पशुबली नदिइयोस् भनेर विभिन्न मन्दिरहरुमा हामीले पर्चा र पोष्टरहरु टाँसेका छौं । विभिन्न जिल्लाहरुमा पनि साथीहरुले अभियान चलाइरहनु भएको छ । र, यसको सकारात्मक प्रभाव पनि परिरहेको छ । धेरै मानिसले अहिले रातो मासु खानु स्वास्थ्यको लागि हानिकारक हो भन्ने बुझेर खान छोडेको अनुभव पनि सुनाउनु हुन्छ । त्यसैले यसबारेमा बिस्तारै मानिसहरुमा सकारात्मक प्रभाव परेको मैले महसुस गरेको छु । 

पशुको बिजोग देख्दा माया लाग्छ

पशुपन्छीहरु कहिलेकाहीं राजधानीमा ल्याउँदै गर्दा गाडीमा कोचेर ल्याएको देखिन्छ । ती पशुहरु राल सिंगान चुहाउँदै आइपुग्छन् । तिनीहरुलाई मार्ने बेलामा पनि दुःख दिएर ल्याएको देखेको छु । त्यो देख्दा असाध्यै दुःख लाग्छ । मासु खानेले पनि स्वस्थ खालका खसी कुखुराको मासु खाँदा स्वास्थ्यलाई पनि राम्रो हुन्थ्यो होला । तर, तनाव दिएर ल्याइएका पशुको मासु खाँदा पक्कैपनि हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन । हाम्रा बालबालिकाहरुलाई पनि राम्रो गर्दैन । 

पौष्टिक तत्वको लागि मासु नै चाहिन्छ त?
पौष्टिक तत्वको लागि र तागत पाउनका लागि मासु खानुपर्छ भन्ने भनाई पनि सुनिन्छ । तर, यो कुरा सत्य होइन । बरु मासुले रोग ल्याउने पछिल्लो समयमा बताउन थालिएको छ । मैले अघि पनि भने रातो मासुले समस्या ल्याउँछ भन्ने कुरा अहिले धेरै मान्छेले बुझ्न थाल्नु भएको छ । माछा मासुको सट्टा गेडागुडी तथा साग सब्जी खाँदा त्यो भन्दा राम्रोसँग शारीरिक आवश्यकता पूरा हुन सक्छ । त्यसैले दसैंमा गरिने जस्तो हजारौंको संख्यामा बली दिनु राम्रो होइन । विश्वमा चर्चित बडी बिल्डरहरु पनि शाकाहारी भएको हामीले सुन्दै आएका छौं । त्यसैले मासु अनिवार्य हो भन्ने मलाई लाग्दैन र सबैले यो कुरा बुझिदिनुपर्छ । 

विकल्प खोजौं
दसैंको महाअष्टमी र महानवमीका दिन विशेषगरी पशुबली दिने गरेको पाइन्छ । पशुको पनि बाँच्न पाउने अधिकार छ । त्यसैले यसको विकल्प खोजौं भनेर म सबैमा अनुरोध गर्न चाहन्छु । हुनत धेरैले अहिले कुरा बुझिसक्नु भएको छ । गुठी संस्थानले पनि बलीका लागि दिने रकम रोक्न लागेको भन्ने मैले सुनेको छु । यदि संस्थानले त्यसो गर्यो भने पशु अधिकारको पक्षमा सरकारी निकायले पनि मद्दत गरेको ठहरिनेछ । तर, औपचारिक रुपमा हामीले यसबारेमा जानकारी पाइसकेका छैनौं । यदि यसो गर्न लागिएको हो भने यो राम्रो कुरा हो ।

खराब बानीलाई बली दिऔं

चाडपर्वको अवसरमा यदि बली नै दिने भए हाम्रा गलत बानी व्यहोरालाई बली दिऔं । यसको मतलब हाम्रा गलत बानी व्यहोरा छोडौं । असल काम गरौं । निर्दोष पशुको बली नदिऔं । निर्दोष र आवाजविहीन पशुको बली दुर्गा माताले पनि स्वीकार गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । 

(पशुबली विरोधी अभियन्ता तथा एनिमल नेपालकी अध्यक्ष शाहसँग बाह्रखरीका लागि लेखनाथ अधिकारीको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC