दसैंको छेको पारेर चलचित्र ‘जय भोले’ आजबाट प्रदर्शनमा आएको छ । १२ वर्षपछि अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’को कथा खगेन्द्र लामिछानेले लेखेका छन् । खगेन्द्र यो चलचित्रको मुख्य अभिनेता पनि हुन् । अक्सर आफू अभिनित चलचित्रको कथा आफै लेख्ने खगेन्द्रले यो पटक आफ्नो पुरानो जानराभन्दा अलि पर रहेर कमेडी जानराको चलचित्रमा हात हालेका छन् । रियालिस्टिक चलचित्रमा देखिने उनी ‘जय भोले’मार्फत् सिचुएसनल कमेडीमा उभिने प्रयास गर्दैछन् । चलचित्र ‘जय भोले’ सँगै समग्र नेपाली चलचित्रका विषयमा केन्द्रित रहेर खगेन्द्रसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
‘धनपति’ भन्दा ‘जय भोले’ मा फरक के छ ?
पृष्ठभूमि नै फरक छ, फरक पात्रको कथा हो । ‘धनपति’ राजनीतिक पृष्ठभूमिको कथा थियो तर यो सोसलभित्रको फ्रेण्डसिप स्टोरी हो ।
‘धनपति’ बाट अपेक्षित समीक्षा पाउनु भएन । ‘डण्डिबियो’को अवस्था पनि उस्तै रह्यो । यसबाट कस्तो अपेक्षा छ ?
आफ्नो तर्फबाट इमान्दारितापूर्वक काम गर्ने हो । तपाईंले भनेजस्तै ‘धनपति’ र ‘डण्डिवियो’मा हाम्रा केही कमजोरी छन्, त्यो हामीले पनि देखेका छौं । ‘धनपति’ मा सिनेमेटोग्राफरको हात भाँचिएर पनि समस्या भएको थियो । केही हामी आफ्नैतर्फबाट पनि कमजोरी भएका थिए । तर, यसमा त्यस्तो गल्ती छैन । चलनचल्तीको भाषामा कमर्सियल इलिमेन्ट भएको चलचित्र हो,–‘जय भोले’ । ‘धनपति’ रियालिस्टक चलचित्र थियो तर वास्तविक जीनवनमा नजिक रहेर मनोरञ्जनात्मक चलचित्रमा चाहिने सबै तत्व समावेश गरिएको चलचित्र हो, ‘जय भोले’ । ह्युमरस पनि भएकाले मास अडियन्सलाई यसले अपिल गर्छ भन्ने मेरो विश्वास छ ।
‘रियालिस्टक’ कथालाई छोडेर बजारलाई लक्षित गरेर बनाइएको चलचित्र हो ?
बजारलाई लक्षित गरेर ‘पनि’ बनाइएको चलचित्र हो भन्छु म यसलाई । बजारलाई मात्रै लक्षित गरेर मात्रै बनाइएको होइन किनभने हाम्रै समाजको कथा पनि छ । फरक यति हो कथालाई रमाइलो तरिकाले भन्न खोजिएको छ ।
अहिले नेपाली चलचित्र उद्योगमा कमेडी चलचित्र चलिरहेका छन्, तपाईंले पनि त्यही जानरा समाउनु भयो भन्दा न्याय हुन्छ कि अन्याय ?
त्यसरी मात्रै भन्न मिल्दैन । कुनै कथा आफै ह्युमर भएर आउने हुन्छ । पात्रहरुको अन्तरद्वन्द्वमा आउने परिस्थितिले दर्शकलाई आफै हँसाईदिन्छ । हँसाउनकै लागि डाइलग राखिएको छैन । सिचुएसनल कमेडी छ । कमेडी चल्छ भनेर यही जानरालाई पछ्याउन खोजिएको होइन । मैले यस अगाडि यस्तो खालको चलचित्र बनाएको थिइन, त्यसैले एउटा यो खालको चलचित्र पनि बनाएर हेरौं भन्ने पनि लागेको थियो । ‘जय भोले’ मेरा लागि नयाँ अनुभव पनि रह्यो ।
यो वर्षको बक्सअफिस रिपोर्ट हर्ने हो भने राम्रो अवस्था छैन, किन नेपाली चलचित्रले दर्शक तान्न सक्तैनन् ?
चलचित्र कला हो, यसले समाजलाई गाइड पनि गर्छ । त्यसैले समाजमा रहेका आफ्नै विषयलाई पनि भन्नुपर्छ भन्ने कुराको कमी छ कि भन्ने लाग्छ । तर, अहिलेको अवस्थामा त्यस्तो प्रयास पनि भएका छन् ।
आर्ट मुभी नेपालमा त्यति धेरै व्यावसायिक रुपमा सफल छैनन् नि !
चलेका छन् । ‘ह्वाइट सन’, ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’ चल्यो । ‘धनपति’ को समीक्षा मिश्रित आए पनि लगानी र त्यसको प्रतिफलको हिसावले चल्यो ।
९५ प्रतिशत चलचित्र बर्सेनि घाटामा गइरहेका छन्, नेपाली चलचित्र कहाँनेर चुक्छन् जसका कारण नेपालमै रुचाइँदैन ?
मुख्य कुरा हाम्रो चलचित्रको स्क्रिप्ट कमजोर छ । हाम्रो आफ्नै कथा छैन । फेन्टासी कथा पनि कम्तिमा विश्वास गर्न सकिने हुनुपर्छ । यी दुई कुरामा ठूलो अभाव छ नेपाली चलचित्रमा ।
‘जय भोले’ को अफिसियल घोषणामा तपाईंले नेपालमा मजत्तिको स्क्रिप्ट राइटर कोही छ भने म स्क्रिप्ट नै लेख्न छोडेर अभिनयमा मात्रै केन्द्रित हुन्छ भन्नु भएको थियो, हमीसँग स्क्रिप्ट राइटर नभएका हुन् कि उनीहरुलाई उचित पारिश्रमिक दिन सकेनौं ?
तपाईंले पनि एडिट गरेर सुन्नुभएछ जस्तो लाग्यो । मैले त्यहाँ स्क्रिप्ट नै राम्रो छैन त्यही भएर चलचित्र नखेलेको हुँ भनेको थिएँ । नेपालमा यति धेरै राम्रा स्क्रिप्ट राइटहरु छन् कुनै दिन मेरो सामु राम्रा स्क्रिप्ट आउनेछन् भनेको थिएँ । मिडियामा त्यसैलाई बङ्ग्याएर आएको हो ।
मैले राम्रो लेख्छु भनेर दाबी गरेको होइन । ममा यो भ्रम छैन र कसैमा पनि हुनहुन्न भन्ने लाग्छ । म इमान्दार भएर कोसिस गर्छु । ममा त्यस्तो अथाह ज्ञान कहाँ छ र ? यो भ्रम ममा छैन । म आम मान्छे हुँ । मेरा पनि कमीकमजोरी छन् । मात्रै इमान्दार भएर प्रयास गरेको मेरा चलचित्र हेर्दा पनि त्यो देखिन्छ ।
भनेजस्तो कथा लेखिएको खण्डमा खैरो कपाल भएको व्यक्तिले खोज्ने नेपाली चलचित्र बनाउन सकिन्छ ?
राम्रो कथा भएर मात्रै त्यो खालको चलचित्र बन्छ जस्तो पनि लाग्दैन । त्यही अनुसारको प्रोडक्सन पनि हुनुपर्छ । प्रस्तुति पनि त्यही अनुसारको हुनुपर्छ । अहिले नेपाली चलचित्रको न्यूनतम लगानी २ करोड भइसक्यो । दुई करोड लगानी गरेर त्यसको रिटर्न आउँछ कि आउँदैन भन्ने प्रश्न आएको छ । राम्रो कथामा चलचित्र बन्ने हो भने त्यही अनुसारको मार्केटिङ हुनुपर्छ । बाहिरको बजारमा पनि पठाउन सक्नुपर्छ । फेष्टिबलका लागि एप्रोच गर्नुपर्छ । यसो गर्न सकियो भने राम्रो चलचित्र बनाउन सकिन्छ ।
हाम्रोमा बजेट अभावका कारण चलचित्र आउँदैछ भनेर मार्केटिङ नै हुँदैन । मेरो आफ्नै अनुभव छ एउटा, मेरो यति धेरै शुभचिन्तक छन्, केही व्यक्तिलाई मेरो चलचित्र ‘डण्डीबियो’ रिलिज भएको छ भन्ने नै थाहा थिएन । हामी दर्शकलाई नै थाहा नदिई चलचित्र रिलिज गरिरहेका त छैनौं ? अथवा नेपाली चलचित्र नै हेर्दैनन् नेपाली दर्शक ? यसमा अध्ययन हुनुपर्छ । स्क्रिप्ट, प्रोडक्सन, पब्लिसिटी, अभिनेता र अभिनेत्रीको काम, डिरेक्टरमा हामी कतै न कतै केही कमजोर छौं ।
तर यो हाम्रो लिमिटेशनका कारण हो । यद्यपी हामी कमजोर नै चाहिँ छैनौं तुलनात्मक हिसावले । बलिउड, हलिउडमा वर्षमा हजारौं चलचित्र बन्छन् तर हामीले नाम सुन्ने मुस्किलले त्यही १५–२० वटा त हो । यो संख्याको अनुपातको कुरा गर्ने हो भने हाम्रोमा सयवटामा ५ वटा चलचित्र हिट भइरहेका छन् भने उनीहरुभन्दा कमजोर छैनौं पनि भन्न सकिन्छ । उनीहरुका चलचित्रले गर्ने ग्रस कलेक्सन र हाम्रो चलचित्रको हेर्ने हो भने छक्का पञ्जाले १६ करोड कमाउँदा त्यहाँको जनसंख्याको अनुपातका आधारमा हिसाब गर्ने हो भने हामी अगाडि छौं ।
हामीले यहाँ कलाकार, निर्देशक, प्राविधिक बाँच्नका लागि व्यावसायिक चलचित्र पनि बनाउँदै गर्ने र आर्ट मुभी बनाएर फेष्टिबलमा पठाएर नेपाली चलचित्रको विश्व बजारमा उपस्थिति जनाउँदै लैजान सक्यौं भने नेपाली चलचित्र उद्योगलाई राम्रो हुनेछ ।
नेपालमा सिनेमा कल्चरको विकास किन हुन सकेन ?
हाम्रोमा सिनेमा कल्चर विकास हुनहुन खोज्छ, फेरि भत्किन्छ । एउटा चलचित्र चल्यो भने अर्को चलचित्र बनाउँदा दुःख नगर्ने बानी छ । हरेक मेकरले प्रत्येक चलचित्र शून्यबाट शुरु गर्नुपर्छ ।
हाम्रोमा विरासतलाई प्रयोग गरेर फट्याङफुटुङ गरेर निर्माण गरेर पैसा कमाइहालौं भन्ने छ । जसका कारण चलचित्रप्रतिको मोह नै भङ्ग हुने गरेको छ । मैले कसैलाई आरोप लगाएको होइन । म पनि सायद त्यही गरिरहेको छु होला । यो गरिबीका कारण पनि भइरहेको छ । किनभने चलचित्र निर्माणका लागि हामीसँग पैसा छैन ।
चलचित्र निर्माणका लागि पैसा त के हामीलाई सर्भाइभ हुन पनि गाह्रो छ । मलाई चलचित्रको गज्जवको वन लाइन स्टोरी आयो तर त्यलाई घरमा बसेर डेभलप गर्न सकिन र बाहिर गएर लेखौं न भन्दा घर बाहिर कुनै शान्त ठाउँमा जान पैसा हुँदैन । यस्ता सानासाना कुराहरुले हामीलाई अल्झाइरहेका छन् । भन्नेले त घरमै बसेर लेखे भइगयो नि भन्ला तर उसलाई थाहा हुँदैन । एउटा क्रिएशनले कसरी सफर गर्छ भन्ने कुरा । क्रिएशन गर्ने व्यक्तिले आफूले चाहेको शान्त ठाउँमा गएर आफूलाई कागजको पानामा पोख्न नपाउँदा उसको आत्मा कसरी भड्किरहेको हुन्छ त्यो व्यक्ति स्वयंलाई मात्रै थाहा हुन्छ । मेरो हकमा कुरा गर्दा घरमा बसेर म एक अक्षर पनि लेख्न सक्तिन ।
‘छक्का पञ्जा’ चलिरहेका बेला ‘जय भोले’ आजबाट रिलिज भयो । दुइटा ठूला ब्यानरका चलचित्र एकैपटक आउँदा ग्रस कलेक्सनमा असर गर्छ होला नि !
दुइटा चलचित्र सिंगल सिंगल आएको भए अझै राम्रो हुन्थ्यो होला । तर नेपाली चलचित्रको अहिलेको बजार हेर्दा हिन्दी र अग्रेजी चलचित्र छैनन् । यसकारण दुईटा चलचित्र आउँदा त्यति ठूलो असर गर्छ जस्तो लाग्दैन । ‘छक्का पञ्जा’ आफैमा ब्राण्ड बनिसकेको चलचित्र हो, दर्शकले साथ दिइरहनु भएको छ । आजबाट हाम्रो चलचित्र आयो । दर्शकले जुन चलचित्र मन पराउनुहुन्छ, त्यही हेर्नुहुन्छ । हामीले हाम्रोतर्फबाट कोसिस गरेका छौं, त्यसको रिजल्ट आजबाट आउँदैछ । चाडबाडको समयमा दुइटा चलचित्र चल्दा खासै ठूलो असर गर्छ जस्तो लाग्दैन । विदामा घुम्न जाने, सिनेमा हेर्ने हाम्रो चलन छ ।
‘टलकजङ्ग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’बाट जुन खालको वाहवाही पाउनुभयो । त्यो साथ त्यसयताका चलचित्र ‘धनपति’ र ‘डण्डिबियो’ बाट पाउनु भएन । त्यो गुम्दै गएको शाख ‘जय भोले’ ले रोक्न सक्ला ?
एउटै हातको औंला पनि लामो र छोटो हुन्छ । कुनै दाडी फुलेका होलान् कुनै नफुलेका होलान् । यस्तो कुरामा मैले कहिले पनि प्रेसर फिल गर्दिन । मेरो काम जे काम हो त्यो इमान्दारिताका साथ गरेको छु । बढेको खोला तर्दा कहिले बगिन्छ, कहिले तरिन्छ । यो त जीवनको रीत नै हो ।
मैले अभिनय गरेका ५ वटा चलचित्र रिलिज भए । ५ वटामा २ ओटा चलचित्र दर्शकको मुखमा झुण्डिएको छ । यो मेरा लागि ठूलो कुरा हो । यी चलचित्र हाम्रो पुस्ताले सायद बिर्सिदैन । एउटा अभिनेताका लागि योभन्दा ठूलो कुरा के हुन्छ र ? ‘डण्डिबियो’ राष्ट्रिय खेल थियो कुनै बेला । यो विषयलाई लिएर हामीले चलचित्र बनायौं । यो ‘डण्डिबियो’ को इतिहास हो । ‘डण्डिबियो’ बारे कसैले रिसर्च गर्दा यो चलचित्र सबैले खोज्छ । व्यावसायिक रुपमा सफल नभए पनि यसको आफ्नै इतिहास भने हुनेछ ।
तस्बिरः सौरभ रानाभाट