site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रहर कतै छुटेर गयो
Sarbottam CementSarbottam Cement

– कुमार शर्मा


हरेक वर्ष असोज महिना आउँछ । महिना परिवर्तनसँगै घर–घरमा राखिएका भित्ते पात्रोका पन्ना पल्टिन्छन् । भदौ ओझेल पर्छ । असोज लाग्छ । एथलेटिक्सको ‘रिले रेस’मा जस्तै भदौले एक निमेष असोजलाई छुन्छ, कानमा खुसुक्क केही भन्छ अनि सुस्ताउँछ । असोजले गति लिन्छ । अबको एक महिना उसको हुनेछ । ३० दिनपछि ऊ पनि सुस्ताउनेछ । र, यसरी नै दौड चलिरहनेछ । तर, यी ३० दिनभित्र धेरै कुरा हुनेछन् । उसले एक जिन्दगी बाँच्नेछ ।

तराईमा करिब ६–७ महिना भयंकर गर्मी हुन्छ । चैतदेखि भदौसम्मै पसिना खलखल बग्छ । तर, जसै असोज लाग्छ— मौसममा सानै भए पनि परिवर्तन हुन्छ । बिहानी केही चिसो हुन्छ, हावा केही शीतल हुन्छ । घामले पनि उति पोलिहाल्दैन । काठमाडौंमा भने केही फरक हुन्छ । गर्मी र जाडोमा मौसम त्यति धेरै परिवर्तन हुँदैन । न त गर्मीमा जिउ पोल्छ, न त जाडोमा आँत ठिहि¥याउँछ । र, पनि असोज लागेको भान हुन्छ । घाम प्यारो हुन थाल्छ । केही आउँदै छ भन्ने कुराको संकेतले ज्यानमा उमंग ल्याउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं होस् कि तराई, पहाड होस् कि हिमाल, जाडो होस् कि गर्मी— एउटा कुरा भने पक्का हुन्छ । असोजमा दशैं आउँछ । दशैं असोजको भागमा पर्छ— प्रायःजसो । सधैंजसो । केही अपवाद छाडेर । जस्तो कि यो वर्ष दशैं कात्तिकमा परेको छ । अपवादलाई एकैछिन बिर्सिदिऊँ । यसै पनि मलाई अपवादमा खासै रुचि छैन । संसार अपवादले चल्दैन ।

असोज महिना यता विदेशतिर पनि आउँछ । भित्ते क्यालेन्डरको महिना फेरिन्छ । मोबाइलको क्यालेन्डर आफैं अपडेट हुन्छ । तर, मौसममा खास परिवर्तन महसुस हुँदैन । बिहानको बतास पहिलेजस्तै हुन्छ । घाम पनि उस्तै हुन्छ । अनि सोच्छु— ग्रिगोरियन क्यालेन्डर मान्ने ठाउँमा किन होस् त परिवर्तन ! नेपाली पात्रो र नेपाली क्यालेन्डर (वि.सं.) त केवल मनमा मात्र लिएर हिँडिरहेका हुन्छौं हामी विदेशमा । जिन्दगी त अंग्रेजी क्यालेन्डरअनुसार चलिरहेको हुन्छ । दशैं कुन बाटो भएर आओस् ?

Global Ime bank

केटाकेटी हुँदा दशैं महिना दिनको लामो छुट्टी अनि नयाँ लुगाको रूपमा आउँथ्यो । टीका लगाउन गाउँ जाने बहानामा आउँथ्यो । घटस्थापनाको दिन टपरीमा राखेको जमरामा आउँथ्यो दशैं । त्यसपछि प्रत्येक दिन दिनको चार–पाँच पटक टपरी उठाउँदै ‘जमरा कत्रो भएछ’ भनेर हेरेको बालसुलभ व्यग्रतामा आउँथ्यो दशैं । बुवाले दशैंका लागि भनेर लिएर आएको कोडाक क्यामेराको नयाँ रिल देखेपछि जम्माजम्मी ३० (कहिलेकाहीं ३१, ३२ पनि हुन्थ्यो) फोटोमध्ये कति वटा आफूले ‘सिंगल’ फोटो खिच्ने भनेर दिदीसँग गरेको झगडामा आउँथ्यो दशैं । एक महिने दशैं बिदामा शिक्षकहरूले दिएको गृहकार्य हतार–हतार शुरुका दुई दिनमा सक्ने चटारोमा आउँथ्यो दशैं । मासु र भ्यान्टा सँगै पकाएको दिन हतार–हतार शुरुमा भ्यान्टाको तरकारी सकाएर पछि आरामले मासुसँग भात खाने रहरजस्तो । 

अलि ठूलो भएपछि दशैं १० दिनको छुट्टीको रूपमा आउन थाल्यो । दिनभरि तास खेल्ने बहानाको रूपमा आउन थाल्यो । जमराको उति मतलब हुन छोड्यो । ‘सिंगल’ फोटो खिच्ने रहर पनि उति हुन छोड्यो । दिदीसँगको झगडा पनि बन्द हुँदै गयो । र, पनि दशैं सधैंजस्तो आई नै रह्यो ।

काम गर्न थालेपछि दशैं ‘दशैं पेस्की’को रूपमा आउन थाल्यो । घरपरिवार, साथीभाइसँग बसेर रमाइलो गर्ने बहानाको रूपमा आउन थाल्यो । जहानैपिच्छे हात–हातमा डिजिटल क्यामेरा हुन थाल्यो । तर, फोटो खिच्ने रहर भने क्रमशः हराउँदै गयो । रूप र बनोटमा परिवर्तन भए पनि दशैं सधैं आइरह्यो । कहिल्यै रोकिएन । प्रायः असोजमै आयो ।

दशैंको पर्यायजस्तो बनेको जमरा र सेलरोटी यता पनि पाइन्छ । तर, आमाले राखेको टपरीमा होइन । न त आमाको हातले बनाएको बांगोटिंगो रोटीमा । यता जमरा र सेलरोटी ‘किन्न’ पाइन्छ, अनि आउँछ प्लास्टिकको प्याकेटभित्र । यताको सेलरोटी ठ्याक्कै गोलो, मिलेर घुमेको हुन्छ । अनुभवी हातले बनाएको झट्ट हेर्दै थाहा हुन्छ । र, पनि आमाको हातले बनाएको बांगोटिंगो रोटीले जस्तो दशैं लिएर यताका सेलरोटी आउँदैनन् ।

असोजजस्तै विदेशमा दशैं पनि आउँछ बेलाबखत । तर, यता न कामबाट छुट्टी मिल्छ न त पेश्की नै आउँछ । न स्कुल बिदा हुन्छ न त बाटोको ट्राफिक पातलिन्छ । न शहर रित्तो हुन्छ, न गाउँ भरिन्छ । यता ‘स्पिरिट’मा दशैं आउँदैन, केवल आवरणमा आउँछ । यता दशैं आउँदैन, परैबाट जिस्क्याउँछ मात्र !

दशैंको आसपासमा ‘चंगा चेट’ कार्यक्रम यता सिड्नीमा नहुने होइनन् । प्रशस्तै हुन्छन् । कार्यक्रम आयोजना हुन्छन्, सकिन्छन् । सिड्नीको आकाशमा चंगा उडेको भने देखिँदैनन् । चंगा उडाउने हात अनि मन उतै नेपालमै छुटेजस्ता लाग्छन् । बाँकी भएका हात यता काममै व्यस्त हुन्छन् । लट्टाई समाउने फुर्सद उति हुँदैन सिड्नीका हातहरूलाई । दशैंको माहोललाई ध्यानमा राखेर सांगीतिक कार्यक्रम पनि प्रशस्तै आयोजना हुन्छन् यता । फरक यत्ति हो— उता दशैं तामझाम र विशेष कार्यक्रमबिनै घरदैलोमा आइपुग्छ । यता भने अलि अटेरी गर्छ । हत्तपत्त आउँदैन । दशैंकै लागि काट्न ठिक्क पारेको खसीजस्तो ! पानी छम्केपछि झन् पर पर भागेजस्तो ।

समय बदलियो, उमेर फेरियो । उमेरसँगै दशैंको अवधारणा पनि फेरियो । दशैं फेरिएन । दशैंप्रतिको हाम्रो हेराइ भने फेरियो । समयले धेरै कुरा सिकाउँछ । सँगसँगै समयले धेरै कुरा भुलाउँदो पनि रहेछ । जमरा उम्रिएको हेर्न उत्सुक बालक मन अहिले आफूभित्र खोजेर पनि भेट्दिनँ । नयाँ लुगा किन्ने कुराले यो मन पहिलेजस्तो बुर्कुसी मार्दैन ।

कहिलेकाहीँ लाग्छ— देशबाहिर छु, साथीभाइ, घरपरिवार, इष्टमित्रबाट पर छु आदि, इत्यादि कुरा केवल बहानामात्र हुन् । दशैं आउँदैछ भनेर यो मनले ढुकढुक नगरेको, महिना दिन अघिदेखि दिन गनेर नबसेको थुप्रै भइसकेको छ ।

समयसँगै ठूलो हुँदै गर्दा दशैं कतै पछि छुटेर गयो— स्कुलको दशैं बिदाका ‘होमवर्क’हरूमा, टपरीका जमराहरूमा, दशैं आयो भनेर आमाको करले सफा गरेका झ्यालका फोहोर रेलिङहरूमा, गाउँका रोटे र लिंगे पिङहरूमा, मामाघरमा दक्षिणा पाइसकेपछि उत्तिखेरै लुकेर खाम खोल्दै गर्दा देखिएका नोटका चौरी गाई र गैंडाहरूमा, दशमीको साँझ ‘दशैं सकियो’ भनेर धुमधुम्ती बसेका उदास मनहरूमा ! यसरी छुटेको दशैंलाई फेरि खोज्न त कठिन नै पर्ला तर एकपटक फेरि हेर्नमात्र भए नि मन छ । वर्षौंअघि दूर भइसकेकी प्रेमिकालाई परैबाट भए पनि एक झलक हेर्न मन भएजस्तो ! 

सदाझैं, यो वर्ष पनि दशैं हामीसामु आइपुगेको छ । सबैलाई शुभ विजया दशमी एन्ड ‘ह्याप्पी दशैं !’
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC