site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कम्युनिस्ट, पञ्च हुँदै पत्रकार
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


धरान कम्युनिस्टहरूको अखडा थियो । रातो झन्डा बोक्ने कम्युनिस्टहरूको बोलावाला थियो । ०१५ को निर्वाचनमा धरानका ९ वडामध्ये ८ वटामा कम्युनिस्ट निर्वाचित भएका थिए । कार्यक्रम कम्युनिस्टहरूकै बढी हुन्थे । मनोरञ्जनको साधन भारतबाट बेलाबेलामा आउने ‘टुरिस्ट टकिज’बाहेक अरू हुँदैनथे । नारा, जुलुस र सभामा हिँड्दा विद्यार्थी रमाइलो मान्थे । जनार्दन आचार्य पनि त्यसबाट अछुतो रहेनन् । विचार र वाद के हो थाहै नहुँदा उनलाई कम्युनिस्टको प्रभाव पर्‍यो ।

चीनको हावा तिब्बतको बाटो हुँदै आयो । युवाहरू लड्न थाले— रातो झन्डा बोकेर । माओत्से तुङ इलाममा आएर बसेका छन् रे भन्ने हल्ला चल्थ्यो । अबोध जनार्दन सोच्थे— इलाम आएका माओत्से तुङ धरानमा पनि पक्कै आउँछन् । आखिर हल्ला न थियो । न माओत्सेतुङ इलाम आएका थिए न धरान आउथे ‘चान्स’ थियो । तर, त्यस्ता हल्ला र कम्युनिस्टका सघन गतिविधिले जनार्दनलाई कम्युनिस्ट बनाइसकेका थिए ।

Agni Group

धरानबाट म्याट्रिक पास गरेका जनार्दन आईए पढ्न दार्जिलिङ पुगे । त्यहाँ भने वातावरण फरक थियो । त्यहाँ राजनीति होइन, सिनेमाका कुरा हुन्थे । केटा र केटीका गफ हुन्थे । त्यहाँ हुँदा राजनीतिप्रति जनार्दनको चासो मात्रै रह्यो, कुनै गतिविधिमा संलग्न भएनन् ।

दार्जिलिङमा आईए सकेपछि बीए पढ्न धरानै आए । परीक्षा दिन भने काठमाडौं आउनुपथ्र्यो । बीएपछि एमए पढ्न काठमाडौं आइपुगे । काठमाडौंका स्कुल, क्याम्पसमा पढाइभन्दा बढी राजनीति हुन्थ्यो । जता फर्कियो, त्यतै राजनीति देखिने क्याम्पसमा पृष्ठभूमि नै राजनीति भएका जनादर्नलाई झनै सजिलो भयो ।

Global Ime bank

धरानमा अखिलका अध्यक्ष भएका उनलाई काठमाडौं आउनेबित्तिकै यहाँको अखिलले उनलाई मनमोहन अधिकारी, तुलसीलाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठको समीपमा पुर्‍यायो । त्यो बेला मनमोहनलाई नख्खु जेलमा थुनिएको थियो । जनार्दन त्यहीँ जान्थे भेट्न ।

“काठमाडौंबाट पाटनसम्म बस जान्थ्यो, त्यही बस चढेर जान्थें । पाटनबाट नख्खुसम्म पैदल जानुपथ्र्याे,” जनार्दन मनमोहनलाई जेलमा भेट्न गएका क्षण सम्झन्छन्, “कार्यकर्ता भन्दा भेट्न दिँदैनथ्यो, त्यसैले मनमोहनले मलाई जेलमा भाञ्जो भनी चिनाउनुभएको थियो ।”

विद्यार्थी जीवन, भर्खरको उमेर, जेलमा के लगिदिने भनेर खासै मेसो पाउँदैनथे उनी । पाए पनि पैसा हुँदैनथ्यो । प्रायः रित्तो हात जान्थे । कसैले ‘लगिदेऊ’ भनेर दिएका चिज भने लगिदिन्थे ।

मनमोहन सधैं चस्मा लगाउने । पावर फेर्नुपर्ने बेला भएको रहेछ । जँचाएर ठिक्क पारेको तर सिसा फेर्न पाएका रहेनछन् । चिकित्सकको प्रेस्क्रिप्सन लिएर काठमाडौं आई पावरवाला चस्मा लगिदिएको अहिले पनि झलझली सम्झन्छन् जनार्दन ।

राजाले दलविहीन पञ्चायत लादेका थिए । त्यसको विरोधमा कांग्रेस र कम्युनिस्ट आन्दोलनमा थिए । दलका नेताहरू कोही प्रवासमा हुन्थे । नेपालमा रहेकाहरू भूमिगत थिए । अग्रपंक्तिमा बसेर पञ्चायतको विरोध गर्ने विद्यार्थी नै थिए । कांग्रेसको प्रतिनिधित्व नेविसंघले गथ्र्यो भने कम्युनिस्टको चाहिँ अखिलले ।

विद्यार्थीहरू कलेजबाट दिनदिनै पक्राउ पर्थे । अखिलको राजनीति गर्ने जनार्दन पनि पञ्चायतको आँखामा बिझाएका थिए । बेलाबेला पक्राउ गरिरहन्थ्यो । पक्राउ गरेर कहिले भद्रगोल, कहिले डिल्लीबजार सदरखोर, कहिले हनुमानढोका त कहिले केन्द्रीय कारागार राख्थ्यो ।

“एक–दुई दिन राख्दा त खासै केही हुँदैनथ्यो तर एक–दुई महिना नै जेल बस्दा भने घरबाट पैसा आइरहन्थ्यो । जेलमा बस्दा भात, खाजापानी सरकारले नै दिन्थ्यो । घरबाट आएको पैसा बैंकमा बचत भैरहन्थ्यो,” जनार्दनले जेल बस्दाको फाइदा सुनाए ।

० ० ०

जनार्दन काठमाडौं आउँदा त्रिवि अखिलमा नवराज सुवेदी अध्यक्ष थिए । जनार्दन आएर शंकर घिमिरेसँग चुनाव लडे । भारि मतान्तरले शंकरलाई चुनाव हराए । साढे तीन वर्ष उनले अखिलको राजनीति गरे ।

त्यो बेला पनि उनी मनमोहनलाई भेट्न गइरहन्थे । बाहिरको राजनीतिक माहोल के छ भनेर उनी मनमोहनलाई सुनाउँथे । राजनीतिक कुरा गर्न दिँदैनथ्यो । त्यसैले छद्मभाषामा राजनीतिक गफ हुन्थ्यो ।

स्नातकोत्तरपछि उनी घर फर्किए । पूर्वतिर कम्युनिस्टहरूका गतिविधि भूमिगत रूपमा सक्रिय थिए । पुष्पलाल बनारसमा थिए । मनमोहन थुनिएका थिए । मोहनविक्रम सिंह दरभंगामा थिए, जनार्दन भेट्न जान्थे । राजनीतिक गफगाफ हुन्थे । योजना त्यहीँ बन्थे ।

पूर्व कोशी पार्टी गठन भयो । भरतमोहन अधिकारी, कमल कोइराला, मोहनचन्द्र अधिकारी, गोपालकृष्ण प्रसाईं, मदन खपांगी, जनार्दनलगायत पूर्व कोशी पार्टीमा लागेका थिए ।

‘इन्डियन नक्सलराइट’का नेता कानु सन्यालसँग उनको भारतमै भेट हुन्थ्यो । उनी नेपालमा हतियार उठाउनुपर्छ भन्थे । तर, जनादर्नहरू हतियार उठाउनु हुँदैन भन्नेमा स्पष्ट थिए । यही विचारबाट उनीहरू प्रेरित थिए । आरके मैनालीहरूले हतियार उठाए तर भरतमोहन, जनादर्नहरू भने नाराजुलुस गरेर सरकारलाई गलाउनु पर्छ भन्थे ।

मनमोहनलाई सरकारले जेलमुक्त गर्‍यो । जनार्दन उनलाई भेट्न जेलमै पुग्थे । मनमोहनको घर मोरङ, जनार्दनको धरान । मनमोहन जनादर्नको घरमा आउने–जाने गरिरहन्थे । जेलबाट छुटेपछि उनी एक चक्कर पूर्वी नेपाल घुमेर काठमाडौं आए ।

काठमाडौं आएर उनी नरदेवीमा गोपाल नाम गरेका एक व्यक्तिको घरमा बस्न थाले । त्यही घरमा जनार्दन पनि बस्थे । ठूलो कोठा थियो । त्यसको एक छेउमा भुइँमा ओच्छ्यान लगाएर मनमोहन सुत्थे । त्यही कोठाको अर्को छेउमा जनार्दनको ओच्छ्यान थियो । जनार्दन होटलमा खाना खाएर सुत्नमात्रै आउँथे तर मनमोहन भने त्यही घरमा खान्थे ।

“एकदिन हामी बिहान उठेर गोपालजीकै घरमा चिया खाएर बसिरहेका थियौं । नरदेवीमा त्यो बेला माथिल्लो तलामा बस्ने र भुइँतलामा पसल हुन्थे । ती पसलमा ठुल्ठूला रेडियो राखेर घन्काउने चलन थियो । एउटा रेडियो बज्दा टोलभरि पूरै सुन्थ्यिो । जनार्दन एउटा घटना सम्झिन्छन्, “चिया खाएर बसिरहेका बेला टोलै थर्किने गरी बजिरहेको रेडियोमा समाचार शुरु भयो । समाचारमा राजा महेन्द्रको मृत्यु भएको समाचार आयो । अचानक आएको त्यो खबरले हामी छक्क प¥यौं । त्यो समाचार सुन्नेबित्तिकै मनमोहन गम्भीर हुनुभयो । राजाले पञ्चायत लागू गरेर देश चलाइरहेका थिए । अब उनी नै नरहेपछि देश कसरी चल्छ, राजनीति कसरी अगाडि बढ्छ भन्ने चासो थियो । देशका ठूला नेतामध्ये एक मनमोहन जेलबाट छुटिसकेका थिए । अब हाम्रो भूमिका के हुन्छ भन्ने सोचेर होला— उहाँ हामीसँग नबोली एकोहोरो हल्लिएर बसिरहनुभयो । त्यही बेला शम्भुराम श्रेष्ठ त्यहाँ आइपुगे र उनले टंकप्रसाद आचार्यकोमा जाऊँ भनेर मनमोहनलाई लगे । त्यो बेला टंकप्रसाद आचार्य लिबरल नेता मानिन्थे ।”

एकातर्फ हतियार उठाएर आतंकवादी शैलीले देशलाई ठीक गर्दैन भन्ने लाग्थ्यो, अर्कोतर्फ नाराजुलुसले मात्रै पञ्चायत गल्दैन भन्ने चिन्ता बढिरहेको थियो । उनको मनमा ‘आन्दोलन गरेर मात्रै केही हुँदैन’ भन्ने तर्कना उठ्यो । वर्षौं रगतपसिना बगाएका र जेलनेल खाएका जनार्दनसहित मोहन पोखरेल, खड्गबहादुर जीसी, गोविन्द श्रेष्ठलगायत कम्युनिस्ट पार्टी छोडेर अलग भए ।

\"\"० ० ०

कम्युस्टिका दिग्गज नेताहरूसँगको दैनिक उठबस, राजनीतिक बहस र भाषणबाजी गरेर हिँड्ने जनार्दन कम्युनिस्टबाट अलग भएपछि अभिभावकविहीन त भए नै, बाटो विराएको यात्रीझैं भए । चौबाटोमा अलमलिएको बटुवाझैं कता जाने, अन्योलमा थिए । केही गर्न रुचि हुने तर मूलबाटो कुन हो भन्ने थाहा थिएन । त्यही बेला राजाले पञ्चायतलाई समर्थनका लागि अपिल गरे । त्यही अपिलसँगै जनार्दन पञ्चायतपक्षधर भए ।

०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत कि बहुदल भनेर जनतमत संग्रह घोषणा गरे । जनार्दन, पदम ठकुराठीलगायतले सुधारिएको पञ्चायतलाई समर्थन गरे । पञ्चायतलाई समर्थन गरेसँगै दरबार र पञ्चहरूसँग जनार्दनको भेटघाट बाक्लियो । विचार र बहस शुरु भयो । लामो राजनीतिबाट आएका जनार्दन तर्क र बहस गर्थे । गुण र दोषका आधारमा समर्थन र विरोध गर्थे । 

पञ्चायतभित्र पनि दुई धार थिए ।

पहिलोः उदारवादी

दोस्रोः अनुदारवादी

जनार्दन पहिलो धारमा थिए । पदम ठकुराठी पनि उनीजस्तै उदारवादी थिए ।

उदारवादी पञ्चायतको नेतृत्व सूर्यबहादुर थापाले गर्थे । अनुदारवादी पञ्चायतको नेतृत्व तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहले गर्थे । तर, उनी बाहिर देखिएका थिएनन् ।

जनमत संग्रहमा जाँदा रामहरि शर्माको नेतृत्वमा ‘पञ्चभेला’ थियो, जसको काम पञ्चायतलाई जिताउनु थियो । पदमको नेतृत्वमा रहेका युवाहरूले भने, “युवा पञ्चभेला पनि गठन गर्नुपर्छ, जसले युवाको नेतृत्व गरोस् ।”

जनार्दनले ‘युवा पञ्चभेला’को नेतृत्व गरे, संयोजक बनेर । ज्ञानेन्द्रनिकटहरू कमल थापालाई संयोजक बनाउनुपर्छ भन्ने पक्षमा थिए । ‘कमल यसै पनि पञ्च नै हुन् । वाम पृष्ठभूमि भएका जनार्दनलाई संयोजक बनाए कम्युनिस्टहरू पनि पञ्चायतको समर्थनमा आउने सम्भावना हुन्छ’ भन्नेको मत ठूलो भयो । ज्ञानेन्द्रले त्यो रुचाएका थिएनन् ।

जनमत संग्रहमा पञ्चायतले जितेपछि ‘हार्डलाइनर’ पञ्चहरू ‘जनताले नै पञ्चायती व्यवस्थालाई रुचाएको’ भन्दै खोजीखोजी आफूनजिकका पञ्चहरूलाई पद र प्रतिष्ठा दिन थाले । कसैलाई माननीय बनाउन थाले । 

उदारवादी पञ्चायतका समर्थक पञ्चायती व्यवस्थाभित्रै उपेक्षित हुन पुगे । राष्ट्रिय पञ्चायतका सदस्यहरूलाई नै ‘हार्डलाइनर’हरूले चुनाव हराउन थाले ।

राजा वीरेन्द्र थिए तर प्रभावशाली ज्ञानेन्द्र थिए । वीरेन्द्र उदारवादी थिए तर ज्ञानेन्द्र र धीरेन्द्र ‘हार्डलाइनर’ थिए ।

वीरेन्द्रले जनादर्नलाई श्रीमतीसहित डिनरका लागि बोलाइरहन्थे । बेलाबेला तीन–चार जोडी निकटस्थहरूलाई बोलाउने वीरेन्द्रले एकपटक तीन जोडी श्रीमान्–श्रीमतीलाई डिनरका लागि दरबारमा बोलाएका थिए । त्यसमा एक जोडी जनार्दनको थियो ।

बैठकमा डेढ घण्टा बसेर कुरा गरेका उनीहरू डिनरका लागि एउटै टेबलमा बसेका थिए । जनार्दन त्यसको भोलिपल्ट चीन जाँदै थिए । त्यो कुरा उठ्यो । वीरेन्द्रले भने, “तिमी एकछिन यहीँ बस ।”

सबै बैठक कक्षमा बसे तर जनार्दन र वीरेन्द्र डिनर रुममै बसेर कुरा गरे ।

त्यो बेला माओत्से तुङ मरे भन्ने संसारभर व्यापक हल्ला चलेको थियो । चीन बन्द देश थियो । सबैको सहज पहुँच थिएन । त्यसमा पनि त्यहाँको कम्युनिस्ट पार्टीको माथिल्लो तहको कुरा धेरैलाई थाहा हुँदैनथ्यो । त्यही बेला राजा वीरेन्द्र चीनबाट नेपाल फर्किंदा पाकिस्तान उत्रिएर भने, “माओ ज्युँदै हुनुहुन्छ, उहाँसँग मैले बेइजिङमा भेटेर हात मिलाएको हुँ । उहाँ सञ्चै हुनुहुन्छ ।”

वीरेन्द्रको त्यो भनाइ संसारभर ठूलो समाचार बन्यो । यो कुरा वीरेन्द्रले जनार्दनलाई सुनाए । त्यसपछि वीरेन्द्रले भने, “विदेशमा गएर कुरा गर्दा त्यहाँका स–साना बच्चाहरूले पनि ‘तिमीहरूको देशमा पार्टी सिस्टम छ कि छैन ?’ भनेर सोध्छन् । ‘हाम्रोमा पार्टी सिस्टम छैन’ भन्दा ‘पार्टी सिस्टमै नभए कसरी प्रजातन्त्र हुन्छ ?’ भनेर अविश्वास गर्छन् । पश्चिमा मुलुकका बच्चादेखि बूढासम्मले पार्टी नभएको देशमा प्रजातन्त्र हुन्छ भन्ने कुरा बुझ्दै बुझ्दैनन् ।”

जनार्दन भन्छन्, “वीरेन्द्रले त्यसरी भन्नुको कारण उहाँले नेपालमा दलीय राजनीति होस् भन्ने चाहेर हो । त्यसका लागि उहाँले बाटो खोजिरहनुभएको थियो ।”

बेलाबेला पारिवारिकदेखि राजनीतिक कुराकानी गर्न परिवारसहित बोलाउने राजा वीरेन्द्रको हत्या हुँदा जनार्दन धरानमा थिए । राजपरिषद् स्थायी समिति सदस्यसमेत रहेका जनार्दन दरबार हत्याकाण्डको खबर सुनेपछि रातारात काठमाडौं आएका थिए । पछि राष्ट्रियसभा सदस्यमा पनि मनोनीत भएका जनार्दन ६ वर्ष माननीय भए ।

० ० ०

कम्युनिस्ट छोडर आएका जनार्दन ‘नयाँ के गर्ने होला !’ भन्ने सोचमा थिए ।

एकदिन कालिकास्थानस्थित आफ्नै डेरामा उदारवादी पञ्चहरूलाई खाना खान बोलाए । पदमसहित केशवराज विष्ट, अखिलेश्वरप्रसाद सिंह, डीबी शेरचन, जनक कार्की, जनक जंगली, जीवन आचार्यलगायतका पञ्च जनार्दनको डेरामा खाना खान पुगे । 

भेलामा राजनीतिक गफ भए । त्यही गफमा एकजनाले भने, “हामीलाई यिनीहरू (अनुदारवादी पञ्च)ले देखिसहेनन् । केही त गर्नुपर्‍यो, जसका कारण हाम्रो आवाज बलियो होस् । एउटा पत्रिका निकालौं । भूमिगत गिरोह र भ्रष्टाचारलाई उजागर गरौं ।”

भेलाका सबैलाई प्रस्ताव चित्त बुझ्यो ।

पञ्चायतकालमा नयाँ पत्रिका दर्ता गर्न सजिलो थिएन । प्रकाशचन्द्र लोहनी सञ्चारमन्त्री भएका बेला एक महिनाका लागि पत्रिका दर्ताको समय खोलिएको थियो ।
पत्रिका दर्ता गर्ने टुंगो भयो । जनार्दनले पदम ठकुराठी सम्पादक बस्न प्रस्ताव गरे ।

“राष्ट्रिय पञ्चायतको सदस्य भइसकेको, दरबार र पञ्चहरूसँग राम्रो सम्बन्ध भएको, देशविदेश घुमेको र निडर, हक्की स्वभाव भएकाले पनि उसलाई म आफैंले सम्पादक बस्नुपर्छ भनेको हुँ,” जनार्दन भन्छन् ।

पत्रिकाको नाम ‘साप्ताहिक मञ्च’ राखे । ०३९ पुस १ गतेबाट पत्रिका प्रकाशन शुरु भयो । पत्रिकाको प्रिन्टलाइनमा उनको नाम थिएन । तर, काम गर्थे । जनादर्नले ‘समय समय’ नामक स्तम्भ लेख्न थाले । यहीँबाट उनको पत्रकारिता यात्रा आरम्भ भयो ।

‘साप्ताहिक मञ्च’ फगत पत्रिकाको निरन्तरतामात्रै थिएन । आकारदेखि विषयवस्तुसम्म फरक बोकेर आएको थियो । अन्तर्राष्ट्रिय ब्रोडसिटको आकार पनि थिएन र ट्याब्लोइड आकार पनि थिएन । पत्रिकाले उठान गर्ने विषय पनि फरक थियो । विज्ञका विचारदेखि खोजी समाचारहरू प्रकाशन हुन्थे । त्यसमा उनीहरूले ‘सुलसुले’ भन्ने स्तम्भ पनि राखे ।

सरकारी अखबार सरकारको गुणगान गाउँथे । निजी तवरबाट प्रकाशन हुने पत्रिकाको सर्कुलेशन खासै राम्रो थिएन । तर, फरक आकार र स्वाद बोकेर आएको ‘साप्ताहिक मञ्च’ले शुरुबाटै पाठकको मन जित्यो । हरिहर विरही, पदम ठकुराठी समाचार लेख्थे ।

‘सुलसुले’ स्तम्भमा ठाउँ–ठाउँबाट आएका रोचक खबर छापिन्थे । नागरिक, पत्रिकाका पाठक, कर्मचारी अथवा जो–कसैले पनि त्यस्तो सूचना पाएर फोन गरेको खण्डमा त्यसलाई पुष्टि गरेर यो स्तम्भमा समाचार छापिन्थ्यो । जानकारी दिने व्यक्तिको नाम भने गोप्य राखिन्थ्यो ।

\"\"० ० ०

ठमेलबाट एउटा फोन आयो, “राज्यमन्त्री निरञ्जन थापा होटलको क्याबिनमा पसेका छन् । दौरा–सुरुवाल लगाएका थापा टोपी गाडीमै राखेर क्याबिनमा छिरेका छन् । त्यही क्याबिनमा उनी छिर्नुभन्दा अगाडि एक युवती गएकी छन् । सुलसुले क्याबिन कुरेर बस्दा पहिला युवती निस्किइन् र त्यसको केही समयपछि थापा निस्किए ।” त्यो समाचार छापियो र तहल्का पिट्यो ।

होटल सोल्टीमा शरदचन्द्र शाहले दुइटी केटी लिएर गए । उनी केही समय होटलको कोठामा बसेर फर्किए । यो खबर त्यहीँका कर्मचारीले फोन गरेर टिपाइदिए । ‘सुलसुले’मा छापियो । यथार्थ कुरा भएकाले सम्बन्धित व्यक्ति प्रतिकार गर्न सक्दैनथे ।

तर, मौका पाउनासाथ पत्रिकाको दर्ता खारेज गर्थे । ‘साप्ताहिक मञ्च’ खारेज भएपछि त्यस्तै अरू पत्रिका निकाल्न थाले । ‘साप्ताहिक मञ्च’कै आकार, स्तम्भ र विषय आउने भएपछि पाठकले थाहा पाउँथे । वितरणमा कमी आउँदैनथ्यो । ‘साप्ताहिक मञ्च’ बन्द भएपछि उनीहरूले ‘जनज्योति’ प्रकाशन गरे । त्यसपछि जनार्दन आफैंले ‘समकालीन’ प्रकाशन गरे । यसमा उनी आफैं सम्पादक बसेका थिए ।

महिला प्रहरीका बारेमा ‘सुलसुले’मा छापियो । प्रहरीलाई चित्त बुझेन । उनीहरू कार्यालय आएर डाङडुङ गर्न थाले । पदम सम्पादक थिए । उनीहरूलाई हप्काउन थाले । “हामीले प्रतिकार गरेको मात्रै भए हामीलाई सिध्ययाउने योजना बनाएर आएका रहेछन्,” जनार्दन सम्झन्छन्, “अफिसबाहिर पुरुष प्रहरीलाई हतियारसहित सिभिल ड्रेसमा अलर्ट राखेर भित्र पसी आक्रमण गरेका रहेछन् ।”

पदमलाई समातेर महेन्द्र पुलिस क्लब पुर्‍याए । पत्रिकाले मुद्दा हाल्यो । न्यायाधीश टंकप्रसाद आचार्यका छोरा थिए । उनले ५ हजार जरिवाना गराएर छोडिदिन फैसला गरे । १० दिनपछि रिहा भए पदम ।

० ० ०

०४३ भदौ २० गते तीजको दर खाने दिनको बिहान जनादर्नको घरमा फोन बज्यो । खबर थियो— पदम ठकुराठीलाई गोली लाग्यो । जनार्दन दौडिएर अस्पताल पुगे । पदमलाई बेडमा राखिएको थियो । स्वाँऽऽस्वाऽऽ गरिरहेका पदमको होस थिएन । अवस्था दारुण थियो । सू्र्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, दलका नेतालगायत काठमाडौंका ठूलाठालुको भीड थियो । घटना किन र कसरी भयो भन्ने कुतूहल थियो । जनार्दनलाई बीबीसीले समेत फोन गर्‍यो । उनलाई घटना दरबारकै कसैबाट नियोजित रूपमा भएको थाहा त थियो तर जोगिएर बोले ।

पदमलाई गोली लागेपछि पञ्चायतले सँगै काम गरिरहेका केशवराज पिँडालीको घरमा एक जना र जनादर्नको घरमा दुई जना प्रहरी सुरक्षाका लागि खटाइदियो ।

“पदमलाई गोली लागेपछि सम्भव भए बाहिर लैजान डक्टरले सुझाव दिए । एक हप्तापछि बैंकक लगियो । ३५६ दिनपछि होस आयो । डक्टरले उनलाई गोली लागेको कुरा नभन्न सुझाएका थिए, परिवारले पनि भनेन । तर, भेषबहादुर थापाले ‘बरु आजन्म कैद गर्नू तर यसरी गोली नै हान्नु त राम्रो भएन नि !’ भनेपछि पदमले थाहा पाए,” जनार्दन त्यो दुःखद घटना सुनाउँछन्, “उनलाई होस आउँदा गोली लागेको र आफू बैंककमा छु भन्ने थाहा थिएन । त्यसैले उनी मलाई फोन गरेर गफ गर्न बोलाइरहन्थे ।”

जनार्दनले लामो समय पत्रकारिता गरेनन् । तर, पञ्चायतलाई गलाउने पत्रकारिता गरे । ‘साप्ताहिक मञ्च’ तत्कालीन भूमिगत गिरोहका कर्तुत पर्दाफास गरेर सुशासन स्थापित गर्ने उद्देश्यले खोलिएको थियो । निरंकुश पञ्चायत होइन, उदारवादी पञ्चायत हुनुपर्छ भन्ने पत्रिकाको उद्देश्य थियो । त्यो पत्रिका प्रकाशनको निर्णय उनकै घरमा भएको थियो । उनी राष्ट्रियसभामा हुँदा पनि ‘समकालीन’ नामक पत्रिका आफैं प्रकाशन गर्थे ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC