अर्थ व्यवसाय

वित्तीय तथा उर्जा क्षेत्र सुधारका लागि करिब २४ अर्ब सहयोग प्राप्त

वित्तीय तथा उर्जा क्षेत्र सुधारका लागि करिब २४ अर्ब सहयोग प्राप्त
baahrakhari

काठमाडौं । विश्व बैंकले नेपालार्इ अमेरिकी डलर २ सय मिलियन सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ । नेपालको वित्तीय तथा उर्जा क्षेत्र सुधार नीति कार्यान्वयनको लागि विश्व बैंकले २३ अर्ब ८० करोड रूपैयाँ सहयोग गरेको हो ।
सम्झौतामा अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले हस्ताक्षर गरे । विश्व बैंक तथा अन्तर्राष्टिय मुद्रा कोषको वार्षिक बैठककै अवसरमा इन्डोनसियामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रम माननीय अर्थमन्त्री डा. युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा भएको थियो ।
सहयोग रकम बजेटरी सहायताको रुपमा परिचालन हुने अर्थ मन्त्रालयले जनाएको छ । उक्त अवसरमा अर्थमन्त्री खतिवडाले विश्व बैंकले नेपाललाई प्रदान गरेको सहयोगको सराहना गर्दै नेपालको पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका सामाजिक क्षेत्र र पर्यटन क्षेत्रको विकासमा नेपाललार्इ थप स्रोतको आवश्यकता भएकोले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे । साथै उनले नेपालमा थप राजस्व परिचालनका सम्भावना कम भएको अवस्थामा विकास सहायताको भूमिका अझ बढेको बताउँदै भुकम्प पश्चातको पुनर्निमाण कार्य जारी रहेको र सोको लागि आवश्यक स्रोतको कमी भएको कुरा जानकारी गराए । 
सो अवसरमा निजी क्षेत्रको लगानीमा रहेका नीतिगत अवरोधलाई हटाउदै लगानीको लागि उपयुक्त वातावरण निर्माण गर्न नीति कार्यान्वयन सहयोग गर्ने सम्वन्धमा विकासका लागि अधिकतम वित्त लगानी गर्ने गरी कार्ययोजना तयारी गर्ने सम्वन्धमा छलफल भएको थियो । नेपालले अवलम्वन गरेका आर्थिक तथा नीतिगत सुधारप्रति सन्तोष व्यक्त गर्दै विश्व बैंकका उपाध्यक्ष सेफरले विश्व बैंकको अन्तर्राष्ट्रय विकास संस्थामार्फत् परिचालन हुने अगामी अवधिमा सहायता वृद्धि हुने बताए ।
नेपाली टोलीले अन्तर्राष्ट्रिय वित्त निगमका प्रमुख सञ्चालन अधिकृत स्टेफनी भोन फ्राइडवर्ग सहितको प्रतिनिधिमण्डलसँग पनि द्वीपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । छलफलमा माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनालाई यथाशिघ्र कार्यान्वयनमा लैजाने उर्जा, पर्यटन तथा शहरी पूर्वाधार विकासका आयोजनामा आगामी दिनमा निजी क्षेत्रमार्फत् थप लगानी परिचालन गर्ने विषयमा समेत प्रतिवद्धता व्यक्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
 


तपाईंको मत