देश

ट्राफिक प्रहरी र स्थानीय तहबीच सहकार्य नहुँदा उपत्यकामा ट्राफिक व्यवस्थापन जटिल बन्दै

काठमाडौं । काठमाडौं उपत्यका आसपासका नगरपालिकाहरुले काठमाडौंमा ट्राफिक जामको विकराल समस्या व्यवस्थापन गर्न विभिन्न चुनौती रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी लागुऔषध निषेध, मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्युनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना एवम् अन्तक्र्रिया कार्यक्रममा नगरपालिकाका प्रमुखहरुले यस्तो धारणा राखेका हुन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अथिति रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा मात्र होइन, सम्पूर्ण उपत्यकामा नै ट्राफिक व्यवस्थापनम विभिन्न चुनौती रहेको बताए । यसका लागि उपत्यकाका नगरपालिकाहरुसँग मिलेर केही समयअघि एउटा फोरम गठन गरेर निरन्तर छलफल भइरहेको पनि शाक्यले बताए । 
“भूकम्पपीडितलाई सरकारले वितरण गरेको १ हजार ५ सय ट्याक्सीले उपत्यकाको ट्राफिक जाम थप बढाएका छन्,” मेयर शाक्यले भने, “यतिमात्र होइन, उपत्यकामा भइरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न हामी सबै नगरपालिकाले तीव्रताका साथ काम गरिरहेका छौं । तर हाम्रा निष्कर्षलाई कार्यान्वयनमा लान विभिन्न निकायबीच समन्वय हुन नसक्दा ट्राफिक व्यवस्थापनमा थप कठिनाइ भइरहेको छ ।”
सडकमा जथाभावी निर्माण सामग्री राखेर ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाउने जो–कोहीलाई सिसि क्यामेराका माध्यमबाट समातेर कारबाही गरिने पनि मेयर शाक्यले बताए । 
यस्तै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले पुलनजिकका करिडोरहरुलाई थप मर्मत र निर्माण सञ्चालन गर्न सके उपत्यकाको ट्राफिक जाम धेरै मात्रामा कम हुने धारणा राखे । “करिडोर र पुलमुनिका सडकलाई कनेक्सन रोडको रुपमा व्यवस्थित गरेर सञ्चालन गर्न सके उपत्यकाको ट्राफिक जाम धेरै मात्रामा व्यवस्थित हुनेछ,” महर्जनले भने । 
यसैगरी मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले विभिन्न छलफल र कार्यक्रमले नीति, नियम र राय बनाए पनि त्यसलाई कार्यान्वयन गर्न विभिन्न समस्या रहेको औंल्याए । 
“कहाँ पार्किङ गर्ने भन्ने विचार नगरी गाडी किन्दा बजारमा मात्र होइन, अहिले घरघरमा पार्किङको समस्या देखिन थालेको छ,” मेयर श्रेष्ठले भने, “गाडी किन्ने अनि पार्किङका लागि सडकमा त्यसै छोड्दा ट्राफिक व्यवस्थापन झन् जटिल बन्दै गएको छ ।” 
उपत्यकाका सबै सडकलाई हाइवे होइन, सहरी सडकका रुपमा आवश्यक मापदण्सहित निर्माण र विस्तार गरिनुपर्नेमा मेयर श्रेष्ठले जोड दिए ।
यस्तै काठमाडौं महानगर वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले ट्राफिक प्रहरी र महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा निरन्तर काम गरिरहेको बताए पनि ठोस रुपमा काम गर्न नसकेको आरोप लगाए ।
कार्यक्रममा उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र स्थानीय तहबीच समन्वयका लागि गृह मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहमन्त्री बादलले प्रतिवद्धता व्यक्त गरे । 
  
 
  
  

  

तपाईंको मत