नयाँ दिल्ली । दिल्ली महिला आयोगले नेपालबाट बेचबिखनका लागि ल्याइएका ८ जना महिलालाई बिहीबार स्थानीय पहारगञ्ज होटलबाट उद्धार गरेको छ । एउटा गैरसरकारी संस्थाबाट पाएको जानकारी अनुसार आयोगले हस्तक्षेप गरी प्रहरीको पहलमा पहारगञ्जस्थित होटलमा छापा मारेको थियो ।
ती महिलाहरुले आफूहरु नेपालको भूकम्पबाट पीडित क्षेत्रका रहेको र नयाँ दिल्लीमा काम पाइन्छ भनेर यहाँ ल्याइएको बताएको आयोगका एक अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
यद्यपि ती महिलालाई होटलमा ल्याएर राखिएको र केही दिन पर्खन भनिएको थियो । एजेन्टले उनीहरुको पासपोर्ट लिएको आयोगद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले भनिन्, ‘‘ती महिलाहरुलाई काम लगाइदिने भनेर खाडी राष्ट्रमा पठाउन खोजिएको पाइयो । नेपाली महिला खाडीमा लग्नका लागि नयाँ दिल्ली ट्रान्जिट रुट भइरहेको छ । म भारतको गृह मन्त्रालय र नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि यो अपराधको अन्त्य गरियोस् । ’’
यद्यपि दिल्ली प्रहरीले भने सबै महिलासँग आधिकारिक कागजात रहेको र कसैले पनि आफूहरुलाई दुर्व्यवहार भएको नबताएको जनाएको छ ।
‘‘उनीहरुको भनाइ नयाँ दिल्लीस्थित नेपाली दूतावास र गैरसरकारी संस्थाका प्रतिनिधिको रोहवरमा रेकर्ड गरिएको छ । उनीहरुले कुनैपनि शोषण वा दर्व्यवहार भएको बताएनन् । अहिलेसम्मको अनुसन्धानको क्रममा उनीहरुमाथि कुनै ज्यादती भएको बताएका छैनन्,’’ केन्दीय प्रहरीका डिपुटी कमिसनर मन्दीप सिंह राँधवाले भने ।