काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले आज एक समारोहका बीच अपांगतामैत्री भ्यानको उद्घाटन गरेका छन् । अपांगता भएका व्यक्तिहरूका लागि स्वालम्बन जीवनपद्धति केन्द्र काठमान्डौ (सिआइएल) ले टोयोटा हायस भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गरी अपांगतामैत्री बनाएको हो ।
अपाङ्गता भएका व्यक्तिहरु निर्बाध रुपमा आफुले चाहेको स्थानमा आवतजावत गर्न सहज होस भन्ने उदेश्यका साथ उक्त भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गर्न अष्ट्रेलियन स्वयंसेवक कार्यक्रम (AVI), अष्ट्रेलियन राजदूतावास मार्फत करिब रू. ८ लाख सहयोग प्राप्त भएको थियो । उक्त समारोहमा अष्ट्रेलियन राजदूतले यस अपांगतामैत्री भ्यान नेपालको पहिलो भएको बताएका थिए । उनले यसले अपांगता भएका व्यक्तिहरूको आवागमणको अधिकारलाइ थोरै भएपनि सुनिश्चत गर्ने र नेपालमा अपांगतामैत्री पर्यटन प्रबर्धन गर्नमा सहयोग पुरयाउने बताए ।
त्यसैगरी अर्का वक्ता मुकुन्द दाहालले उक्त भ्यान नमूनाको रूपमा हुने र यस्तो प्रविधिलाइ विस्तार गर्नु पर्ने बताए । अर्का वक्ता सूर्यभक्त प्रजापतिले यसको दीगोपनामा ध्यान दिनु पर्ने कुरा बताए । अपांगतामैत्री पर्यटन प्रबर्धनमा लामो सम देखि लागेका पर्यटनकर्मी पंकज प्रधानाङ्गले यस भ्यानले नेपालमा आउने अपांगता भएका व्यक्तिहरूलाइ सहज हुने बताए ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष गणेश के.सी.ले यस भ्यानलाइ सहयोग गर्ने कोरियाको इन्डिपेन्डेन्ट लिभिङ सेन्टर र अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमलाइ धन्यबाद दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव जमुना सुवेदीले गरेकी थिइन् ।