site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्लोरोफर्म सुघाउँदा बिरामीको मृत्यु
Sarbottam CementSarbottam Cement

वीर अस्पतालमा नेपाली डाक्टर भेट्न मुस्किल थियो, बंगाली डाक्टरहरुको बर्चस्व थियो । वीर अस्पताल स्थापना भए पनि सेवासुविधाको अभावका साथै डाक्टरहरु पनि कम थिए । त्यसैले भरखरै एमबीबीएस सकेका डाक्टरहरुको ध्यान काठमाडौंतिर हुन्थ्यो । 
डा. गौरीशंकर लाल दास (९५) लाई पनि काठमाडौं जान सुझाइयो । पटना मेडिकल कलेजबाट एमबीबीएस गरेका उनलाई एकजना आफन्तले काठमाडौं आउन प्रेरित गरे । उनी रक्सौलमा राहदानी लिएर भीमफेदीको बाटो हुँदै काठमाडौं उक्लिए । 

लोकसेवा आयोगको गठन भइसकेको थियो । लोकसेवामा उनले अन्तरवार्ता दिए । अन्तरवार्ताका क्रममा डा. जितसिंह मल्लले उनलाई सोधेका थिए, ‘टन्सिलको अपरेसन कसरी गर्नुहुन्छ ?’ उनले आवश्यक जवाफ दिए ।

२००९ सालमा डा. गौरीशंकरले वीर अस्पताल प्रवेश गरे, रेसिडेन्सियल मेडिकल अफिसर (आरएमओ)का रुपमा । मेडिसिनमा उनले गरेकोे काम राम्रो मानियो । उनीसँग प्रभावित भए डा. यज्ञराज जोशीलाई । उनी छाती रोगका डाक्टर थिए । उनले डा. गौरीशंकरलाई टोखा सेनिटोरियममा पठाउने सोचिरहेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

एक दिन काम सकिएपछि उनी डा. दिनेशानन्द वैद्यकहाँ पुगे । उनी असाध्यै चाखलाग्दो कुरा गर्ने मान्छे । डा. वैद्यको बसाई अस्पतालभन्दा दक्षिणतिर थियो । फुर्सदमा डा. गौरीशंकर त्यहाँ पुग्थे ।  

एकदिन वैद्यकहाँ गौरीशंकर बसिरहँदा स्वास्थ्य विभागका तत्कालीन निर्देशक डा. जितसिंह मल्ल आइपुगे जिप लिएर । उनले डा. गौरीशंकरलाई घुम्न जाउँ भने । विभागीय निर्देशकले भनेपछि नाइँ भन्ने कुरो पनि भएन । बूढानिलकण्ठको बाटो हुँदै टोखा पुगे । उनी छक्क परिरहेका थिए, कहाँ आइपुगियो भनेर ।

Global Ime bank

टोखा उनलाई बडो मनमोहक लाग्यो । उचाईमा रहेको खुल्ला तथा रमणीय स्थानले उनको मन मोहित भयो । त्यस दिन टोखा अस्पताल हेरेर उनीहरु काठमाडौं फर्किए ।

गत मंगलबार चाबहिल मित्रपार्कस्थित निवासमा कुरा गर्दै वरिष्ठ छाती रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासले सम्झिए त्यो क्षण, ‘टोखाबाट फर्किएपछि मलाई डाक्टर मल्लले सोध्नुभयो– टोखामा काम गर्न जानु हुन्छ ? त्यहाँ जानु भयो भने तलब बाहेक २ सय ५० रुपैयाँ भत्ता पनि पाइन्छ ।’ त्यसबेला मेरो तलब दुई सय थियो । एक सय ८० तलब र २० रुपैयाँ भत्ता । त्यसमा अर्को २ सय ५० थप आउने भएपछि किन नजाने भन्ने लाग्यो । मैले हुन्छ भनेँ ।’

केही दिनपछि डा. गौरीशंकरको सरुवा टोखा अस्पतालमा भयो । आफूलाई त्यहाँ हतारमा पठाउनुको कारण उनले अस्पताला पुगेपछि मात्रै थाहा पाए । कारण थियो, त्यहाँ पहिले एकजना अर्का मेडिकल प्राक्टिसनर काम गर्थे । जसलाई एलएमपी अर्थात लाइसेन्स मेडिकल प्राक्टिसनर भनिन्थ्यो । उनीभन्दा अगाडि टोखामा मेडिकल अफिसरका रुपमा कार्यरत ती व्यक्तिले हिनामिना गरेका रहेछन् । उनले बिरामीले पाउने रासनमा घोटाला गरेका रहेछन् । 

त्यो थाहा पाएपछि त्यहाँका सबै बिरामीहरुले हडताल गरेछन् । जब डा. गौरीशंकर टोखा सेनिटोरियम पुगे, त्यसपछि मात्रै त्यो हडताल शान्त भयो । त्यहाँ उनले २०१०देखि २०१८ सालसम्म काम गरे । 

\"\"

०००

सिरहाको लहाननजिकको इनरवा गाउँमा १९८१ सालमा जन्मिएका डा. गौरीशंकरको प्रारम्भिक शिक्षादीक्षा भारतीय सीमावर्ती बजार जयनगरभन्दा दक्षिणको गाउँ राजनगरमा भयो । उनले म्याट्रिक त्यहीँबाट गरे । राजनगरको रामेश्वर हाइ इङ्लिस स्कूलबाट उनको विद्यालय शिक्षा पूरा भयो । म्याट्रिक सिध्याएपछि उनी आईएससी पढ्न भागलपुर गए । त्यहीँबाट उनले बीएससी डिस्टिङ्सनमा पास गरे । 

उनका पिताजी शिक्षित थिए । त्यसैबेला बीएड पास गरेका । शिक्षित भए पनि गाउँमा खेती किसानीमा सक्रिय हुनु स्वाभाविक थियो । उनका पिताजीको सोच फरक थियो । त्यही सोचले गौरीशंकरलाई मेडिकल अध्ययनको बाटो खुलायो । त्यसो त उनको नाम इन्जिनियरिङमा पनि निस्किएको थियो, तर एकवर्षे प्रिमेडिकल कोर्स गरेर उनी पटना मेडिकल कलेज भर्ना भए । सन् १९४६ मा प्रिमेडिकल कोर्स गरे । सन् १९४७ मा उनी पटना मेडिकल कलेजमा एमबीबीएस भर्ना भए । आजभन्दा ७० वर्षअगाडि मेडिकल कोर्समा भर्ना हुन सहज थिएन । भन्छन्, ‘माक्र्सकै आधारमा इन्टरभ्यु लिएपछि एमबीबीएसमा म भर्ना भएँ । त्यसबेला साइन्समा राम्रो नम्बर ल्याउनुपथ्र्याे । कोलम्बो प्लान सुरु भइसकेको थिएन । त्यसैले पनि राम्रो नम्बर ल्याउने मात्र मेडिकल पढ्ने प्राथमिकतामा पर्थे ।’

त्यसबखत पटना मेडिकल कलेजमा पढ्ने नेपालीमा डा. नागेश्वरप्रसाद सिंह पनि थिए । उनी गौरीशंकरका सहपाठी थिए । सोही कलेजमा कल्याणमणि दीक्षित, लक्ष्मीनारायण प्रसादहरु पनि थिए । 

त्यो समय एमबीबीएस अध्ययनमा लाग्ने खर्चको कुरो उठ्नु अन्यथा थिएन । डा. गौरीशंकर हाँसे । उनका अनुसार त्यस बेला महिनाको ७०÷८० रुपैयाँले काम चल्थ्यो । त्यो रकम इनरवाबाट उनका पिताजीले पठाउँथे । त्यो बेला थोरै पैसामा धेरै काम हुन्थ्यो । उनका अनुसार महिनाको ८० रुपैयाँको व्यवस्थापन पनि गाह्रै थियो ।

०००

डा. गौरीशंकरलाई वीर अस्पतालको प्रारम्भिक दिनको खुब याद आउँछ । भन्छन्, ‘त्यसबेला चिकित्सकहरु अधिकांशः भारतबाटै आएका थिए । केही नेपालीमध्ये  डा. भरतराज वैद्य त्यसबेला बाहिर पढ्न जानु भएको थियो । अर्का नेपाली डा. यज्ञराज जोशी र डा. दिनेशमान वैद्य हुनुहुन्थ्यो । त्यसअरु त बंगाली डाक्टरहरु एसएल दास गुप्ता र डा. मजुमदार हुनुहुन्थ्यो । डा. मजुमदार सुपरिन्टेन्डेन्ट हुनुहुन्थ्यो । वीरमा हाम्रा बोस ।’

उनले एउटा पुरानो घटना सम्झिए । एकजना हाइड्रोसिलका बिरामी अस्पताल आए । अपरेसन गर्नुपर्ने देखियो । अपरेसन गर्न डा. मजुमदार अगाडि सरे । बिरामीलाई बेहोस पार्न क्लोरोफार्म सुँघाउने चलन थियो । एनेस्थेसियाका डाक्टर थिएनन् । त्यसैले एकजना पियनले बिरामीलाई क्लोरोफर्म सुँघाए । तर मात्रा मिलेन सायद । ती बिरामी बेहोसीमै बिते । यो घटनाबाट व्यापक हल्ला मच्चियो । 

डा. गौरीशंकर टोखा अस्पताल पुगेपछि छाती रोगकै बिरामी जाँच्न थाले । टोखा सेनिटोरियम १९९१ सालमै खुलेको थियो । चन्द्र शमशेरकै पालामा सेनिटोरियम खोल्ने भनिए पनि १९९१ सालमा त्यसको उद्घाटन भयो । टोखा अस्पतालको उद्घाटन हुँदा जुद्ध शमशेर प्रधानमन्त्री थिए । 

त्यहाँको हावापानी राम्रो भएरै टोखामा अस्पताल खोलिएको डा. गौरीशंकर बताउँछन् । टोखामा उनले लामो समय काम गरे । त्यहीँ कार्यरत रहँदा नै उनी विशेषज्ञता हासिल गर्न बेलायत गए । त्यहाँ उनले ‘डीटीसी’को तालिम पनि लिए । त्यसबेला उनलाई बेलायत नै बस्न भनिएको थियो । तर उनी बसेनन् । उनलाई आफ्नै माटोले तान्यो । उनी टोखा अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टसम्म भए । 

\"\"

०००

यातायातको असुविधा भएको समयमा टोखा टाढै लाग्थ्यो । त्यही भएर डा. यज्ञराज जोशीले सहरमै एउटा क्लिनिक खोले । त्यहाँ छाती र टीबीका बिरामी जाच्न सुरु भयो । यो सरकारी चेस्ट क्लिनिक थियो । डा. गौरीशंकर भन्छन्, ‘सायद डा. जोशीले ००७ तिर त्यो सरकारी चेस्ट क्लिनिक खोल्नुभएको थियो । त्यतिबेला उहाँले त्यसको नाम दिनु भयो ‘ज्ञानेन्द्र चेस्ट क्लिनिक’ । किनभने, त्यसबेला ज्ञानेन्द्र गद्दीमा थिए । केही समयपछि ज्ञानेन्द्रको नाम हटाएर ‘सेन्ट्रल चेस्ट क्लिनिक’ नाम राखिएयो ।’ पछि डा. गौरीशंकर पनि चेस्ट क्लिनिकमा सरुवा भएर आए । करिब ८ वर्ष टोखामा बसिसकेपछि उनको सरुवा सहरतिर भएको थियो । त्यसको पनि रमाइलो कथा रहेको उनी सुनाउँछन् । 

२०१७ सालमा राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । विभिन्न व्यक्ति सत्तामा आए । त्यहीबेला डा. गौरीशंकरका सहपाठी डा. नागेश्वरप्रसाद सिंह स्वास्थ्यमन्त्री भए । आफ्ना सहपाठी मन्त्री बनेपछि डा. गौरीशंकर नागेश्वरलाई बधाई दिन पुगे । त्यसैबेला नागेश्वरले ‘म तिम्रो सरुवा गरिदिन्छु’ भनेका थिए ।  उनको सरुवा सेन्ट्रल चेस्ट क्लिनिकमा भयो । टोखामा अर्को डाक्टर पठाइयो । त्यसपछि उनी भिजिट गर्न मात्रै टोखा पुग्थे । त्यसै समयमा टोखा सेनिटोरियम र सेन्ट्रल चेस्ट क्लिनिकलाई गाभ्ने काम भयो । डा. जोशी स्वास्थ्य सेवा विभागको डाइरेक्टर भए, डा. गौरीशंकर चेस्ट क्लिनिकको मेडिकल सुपरिन्टेन्डेन्ट । 

कुराकानीकै क्रममा एउटा अर्को रोचक प्रसंग पनि उनले सुनाए । उनी चेस्ट क्लिनिकमै रहँदा स्वास्थ्यमन्त्री भएका थिए विष्णुकुमार तुम्बाहाम्फे । उनकी पत्नीलाई टीबी लागेको थियो । उपचार काठमाडौंमै भइरहेको थियो । तर खासै प्रभावकारी उपचार हुन सकिरहेको थिएन । त्यसपछि मन्त्रीले आफ्नी पत्नीलाई भेलोर पठाउने भए उपचारका लागि । मन्त्रीको वचन हार्न नसकी डा. गौरीशंकर पनि भेलोर गए । 

पुरानो कुरा सम्झँदै हाँस्दै उनले भने, ‘मन्त्रीले जानुस् भनेपछि जानैपर्‍यो । त्यहाँ गएपछि रोगमा सुधार भयो । बिरामीलाई राम्रो भएपछि हामी फर्कियौं । त्यसको केही समयपछि नै मन्त्री तुम्बाहाम्फेले मलाई स्वास्थ्य सेवा विभागको डाइरेक्टर बनाइदिनु भयो । र, यज्ञराज जोशीलाई सेन्ट्रल चेस्ट क्लिनिकमा फिर्ता पठाइदिनु भयो ।’ तर केही समयपछि मन्त्रालयको सचिवमा अर्कै व्यक्ति सरुवा भएर आए । लगत्तै डा. यज्ञराज महानिर्देशक भएर विभागमा फर्किए । डा. गौरीशंकर निर्देशककै रुपमा कार्यरत रहे ।

डा. गौरीशंकरका अनुसार त्यसबेला सबै डाक्टर राम्रा र कुशल थिए । तथापि, डाक्टरहरुका बीचमा प्रतिस्पर्धात्मक भावना भने व्यापक थियो । डा. मृगेन्द्रराज पाण्डे र डा. यज्ञराज जोशीबीचको दूरी बाहिरैबाट देखिन्थ्यो । यसको कारण दरबार भएको डा. गौरीशंकरको बुझाइ छ । 

उनका अनुसार पहिले दरबारमा डा. जोशीको पहुँच थियो । पछि डा. पाण्डेलाई दरबारले रुचाउन थाल्यो । डा. पाण्डेले राजपरिवारको मन आफ्नो कामबाट जित्दै गए । यसले दुईजना राम्रा डाक्टरबीच विवाद पैदा गरिदिएको थियो । पछि डा. नागेश्वर सिंहले यसलाई थामथुम पार्न धेरै मद्दत गरेको उनी बताउँछन् । त्यस्तै डा. पाण्डे र डा. एसके पहाडीका बीचमा सर्जनहरु डा. एके शर्मा र डा. डीएन गोंगलका बीच पनि सम्बन्ध राम्रो थिएन ।  

उनी भन्छन्, ‘मेरै पनि डा. यज्ञराजसँग सम्बन्ध चिसिएको थियो । यो सबै घटना एकआपसमा प्रतिद्वन्द्वी भावना जागृत भएका कारण नै हुन पुगेको हो । आफू उत्कृष्ट चिकित्सक भएको प्रमाणित गर्न सबैले खोज्थे । यसैको परिणाम बाहिर आउँथ्यो । यति हुँदाहुँदै पनि त्यसबेला काम गर्ने वातावरण राम्रो रहेको उनी बताउँछन् । धेरै डाक्टर नभएकोले पनि काम गर्न सहज थियो । आफूलाई उत्तम साबित गर्न सबै लागिपर्थे । साधनस्रोत र प्रविधि नहुँदा पनि रोगको निदान भएकै थियो । बिरामीलाई निको भएकै थियो । 

विषेशगरी रोगको निदान गर्न प्रविधिको सुविधा त्यसबेला खासै थिएन । यस्तो हुँदा पनि काम गर्ने आँट र हौसला सबैमा थियो । टोखा अस्पतालमा केही सुविधा थियो । ‘टोखामा कफको जाँच त्यसैबेला गरिन्थ्यो । एक्स रे पनि हुन्थ्यो । रगत पनि जाँचिन्थ्यो । ल्याबोरेटरीको व्यवस्था पनि थियो । बस् प्राविधिकचाहिँ थिएनन् । सबै काम आफैले गर्नुपथ्र्यो । आफै रगत निकालेर प्याथोलोजिकल टेस्ट गर्नुपथ्यो,’ डा. गौरीशंकर भन्छन् ।  

\"\"

००० 

विस्तारै डा. गौरीशंकर प्रशासनिक सेवामा सक्रिय हुँदै गए । तर उनले प्राक्टिस छोडेनन् । फुर्सद मिलाएर बिरामी पनि जाँच्दै गए । 

एक पटक विश्व स्वास्थ्य संगठनले प्लानिङ सेमिनारको आयोजना गरेको थियो । त्यो सेमिनारमा मन्त्रालयले डा. गौरीशंकरलाई पठायो । त्यसपछि उनी योजना विभागमा सरुवा भए । त्यहीबेला उनले स्वास्थ्य सेवाका लागि दीर्घकालिन योजना बनाए । यस्ता योजना राष्ट्रिय योजना आयोगमा पनि प्रस्तुत गर्नुपथ्र्यो ।

सरकारी काम, अघि बढ्दै जाँदा अलिकति तल–माथि हुनु स्वाभाविक थियो । ती दिन सम्झँदै डा. गौरीशंकर केहीबेर मुस्कुराए । भने, ‘हेर्नुस, कालक्रमले त्यसैबेला डा. तुलसी गिरी प्रधानमन्त्री हुनुभयो । मेरो राजिनामाको चिठी उहाँको टेबुलमा पुगेछ । अनि उहाँले मलाई राजिनामा फिर्ता लिन भन्दै तपाईंलाई अर्को ठाउँमा सेट गर्छु भन्नुभयो ।’

२०३४ सालतिर सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन भयो । डा. गौरीशंकरलाई त्यतै लगियो । उनी परिषद्को स्वास्थ्य सेवा समन्वय समितिमा सदस्य सचिव भए । त्यहाँ काम सुरु गरेको केही वर्षपछि उनलाई लोकसेवा आयोग पठाइयो । तत्कालीन राजा वीरेन्द्रले उनलाई लोकसेवामा नियुक्त गरे, ०३५ सालमा । उनी २०४७ सालसम्म लोकसेवा आयोगको सदस्य रहे । 

उनी भन्छन्, ‘मैले लोकसेवा आयोग छोडेको करिब १० वर्षपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मानव अधिकार आयोगमा पठाउनुभयो । त्यहाँ मैले एक अवधि काम गरेँ ।’ 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC