site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सजिलो छैन आधुनिक गीत गाउनेलाई 
Ghorahi CementGhorahi Cement

नेपाली सुगम संगीतको फाँटमा लोकप्रिय नाम हो, शिशिर योगी । आधुनिक तथा स्वदेशगानमा उनको गायन कला अग्रणी मानिन्छ । ११ वर्ष अमर गुरुङसँग संगीतको शिक्षा लिएपछि गायनमा प्रवेश गरेका योगीका दर्जनौं लोकप्रिय गीत छन् । ‘पहिचान’, ‘सुस्केरा’, ‘आकर्षण’, ‘जम्का भेट’, ‘मोडमोडमा’ गीति क्यासेट निकालेका उनले २०७५ सालसम्म आइपुग्दा ५ सयभन्दा धेरै गीत गाइसकेका छन् । २०५९ सालमा पहिलो एल्बम ‘पहिचान’ निकालेका योगीका ‘यो देशमा म एउटा मान्छे खोजिरहेछु...’, ‘सारंगी त रेटे पनि...’, ‘चौतारीको बरै ढलेछ...’, ‘झम तारा झमझम...’, ‘खै कहाँ बग्यो मेलम्ची...’लगायतका गीत लोकप्रिय छन् । देशको समसामयिक विषयदेखि राष्ट्रियताको भावनाले ओतप्रोत भएका तथा मायाप्रेमका विषयमा लेखिएका गीत गाउने उनी अहिले भने अमर गुरुङको संगीत, नारायण गोपालले लाइभ गाएर रेकर्ड गर्न नभ्याएका गीतहरु गाएर एल्बम निकाल्ने तयारी गरिरहेका छन् । सुगम संगीतको अहिलेको बजार र यसको भविष्य, सुगम संगीतका साधकको आम्दानीको स्रोत र जीवनयापनको संघर्ष तथा चुनौती एवं सम्भावनाका विषयमा शिशिर योगीसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
कार्यक्रम र गीत रेकर्डिङमा नै समय बितिरहेको छ । ११ वटा गीत रेकर्ड गरिसकेको छु । अधिकांश आधुनिक गीत नै छन् । सत्यमोहन जोशी, भीम विराग, रत्न शमशेर थापाको रचनामा नारायण गोपालले रेडियो नेपालमा लाइभ गाउनुभएको तर रकेर्ड नभएको एउटा गीत छ । अमर गुरुङको संगीतमा रत्न शमशेरको शब्द रहेको गीत पनि गाएको छु । यी गीतलाई लिपीबद्ध गरेर एल्बमको रुपमा ल्याउने तयारी गरिरहेको छु । जुन गीत शब्द र संगीतका हिसाबले दमदार छन् तर बाहिर आउन सकेका छैनन् । ती गीतलाई स्रोतामाझ ल्याउने प्रयास गरिरहेको छु । 

क्यासेट, सिडी बिक्री हुन छाडिसक्यो, युट्युबमा सिंगल ट्रयाक सार्वजनिक गर्ने प्रचलन छ, तपाईं कसरी यी गीत सार्वजनिक गर्दैहुनुहुन्छ ?
कसैले भिडियो बनाइदियो अथवा स्पोन्सर गरिदियो भने युट्युबमा भिडियो पनि बनेर आउने छन् । अन्यथा अडियो मात्रै आउँछ । 

भिडियो बनेन भने गीत ओझेलमा पर्छन् नि आजकाल ।
हो । तपाईंले भनेको सही हो । राम्रो गीत गाएर मात्रै हुँदैन, भिडियो बनाएर युट्युबमा आएन भने गीत ओझेलमा पर्छ । विदेशमा बसेकाहरुले हेर्न पाउनुहुन्न । तर भिडियो बनाउन सकिएन भने अडियो मात्रै सार्वजनिक गर्नुको विकल्प पनि छैन । 

Agni Group

गीत महँगिएर त्यसो भएको हो ? 
महँगिएको मात्रै होइन, आकाशियो । म जुन धारका गीत गाउँछु, यस्ता खालका गीत गाउनेको जमात पनि ठूलो छ । उहाँहरुले किन यस्ता गीत ओझेलमा परे भनेको सुन्दा खुसी लाग्छ । समस्या छ भनेर सबैले भन्नुहुन्छ, तर समाधान हुँदैन । यो दुःखको कुरा हो । 

तपाईंले समाधानको उपाय केही देख्नुभएको छ ?
कर्तव्यबोध नगरिदिनु नै सबैभन्दा ठूलो दूर्भाग्य हो । सबैले आआफ्नो तर्फबाट कर्तव्य र जिम्मेवारी बोध गर्ने हो भने समस्या नै आउने थिएन । 

Global Ime bank

को आफ्नो कर्तव्यबाट पछि हट्यो ?
गीतले के सन्देश दिँदैछ, गीतमा मौलिकता छ कि छैन अनि  गीतले समाजलाई केही दिन्छ कि दिँदैन ? दिन्छ भने त्यसलाई प्राथमिकतामा राखिनुपर्छ । यसमा रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सबै प्रकारका सञ्चारमाध्यमले धेरैभन्दा धेरै दर्शक, स्रोता तथा पाठकमाझ पुर्याउन  सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । 

तपाईंले गाउने आधुनिक र राष्ट्रिय भावका गीतको बजार कम हुँदै गएको हो ? 
कम मात्रै होइन, निकै कम भयो जस्तो लाग्छ । नयाँ पुस्ताले जे मन पराउँछ, त्यतातर्फ ढल्कियो नेपाली कलाकारिता क्षेत्र । चकलेटी गीत जो तत्काल मनपर्छ, त्यस्तै बजार हेरेर गाउन थालियो । 

तपाईंले गाउने जस्ता गीत राम्रा कि अहिले भनिएजस्तो ‘चकलेटी’ गीत राम्रा ?
व्यावसायिक हिसाबले सबै स्वतन्त्र हुनुहुन्छ । कुनै मापदण्ड र दायरा छैन । राज्यका निकायले पनि कुनै सीमा निर्धारण गरेको छैन । राज्यको पनि यसमा हात हुन्छ । गीतसंगीतमा पनि श्रेणी छुट्याइनुपर्छ । कुन गीत संगीतले हाम्रो देशलाई चिनाउँछ र त्यो मौलिक हो त्यो छुट्याइनुपर्छ । कुन व्यावसायिक हो र कुन व्यापारिक हो भन्ने कुरा राज्यले पनि छुट्याएर त्यही अनुसारको मूल्यांकन हुनुपर्छ । 

जीविकोपार्जनका हिसाबले आधुनिक गीत गाउने गायकगायिकालाई अप्ठ्यारो अवस्था आएको हो ?
आधुनिक र राष्ट्रिय गीत गाएर जीविकोपार्जन गर्न सजिलो छैन । मेरो धारका गीत गाएर युट्युबमा राखेर, करोडौं भ्युअर्स ल्याएर कमाउँला भन्ने त मैले त माया मारिसकेँ । आशै छैन । त्यसरी आश गरेर बस्यो भने त फ्रस्टेशन हुन्छ । 

लगानीको प्रतिफल कसरी पाउने त ? 
समय परिवर्तन भएको छ । नयाँ पुस्ताले फरक स्वाद खोजिरहेको छ । हाम्रोमा मौलिक कुरा धेरै छन् । मौलिक परम्परा र संस्कृति पनि मिलाएर अहिलेको पुस्ताले चाहे जस्तो गीतसंगीत निर्माणबारे मैले पनि सोचिरहेको छु । 

बजारले जे खोजिरहेको छ, त्यतैतर्फ तपाईं पनि ढल्किने हो ?
मेरो आफ्नोपन हुन्छ, शब्दमा गहनता हुन्छ । छाडापन हुँदैन । व्यापारका नाममा चकलेटीपन हुँदैन । 

तपाईंका धारका गीतले युट्युबबाट पैसा कमाउन सक्तैनन्, प्लेब्याक सिङगिङका लागि पनि तपाईंहरु रुचाइनुहुन्न भनेपछि अब यो धारका गीतसंगीत गर्नेका लागि आम्दानीको विकल्प के हो ?
आफ्नो कामप्रति श्रष्टाको सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो जस्तो मलाई लाग्छ । गीतसंगीत कला हो भने कलाको कुनै मूल्य हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । मेरो कुरा गर्नुहुन्छ भने त्यति धेरै ठूलो महत्वाकांक्षा मैले पालेको छैन । जीवन जसोतसो चलेकै छ । कर्मको प्रतिफलले मलाई सन्तुष्टि दिएको छ । आत्मसन्तुष्ट छु । मलाई गीत गाउनका लागि आउने अफर र कार्यक्रमबाट आएको आम्दानीले जीवन चलेको छ, म सन्तुष्ट नै छु । 

तपाईंको पुस्ता जो तपाईंले गाउने धारका गीत गाउँछ, यो पुस्ताले अहिलेको गीतसंगीतको ‘ट्रेन्ड’लाई कसरी लिन्छ ?
तपाईंले जसरी प्रश्न गरिरहनु भएको छ, यस्तै चर्चापरिचर्चा हुन्छ भेटहरुमा । यसको अर्थ गहनतामा पनि मिठास रहेछ भन्ने हो । कसै न कसैले त मन पराउँदो रहेछ भन्ने कुराको पुष्टि तपाईंको प्रश्नले पनि गरिरहेको छ । यसलाई अगाडि बढाउनुपर्छ भन्ने चर्चा हुन्छ ।

अहिलेको पुस्ताले आधुनिक धारलाई मात्रै अंगालेर अगाडि बढ्ने कत्तिको सम्भावना देख्नुहुन्छ ? 
अध्ययन, मार्गदर्शन र आत्मसमीक्षा गर्नुपर्छ । अति महत्वाकांक्षा हुनु हुँदैन । सबै कुरा पैसा होइन भन्ने बुझाइ हुनुपर्छ । कला सधै पैसासँग तुलना हुँदैन भन्ने कुरा बुझ्नु जरुरी छ । 
यो धारमा गहन भएर मैले अध्ययन गरेको छैन । समग्रमा कुराकानी चल्दा राम्रा गीत किन आउँदैनन् भनेको सुन्दा तपाईंको प्रश्नमा जुन चिन्ता व्यक्त भएको छ, त्यसमा अबको पुस्ताले सोच्नुपर्छ भन्ने लाग्छ । यो क्षमता भएका कलाकार छैनन् भन्ने होइन । बाटो कुन समात्ने भन्ने हो जस्तो लाग्छ । स्वतन्त्रताको कुरा आउँछ त्यसैले यसमा धेरै कुरा गर्नुहुँदैन जस्तो पनि लाग्छ । सबैभन्दा ठूलो कुरा जिम्मेवारी र कर्तव्यबोध हो । कम्तीमा म यो बाटोमा छु भनेर आत्मसन्तोष लाग्छ । 

गीतसंगीतको धार परिवर्तन भयो भन्न मिल्छ ?
मनोरञ्जनमात्रै भयो । आत्मरञ्जन छैन । केही बेर  मान्छेलाई नचायो, त्यसमा शब्द के छ, त्यसतर्फ ध्यान गएन । वाद्य धुन र एरेन्जमेन्ट हाबी भयो । शब्द र धुन ओझेलमा पर्यो । तर केही चलचित्रका गीत जो लोकप्रिय भए, ती चकलेटी भए पनि हाम्रो आफ्नोपन छ । त्यसलाई राम्रो भनेर स्वीकार्छु । यसैगरी हाम्रो लोक तथा मौलिकपनलाई राखेर डिजेपन पनि मिसाएर गर्न सक्यो भने व्यावसायिक सफलता पनि मिल्यो र गीत पनि रुचाइन्छ । 

अहिलेका गीतसंगीतलाई हेर्दा यो व्यावसायिकता भयो कि व्यापारीकरण हो ?
व्यावसायिक भन्दा पनि व्यापारीकरण भयो । यसले हामीलाई अन्ततः नरकारात्मकतातर्फ नै लैजान्छ । यसले कहाँ पुर्याउँछ भनेर हेर्ने दूरदर्शीताको हामी कलाकार र स्रोता दुबैमा कमी छ । स्रोतामा पनि यो कमजोरी छ । कुरा गर्दा कलामा व्यापारीकरण भयो भन्ने अनि व्यवहारमा त्यसैलाई बढावा दिएपछि त्यसको के अर्थ रह्यो र ?  

नेपाली सांगीतिक क्षेत्रलाई मौलिकपन सहितको व्यवबसायिक बनाएर अगाडि बढाउन कसको के भूमिका हुनसक्छ ?
युट्युबमा जस्तो गीत अपलोड गरे पनि हुन्छ । भ्युअर्स बढाउन नाङ्गोपन देखाउने प्रवृत्ति बढेको छ । म नाङ्गो नाचे भने मलाई सबैले हेर्छन् भन्ने मानसिकताबाट हामी परै बस्नुपर्छ । ‘एनी हाउ पैसा कमाउ’ भन्ने जुन प्रवृत्ति देखिएको छ, यसलाई रोक्ने कसले ? यसलाई नजरअन्दाज गरेर स्रोता तथा दर्शकले बहिष्कार गर्नुपर्छ । सर्जकदेखि स्रोता तथा दर्शक सबैमा चेतनाको विकास हुनुपर्छ । यसो हुन सक्यो भने मौलिकतासहितको व्यावसायिकता आफै कायम हुन्छ, व्यापारीकरण स्वतः कम भएर जान्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC