हजुरआमालाई ‘डिप्रेसन’ ! 

सजीना ढुंगाना 

हजुरआमालाई ‘डिप्रेसन’ ! 

फोनको घन्टी लगातार बजिरह्यो । शनिवार फोन उठाउने जाँगर त्यति चल्दैन । त्यो दिन पूरै बिदाको ’मुड’मा होइन्छ । र पनि, बजिरहेको फोन उठाएँ । 

‘हेल्लो’ । सँगै प्रश्न पनि आयो, ‘नानी चैतन्य हो ?’ प्रश्न रमाइलो लाग्यो । 

‘हो’  भने । 

‘नानीलाई भेट्नुथ्यो । कुरा गर्नु छ ।’ 

उनको आवाज गहकिलो तर केही कामेको जस्तो लाग्यो । जवाफमा हुन्छ भनेँ । समय मिलाएँ । फोन काटेँ तर मनमा छटपटी भइरह्योे । मेरा लागि ‘अप्वाइन्टमेन्ट’ पछिको सम्भवतः नयाँ अनुभव रह्यो यो । 

आइतवार उनको समय थियो । समयमै आइन् । उमेर ढल्केको, तर अनुहार अत्यन्त ओजपूर्ण । उनीे आउँदै गर्दा लाग्यो — ‘ओहो यो उमेरमा त यस्तो छ, बैंसमा झन् कस्ती थिइन् होला ! यो उमेरमा पनि उनको व्यक्तित्व देखेर छक्क परेँ । केही सामान्य कुराकानी पछि मुख्य विषयमा प्रवेश गर्‍यौं हामी । 

उनकीे नातिनीले मेरो नम्बर खोजेकी रहिछन् तर नातिनीले आफ्ना लागि आफैँ अगाडि सर्न हौस्याएकी पनि रहिछन् । त्यसैले निकै गाह्रोसँग अघिल्लो दिन उनले फोन गरेकी रहिछन् । नितान्त अपरिचित व्यक्तिसँग एकदमै निजी कामका लागि आफैँ अग्रसर हुनु सायद उनका लागि नौलो नै थियो । आफ्ना कुरा भनिरहँदा केही असहज अनुभव भएको भाव उनको अनुहारमा झल्किँदै थियो । उनलाई अप्ठेरो नपर्ने गरी मैले रमाइलो मानेर पढिरहेँ, त्यो अनुहार । 

जतिजति कुरा अगाडि बढ्दै थियो त्यति नै म रोमाञ्चित र जिज्ञासु हुँदै गएँ । पुष्पा (नाम परिवर्तन) ७० वर्ष पुगिछन् । शरीरमा कुनै रोग छैन । खानपिनमा विशेष ध्यान छ । छोराछोरी सबै विदेशमा छन् । छोराछोरी नातीनातिनाको नेपाल आउने जाने क्रम जारी छ । 
पुष्पा काठमाडौंमा एक्लै बस्छिन् । उनका पति बितेको नै २० वर्ष भइसक्यो । घर परिवारमा कुनै किचलो छैन । सबैतिरबाट आनन्दै आनन्द छ । कुराकानीबाट थाहा भयो यो अरुले देख्ने आनन्द हो । उनको मनमा अत्यास, एक खालको डरजस्तो छ । उनको कुराले यही बताइरहेको थियो । 

उनी भन्न थालिन् — ‘२० वर्षदेखि एक्लै छु । अझै कति बाँच्छु थाहा छैन । विदेश गएर बसे त हुने हो तर उनीहरु (छोराछोरी)को उता एकखालको जीवनशैली छ । पाहुना हुँदा धेरै माया पाइन्छ । त्यसको लोभ त लाग्छ तर सधैँ त्यहाँ बस्ने मन छैन । बस्न सक्तिन पनि । तर, यसरी सधैँ एक्लै बस्न पनि कठिन हुँदैछ । कति बस्नु एक्लै ? घरमा बोल्ने मान्छे पनि छैनन् । त्यो मोरो टीभी कती हेर्नु । धर्मकर्म गर्नलाई देउताथान जाने बानी पनि छैन । साँझ बिहान घरमै बत्ती बाल्छु, त्यत्ति हो । मेरा साथीहरु पनि त छैनन् । कति मरिसके । केही ओछ्यान परेका छन् । भन्छन् — ‘तँलाईं पो आनन्द छ । जे गरे पनि हुन्छ । हेर त, हामीलाई कहीँ जाउँ, केही गरौँं भन्ने लाग्यो भने सबैलाई सोध्दै हिँड्नुपर्छ ।’ 

उनी हलुका हाँसिन् । अनि भन्न थालिन् — ‘उनीहरुलाई के थाहा, एक्लै हुनुको पीडा !’
मैले सोधेँ — ‘त्यसो भए डर लाग्छ हजुरलाई एक्लै छु भनेर, हो ?’ भनिन्, ‘डर त होइन, २० वर्ष भइसक्यो एक्लै बस्न थालेको । अब किन डराउनु र ? तर, अत्यास चाहिँ लाग्छ कहिले काहीँ । कहाँ जाउँ के गरुँ भन्ने हुन्छ । फेरि सधैं बाहिर पनि कहाँ जानु ?’ 
यो सबै भनिरहँदा उनको अनुहारमा पीडाको भाव उत्रिँदै थियो । फेरि सोधेँ ‘अनि, हजुरको नातिनी ?’ 

प्रश्न पूरा नहुँदै उनले भनिन्, ‘अस्ति आएकी थिई । दुई महिना बसेर गई । तपाईँलाई डिप्रेसन छ । काउन्सिलिङमा जानुस्, सजिलो हुन्छ भनी । उसैले नानीको नम्बर भेटिछ । खै कताबाट फेलापारी ।’

यी वृद्धा पुष्पासँगका सेसन् बढ्दै जाँदा उनको मनका कुरा अझै बढी थाहा हुँदैगयो । ‘५० वर्षमा विधवा भएँ । छोराछोरी त्यतिखेरै पनि बाहिरै थिए तर आजसम्म कसैले सोधेका छैनन् ’म एक्लै कसरी बसेको छ’ु भनेर । ५० भनेको धेरै उमेर हो र ? मेरो ठाउँमा लोग्नेमान्छे भएको भए उहिल्यै अर्को घरजम गरिसक्थे । परिवारले नै गर्दिसक्थे । मेरो बारेमा भने कोही सोच्दैनन् । खाली सञ्चो बिसञ्चो, पैसा छ छैन, त्यतिमात्रै हेर्छन् । म एक्लै भा’को कसैले देख्दैनन् । अस्ति नातिनीले ‘आमा विदेशमा त बूढाबुढी पनि बुढेसकालमा एक्लै हुन्छुँ भनेर बिहे गर्छन्’ भनेर सुनाउँदै थिई । मैले केही भनिन । के भन्नु ? बिहे गर्दे भन्नु ?’ (यति भनेर उनी लामो हाँसो हाँसिन् ।) 

पछिल्ला वाक्य भनिरहँदा उनको अनुहारमा केही रोमाञ्च अनि केही लाजका रेखाहरु देखिए । गाला पनि केही गुलाबी भयो । मौका छोपेर सोधिहालेँ, ‘साच्चै हजुरले बिहे गरेको भए के हुन्थ्यो ?’ 

उनले लामो सास फेरिन् । गम्भीर भइन् । भनिन् — ‘के हुन्थ्यो र ? छिल्लिएकी आइमाई भन्थे । यो उमेरमा भजन छोडेर बूढो चाहिएको भनेर गाली गर्थे होलान् नि ! छोराछोरीले पनि छीछीदूरदूर गर्थे होलान् । ईष्टमित्र सबै टाढा हुन्थे । अरु के हुन्थ्यो र ? तर, त्यो बेला यस्तो सोच पनि आएन । कतै बूढाबुढीसँगै हिँंडेको गफ गरेको देख्दा चाहिँ मनमा कस्तो कस्तो लाग्थ्यो । पछिपछि त्यस्तो हुन छोड्यो । अचेल भने अत्यास लाग्छ ।’   

पुष्पाजीसँगका सेसन जम्मा तीनवटा भए । धेरै कुरा छन् उनका । काम गर्दैछु । कति सहयोग हुन्छ त्यो त समयले नै बताउला तर जतिपटक उनीसँग बसेकी छु त्यतिनै पटक सोचमा पर्छु म । अनि हेर्छु आफ्नै वरिपरिका परिवार र छरछिमेकलाई । 

विशेष गरेर सहरी समाजमा ब्याप्त छ छोराछोरीको विदेश मोह । त्यससँगै बिस्तारै थाहा नहुने गरी हुर्किँदै गएको छ बूढाबुढीको एकाकी जीवन । पति पत्नीसँगै छन् भने त केही सन्तोष होला तर पुष्पाजी जस्ता कति छन् यहाँ जो विदेशको बसाइमा त्यति रमाउँदैनन् । उनीहरु आफ्नै देश, समाज र परिवारमा फर्किन चाहन्छन् । यिनीहरु लामो समयको एक्लोपनाबाट आत्तिएको देखिएका छन् । यसरी नजानिँदो किसिमबाट वृद्धावस्थाको डिप्रेसनबाट पीडित हुँदैछन्, पुष्पाजी जस्ता कैयौं हजुरआमाहरु । 

पुष्पाजीकी नातिनीले आफ्नी हजुरआमामा मानसिक समस्या रहेको थाहा पाइन् । अनि सही समयमा हजुरआमालाई मनोविमर्श (काउन्सिलिङ) र यसले गर्ने फाईदाका बारेमा जानकारी दिइन् । यसलाई राम्रो मान्नुपर्छ । पुष्पा पनि देशविदेश घुमेकी तर आफ्नो एक्लो अवस्थाबाट आत्तिएकी महिला हुन् । उनले आफूलाई सम्हालिन् । केही बुझेरै मनोविमर्शलाई सजिलै स्वीकारिन् । यो उनका लागि सहयोगी हुन गयो । 

सोचौँ त, हाम्रो समाजमा यस्ता महिला र पुरुषको संख्या कति होला ? विदेश मोहले ल्याएको सामाजिक परिवर्तनको सिकार कति हजुरबुबा हजुरआमाहरु भएका होलान् ? आजको समयमा यो यस्तो गम्भीर प्रश्न हो जसको जवाफ हरेक नेपाली परिवारले खोज्नुपर्ने भएको छ ।  

वैदेशिक रोजगार र बसाइँसराइलाई खुला हातले स्वागत गरिएको स्पष्ट देखिन्छ । योसँगै सामाजिक सांस्कृतिक संरचनाप्रतिको पुरातनवादी सोचको निरन्तरताले हाम्रो समाजलाई जटिल अवस्थातिर धकेल्दै पनि छ । त्यो सम्झिँदा पनि कहाली लाग्छ । भौतिकरूपले विदेशको बसाइँले अवश्य पनि सहरी जीवनले विशेष गरेर स्वास्थ्य, शिक्षा र आरामदायी जीवनशैलीमा रमाउन सजिलो होला । यसबाट उता हजुरबुबा, हजुरआमाको एकाकी जीवन, अत्यास लाग्दो एक्लो भोगाइ, डिप्रेसनको दलदलमा फस्नसक्ने खतरा निर्माण भइदिन सक्छ । हजुरबुबा हजुरआमाहरुका छोराबुहारी अनि नातीनातिनाले सोचेका छन् यो ? 

यसको अर्थ परिवारमा बस्दै आएका बूढाबुढीमा डिप्रेसन नै हुँदैन भन्ने होइन । आजको विषय त्यो नभएका कारण  त्यतातिरको सन्दर्भ छोइएन । त्यो अर्को छलफलको विषय हुन सक्छ । फेरि बूढाबुढीमा डिप्रेसन हुनुको कारण यहीमात्रै पनि होइन । यसका अनेकौँ कारण छन् जुन सिधै मानसिक स्वास्थ्य, रहनसहन, सामाजिक सांस्कृतिक व्यवहारबाट निर्देशित हुन्छन् । 

हुनत, वृद्धावस्थामा देखिएको डिप्रेसन तरुनो अवस्थाको भन्दा केही फरक हुन्छ । किनभने, वृद्धावस्थाको डिप्रेसन धेरै मात्रामा स्वास्थ्य समस्यासँग जोडिएको हुन्छ । तथापि त्योमात्रै पनि कारण होइन । कतिपय परिस्थितिमा मनोसामाजिक कारणले पनि वृद्धवृद्धा यो समस्याबाट गुज्रिरहेका हुनसक्छन् । 

वृद्धावस्थामा लाग्ने विभिन्न रोगबाहेक एक्लो हुनु, आवश्यक सामाजिक उठबसमा कमी आउनु, अकस्मात् मनमा परेको गहिरो चोट र आघातका कारण पनि यो समस्या देखिन सक्छ । केही हदसम्म महिलाको हकमा महिला हुनुकै कारण पनि यो समस्या सिर्जना हुनसक्छ ।  यसका अतिरिक्त डिप्रेसनका अन्य कारणमा, निद्रा नपर्नु, मनमा धेरै कुरा खेलिरहनु, रुचि र रहरका कामलाई वास्ता नगर्नु, आशा मर्दै जानु, आफैँलाई बोझ भएको ठान्नु, चिड्चिडापन अत्यधिक हुनु, बोल्न मन नलाग्नु, बिर्सिने बानी बढ्नु, जिन्दगीको माया नलाग्नु पनि पर्छ । 
त्यस्तै खानपिन र स्वास्थ्यको वास्ता नगर्नु, सांझ परेपछि आत्तिने (सनडाउन सिन्ड्रोम) जस्ता लक्षण सामान्य अवस्थाबाट सुरु भएर अत्यन्त गम्भीर अवस्थासम्म पुग्न सक्छ । मानिसले आफ्नो जीवन नै अन्त्य गर्ने मन पनि बनाउन सक्छ । यस्तो कोसिस गरिसकेको अवस्थामा भने झन् बढी गम्भीर हुनु आवश्यक हुन्छ । यस्तो स्थितिमा तत्कालै मनोचिकित्सकको सहयोग लिएर उपचार गराउनु समस्यालाई बढ्न नदिने उपाय हो । 

आफ्ना मनको कुरा भन्ने, सुनाउने र सहयोगका लागि मनोविमर्शकर्ताको साथ सहयोग राम्रो उपाय हो भने यो सँगसँगै आफ्नो स्वास्थ्यअनुरूपको काम गर्ने, नयाँ काम सिक्ने वा जानेको काम सिकाउने, नयाँ ठाउँ घुम्ने, साथीहरु बनाउनेजस्ता काम गर्न गराउन पनि सकिन्छ । 

अन्त्यमा, वृद्धावस्थामा देखिने डिप्रेसनमा परिवार र समाजको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । उमेर क्रमशः ढल्किँदै गएपछि शारीरिक अस्वस्थता र एकाकी जीवनसँगको संघर्ष त छँदैछ । त्यसमाथि परिवारको अबुझपना र अनुत्तरदायी व्यवहारले यस्लाई झनै लामो र जटिल बनाइदिन सक्छ । यसतर्फ हरेक परिवारका प्रत्येक व्यक्तिले सोच्नु आवश्यक छ । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

मलेसियामा दैनिक सरदर एक नेपालीको मृत्यु

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक सरदर एक जनाको अकालमै

भारतको चण्डीगढमा रुखमा झुण्डिएको अवस्थामा भेटिए एक नेपाली

चण्डीगढ । भारतको चण्डीगढमा एक जना ३५ वर्षीय नेपालीले रुखमा झुण्डिएर ‘आत्महत्या’ गरेका छन् । चण्डीगढको जुडिसियल एकेडेमीका अगाडि गएको

कामनपाका संस्थागत विद्यालयमा नेपाली भाषाको बोर्ड अनिवार्य

काठमाडौं । संस्थागत विद्यालयको बोर्डमा अग्रेजी भाषाको प्रयोग प्रायः देशैभरी हुने गरेको पाईन्छ । ती विद्यालयका बोर्ड नेपाली भाषामा राखेको

‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली, के छ विजेतालाई पुरस्कार ?

काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली