काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कर्मचारीले कसम खाँदैमा भ्रष्टाचार र अनियमितता नरोकिने जिकिर गरेका छन् । पत्रकार शुभशंकर कँडेलद्वारा लिखित ‘अवतरण’ विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि प्रश्न गरे, “प्रधानमन्त्रीज्यू सुन्दैछु, प्रधानमन्त्री कार्यालयका कर्मचारीले भ्रष्टाचार गर्दिन भनेर कसम खानुपर्छ । तपाईंका मन्त्री, सांसद र नेताहरूले चाहिँ खानु पर्दैन ?”
त्यस्तै उनले लामो समयदेखि उखु व्यापारीले भुक्तानी नपाएको तर चिनिको भाउ आकाशिएको भन्दै सरकारी कार्यशैलीको आलोचना गरे ।
“म पनि उखु किसान हुँ, मैले पनि दश बिगाहा जमिनमा उखु लगाएको छु । दुई वर्ष भयो, उखुको भुक्तानी नपाएको तर चिनीको भाउ कसरी आकाशियो ?,” उनको भनाइ थियो ।
त्यस्तै उनले निर्मला पन्त प्रकरणमा बलात्कारी पक्राउ नपरेको, शान्ति सुरक्षा खलबलिएको भन्दै चिन्तासमेत प्रकट गरे ।
त्यस्तै उनले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यथाशीघ्र टुंग्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।