नकारात्मक हुन नपरोस्

हरीश भट्ट

नकारात्मक हुन नपरोस्

पछिल्लो साता स्नातक पहिलो वर्षको परीक्षा सकिएपछि मेरो ध्याउन्न काठमाडौंमा काम खोज्नतिर गयो । कुनै वकिलको झोला बोक्न या कुनै मिडिया हाउसमा टिपनटापन केही काम माग्न धेरै ठाँउ धाइरहेकै छु । यही साता काठमाडौं बस्ने नयाँ पुराना साथीलाई पनि सम्झिए । दसैं पनि आउन लाग्यो । पोहोर साल दसैं सकिनेबित्तिकै इज्याले खसी र घ्यु बेचेर बैंकमा जमा गरेको एक लाख रुपियाँ लिएर काठमाडौं छिरेको हुँ – जापान जाने सपना बोकेर । यहाँ पुगिसकेपछि बुबाले भारतबाटै बीस हजार थप गरिदिनुभयो । काठमाडौं पुगेपछि केही साथीलाई भेटेँ । सबैलाई त भन्न पनि सकिन । जतिलाई भने कतैबाट सहानुभूति र कतैबाट सुझाव राम्रै पाए । सुझावमा नकारात्मक र निराशावादी नहुन भनिन्थ्यो ।

‘‘जापानी भाषा पढाइ हुने सस्तो ठाँउ कहाँ छ?’’ मैले उपेन्द्रलाई सोधेँ । उपेन्द्र उमेरमा केही महिनामात्रै जेठो तर एकदमै परिपक्पव लाग्ने साथी हो । उसले मलाई जापानी भाषा सिकाउने ठाँउ त पुर्याइदिएन तर गहनापोखरीको डिलसम्म पुर्याइदियो । त्यहाँ हामीले धेरै कुरा गर्यौँ र मैले पनि वाचा गरे म विदेश जान्न । उपेन्द्रको त्यो ‘मोटिभेसन’ले मलाइ जापानी भाषा सिकाउने ठाँउबाट कानुन पढाउने क्याम्पस खोज्ने बनायो । उसको मोटिभेसनमा सुझाव कम थियो, माया ज्यादा । डर कम थियो, जानकारी ज्यादा । मैले कानुन पढ्न थाले । ढिलो भइसकेकाले एउटा निजी कलेजको महंगो पढाइको विकल्प थिएन । एक वर्ष सकियो । तर दोस्रो दसैं नआउँदै उपेन्द्र विदेश हिँडिसक्यो । उसलाई विमानस्थलमा हिजो बिदा गरेपछि आज त्यो प्रेरणा याद आउँदैछ उसको । के कारणले मलाई विदेश नजान प्रेरित गर्ने ऊ आफँै चाहिँ खुसुक्क उड्यो समुद्रपारि ?  न त उसले जवाफ दियो न मैले केही ठम्याउन सके । तर, त्यति अफसोच छैन । उसले जीवन जगत्को चेतना बोकेको छ । केही समय थोरै कमाएर, थोरै सिकेर फर्किन्छ होला । तर, जब विमानस्थलबाट उसले बिदाइको हात हल्लाउँदै गर्दा मैले उसलाई हेरिरहन सकिन । यताउति हेरे लामैलाम छ । सबैतिर भित्रबाट हात हलिन्नछन्, बाहिर भरिएका आँखा हेरिरहन्छन केहिबेर र सुँक्कसुँक्क गर्दै बाहिरिन्छन् आफन्तहरू । छोरीहरू विदेशतिरै थिए, एक्लो छोरो पनि नजरबाट दूर पराइभूमिमा जाँदै गर्दा आमाले मन थाम्न सकिनन् । म सोचिरहेको थिएँ आमालाई सम्झाउँदै भन्छु ‘‘चिन्ता नलिनुस् आमा । हामी यतै छौँ नि । ऊ पनि छिटै आइहाल्छ । ’’ तर सकिन भन्न र आमाकै रुझिसकेको रुमालले आँखा पुछेँ । अबेर घर फर्कियौँ सबैजना ।

यसै साता मैले शरदलाई फोन गरे । भारतको बैंगलुरुमा सफ्टवेयर इन्जनियरिंग सकेर पोहोर सालै नेपाल फर्केपछि फोनमा मात्रै कुरा भएको थियो । उनी जन्मथलो महेन्द्रनगरमै ‘आइटी स्टार्टअप’ गर्न भनेर कलेजबाटै पाएका ‘इन्टर्नसिप’ अवशर छोडेर आएका थिए । दुई महिना अघि काठमाडौं आएछन् । अब केही समय काठमाडौंबाटै काम सुरु गर्ने र महेन्द्रनगरमा नपाएको अवसर र सहयोगी यहाँ भेटाउने आशा रहेछ । पेप्सीकोला नजिकै कोठा लिएर बस्न थाले । परीक्षा सकिएपछि एउटा ‘कन्सेप्ट’मा मिलेर काम गर्ने योजना पनि बनाएका थियौँ । तर, हिजो फोन गर्दा शरद महेन्द्रनगर पुगिसकेछन् । ‘‘कहाँ हुनुहुन्छ ?’’ मैले सोध्न नपाँउदै उनले भने – ‘‘अब अर्काे साता दिल्ली जाँदैछु । टिकेट लिइसकेँ ।’’ ओ हो ! उनले धेरै बोल्न पनि चाहेनन् । बरु एकनास भडास पोख्न थाले । कोठाबाट बाहिर निस्केर पेप्सीकोला तरकारी लिन कसरी जानुहुन्छ ? उनले मलाइ नै प्रतिप्रश्न गर्न थाले । पेप्सिकोलाको खाल्डोमा खुट्टा पसेर लड्दा घुँडा मर्कियो । बानेश्वर जान तीन ठाँउ लगभग ३ देखि ४५ मिनेट जाम पर्छ । कोठाभाडा महंगो, इन्टरनेट महंगो, तरकारी महंगो । काम हुन्न कमाइ हुन्न । कसरी बस्ने यार ?  बरु दिल्लीमै केही समय नौकरी गर्छु । उतैबाट काम गर्नुपर्ला । मैले यो लेखिरहँदा शरद पनि दिल्ली पुगिसकेका हुनेछन् ।

म आमाको कोखमा हुर्कदै गर्दा मेरो पिताजी भारत जानुभएको रे । यो पालिको जन्मदिनमा बुबाले सम्झिनुभयो ल तिमि २१ वर्षको भयौ है, म इन्डिया आएको पनि २२ वर्ष भयो । मेरो परिवारमा कहिल्यै सपरिवार दसैं मनाइएन । दसैंमा पिताजीको काम बढी हुन्छ, घर आउन पाउनुहुन्न । नवरात्रीकै बेलाको कमाइले तिहार मनाउन र हाम्रो विद्यालयको शुल्क तिर्नुहुने हो । इज्याले यत्रो जीवन तीजमा कहिल्यै पिताजीसँगै बस्न पाउनुभएन । गाँउघरमा त यो स्वाभाविक हो । हरेक दोस्रो घरको मान्छे भारतमा छन् हाम्रो गाँउबाट । लामो समय भारतमा चौकिदारी गरेका व्यक्ति मुख्यमन्त्री भएपछि उनले आफ्नो पहिलो प्राथमिकता सुदूरपश्चिमका सबै भारत गएका युवा फर्काउनु हुने बताएका थिए । तर काठमाडौं पञ्चायतले ‘सुदूर’ ठानेको मेरो पश्चिम नेपाल संघीयतामा प्रदेश हुँदा पनि सुदूरपश्चिम नै रहन भएको आदेश मान्न बाध्य छ । यस्तै बाध्य छन् छिमेकको भारतमा ‘डोट्याल’हरू आफ्नो पहिचान कहीँ ‘बहादुर‘ त कहीँ ‘वाचमैन‘ बनेर बस्न ।

धकेलाधकेल बसमा १० प्रतिशतले बढेको भाडा तिरेर म घर त जाँदैछु दसैं मनाउन । तर, मेरो पिताजीले दुई दशक भयो दसैं नमनाएको घरपरिवारसँग । उहाँ नवरात्रिपछि वनारस या हरिद्वारका सन्त महाराजहरूसंग ‘दशहरा‘को टीका त लगाउनुहुन्छ होला तर अट्लान्टिक महासागरको छेउछाउ र खाडीको मरुभूमि पुगेका नेपाली निधारहरु ? संघीय सरकारका प्रधानमन्त्री र महामहिम राष्ट्रपतिको शुभकामना सन्देशमा त अटाउलान् देश तथा विदेशमा रहेका नेपाली तर विदेशमा रहेकाको निधार खाली हुनेछ भने देशमा रहेकाको आँखा भरी हुनेछ, मन भारी हुनेछ । गत वर्षका ६१७ हत्या र ११३० बलात्कारका पीडित आफन्तमध्ये न्यायका लागि लडिरहेका छन अधिकांशले पनि न्याय खोज्लान् विजया दशमीमा । खाडीबाट बाकसमा फर्केका जवानहरू दसंैको दिन पनि आगनमा उत्तानो परेर खोज्लान पानी । अतः न्यायको विजय खोजलिएला दसैंमा ।

पुसमा पानीजहाज र वैशाखमा रेल आउने समाचार गाँउका सबै एफएम रेडियोले सुनाइसकेका छन् । गाँउ कति उत्साहित भएको होला ? गाँउ कति सकारात्मक भएको होला ? गाँउ कति आश्वस्त भएको होला ? वीर सहिदको बलिदानको जगमा रक्तसिञ्चित राता झन्डाहरूको विजय भएको एक वर्षनैपनि भएको छैन । स्वशासनको अधिकारप्राप्त प्रदेश सरकारहरू अघि बढिरहेकै छन् । संघीय गणतन्त्र मजबुत हुँदैगइरहेको छ । देशले स्थिरता पाउँदै गइरहेको छ । अब त सकारात्मक बन्नैपर्ने भएको छ । अब त आशावादी बन्नै पर्ने भएको छ । बस आशाहरु शान्तिसँग संबन्धित छन् गाँउसरहमा । आशाहरू घरफिर्तीसँग संबन्धित छन् घरघरमा । आशाहरू खाली निधारमा आशाहरूको विजय मनाउँदै सपरिवार विजयादशमीको टीको लगाउने सपनासँग संबन्धित छन् । 

अब उपेन्द्रहरू अट्लान्टिक वरिपरि नै खालि निधार खटिनुनपरोस् । खाडीबाट निष्प्राण पतिहरूहैन, सबल पिताहरू आशा लिएर आउन् । छिमेकको भारतमा दसैंको मुखैमा शरदले नौकरी खोज्दै जानु नपरोस् । डोट्याल दाजुभाइहरू बहादुर या वाचमैन नै भएर पनि दसैंमा फर्किन चाहन्छन् । सिमामा नकुटिई, नलुटिई सुदूर नै भए पनि यही धर्तीमा फर्किन चाहन्छन् । अर्काे पटक म आफैँ दसैंको मुखैमा विदेशिनु नपरोस् । मेरा पिताजीले जीवनका बाँकी दशक परिवारसँगै दसैंको टीकाजमरा लगाउन पाउने माहोल बनोस् । कर्म गर्नेलाई आशा गर्ने हक हुन्छ । कर्मवीर नेपाली जाति आफ्नै भूमिमा कर्मको पौरख पोख्न पाउनुपर्ने आशा राख्छ । निराश र नकारात्मक हुनुनपरोस् ।

प्रतिकृया दिनुहोस