Skip Advt.
ad

साहित्य र कला

हे माते !

हे माते !

– राजेन्द्र पराजुली


“तिम्रै नाममा चढाएँ हे माते मेरो यो उपन्यासको पहिलो प्रति !” आफ्नो उपन्यासको तात्तातो प्रति यसो भन्दै चिन्तनले अबिर, जल, फूल, अक्षता अनि पशुको रगतले लतपतिएको दक्षिणकाली माताको पाउमा राखिदियो । दर्शनार्थीको भीड थियो मन्दिरमा ।

शुक्रबार ढिलो गरी छापाखानाले उसलाई केही प्रति पुस्तक तयार पारिदिएको थियो । तयार पारिदिएको पनि के भन्नु, उसैले घण्टौं बसेर छिटो तयार पार्न लगाएको थियो । जतिसक्यो छिटो ऊ पुस्तक लिएर दक्षिणकाली माताको मन्दिरमा गएर सफलताका लागि वरदान माग्न चाहन्थ्यो । चढाउन तयार पारेको पुस्तकमा उसले रातो कलमले लेख्यो, “माता दक्षिणकालीको चरणकमलमा यो भक्तको तर्फबाट, कोटीकोटी प्रणामसहित अर्पण गर्दछु, स्वीकार गर हे माते ।”

र, तलपट्टि बडो होसियारीका साथ उसले आफ्नो हस्ताक्षर पनि गर्‍यो ।

तयार भएका केही पुस्तक उसले आफ्नो जापानी जिपको पछिल्तिर राखेको थियो । केही पुस्तक भने बजारमा लगेर वितरकलाई दिन घरमा काम गर्ने केटोलाई अह्राएको थियो । पुस्तकबाट मसीको गन्ध आइरहेको थियो । उसले नाकनजिक लगेर गन्ध सुँघ्यो । चिन्तन पुस्तकलाई यति धेरै माया गथ्र्याे कि छापाखानाबाट त्यो हातमा लिँदासाथ उसले कयौं पटक शीरमा लगाएको थियो । त्यही शीरमा लगाएको पहिलो प्रति ऊ दक्षिणकालीमा अर्पण गर्न चाहन्थ्यो ।

भोलिपल्ट एकाबिहानै चिन्तनले जिप स्टार्ट गर्‍यो र देब्रेतिरको सिटमा नयाँ उपन्यास एक प्रति राखेर आफ्नो इष्टदेवी माताको मन्दिर पुग्यो । शनिबार परेकाले मन्दिरमा मान्छेको भीड थियो ।

पुजारी पनि छक्क पर्दै चढाएको पुस्तक नछोइकन हेर्न थाल्यो । एकैछिनमा उसले पुस्तक देवीको पाउबाट झिकेर अलि परतिर मान्छे ओहोरदोहोर गर्ने ठाउँमा राखिदियो ।

आजसम्म यसरी देवीलाई पुस्तक चढाएको र सफलताका निम्ति याचना गरेको पुजारीले कहिल्यै पनि देखेको थिएन । ऊ त्यही भएर पनि छक्क परेको थियो । स्वयम् चिन्तनले पनि अरु कसैले पुस्तक सफल होस् भन्ने कामनाका साथ मन्दिरमा चढाएको देखेको थिएन । उसलाई यो कर्म ‘नयाँ प्रयोग’ लागेको छ ।

पछिल्लो पुस्तक लेखिसकेर छापाखानामा बुझाएपछि अचानक उसको दिमागमा यस्तो उपाय फुरेको थियो– पुस्तक मातालाई चढाउने ! ‘कतै मेरा भागमा पनि मदन पुरस्कार लेखिएको छ कि ! मेरो पुस्तक पनि हटकेक पो बन्छ कि माताको कृपा र आशीर्वादले !’ चिन्तन आफूभित्र अनायासै जन्मिएको हौसलाले पुलकित भएको थियो । र, जतिसक्यो छिटो पुस्तक छपाउन हौसिएको थियो ।

मातालाई चढाएको ‘गुलाफको छातीमा शिशाको गोली’ शीर्षकको उपन्यासअघि उसले सात वटा उपन्यास लेखिसकेको थियो । निकै तामझामका साथ विमोचन गरिएका अघिल्ला ती उपन्यास पाठकका नजरमा स्तरीय बन्न सकेनन् । उसका ती कुनै पनि पुस्तक बिक्री भएनन्, पाठकले पत्याएनन् । केही प्रति घरमा राखेर उसले बाँकी किताब सित्तै बाँडिदिने गरेको थियो । बेकारमा मान्छे बोलाएर खाजापानी खुवाउँदै विमोचन गर्नुभन्दा मन्दिरमा चढाउनु उपयुक्त लाग्यो उसलाई यस पटक ।

यतिका पुस्तक निकालिसक्दा पनि उसले आजसम्म कुनै प्रकाशनलाई गुहारेको छैन । कसैलाई आफ्नो पुस्तक छापिदिन आग्रह गरेको छैन । प्रकाशकलाई हात नजोड्नुलाई उसले ‘एउटा लेखकको स्वाभिमान’ ठानेको छ । काठमाडौंको रैथाने व्यापारी चिन्तन हात हालेको सबै काममा सफल छ । उसको पछिल्लो काम ‘म्यानपावर एजेन्सी’ले उसलाई छोटो अवधिमै करोडपति बनाइदिएको छ । तर, पुस्तकमा असफलता मिलेको देखेर ऊ चिन्तित छ, विस्मित पनि छ ।

आफ्नो नाम अलि आकर्षक नभएको हो कि भनेर उसले तेस्रो पटक परिवर्तन गरेर ‘चिन्तन’ राखेको थियो । उसको खास नाम त बाबुराम उपाध्याय अधिकारी हो । बाबुरामलाई उसले बाबुश्री अधिकारी बनायो, त्यसपछि ‘विप्लव’ छान्यो । विप्लव नाम पनि उसलाई बिल्कुलै मन परेन, कम्युनिस्टको गन्ध देख्यो । उसलाई कम्युनिस्टप्रति सख्त घृणा छ । उसको व्यापारमा निकै दख्खल दिएका छन् ती सिद्धान्त बोकेका मान्छेले, चन्दा मागेर हैरान पारेका छन् । त्यसैले उसलाई यो विचारप्रति नै वितृष्णा छ । विप्लव नाम झुक्किएर राखेको ठान्छ ऊ । त्यसैले जम्माजम्मी एउटा पुस्तकमा मात्र त्यो नाम राख्यो उसले । अहिले ऊ ‘चिन्तन’ बनेको छ । एउटा लेखक कुनै थर वा जातमा सीमित हुनु हुन्न भन्ने मान्यताबाट प्रेरित छ ऊ पछिल्लो समय । पुस्तक विमोचनमा बोल्दा त्यसै भन्छ । त्यसैले उपाध्याय अधिकारी हटाइदिएको छ उसले, आफ्ना पछिल्ला पुस्तकहरुमा ।

खण्डकाव्य दुई, कथासङ्ग्रह चार अनि छन्द कविताका चार पुस्तक लेखिसकेको चिन्तनलाई कथा र कविता बिक्री नहुनुमा उतिविधि चिन्ता लागेको छैन । उसलाई थाहा छ— कविता र कथा बिक्री हुँदैनन् । समालोचकहरूले पनि त्यसै भनेको सुनेको छ । आधुनिक पाठक कि त उपन्यास किन्छन् कि त आत्मकथा । यति धेरै उपन्यास लेखिसक्दा पनि उसले आत्मकथा लेख्ने आँट भने गरेको छैन । ऊ आफ्नो आत्मकथा आफैं लेख्न चाहन्छ, कुनै ‘गोस्ट राइटर’ लगाउन चाहँदैन । थुप्रै पटक आत्मकथा लेखिदिने प्रस्ताव लिएर बजारमा नाम चलेका लेखक तथा पत्रकार उसको सामु आइसके । तर, ऊ आफैं लेख्न चाहन्छ, आफ्नो पुस्तक ।

बजारमा उपन्यासको कत्रो माग छ !

नयाँ–पुराना लेखकका उपन्यास मारामार बिक्री भइरहेका छन् । एक सातामा दोस्रो संस्करण भनी विज्ञापन आएको देख्दा उसलाई औडाहा हुन्छ । दैनिक अखबारदेखि साप्ताहिक, पाक्षिक र मासिक म्यागजिनमा समीक्षाका साथै ठुल्ठूला फोटोसहितका अन्तर्वार्ता तिनै बिकाउ लेखकका छापिएका छन् । झन् अचेल त अनलाइनहरूमा हरेक दिनजसो साहित्यको चर्चा हुन्छ । कथा, कविता, लेखकका अन्तर्वार्ता, उपन्यास अंश सबथोक आउन थालेका छन् । एफएम रेडियो, चल्तीका टेलिभिजन सर्वत्र तिनकै चर्चा चलिरहेको छ ।

“तर, मेरोचाहिँ किन हुँदैन चर्चा ? के म झुर लेखक हुँ ?” चिन्तनले आफैंसँग प्रश्न ग¥यो । तर, उसको मनले आफूलाई झुर लेखक स्वीकार्न सक्दै सकेन । समयले साथ नदिएर मात्रै आफू तल परेको उसको ठहर छ । 

मन्दिरको देब्रेतिरको केही अग्लो भागको कुनामा सोचमग्न उभिइरहेको चिन्तनले आफ्नो उद्वेलित मनलाई जसोतसो सम्हाल्यो । र, आगामी दिनमा आफ्नो उपन्यासलाई कसरी चर्चित र ‘हटकेक’ बनाउने भन्नेबारे दक्षिणकालीलाई साक्षी राखेर थुप्रै उपाय सोच्यो । मन्दिरछेउमा बसेर पश्चिमपट्टिको जंगल हेर्दै उसको दिमागमा आएका उपायबाट ऊ पुलकित बन्यो ।

केहीबेरमा आँखा घुमाएर उसले देवीलाई चढाएको पुस्तकतिर ध्यान लगायो । पुस्तकका काला अक्षर राता भएका थिए । हरियो आवरण मान्छेका पाइतालाले टेक्दाटेक्दा कालो बनिसकेको थियो । चिन्तनलाई चस्स मुटुमा दुःखेको जस्तो महसुस भयो, “पैसा परेको चिज पो त । एउटा पुस्तककै लागत तीन सय रुपैयाँभन्दा बढी परेको छ । झन्डै चार सय पृष्ठको मेरो उपन्यास । यसलाई लेख्नमात्र मैले एक साता लगाएको छु । यही समय व्यापारमा लगाएको भए कति कमाइन्थ्यो ! कति बेरोजगार नेपाली युवाले वैदेशिक रोजगारी पाइसक्थे !”

दर्शनार्थीहरूले कुल्चँदै गरेको पुस्तक उसले त्यहाँबाट निकाल्ने प्रयास ग¥यो । पुस्तक क्षतविक्षत भइसकेको थियो । अक्षर नचिनिने त थियो नै, पृष्ठहरू छुट्टिन तयार भएर बसिरहेका थिए । यस्तो लाग्थ्यो— आफूलाई मान्छेका पाइतालाले कुल्चनबाट जोगाइदिन गुहार मागिरहेका थिए उपन्यासका पृष्ठहरूले । दक्षिणकालीका नाममा उपहार दिन रातो कलमले लेखेका अक्षरको त कुनै नामनिशाना थिएन । उसले मुखावरण पल्टायो । ‘गुलाफको छातीमा शिशाको गोली’ बल्लतल्ल पढ्न सक्यो उसले । सद्दे अक्षर त ‘गोली’ मात्र बाँकी थियो, अगाडिका ‘गुलाफको छातीमा शिशाको’ पूरै मेटिइसकेको थियो । आवरण चित्र पनि विरूप बनिसकेको थियो । कतै–कतैमात्र स्केच अलिअलि देखिन्थ्यो ।

आफ्नो पुस्तकको औधी माया लाग्यो चिन्तनलाई । आफूले बडो मेहनत गरेर लेखेको पुस्तकका अक्षरहरूमा मान्छेले मचकमचक पैतालाले टेकेको हेर्न गाह्रो प¥यो उसलाई । पुस्तकमा मान्छेले कुल्चनु र आफ्नो छातीमा कसैले लात हान्नु उस्तै–उस्तै लाग्यो उसलाई ।

“हैन यी मान्छेहरुलाई कागज र अक्षरमा टेक्नु हुन्न, पाप लाग्छ भन्ने पनि थाहा छैन कि क्या हो ?” चिन्तन फुसफुस आवाजमा बोल्यो ।

मन्दिरमा भीड बढ्दै थियो । भीड छिचोलेर बल्लतल्ल निकालेर उसले त्यो पुस्तक बायाँतिरको पर्खालमा राखिदियो । तत्कालै एउटा कुकुर आएर पुस्तक सुँघ्न थाल्यो । यताउति चलाउन थाल्यो । जिब्रो निकालेर चाट्न थाल्यो । कुकुरलाई मन्दिरको भित्रपट्टि प्रवेश निषेध थियो । त्यसैले पर्खालबाहिर केही खान पाउने आशामा ती जीव टोलाएर बसिरहेका हुन्थे । चिन्तनले आफ्नो पुस्तक पर्खालमा राख्नासाथ कालो कुकुर आएर लुछ्न थालिहालेको थियो । उपन्यासका पृष्ठलाई कुकुरले आहारा ठान्यो, पेट भर्ने । मन्दिरवरपरका अन्य कुकुर पनि त्यही पुस्तक थुत्न आउन थाले । पुस्तकमा पहिला आक्रमण गर्ने कुकुरले आफ्नो दाँतले च्यापेर त्यसलाई पर पुर्‍यायो । झन्डै चिन्तनको जिपछेउ पुग्यो त्यो कुकुर पुस्तक च्यापेर दौडँदै । अरु कुकुर पछि लाग्न छाडे र अर्को आहारको खोजीमा भौतारिन थाले ।

चिन्तन सोचमग्न थियो । भीडमा पनि ऊ आफूलाई एक्लो महसुस गरिरहेको थियो । अनायास उसका पाइला पश्चिमतिरको जंगलतर्फ बढ्न थाले । ऊ केही मिटरको दूरीमा रहेको एउटा सानो चौरमा पुग्यो । पलेँटी कसेर त्यही चौरमा बस्यो । पुस्तकलाई कसरी चर्चित बनाउने, मिडियामा छाउने, मदन र पद्मश्री पुरस्कार हात पार्ने भन्ने विषयमा ऊ गम्भीर चिन्तनमा डुब्न थाल्यो । उसले आफ्नो साथमा दक्षिणकाली माता रहेको विश्वास गर्‍यो । मन्दिर रहेको दिशातर्फ फर्किएर हात जोड्यो र भन्यो, “मलाई प्रख्यात लेखक बन्नु छ माते । जसरी भए पनि यो वर्ष देशका ठूला पुरस्कार पाउनु छ माते । हे माते ! यो काम गर्न तिमीबाहेक अरु कसले सक्ला ? म तिम्रै शरणमा आएको छु माते ।”

मान्छेको कोलाहलले उसलाई पटक्कै छोएको थिएन । पुस्तकलाई लिएर उसले यतिविधि चिन्ता यसअघि कहिल्यै गरेको पनि थिएन । 

गम्भीर सोचमै उसले पाइला चाल्दै आफूलाई मन्दिर परतिरको चौरमा पुर्‍याएको थियो । चिन्तन चौरमै अर्धनिद्रामा पुग्यो । अधिक सोचाइ र चिन्ताले ऊ केहीबेरमा झपक्कै निदायो त्यही चौरमा । शीतल र शान्त वातावरणले पनि निद्रा लाग्न मद्दत गर्‍यो शायद ।

साक्षात् दक्षिणकाली देवी चिन्तनका अघिल्तिरि जिब्रो लप्लपाउँदै प्रकट भएर उसलाई ‘तथास्तु’को बरदान दिइरहेकी थिइन् । ऊ देवीको करकमलमा लम्पसार पर्‍यो । “हे माते ! तिम्रो कृपा ममाथि छ र त सफलता मेरो वशमा परिरहेको छ,” उसले मातासामु गिड्गिडाउँदै भन्यो, “तिम्रै स्नेहका कारण यो देशको सफल लेखक बन्ने मेरो सपना साकार हुन पुगेको छ । तिमी धन्य छौ माते ।”

“कति माथि हो यो ‘कान्तिपुर’को अफिस पनि, बरु उतै कोटेश्वर तीनकुनेमै ठीक थियो । किन थापाथली सर्नु पर्‍या होला !” चिन्तनलाई लिफ्ट चढ्न पटक्कै मन लाग्दैनथ्यो । जति तला माथि उक्लनु परे पनि ऊ सकेसम्म लिफ्ट चढ्दैन । उकालो चढ्नु स्वास्थ्यका निम्ति फाइदाजनक छ भन्ने उसको बुझाइ थियो । झन् ऊजस्ता मुटुका रोगी र ब्लडप्रेसर भएकाले त लिफ्ट चढ्नै हुँदैन भन्थ्यो ऊ । थोरै भए पनि पेट घटाउन उकालो चढ्नुपर्छ भन्ने लाग्थ्यो उसलाई ।

गार्डले घरक्क ढोका खोलिदिँदै उसलाई खुट्टा बजारेर सलाम गर्‍यो र भन्यो, “सम्पादक सर अघिदेखि नै तपाईंलाई कुरेर बसिराख्नुभएको छ चिन्तन सर ।”

चिन्तन गमक्क पर्दै सम्पादकको कोठामा गयो । सम्पादकले उठेर हात मिलाउँदै भन्यो, “क्या गज्जब उपन्यास लेख्नुभयो चिन्तनजी तपाईंले । हामी ‘कान्तिपुर’मा तपाईंसँग यो पुस्तकबारे एक पृष्ठ पूरै अन्तर्वार्ता लिन्छौं, तपाईंले समय दिनुपर्‍यो ।”

चिन्तन फुर्किंदै ‘हुन्छ नि, समय लिएर आउनुस्, दिउँला नि तपाईंलाई अन्तर्वार्ता’ भन्दै त्यहाँबाट सुन्धारास्थित ‘नागरिक’ दैनिकको कार्यालयतिर लाग्यो । थापाथलीको सोही भवनमा रहेको ‘नेपाल’ साप्ताहिकलाई भने चिन्तनले कुनै भाउ दिएन ।

‘नागरिक’मा पनि सम्पादक उसैलाई कुरिराखेको थियो । चिन्तन आएको थाहा पाएर सम्पादक मूल ढोकामै लिन पुग्यो । स्वागत गर्दै सम्पादकले उसलाई सोफामा बसाल्यो । तातो–चिसो के पिउने भनी सोध्यो । चिन्तनले आफू निकै हतारमा रहेको र अन्य पत्रिकाका सम्पादकले पनि भेट्न चाहेको रहस्य खोल्यो । “चिन्तनजी ! हामी तपाईंले भनेको पेजमा अन्तर्वार्ता छाप्छौं तर अरुलाई होइन, पहिला हामीलाई नै दिनुपर्छ तपाईंले कुराकानी गर्ने समय,” सम्पादकले सम्मानका साथ भन्यो ।

त्यो सम्पादकलाई पनि समय दिने आश्वासन दिँदै चिन्तन लाग्यो पाटनढोकास्थित ‘हिमाल’ साप्ताहिकको कार्यालयतिर । त्यहाँ जाँदा उसलाई एकै पटक दुई वटा काम गर्न सहज हुन्थ्यो । ‘हिमाल’का सम्पादकले धेरै अघिदेखि भेट्न खोजेको विषय त छँदै थियो, साथमा मदन पुरस्कारको कार्यालयमा जाने र त्यसका अध्यक्षसँग ‘गुलाफको छातीमा शिशाको गोली’ उपन्यासबारे लामो कुराकानी गर्ने । अध्यक्षसामु आफ्नो उपन्यासको रचनागर्भ सुनाउने उसको चाहना थियो । अध्यक्षले समय दिए, चिन्तनले उपन्यासबारे धेरै कुरा सुनायो ।

“हेर्नुस्, म त व्यापारी मान्छे, साहित्य त मेरो शोख हो । त्यही शोख पूरा गर्न लेखेको मेरो साहित्य पनि यति प्रख्यात छ । म सबै मान्छे वा पत्रकारलाई समय दिन कहाँ सक्छु र,” मदन पुरस्कारका अध्यक्षलाई चिन्तनले भन्यो ।

उसले ‘हिमाल’का सम्पादकलाई जम्माजम्मी चार मिनेट समय दिएको थियो । चट्याङ परेजसरी सम्पादकको कोठामा पस्यो र ऊ त्यहाँबाट सरासर दक्षिण मोडिएर मदन पुरस्कारको कार्यालयमा पसेको थियो । पुरस्कार गुठीका अध्यक्ष चिन्तनको प्रतीक्षामा थिए ।

अध्यक्षको वाकपटुताको प्रशंसा गर्‍यो चिन्तनले र त्यहाँबाट केही मिनेटमै निस्कियो । र, ऊ हानियो पद्मश्री पुरस्कारका संरक्षकलाई भेट्न कुपण्डोलस्थित होटेल हिमालयतिर । त्यहाँ पनि उसले फटाफट आफ्नाबारे कुरा राखेर १० मिनेटजतिमा फुत्कियो ।

पुतलीसडकको एउटा रेस्टुराँमा उसलाई कुरेर ‘नयाँ पत्रिका’, ‘अन्नपूर्ण पोस्ट’, ‘राजधानी’, ‘नेपाल समाचारपत्र’लगायत दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक बसिरहेका थिए । उसले कुपण्डोलबाट आफ्नो जिप सीधै पुतलीसडकतर्फ हुइँक्याएको थियो ।

रेस्टुराँमा सम्पादकहरू चिन्तनलाई दिन भनेर फूलका गुच्छा लिई उभिइरहेका थिए । उसले सबैका फूल स्वीका¥यो ।

“हामी भोलिको अंकमा तपाईंको उपन्यासको चमत्कार र यसले नेपाली साहित्यमा पारेको प्रभावबारे समाचार लेखेर मुखपृष्ठमा छाप्नेछौं । मदन पुरस्कार र पद्मश्री त तपाईंले नै पाउने भन्ने हाम्रा सोर्सले जानकारी दिइसकेका छन्,” सबैजसो सम्पादकले यसो भनेका थिए ।

सम्पादकहरुसँग एक–एक कफ कफी खाएर चिन्तन घर फर्किएको थियो ।

भोलिपल्ट एकाबिहानैदेखि उसलाई बधाई तथा हार्दिकताका फोन, मेसेज आउन थाले । उसले यही मेसोमा फेसकबुक पनि खोल्यो, ट्विटर साइन इन गर्‍यो । यी दुवै सामाजिक सञ्जालमा अरु कसैका चित्र थिएनन् । कसैले कसैमाथि कुनै कमेन्ट वा लाइक गरेको थिएन, सबैतिर चिन्तन नै चिन्तन थियो । मार्क जकरबर्गले पनि उसको ख्याति देखेर ‘कङ्ग्राचुलेसन्स मिस्टर चिन्तन’ भनेर लेखेको थियो । जकरबर्गले नै शुभकामना दिएको देखेपछि चिन्तनको खुशीको सीमा नै रहेन । कुनै पत्रिका, सामाजिक सञ्जाल, अनलाइन यस्ता थिएनन्, जसमा चिन्तनको फोटो र समाचार प्रकाशित नभएको होस् । उसलाई मदन पुरस्कार दिइएको बारे थुप्रै लेखक–साहित्यकारको विचार पनि राखिएको थियो । सबैले चिन्तनभन्दा लायक अर्को लेखक नेपालमा आजका दिनसम्म नजन्मिएको बताएका थिए । ‘चिन्तन हाम्रो पुस्ताको लक्ष्मीप्रसाद, रिमाल, भूपि, पारिजात, बीपी, विकल, गोठाले, मल्ल सबै हो’ भनेका थिए ।

घरबाहिर चिन्तनलाई बधाई दिनेको लर्को लागिसकेको थियो । चिन्तन कोठाबाट बाहिर निस्क्यो । माला, खादा तथा अबिर र फूलले ऊ छोपिनै लागेको थियो । अटोग्राफ लिन चाहने त कति हुन् कति ! उसको अघिल्तिर शुभेच्छुकद्वारा राखिएको गुलाफको फूलले उसैलाई छोप्लाजस्तै भएको थियो । 

अचानक गुलाफको फूलको गुच्छाबाट कालो सर्प निस्क्यो । सर्प चिन्तनलाई डस्दै बेर्न थाल्यो । ऊ डरले बेस्सरी चिच्यायो । हातखुट्टा झट्कार्‍यो । ती चौरमा बेस्सरी बजारिए । उसलाई केही दुख्यो पनि । उसको सासको गति निकै बढ्न थालेको थियो ।

चिन्तन बिउँझियो । उसका आँखाले धमिलो देखिरहेको थियो । निधारबाट हल्का पसिना पनि आइरहेको थियो ।

दक्षिणकाली मन्दिरमा दर्शनार्थीको भीड अलिकति पनि कम भएको थिएन । त्यो अझै बढ्दो थियो ।

चिन्तनलाई ती मान्छेहरू सबै काला सर्पजस्ता लाग्न थाले । “गुलाफको फूलमा लुकेका काला सर्प,” उसले सबैलाई एकमुष्ठ गाली गर्‍यो ।

चिन्तनलाई आफ्नो पुस्तकको शीर्षक नै गलत भएका कारण चर्चा नभएको र पुरस्कार नपाएको जस्तो लाग्न थाल्यो । आगामी उपन्यासको शीर्षक ‘गुलाफको फूलमा कालो सर्प’ राख्ने तय गर्‍यो उसले मनमनै ।

पुस्तक बजारमा सबैतिर जानुअघि नै ऊ निराश भयो । तर, पनि दक्षिणकालीको विश्वास गर्न भने छाडेन उसले ।

ऊ जिप भएतिर गयो । जिपको पछाडि भाग खुल्लै थियो । उसका पुस्तक तल भुइँमा झरेका थिए जिपबाट । सबैभन्दा माथिपट्टिचाहिँ दक्षिणकालीलाई चढाएको र सबै अक्षर मेटिइसकेको पुस्तक थियो । केहीबेरअघि मातालाई चढाएको पुस्तक चाटिरहेको कुकुर चिन्तनका अघिल्तिर पुच्छर हल्लाउँदै आइपुग्यो । चिन्तनले भुइँमा झरेका पुस्तक अल्छी मान्दै जिपभित्र राख्यो ।

फेरि पनि त्यही चढाएको प्रति नै सबैभन्दा माथि देखियो ।

कसरी यस्तो भयो ? चिन्तन अचम्ममा पर्‍यो । केहीबरे अल्मलियो पनि । कोही मान्छे आफ्ना पछाडि लागेर यी सब काम त गरिरहेको छैन ? आशंकामा यताउति हेर्‍यो तर कोही पनि थिएन त्यस्तो मान्छे त्यहाँ ।

अलि पर उही कालो कुकुर चिन्तनलाई एकोहोरो हेरिरहेको थियो । उसले जिप स्टार्ट गर्‍यो । मन्दिरतिर फर्कंदै भन्यो, “तिम्ले पनि दिलाउन नसकेको मेरो पुस्तकको चर्चा र पुरस्कार अब कसले दिलाउन सक्ला र माते ? यो अकिञ्चनमाथि दया गर माते !”

(पराजुलीको हालै प्रकाशित कथासङ्ग्रह ‘अघोरी’बाट)
 

तपाईंको मत